• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
झलक सुवेदी
२०७८ असोज १६ शनिबार ०८:४४:००
यात्रा

मादीको सेराेफेरो

२०७८ असोज १६ शनिबार ०८:४४:००
झलक सुवेदी

असोजको पहिलो साता पोखरा सेरोफेरो घुम्ने काम परेर पुगेको थिएँ । मादी गाउँपालिकाका अध्यक्ष मेरा पुराना मित्र हुन् । उनै वेदबहादुर गुरुङसँग केही समय सँगै कामका लागि हिँड्नुपर्ने भयो । पहिलो दिन नै उनले मलाई आफ्नो पार्टीको एउटा कार्यक्रममा लिएर गए । जाने–नजाने दोधारमा थिएँ । आजको एमालेको भुइँतको अनुहार हेरूँ भन्ने लाग्यो ।


वडा नम्बर ५ चितेपानीको वडा कार्यालयमा रहेछ मादी गाउँपालिकास्तरीय अखिल नेपाल महिला संघको अधिवेशन । मलाई आजकल यस्ता औपचारिक कार्यक्रममा लामो समय बस्न बडो सकस हुन्छ । बाटोमा नै मैले अध्यक्षलाई अतिथिको आसनमा मलाई चाहिँ नबोलाउनू है भनेको थिएँ । उद्घोषण गरिरहेकी कलाकार र नेता निर्मला बैनीले बोलाइहालिन् राजनीतिक विश्लेषक दाजु ... आसन ग्रहणका लागि भन्दै । असमञ्जसमा परेर दुई घन्टा बसेँ । त्यसमध्येको पाँच मिनेट शुभकामना दिन खर्च भएको थियो ।


कार्यक्रममा ३५ देखि ५५ वर्ष उमेर समूहका जस्ता देखिने सक्रिय उमेरका महिलाहरूको सहभागिता बाक्लै थियो । तर, एमालेको अहिलेको राजनीतिको जगमा यही सामाजिकीकरणसहितको भुइँतहको समूह आधार बनेको देखिन्छ । गाउँका आमा समूह, उपभोक्ता समूह, सहकारी, विद्यालय सञ्चालक समिति, सामुदायिक वनजस्ता समूह परिचालन हुने ठाउँमा यिनै महिलाहरूले प्रतिनिधित्व गर्छन् । कतिपय ठाउँमा पुरुषलाई पनि नेतृत्व गरिरहेका छन् र सशक्तीकरण भइरहेको छ । दलित महिलाहरूको सहभागिता पनि उल्लेख्य थियो । यसले एमालेले कोरेको राजनीतिक विचारको सीमाभित्र अल्झेर भए पनि राजनीतिक सहभागिताको जबर्जस्त शक्ति महिलाहरूले ओगटेको देखाउँथ्यो । मञ्चमा देखिएको दृश्य हेर्दा भने उनीहरू अझै पुरुष राजनीतिको सहयोगी मात्र हौँ भन्ने अवस्थामा छन् कि भन्ने संकेत गथ्र्यो । 


मलाई ०३९ सालको ८ मार्चको सम्झना आयो । पहिलोपटक त्यस भेगमा यस्तै कार्यक्रम गरिएको थियो, माजाडिहीको ध्रुव निमाविमा । मुख्य वक्ता भएर गएको थिएँ । खुब अन्तर्राष्ट्रिय महिला आन्दोलन, क्लारा जेट्किन, रोजा लक्जेमवर्गको कुरा गर्दै थिएँ, राधा दिदीले ‘ह्या भाइ हाम्रा ठामका कुरा गर न कता–कताका नबुझिने कुरा किन गरिराहोला’ भनेर प्याच्च भन्नुभएको थियो । त्यही दिनदेखि आफ्नो बोली र अडियन्सका बीच सम्बन्ध स्थापित होस् भन्नेमा म जहिले पनि अतिरिक्त सतर्क हुने गर्छु । यसपालि भने म शुभकामना दिँदा पनि बडोे अलमलमा परेँ ।

अडियन्सको मनोविज्ञानसँग सामेल हुन नसक्दा मुस्किल हुँदो रहेछ । यस्तो लाग्थ्यो, उनीहरू एमाले हुनका लागि जन्मेका थिए । नेतृत्वका प्रति गुनासो र प्रश्न थिएन । नेता पुराणका वाचकी या उपवाचकी जस्ता । कार्यकर्ता सत्यनारायणको पूजा या पुराणका भक्तजन जस्ता । कुनै पनि पार्टीका लागि भविष्य होइन, वर्तमानका लागि बलियो आधार हो : प्रश्नविनाका कार्यकर्ता । समग्र कार्यक्रममा आमाको नाममा सन्तानले नागरिकता नपाएकाले भएका समस्यामा अनेमसंघले के भन्छ, विदेशी नागरिकसँंग बिहे गरेकी नेपाली महिला या विदेशी नागरिक रहेकी महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि उसका प्रति राज्यले अपनाउने नीतिका सम्बन्धमा रहेका विभेदजस्ता राजनीतिक विषय प्रश्नका रूपमा उठेनन्, न त कसैले आजको महिला मुक्तिका लागि बाधक बनिरहेका परिवारभित्रका सीमाहरू भत्काउने कुरा गरे । यस्तो लाग्थ्यो कि महिलाहरूका सबै समस्या हल भइसकेका छन् । अतिथि खगराज अधिकारीले बोक्सी, महिनावारी जस्ता विषयमा महिलाहरूले अपनाउनुपर्ने विज्ञानसम्मत धारणाका सम्बन्धमा कुरा राखे पनि महिलाहरू त्यस्ता बहसका लागि तयार भएको जस्तो देखिएको थिएन । राजनीतिमा महिला सहभागिता र महिलाहरूको स्वतन्त्र व्यक्तित्व निर्माणमा रहेका चुनौती पार्टीभित्रै पनि कति छ भन्ने विषय बहसमा आएन ।


२०२४ सालतिरबाटै कम्युनिस्ट राजनीतिमा लागेका अघिल्लो पुस्ताका शिव, पुण्य र बुद्धि सापकोटाहरूदेखि बिलकुल नयाँ पुस्ताकी प्रतीक्षा पौडेलसम्म एकै ठाउँमा देखिँदा भने पुस्तान्तरणको एउटा चक्र पूरा हुँदै गरेको संकेत गथ्र्यो । तिनै प्रतीक्षाले ‘आमा दिदी–बहिनी हो ! कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर...’ वाला जेबी टुहुरेले गाएको गीतका अंश सुनाएर आफ्नो मन्तव्य सुरु गरिन् । यसले सहभागीहरूलाई अवश्य आफूभित्रको क्षमता र सम्भावना खोज्न प्रेरित गर्‍यो होला । 


उत्तरतिर अन्नपूर्ण र लमजुङ हिमाल, त्यसभन्दा तलको हरियो लेकाली पहाडका मनमोहक दृश्यहरू र पश्चिमतिर फर्किंदा पोखरा देखिने यो डाँडो बिस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास हुने सम्भावना बोकेर बसेको रहेछ ।

उत्तरतिर अन्नपूर्ण र लमजुङ हिमाल, त्यसभन्दा तलको हरियो लेकाली पहाडका मनमोहक दृश्यहरू र पश्चिमतिर फर्किंदा पोखरा देखिने यो डाँडो बिस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास हुने सम्भावना बोकेर बसेको रहेछ मादी ।

 

एक वृद्धले खोजेको विकास
अर्को कामले जानुपर्ने थियो तप्राङ । बिहानै झलमल घाम लागेको र हिमाल खुलेको शारदीय पोखरा । जता हेर्‍यो उतै मोहनी लाग्ने दृश्यहरू । एउटै गाडीमा परियो, त्यस क्षेत्रका एमाले नेता खगराज अधिकारी, पालिका अध्यक्ष वेदबहादुर र म । प्रतिनिधिसभाका सदस्य अधिकारी खुब सक्रिय रहेछन् । काठमाडाैं बसे पनि वडा र टोलस्तरका गतिविधिसम्म पुगिरहँदा रहेछन् । नेताहरूको टोली सिक्लिसतिर लाग्यो । मचाहिँ तप्राङमै गफिएर बसेंँ ।


वडा कार्यालयतिर घुम्दै गर्दा एकजना वृद्ध ‘म मेरो जमिनमा भकुन्डो खेल्न त यत्रो नि दिन्नँ । मैले भकुन्डोे खेल्न दिएको हो मेरो जमिन .... हरूलाई ?’ भन्दै आइपुगे । मलाई उनका प्रति जिज्ञासा जाग्यो । उनका कुरा बुझ्न खोज्दै थिएँ, उनी मैसँग पनि झर्किन थाले, मानौँ म पनि उनको जमिन हडप्न सहयोग गर्न आएको सरकारी अधिकारी हुँ । वडा कार्यालय भवन बनाउन उनले पनि पाँच रोपनी जमिन दान दिएका रहेछन् । वडा भवनचाहिँ अर्को दाताले दिएको जमिनमा परेछ, उनले दिएको जमिनमा चाहिँ वडाले खेलकुदका लागि स्टेडियम बनाउने तयारी गरेको रहेछ । भवन आफूले दान दिएको जमिनमा नपरेकाले झोकिएका रहेछन् । ज्यान गए पनि म यो जमिन दिन्नँ भन्दै उनी चिच्याउँदै थिए । 


वडा कार्यालयबाट उनको घरतिर ओर्लिंदा तिनी जाँतोमा केही पिस्दै थिए । उनी रहेछन् ढकनाथ बराल, वर्ष ८४ । भनिहालेँ ६ वर्षपहिले बुढी मरेपछि यो घरमा एक्लै छु । छोराहरूले पोखरातिर घर बनाएका छन्, आएर बस भन्छन्, मलाई यहीँ रमाइलो छ । उनलाई आफ्ना स्मृतिहरू र आफ्नै खुसीमा बाँच्ने अभिलाषा हुँदो हो । ८४ वर्षका भए पनि उनी बलिया र फुर्तिला पनि देखिन्थे । मैले उनलाई गाउँमा आइरहेका परिवर्तन र आफ्नो समयका बीच कस्तो भिन्नता छ भनेर जिज्ञासा राखेँ । 


समाजशास्त्रमा एमए पढेपछि गाउँमा बसेर वडाध्यक्ष भएका पसबहादुर बाँस्तोला युवा छन् । उनी अध्यक्ष भएर आएपछि गाउँमा पालिकाबाट आउने अनुदान, पालिकाकै कार्यक्रमहरू, अध्यक्षले विभिन्न संस्थाहरूबाट जुटाएको सहयोगले पूर्वाधारको विकासमा राम्रै प्रगति भएको छ । एक घर एक धारा, कृषि सडकहरू, कृषि फर्म र पशुपालनलाई अनुदानको व्यवस्था । नजिकै वन्यजन्तु पार्क बनाउने योजनामा स्थानीय राजनीतिक प्रतिद्वन्द्वीहरूले मुद्दा हालेर रोक लगाएपछि पर्यटकीय विकासका लागि उत्साहित स्थानीयमा केही निराशा छाएको छ । तर पनि गाउँ सलबलाउँदै गरेको देखिन्थ्यो । युवाहरू गाउँमै भविष्य खोज्न लागेका । बाख्रा पालन, तरकारी खेतीलाई मुख्य आधार बनाएर काम गर्ने केही युवाहरू भेटिए । वर्षौंअघि पोखरातिर झरेकाहरूले पनि गाउँमा केही हुन्छ कि भन्ने आशा गरेर भूकम्पपीडितका नाममा आएको तीन लाख अनुदानमा थपथाप गरेर घर बनाएका । कोही–कोही पहिले आफँैले बेचेको जमिन अलि–अलि किन्न पाइन्छ कि भनेर खोज्न थालेका । 


ढकनाथले विकासको एउटा परिभाषा दिए । ‘मलाई अर्थोक विकासको केही मतलब छैन । अब विकास त्यस्तो हुनुप¥यो कि गाउँ छाडेर गएकाहरू फर्केर आऊन् र गाउँमा मान्छे थपिऊन् । अरू विकासको क्यै काम छैन ।’ अर्थात् विकासले मानिसहरूलाई गाउँमा राख्छ, छाडी हिँडेकाहरू पmर्किन्छन् भने मात्र त्यसले सार्थकता राख्छ । मलाई यिनको कुरा मन पर्‍यो । पोखराबाट १६ किलोमिटरको दूरीमा रहेको यो गाउँ अवश्य पनि केही वर्षमा गुल्जार हुने विश्वास गर्न सकिन्थ्यो । बर्खेहिलो नओभाउँदै पोखराबाट पचासौँ मोटरबाइक त्यही बाटो भएर सिक्लिसतिर गइरहेका थिए । ती सबैजसो एक रातका पर्यटक थिए । उनीहरूमध्येको २० प्रतिशतलाई एक रात तप्राङमा वास बस्न लगाउन सकियो भने मात्रै पनि उहिले पहिरोले लखेटेको यो गाउँ फेरि गुल्जार हुनेछ ।

ब्युँझेपछि झसंग
दुई दिनपछि गाउँपालिकाको केन्द्र रहेको याङ्जाकोट पुगेँ । केही वर्षपहिले स्थानीय युवा क्लबका अध्यक्ष अर्जुन गुरुङले हामी केहीलाई सम्मान गर्न बोलाएका थिए । रातभर संस्कृतिविद् तथा अहिले प्रज्ञा प्रतिष्ठानका उपकुलपति रहेका आदरणीय डा. जगमान गुरुङको नेतृत्वमा भएको घाँटु नाच हेरेर बसिएको थियो । यो गाउँ परम्परादेखि शाह राजाहरू र पछिका सबै सत्ताको निकट रहेर भेगीय आधिपत्य कायम गरेर बसेको एउटा थुम थियो ।

 

पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिक प्रभाव बलियो छ । आफ्नो सक्रिय राजनीतिको कालमा म यो गाउँमा धेरैपटक पुगेको र बसेको छु । ठुलो गाउँभन्दा अलि तल रहेको देउरालीमा त २०५६ को निर्वाचनमा रवीन्द्र अधिकारीलाई उमेदवारका रूपमा लिएर जाँदा रातभरि जस्तो दोहोरी गाएर बसिएको थियो । ‘ऐना हेरेर लाऊ माया लाउनीले धोको फेरेर’ भन्ने भाका लोकप्रिय थियो । यो गीतको शब्द संकलन र लय त्यही गाउँभन्दा अलि तल घर भएका नरबहादुर परियारको थियो । 


याङ्जाकोट जानुअघि बिहानै प्राज्ञ जगमान गुरुङलाई फोन गरेर त्यताको परम्पराबारे जान्न कसलाई भेट्नुपर्ला भनेर सोधेको पनि थिएँ । उनले वीरसिंह गुरुङको नाम लिएका थिए । विनोद गौचनको मुक्तकको लाइनजस्तो मौसमले आँखा झिम्क्याइरहेको थियो । उतिखेरै घाम लागेको छ, उतिखेरै पानी परेको । केन्द्रका बारेमा विवाद रहेको र सर्वोच्चमा मुद्दासमेत परेकाले पुरानो गाविस कार्यालयलाई थपथाप गरेर पालिकाको कार्यालय चलाइएको रहेछ । याङ्जाकोटेहरू केन्द्र सार्न नदिने, कांग्रेस त्यहाँको भोट गुमाउन नचाहने, एमालेहरूकै बीचमा पनि कता सार्ने भन्ने विवादका बीच पालिकाको भवन नै नबनिरहेको ।

 

तल्लोस्तरको राजनीतिले बिगारेको एउटा सम्भावना भएको गाउँको कथाजस्तो थियो । त्यस्तोमा पनि वेदबहादुर गुरुङसहितको टिमले पालिकाको पूर्वाधार विकास, आयआर्जन र रोजगारीको सिर्जना, स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुधार गर्न गरेका प्रयासहरू सराहनीय थिए । वडाध्यक्ष मनबहादुर गुरुङ सिधासाधा, कम बोल्ने, सहृदयी खालका भेटिए । उनका पिता किताबसिंह गुरुङ पञ्चायतकालदेखिका राजनीतिक कार्यकर्ता थिए । राजनीतिक मामिलामा हामी कम्युनिस्टहरूलाई पटक्कै नरुचाउने भए पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रो थियो । २०५६ मा निर्वाचनका समयमा उनका घरमा पुग्दा स्थानीय छनुवा खान दिएका थिए । रवीन्द्र अधिकारीले पिउन नसकेर मुख अमिलो बनाएको अहिले पनि सम्झिन्छु । मनबहादुरको छोरोचाहिँ गाउँमा होमस्टे चलाएर बसेको रहेछ । अर्थात् गाउँमा आन्तरिक पर्यटनको सम्भावना छ । यसलाई पालिकाको केन्द्र हुँदा सहयोग पुगेको छ ।


घुँडामुनिसम्म आउने लुँगी, ढाका टोपी र रैथाने गुरुङको लवजसहित भेटिए वीरसिंह गुरुङ, ७७ । यो उमेरमा उनको फुर्ती र ठट्यौलो खुसी रहरलाग्दो देखिन्थ्यो । गोठमा बसेर हुर्के–बढेका, याङ्जाकोटका परम्पराहरूबारे जानकारी राख्ने वीरसिंहले गाउँमाथि रहेको दरबारको भग्नावशेष, वरपरका गुरुङ गाउँहरूका बीच लेकको चरन क्षेत्रको सीमा विभाजन, लमतरीको पूजासम्बन्धी परम्परा, स्थानीय पर्व र परम्पराहरूबारे केही बताए । उनी बैंसमा निकै झिल्के रहेको हुनुपर्छ । लमजुङे ठाडो भाकामा गीत गाउन निकै रौसे रहेछन् । मेरो अनुरोधमा केही गीत सुनाए :

भोर्लेटारे चपरी,
मिदिम खोले दुवाली कल्ले मार्‍यो सहर........
ह ह सह..र 
तिसै र गयो चालीस पनि कट्यो गयो मेरो रह..र ।
हे.....आँधी खोला भुम्रे, भन्सारमाथि डुम्रे, उकाली मस्याङ्ग........, ह.. ह......मस्याङ्ग, 
हे हे सपनीमा हुँदा मयालुको काखमा ...........ब्युँझेपछि झस्याङ्ग । 
सानो उमेरदेखि करापुटारमा शिवरात्रिका वेला ठाडो भाकाका गीत सुनेर हुर्केको मलाई यो लय औधी मनपर्छ । 
हे फनक्कै घुम्यो हेर सनिसारे डाँडा
माझैमा गैरी ताल
हे होलार यसै माया जाल माझैमा गैरी ताल....

 

यो एक लाइनचाहिँ म अहिले पनि गुनगुनाइरहन्छु । किशोर वय नपुग्दै सुनेको हुनुपर्छ ।केही दिन पोखरामा बस्दा यो ठाडो भाकालाई जगाइरहन सक्रिय रहेका कलाकार धम्पु दुरा र उनलाई साथ दिइरहेका पत्रकार नवराज पहारीसँग भेट भयो । ठाडो भाकाका मुख्य सर्जक पञ्चसुब्बा गुरुङ मादी गाउँपालिकाको नागिधारमा वि.सं. १९४७ मा जन्मेका रहेछन् । २०३२ मा निधन हुनुअघिसम्म उनले यो भाकालाई लोकप्रिय बनाएका थिए । पञ्चसुब्बासँग यो भाकाको सिर्जना र विकासमा जोडी बनेर लागेका देउबहादुर दुराको जन्मस्थल वरपरका यी दुरा र पहारीलाई पञ्चसुब्बाको सम्झनामा स्मारक बनाउने काममा सहयोग माग्दै रहेछन् पालिका अध्यक्ष वेदबहादुर । आफैँ सिने निर्देशक, निर्माता र अभिनेतासमेतको भूमिकामा रहेका वेदबहादुर कलाका पारखी छन् ।

 

धम्पुका अनुसार दुराहरू वास्तवमा तुराहरू रहेछन् रे ! त्यसै भएर दुराहरूको मुख्य थलो तुर्लुङकोट तुरा लुङ कोटबाट बनेको हो भन्ने मान्यता रहेछ । यसबारे ब्रायन हड्सनदेखि अहिलेका नयाँ अनुसन्धाताका भनाइ पनि यिनलाई कण्ठै रहेछ । यी दुई भाइको सहयोगमा आउने माघ २६ सम्ममा पञ्चसुब्बाको नाममा एउटा स्तम्भ निर्माण गरिसक्ने र ठाडो भाकामा गीतहरू गाउँदै कार्यक्रम गर्ने सहमति भयो । नवराजले ठाडो भाकाबारे एउटा आलेख तयार गरिदिने भए, जुन पोखरा बसाइमा मैले गर्न खोजेको कामकै एउटा हिस्सा थियो । धम्पु दुरासँग चिनापर्ची गरिदिने लेकाली चुलोमा भेटिएका माओत्से गुरुङसँग गरिएका र गर्न बाँकी कुराकानी स्पेस र टाइम दुवैले धोका दिएकाले अहिलेलाई थाती राखियो ।