• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विनोद सिजापति
२०७८ असोज १६ शनिबार ०९:१९:००
समाज

दास बन्न अभिशप्त श्रमिकको कथा

२०७८ असोज १६ शनिबार ०९:१९:००
विनोद सिजापति

विश्व दास परिसूचक (वल्र्ड स्लेभरी इन्डेक्स) प्रतिवेदन २०२० अनुसार साउदी अरेबिया, कुवेत तथा कतार आधुनिक दासप्रथालाई निरन्तरता दिने अग्रपंक्तिका राष्ट्र हुन् । तिनै राष्ट्रहरूले दासता निवारणका निमित्त सिफारिस गरिएका अन्तर्राष्ट्रिय नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष निराशाजनक छ । वैदेशिक रोजगारीउन्मुख नेपाल श्रमिकहरूका प्रमुख गन्तव्य यिनै राष्ट्र हुन् ।


अरब राष्ट्रहरूमध्ये पनि तीन लाखभन्दा कम जनसंख्या भएको कतारको आफ्नै विशेषता छ । सन १९७१ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गर्दा कतारको प्रतिव्यक्ति औसत आय दुई हजार पाँच सय अमेरिकी डलरको हाराहारीमा थियो । आधा शताब्दीको दौरानमा झन्डै २० गुणा वृद्धि भएर ६० हजार डलरको हाराहारीमा पुगेको छ । प्रतिव्यक्ति आय उच्च हुने राष्ट्रहरूको पंक्तिमा कतार अग्रस्थानमा छ । सुरक्षाको मापदण्डअनुसार कतार संसारकै सुरक्षित राष्ट्र हो । त्यहाँ स्वस्थ र शिक्षा सेवा निःशुल्क छ । कतारमा चार लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत भएको अनुमान छ । सन् १९८६ देखि नै कतारले गरेको तीव्र आर्थिक उन्नतिका निमित्त नेपाली कामदारले रगत–पसिना प्रयोग गर्दै आएका छन् । नेपाली कामदारले त्यहाँ भोग्ने दाससमान व्यवहारले हामीलाईभन्दा पश्चिमा विश्वले ध्यानाकर्षण गर्दै आएको छ ।


कतारमा कार्यरत नेपाली श्रमिकमाथि शोषण तथा उत्पीडनबारे धेरै अध्ययन–अनुसन्धान एवं रिपोर्टिङ भइसकेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, टफ्ट्स विश्वविद्यालय तथा इन्टरनेसनल ट्रेड युनियन कन्फडरेसन आदि प्रतिष्ठित संस्थाको अध्ययन प्रतिवेदनका चाङ अग्लो भइसक्यो । नेपाली अध्येता तथा नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका पनि दर्जनौँ अनुसन्धान प्रतिवेदन तथा विश्लेषणात्मक लेखहरू प्रकाशित छन् । यहाँका सञ्चारमाध्यमका साथै ‘दी गार्डियन’, ‘दी इन्डिपेन्डेन्ट’, ‘द इकोनोमिस्ट’, ‘पोलिटिकल एन्ड इकोनोमिक विक्ली’ प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्र–पत्रिकामा रिपोर्टिङ र लेखहरू प्रकाशित भइसकेका छन् । ‘कान्तिपुर’मा आबद्ध पत्रकार देवेन्द्र भट्टराई तथा जनकराज सापकोटाले खाडी मुलुकमा नेपाली श्रमिकमाथि उत्पीडन उधिनेर पुस्तक पस्किसकेका छन् । यसकै कडी ‘सनैया’ले अन्य पुस्तक तथा अनुसन्धान प्रतिवेदनमा नसमेटिएका धेरै पक्षहरूलाई समेटेको छ ।

 
प्रकाशित अध्ययन–अनुसन्धान प्रतिवेदन, पुस्तक तथा लेख रचनाहरूको आधिकारिकतामा प्रश्न उठाउन पनि सहयोग गर्छ । सीमित अवधिको स्थलगत अध्ययन, सानो संख्यामा श्रमिक तथा सरोकारवालासँग अन्तर्क्रिया  तथा अन्तर्वार्ताका आधारमा निजी धारणा समावेश गरेको दोषारोपण गरिन्छ । ‘सनैया’ लेखक होम कार्कीले झन्डै दुई दशक लामो पत्रकारिताको अनुभव सँगालेका छन् । एक दशक त श्रम तथा आप्रवासमा केन्द्रित रहेर अध्ययन–अनुसन्धान तथा रिपोर्टिङ गरेका थिए । चार वर्ष ६ महिना त कतारलाई मुकाम बनाएर खाडीमा कार्यरत श्रमिकबारे स्थलगत रिपोर्टिङ गरेका थिए । पुस्तक लेख्न अख्तियार गरेको विधि पत्रकारिताको परिधिबाट बाहिरिएर मानवशास्त्रीय छ । सिद्धहस्त मानवशास्त्रीले अपनाउने विधि अपनाइएको छ । श्रमिकका आवासदेखि कार्यस्थलसम्मै अवलोकन गरी तिनैसँग उठबस गरी अध्ययन गरिएको थियो ।

 

उनीहरूको सामीप्यमा रहेर व्यक्तिगत तथा सामूहिक छलफल गरे । श्रमिकहरूका दुःख–सुखमा भरपर्दो साथी बनिदिए । फलस्वरूप  वस्तुस्थितिको सूक्ष्म अध्ययन गर्ने अवसर मिल्यो । अतिरिक्त पाँच सय ४० जना पात्रसँग औपचारिक अन्तर्वार्ता लिएका थिए । तैपनि लेखकको निजी धारणा नपोखिनु पुस्तकको विशेषता हो । 


आकर्षक १८ शीर्षक तथा अन्तिम १९औं भाग तस्बिरको सँगालोसहितको पुस्तकले मातृभूमिबाट मरुभूमिमा जीवन खोज्नेहरूको थातथलोदेखि मरुभूमिसम्म पछ्याएको छ । स्वदेशी तथा विदेशीबाट भएका शोषणका फेहरिस्त पुस्तकमा समावेश छ । अधिकांश कामदार म्यानपावर एजेन्टले दिने आकर्षक रोजगारीको प्रलोभनमा फस्छन् । म्यानपावर कम्पनीले अरबमा अर्बौँ कमाउन सकिनेजस्तो लोभ देखाएर सुरक्षित रोजगारी तथा उच्च आयको सम्झौतापत्रमा सहीछाप गर्न लगाएर धुत्नसम्म धुत्छन् । जब श्रमिक अरबको उखरमाउलो भूमिमा पुग्छन्, सहीछाप गराइएका दस्तावेजहरू अर्थहीन हुन पुग्छन् । नेपालमा निर्धारण गरेको कार्य तथा कर्मथलो मात्र होइन देश नै परिवर्तन गरिन्छ, श्रमिकका स्वीकृतिबेगर । 

नीति निर्मातालगायत सम्बन्धित सरकारी निकायका कर्मचारी तथा म्यानपावर सञ्चालकहरूले पुस्तक पढेर यस्तो पाप गरेर त के पैसा कमाउनु भनेर मनन गर्दिए लाखौँलाख नेपालीले यति धेरै सास्ती त भोग्नुपर्दैनथ्यो । 


इद पर्वको पहिलो दिन स्याङ्जा जिल्लाबाट दोहा पुगेका अमिर हम्जाको संक्षिप्त परिचयबाट पुस्तक सुरु हुन्छ । अमिरले सन् १९८६ नोभेम्बर २० का दिन दोहामा पदार्पण गरेका थिए । तिनको दोहा आगमनको चार वर्षपछि दोहा सहर निर्माणको गुरुयोजना कार्यान्वयन भयो । त्यसका साथै वैदेशिक रोजगारीका निमित्त कतार आकर्षक गन्तव्यका रूपमा उदायो कतार । देशभित्र उत्पादनशील रोजगारीको चरम अभाव तथा माओवादीको सशस्त्र विद्रोहको रापतापमा पिल्सिएका युवाका निमित्त मौसम नै रापिलो–तापिलो भएको मरुभूमिको राष्ट्र आकर्षक गन्तव्य बन्न पुग्यो । कतार सोझिने श्रमिकमध्ये सीमितले मित्रहरूको सौजन्यबाट ‘तनुवा’ भिसा प्राप्त गर्छन् । अधिकांश म्यानपावर कम्पनीमार्फत त्यहाँ पुग्छन् । कतारमा कार्यरत कामदारमध्ये ९० प्रतिशत पुरुष छन्, बाँकी महिला । 


पुस्तकमा समाविष्ट पात्र तथा तिनको जीवनगाथाले कतार, साउदी अरेबिया तथा कुवेतको वस्तुस्थितिको वास्तविक चित्र प्रस्तुत गर्छ । त्यहाँ पुग्ने पात्रमध्ये बिए उत्तीर्ण कामदार सुकलाल, ‘रेगीस्तान कवि’ तीर्थसंगम राई तथा कतारी मालिकपुत्रीको राजकुमारप्रति आकर्षण र एकोहोरो प्रेमकथा तथा राजकुमारको पलायन आदि पुस्तकका मोहक वा रोमाञ्चक पक्ष हुन् । त्यसैगरी, नेपाली फुटबल टिमले प्रदर्शन गरेको दक्षता, छोटो अवधिमा साधारण श्रमिकबाट व्यवस्थापनको जिम्मेवारी पाउने सञ्जीव र राजन श्रेष्ठको सफलता, विनोद खड्कालगायत चार नेपाली नागरिकले कतार एयरलगायत भीमकाय कम्पनीहरूको व्यवस्थापन शिखरमा पुग्नु प्रेरणादायी उदाहरण हुन् । 


गगनचुम्बी निर्माणाधीन घरमा कार्यरत प्लम्बर जियाउल उक्लन लाग्दा लिफ्ट अकस्मात् चल्दा तिनले सन्तुलन गुमाएर गोली लागेको चराजस्तो गरेर ३५ तलाबाट खसेर भएको मृत्युले कामदारको सुरक्षा अवस्था बोध गराउँछ । जियाउलको लास घर लैजाने क्रममा भएका घटनाले मृत्युवरणपछि पाइने सास्तीगाथा प्रस्तुत गर्छ । लास नेपाल पठाउने क्रममा मृतक श्रमिकले पाउने सुविधाबाट वञ्चित गरिने अन्यायपूर्ण व्यवहारले पढ्नेकै आङ सिरिंग पार्छ ।

 

उँट गोठाला गनिराम गुरुङको सात वर्ष लामो एकान्तवास र यातनाले दासप्रथाकै झझल्को दिन्छ । त्यसो त घरेलु महिला कामदारहरूमाथि मालिकले गर्ने हिंसाका उदाहरण थुप्रै छन् पुस्तकमा । महिला कामदारका किनबेचलगायत बेखर्ची अवस्थामा हरेस खाएका कामदारका निमित्त जेलको शरण लिनुपर्ने बाध्यता, तलब–सुविधा नपाउनेलगायत रित्तो हात घर फर्कँदाको पीडा आदिले लुकेर रहेको दासप्रथाका अवशेषलाई सतहमा ल्याइदिन्छ । न्यायको खोजीमा होस् अथवा मरुभूमिमा बेखर्ची भएर अलपत्र परेका मजदुरको घर फर्कने प्रयास आदिमा नेपाली दूतावासले प्रदर्शन गर्ने निरीहताले दूतावासको औचित्यमै प्रश्न उठाउँछ । 


मरुभूमिमा ठगिएर भौँतारिएका श्रमिकका श्रीमतीहरूले बेखर्ची पतिको खोजी तथा उद्धारका निमित्त गरेको संघर्षका गाथाले सरकारी निकायको लाचारी प्रदर्शन गर्छ । अर्कोतर्फ, सम्बन्धित निकाय तथा म्यानपावर कम्पनीबीचको साँठगाँठको परिणाम अबोध नागरिकले भोग्नुपरेको दृष्टान्त पाइन्छ । म्यानपावर कम्पनीले ‘सात खुन माफ’कै शैलीमा जे पनि गर्ने छुट छ, किनकि राज्यसंयन्त्र र म्यानपावर कम्पनीबीच अपवित्र गठबन्धन छ । श्रमिकलाई मानवीय सहयोग गर्न अग्रसर हुने कर्मचारी नै लाचार हुनुपर्ने अवस्था छ । राजधानीकै म्यानपावर कम्पनीको मालिकले अबोध नारीउपर गरेको जालसाजीको घटनाले भूमिपतिले कृषकलाई फकाइफुलाइ किर्ते तमसुकमा हस्ताक्षर गराई जग्गा हडप्ने गरेको विगत ताजाभएर आउँछ । 


पुस्तकमा उठान गरिए पनि गहिराइमा पुग्ने आवश्यकता महसुस नगरेका दुई उदाहरण हुन् दोहा स्कुलका शिक्षक दोर्जे गुरुङको आतंककारीको अभियोगमा गिरफ्तारी तथा कतारस्थित महिला समाजको भूमिका तथा गतिविधि मान्न सकिन्छ । त्यसैगरी, लेखकले नेपालको प्रथम अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आर्टिस्ट एवं रोयल नेपाल एकेडेमीका संस्थापक आजीवन सदस्य तथा उपकुलपति लैनसिंह बाङ्देललाई ‘कलाकार तथा लेखक’ सम्बोधन गरिनु पर्याप्त हुँदैन । स्वर्गीय बाङ्देलले उपन्यासकार, कथाकार तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकृतिका संरक्षक एवं इतिहासकार पनि हुन् । तिनले लेखेको ‘स्टोलन इमेजेज अफ नेपाल’ले चोरी निकासी भई विश्व बजारमा रहेका सम्पदा फिर्ता ल्याउन अपूर्व योगदान ग¥यो, गरिरहेकै छ ।

 

त्यसैगरी, प्राध्यापक डिना बाङ्देल लैनसिंह बाङ्देलकी एकल सुपुत्री त हुन्, तर त्यति मात्र होइनन् । छोटो उमेरमा देहावसान भएकी प्राध्यापक डिनाको अन्तर्राष्ट्रिय कला इतिहासको अनुसन्धानकर्ताको छुट्टै अन्तर्राष्ट्रिय पहिचान छ । समग्रमा पुस्तकले परिवारको सुख तथा कल्याणका निमित्त मरुभूमिमा रगत–पसिना बगाउने कामदारहरूले भोगेको दुःख–कष्टलगायत ठगी प्रकरणका गाथा प्रस्तुत गर्दछ । मरुभूमिको सहरी क्षेत्रमा कार्यरत निर्माण मजदुर, सवारीचालक, सुरक्षाकर्मी, उँट, भेडाबाख्रा गोठाला, घरेलु सहयोगीलगायत सागपात खेतीमा ज्यालादारी गर्ने श्रमिकका जीवनीको गाथाको साँघुरो परिधिमा सिमित तुल्याएका छैनन् पुस्तकलाई ।

 

कतारको संक्षिप्त इतिहास, राजनीति, वर्तमानमा हासिल गरेको समृद्धि, कानुन, जीवनशैली, अरबी संस्कार आदिको झलक पनि प्रस्तुत गरेका छन् । अल्पसंख्यक नेपालीले कतारमा गरेको उन्नतिलाई स्थान दिएर लेखकले अँध्यारो सुरुङको अर्को कुनामा देखापर्ने उज्यालो पक्षलाई पनि पुस्तकमा समेटेका छन् । पुस्तकले विगतमा प्रकाशित अध्ययनलाई व्याख्या गर्ने थप सत्य–तथ्यमा आधारित सामग्री जुटाइदिन्छ । पुस्तक रोजगारीका निमित्त विदेश पलायन हुनुपूर्व पढ्नैपर्ने कोटीको छ । नीति–निर्मातालगायत सम्बन्धित सरकारी निकायका कर्मचारी तथा म्यानपावर सञ्चालकहरूले पुस्तक पढेर यस्तो पाप गरेर त के पैसा कमाउनु भनेर मनन गर्दिए लाखौँलाख नेपालीले यति धेरै सास्ती त भोग्नुपर्दैनथ्यो ।