• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बेँसीसहर नगरपालिका–११ चिती बानियाँ पँधेरामा दुई वर्षअघिको दसैँमा हालिएको रोटे पिङ । फाइल तस्बिर
शान्ता कमली लमजुङ
२०७८ असोज २३ शनिबार १०:००:००
समाज

पिङविनाको गाउँ

२०७८ असोज २३ शनिबार १०:००:००
शान्ता कमली लमजुङ

अघिल्लो पुस्ताका मानिसहरू पिङ खेलेर रमाएका सम्झना बोकेर दसैँ मान्छन् । तर, नयाँ पुस्तालाई भने पिङप्रति चासो नै छैन । हिजोआज गाउँघरतिर अधिकांश किशोर–किशोरी, युवा, बालबालिकाहरू मोबाइलमा झुन्डिरहेका देखिन्छन् । यस्तो दृश्य देखेर बूढापाकाहरू चिन्तित हुन्छन् ।

 

लमजुङको हरेक गाउँ–बस्तीमा खेलिने पिङ लोप हुँदै गएको छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दसैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज आधुनिक जीवनशैलीसँगै यस्ता संस्कृति बिस्तारै हराउँदै गएको छ । नेपालीहरूको मौलिक संस्कृतिका रूपमा रहेको पिङ हराउँदै गएकोप्रति बेँसीसहर नगरपालिका–८ की कमला केसी चिन्तित छिन् । 

 

विगतका वर्षहरूमा पिङ किशोर, युवादेखि वयस्कसम्मका सबै मानिसले रुचि मानीमानी खेल्थे । दसैँ नजिकिँदै जाँदा टोलटोलमा पिङ हालिन्थ्यो । युवा, किशोर–किशोरी, केटाकेटी, बूढाबूढी पिङवरपर झुम्मिन्थे । यस्तो दृश्यले दसैँ नजिकिएको संकेत दिन्थ्यो । तर, अहिले लमजुङका गाउँहरूमा पिङ विरलै देखिन थालेको छ । गाउँबाट पिङ हराउँदै जाँदा चिन्तित छन्, सुन्दरबजार नगरपालिका–८ भोटेवडारका डम्बरबहादुर अधिकारी । उनी गुनासो गर्छन्, ‘पिङ खेल्ने रहर त धेरै छ नि । तर के गर्नु, गाउँमा पिङ नै छैन ।’

 

मध्य नेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेको पनि चिन्ता उही छ । ‘नेपाली मौलिक परम्परा र संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृति नै लोप हुने खतरा बढ्दै छ,’ उनी भन्छन्, ‘बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादसैँका वेला गाउँका बाटा, पाटीपौवा, सार्वजनिकस्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ ।’ 

 

 

बेँसीसहर–११ का ७७ वर्षका दयानिधि पाण्डेको पनि मत उही छ । भन्छन्, ‘गाउँमा युवा छैनन् । सबै विदेशतिर गए । अलिअलि भएका युवाले पनि पिङ खेल्न चासो दिँदैनन् ।’ लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोत्सवमा नै मानिसले आधुनिक ढंगका पिङ खेल्न पाइने भएपछि पिङप्रतिको रुचि कमजोर भएको तर्क गर्छन् । उनी भन्छन्, ‘यसै कारणले दसैँ–तिहारमा खेलिने पिङ संस्कृति लोप हुने अवस्थामा पुगेको हो ।’ 

 

पहिले–पहिले सार्वजनिकस्थलहरूमा मनोरञ्जनका लागि पिङहरू राखिन्थ्यो । टाढा–टाढाका बटुवाहरू पनि खेल्थे, रमाउँथे र जान्थे । तर, हिजोआज गाउँमा कहीँकतै पिङ देखिँदैन । पछिल्ला वर्षहरूमा गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच बढ्यो । सामूहिकतामा रमाउनेभन्दा पनि एक्लै रमाउने संस्कृतिको विकास हुँदै गएकोप्रति बूढापाकाहरू चिन्तित छन् । अघिल्लो पुस्ताका पाका मानिसहरूका लागि पिङ अब बिस्तारै विस्मृतिको सुन्दर संस्कृति बन्दै गएको छ । अघिल्लो पुस्ताका मानिसहरू पिङ खेलेर रमाएका सम्झना बोकेर दसैँ मान्छन् ।

 

तर, नयाँ पुस्तालाई भने पिङप्रति चासो नै छैन । हिजोआज गाउँघरतिर अधिकांश किशोर–किशोरी, युवा, बालबालिकाहरू मोबाइलमा झुन्डिरहेका देखिन्छन् । यस्तो दृश्य देखेर बूढापाकाहरू चिन्तित हुन्छन् । सुन्दर बजारका गणेश सेढाईं विगतका दसैँहरूमा पिङ खेलेको झलझली सम्झिन्छन् । निराश हुँदै उनी भन्छन्, ‘पिङ खेल्न नपाएको दुई वर्ष भो नि । खै कसैले पिङ नै हाल्दैन, कहाँबाट खेल्नु !’