• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सायद अशोक काठमाडाैं
२०७६ बैशाख ७ शनिबार १०:३८:००
फिल्म

लाभ डियाज इन पर्सन

२०७६ बैशाख ७ शनिबार १०:३८:००
सायद अशोक काठमाडाैं

‘मिस्टर डियाज, मेरा लागि केही लेखिदिनु न,’ कलम लिएपछि उनले अलमलमा दुईफेर हात यसै हावामै नचाए अनि किरिङमिरिङ अक्षर कोरिदिँदै गर्दा भने, ‘म ‘माबुहाए’ मात्रै लेखिदिन्छु, फिलिपिनोमा यसको अर्थ हो ‘धेरै बाँच्नु’ ।’ त्यो किरिङमिरिङ अक्षर पनि त्यसैगरी मुस्कुरायो जसरी ‘लाभ डियाज’ मुस्कुराउँदै अगाडिको ‘पोडियम’मा पुगेर भनेका थिए, ‘वेलकम अल द ब्रेभ पिपल ।’
०००
‘मनोजबाबु पन्त’ले ‘हाम्रा लाभ डियाजले...’ भनेर सिनेमासम्बन्धी एउटा आलेखमा लेख्नुभएकै दिन आफ्नो डायरीमा ‘मनोजबाबु’का ‘लाभ डियाज’ को नाम मेरा ‘विम वेन्डर्स’ र ‘किज्लोब्स्की’ सँगै लेखेर राखेको थिएँ । ‘रियल टाइम’ मै फिल्मका दृश्यहरू देखाइदिने यी निर्देशक धेरैलाई किन मन परेको हो मैले त्यतिन्जेलसम्म थाहा पाएको थिइनँ जतिवेलासम्म मैले उनको ‘फ्रम ह्वाट इज बिफोर’ हेरेको थिइनँ । 

‘दिस फिल्म गोज् ब्याकवार्डस ।’ हार्बड फिल्म आर्काइभमा ‘सेन्चुरी अफ बर्थिङ’ भन्ने फिल्मसहित संवाद गर्न उपस्थित फिलिपिनो ‘डिरेक्टर’ ‘लाभ डियाज’ ले यो फिल्म धेरैपल्ट रोक्दै बनाउँदै गरेको फिल्म हो । २०११ मा यो फिल्मसँगै अरू कामहरू पनि गर्दै थिए उनी । त्यही समयमा उनका दुईजना साथीहरूलाई राज्यले हत्या गरिदियो । ती दुई ‘फिल्म क्रिटिक’ र ‘फिल्म स्कलर’ थिए । संवेदनाहरूबाट डुब्दै उत्रिँदै उनले यो ‘एपिक’ बनाएका थिए । मधुरो बोलीमा उनले भनेका थिए, ‘फिलिपिन्समा काम गर्न सजिलो छैन । कोहीवेला त ‘न्युयोर्क’ मा बच्चाबच्ची भएकै ठाउँमा गएर बसौँ र काम गरौँ जस्तो लाग्छ । तर, फेरि फिलिपिन्सको अवस्था सम्झिन्छु, अनि त्यहीँ गएर केही न केही त बनाइराख्नुपर्छ भन्ने लाग्छ ।’

बडो ध्यानले सुनिसकेपछि डियाजले भनेका थिए, ‘जीवनकालभरि सौन्दर्यचेतनाका फरकफरक विश्लेषणहरू अस्तित्वमा रहन्छन् । हामी ‘कलाका लागि कला’ मात्रै भनिरहेका छौँ या व्यापक ‘डिस्कोर्स’को एउटा अंग बन्न सक्ने केही सिर्जना गरिरहेका छौँ ?

राजधानी ‘मनिला’ को एउटा स्टोरमा कुनै बिहान, ४ः३० बजेतिर कफी पिउँदै गर्दा रक्सीले मातेका दुईजना मान्छे फिलिपिन्समा अब आउने आँधीबारे कुरा गर्दै हिँडिरहेको देखेपछि उनलाई त्यति नै वेला फिल्मको ‘कन्सेप्ट’ झिलिक्क भएको रहेछ । एउटा ‘आर्टिस्ट’ ले आँधीको बीचमा ‘प्रेग्नेन्ट’ महिला भेटेको दृश्य कल्पना गरेपछि आफ्ना दुईजना साथीहरूलाई फोन गरेछन् । एउटीले लुगा धुँदै छु भनिछिन् र अर्कीले डेढ घन्टामा ‘फ्लाइट’ छ । ‘डियाज’ ले दुवैलाई तुरुन्तै भेट्न बोलाएछन् र आँधी आउन सक्ने सम्भावित ठाउँमा पुगेर खिचेछन् फिल्मको अन्तिम दृश्य । यसो भनिरहँदा मैले त्यही दिन बिहान हेरेको उनको १७ मिनेटको छोटो फिल्म ‘द डे बिफोर दी एन्ड’ सम्झिएको थिएँ । ६ घन्टाको फिल्म बनाउने निर्देशकले १७ मिनेटको फिल्म बनाएको कुरा आफैँमा एउटा मज्जाको ‘प्याराडक्स’ मानेको थिएँ मैले । त्यसमा ‘सेक्सपियर’को नाटकका संवादहरू बोल्दै कविहरू सडकमा हिँडेको देखाएका थिए उनले । सन् २०५० मा ‘सेट्’ गरिएको फिल्ममा भयंकर तुफान र बाढीका बीचमा तिनै कविहरू मारिन्छन् । फिलिपिन्समा राज्यले कलालाई कसरी मारिरहेको छ भन्ने बिम्ब हो त्यो । खतराको बीचमै रहेर पनि कलाकारहरू त्यसबाट भाग्न सक्दैनन् धेरैपल्ट र चुपचाप हराउँछन्, जसरी ‘डियाज’ का ती दुई साथीहरू हराएका थिए ।

‘लाभ डियाज’ का फिल्ममा दृश्यहरू छुटेर कतै नभेटिने ठाउँमा पुग्दैनन् । ती त्यहीँ हुन्छन् । पट्यार लागेर धेरैचोटि निदाउँदै ब्युँझिँदै गर्दा पनि दृश्यहरू नबुझिने हुँदैनन् । संवादको अन्तिमतिर ‘मोडेरेटर’ ‘जन जियानभिटो’को एउटा जिज्ञासा थियो, ‘६ घन्टाको फिल्म भन्छन् मान्छेले तर ‘नेटफ्लिक्स’ को ‘सिरिज’ लगालग हेर्नेहरूले पनि यत्तिकै लम्बाइको हेरिरहेका हुन्छन् ।’ ‘जन जियानभिटो’ ‘बस्टन’को ‘एमर्सन कलेज’ मा ‘भिजुअल आर्टस् एन्ड मिडिया’ का ‘असिस्टेन्ट प्रोफेसर’ हुन् जो आफैँ लामा डकुमेन्ट्री बनाइरहेका हुन्छन् । ‘अँ, छेउमा ‘पपकर्न’ पनि हुन्छ’ भनेर ‘डियाज’ मुसुक्क मुक्कुराए मात्रै । मलाई कहिलेकाहीँ उनले कुनै कडा ‘स्टेटमेन्ट’ दिए झैँ लाग्छ, ‘सिनेमा ‘सोफिस्टिकेटेड’ मात्रै हैन, कोहीवेला ‘रियल टाइम’ मा चल्ने बिरक्तलाग्दो जिन्दगीको ‘रिफ्लेक्सन’ पनि हो, त्यो पनि हेर ।’ उनको सिनेमाको अत्यासलाग्दो ‘ड्युरेसन’ मा उनले जीवन बिताएको फिलिपिन्स देशको कति प्रभाव छ भनेर म सोचिरहेथेँ । सिनेमाले संसार बदल्छ या बदल्दैन ? सिनेमाको शक्ति के हो ? यस्ता प्रश्न उनलाई झन् धेरै सोध्लान् मान्छेले । त्यस्तै एक सन्दर्भमा उनले सम्झिएका थिए ‘मोहसेन मख्मलबाफ’ लाई जोसित उनी एउटा फिल्म ‘फेस्टिभल’ को ‘जुरी’ बनेका थिए धेरै पहिला । भिडबाट कसैले सोधेको रहेछ, ‘के त ? सिनेमाले बदल्छ त संसार ?’ त्यो ‘सार्कास्टिक’ प्रश्नको उत्तरमा ‘मख्मलबाफ’ ले भनेका रहेछन्, ‘घरीघरी यही प्रश्न किन सोधिराको ? सिनेमाले संसार बदलिसक्यो त ।’

उनले त्यो घटनाबारे किन बताए, त्यसको अर्थ छ । फिल्मको माध्यमबाट फिलिपिन्सका आयामहरू उनले देखाउँछन्, त्यो पनि एकदमै खस्रो आयाम । ‘मिस युनिभर्स’ को ताजले फिलिपिन्सको ‘ग्लिटर’ देखिएको मात्रै हो, पत्र–पत्रमा धेरै समस्या छन् त्यहाँ । ‘त्यहाँ थियटरमा पैसा छैन । थियटर गर्नेहरू फिल्ममा ‘एक्स्ट्रा’ को रोल गर्छन्, ‘टिभी कमर्सियल’ हरू गर्छन् । फिलिपिन्सको इतिहासमै सबैभन्दा भ्रष्ट महिला राष्ट्रप्रमुखको कब्जामा छ देशको शासन । भौगोलिक हिसाबले संसारकै सबैभन्दा शक्तिशाली तुफान चल्ने क्षेत्र हो फिलिपिन्स ,’ भनेका थिए उनले ।

एउटा ‘आर्टिस्ट’ले आँधीको बीचमा ‘प्रेग्नेन्ट’ महिला भेटेको दृश्य कल्पना गरेपछि आफ्ना दुईजना साथीलाई फोन गरेछन् । एउटीले लुगा धुँदै छु भनिछिन् र अर्कीले डेढ घन्टामा ‘फ्लाइट’ छ । ‘डियाज’ ले दुवैलाई तुरुन्तै भेट्न बोलाएछन् र आँधी आउन सक्ने सम्भावित ठाउँमा पुगेर खिचेछन् फिल्मको अन्तिम दृश्य ।

प्रश्न सोध्ने पालो आएपछि सोधेँ मैले, ‘तपाईँले ‘मख्मलबाफ’ भनेको भएर मैले अर्का इरानी ‘फिल्ममेकर’ ‘जफर पनाही’ लाई सम्झिएँ । उनले ‘हाउस एरेस्ट’ मै हुँदाखेरि ‘दिस इज् नट् अ फिल्म’ भन्ने ‘डकु फिक्सन’ बनाए । त्यतिवेला स्वतन्त्र भएर कला सिर्जना गर्नु र आफ्नो परिस्थितिजन्य उकुसमुकुसलाई सम्बोधन गर्नु उनका लागि सौन्दर्यचेत थियो । अहिले यो मोडमा तपाईँका लागि सौन्दर्यचेत के हो ? र त्यसले तपाईँका फिल्महरूमा देखिने एकांकीपनालाई कसरी निर्देश गरेको हुन्छ ?’ प्रश्न सोध्ने र उत्तर दिनेका बीचमा त्यो अवधिभरि लामो समयसम्म ‘आइकन्ट्याक्ट’ भइरह्यो ।

बडो ध्यानले सुनिसकेपछि डियाजले भनेका थिए, ‘जीवनकालभरि सौन्दर्यचेतनाका फरकफरक विश्लेषणहरू अस्तित्वमा रहन्छन् । हामी ‘कलाका लागि कला’ मात्रै भनिरहेका छौँ या व्यापक ‘डिस्कोर्स’ को एउटा अंग बन्न सक्ने केही सिर्जना गरिरहेका छौँ ? हिजो, १४ जना किसानलाई फिलिपिन्सको एउटा प्रान्तमा मारियो र पुलिसले उनीहरू कम्युनिस्ट भएको आशंकामा मारिएका हुन् भन्यो । केही दिनपछि यो घटना यसै सेलाई जान्छ । त्यही राजनीतिक घटनाक्रम र तिनका सांस्कृतिक अनुष्ठानहरू सौन्दर्यचेत हो मेरा लागि यतिखेर ।’ त्यति भनिसकेपछि उनको फिल्मको एकांकीपनालाई उनको सौन्दर्यचेतले कसरी निर्देश गर्छ भन्ने प्रश्नको जवाफ जरुरी भएन, र मैले दोहो¥याएर सोधिनँ पनि । तर, अन्त्यमा यतिचाहिँ भने, ‘हामीलाई ‘पुटिन’ र ‘ट्रम्प’ हरू चाहिँदैन ।’
०००
म सुरुमा त्यहाँ पुग्दा उनी ‘रिसेप्सन’ को पछिल्तिरको एउटा भित्तामा अडेस लागेर कुनै ‘ब्रोसर’ हेर्दै थिए । त्यतिखेर मैले ‘लाभ डियाज’ मात्रै देखेको हो । उनका कुरा सुनेर निस्किँदै गर्दा एउटा परिचित फिलिपिनो ‘फिल्ममेकर’ ‘लाभ डियाज’लाई देखेको आनन्द भइरहेको थियो मलाई । र, एउटा संयोग, जन्मको बिम्ब समातेको फिल्मको साक्षी बसेको मैले त्यहाँबाट निस्किँदै गर्दा फ्रान्सेली फिल्मकी ‘गडमदर’ भनेर चिनिने निर्देशक ‘आग्नेस भार्दा’ को मृत्युको खबर पाएँ । जीवन र मृत्युको एउटा काव्यिक दृश्यजस्तो भइदियो त्यो क्षण, त्यसभित्र मेरो आफ्नो यात्रा त छँदै छ ।