माथि थपक्क गढी
आकाश छोउलाझैँ
जिउँदो इतिहास बोकी
बाह्रमास हुस्सु बोकेर
कतै हिमालचुली
कतै तराई समथर हेरी
पुलकित छ
सामुन्नेमा आदिम सभ्यता बोकेर
गलित थकित शरीर तन्काएर
पुराना सम्झनाहरूमा बाँचिरहेछ
सिउरानी उकालो
यही गोरेटो हो
जमिन्दारदेखि भरियासम्म
मनमोहक दृश्यसँगै लोभिँदै
लामबद्ध हिँडाइमा हुन्थे
टट्टुको घन्टीसँगै ब्यँुझिने
वनपाखा घर–आँगन र खोलानालाहरू
पसलेहरू हतार–हतारमा हुन्थ्यो
बाटाका थुम्कासँगै
जमिरहेका जुनारका दानाहरू
अमलाका गेडाहरू
यात्रीको भरपुर स्वागतमा हुन्थे
चिसोचिसो मौसममा
एक कप चियाको चुस्कीसँगै
जिन्दगीमा आनन्द लिनेहरू
निधारको पसिना र थकाइ मेट्थे
एकछेउमा खुसीले गदगद हाँस्थे
सिउरानी उकालो
यही ठाउँ हो
कुनै वेला हाइ–हाइ थियो
आज समयले बूढो बनाएको छ
आधुनिकताले थप्पड मारेर
उसको टाउकामा
ताँतीका ताँती गाडीहरू कुदिरहन्छन्
मोबाइलको क्यामरामा मात्र ऊ कैद भइरहेछ
यहाँका घरहरू कहाँ गए ?
पाटी–पौवा कता बिलाए ?
टौवाहरू कता पलाएन भए ?
एकान्तको घना जंगलजस्तो
मसानघाटको नियति भोगिरहेछ
सिउरानी उकालो
यही बाटो भएर
आफ्नै जिन्दगीको बाटो बनाउनेहरू
कतै उच्च ओहोदामा
शालीन जिन्दगी व्यतीत गरिहहेका छन्
अलिकति माटोको माया दर्साए
आफ्नै घर–आँगनमा
सिमल र गुराँस फुल्ने थिए
बिचरा व्यथाहरू पोख्न नसकी
पहिरोको चपेटामा फोहोरको डंगुरमा
ओसिलो मन लिएर
आँखामा आशाका दिनहरू
गलाउँदै बेहिसाब बाँचिरहेछ
सिउरानी उकालो ...।।
– सिन्धुली