• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण उप्रेती
२०७८ कार्तिक ६ शनिबार ०६:१९:००
इतिहास

विश्वले बिर्सिएको हाइटीको गौरवशाली इतिहास

हाइटी : जसको स्वतन्त्रता र समृद्धिको सपना औपनिवेशिक शक्तिले कुल्चिरहे

२०७८ कार्तिक ६ शनिबार ०६:१९:००
श्रवण उप्रेती

हाइटीका राष्ट्रपति जोभेनेल मोइस जुलाई ७ मा कडा सुरक्षाका बीच उनकै निवासमा मारिए । मोइसको हत्यापछि पहिलेदेखि हिंसाको ‘महामारी’मा रहेको मुलुक थप अस्थिररतातर्फ धकेलिने डर बढेको छ । सधैँको राजनीतिक अस्थिरताले कारण ग्याङस्टर समूह दबदबा रहेको हाइटीको राजधानी ‘ग्याङस्टरको राजधानी’समेत भन्ने गरिन्छ । राजधानीमा मात्र ९५ वटा आपराधिक समूह सक्रिय रहेको बताइन्छ । प्रभाव विस्तारका लागि ग्याङहरूबीच दिनदहाडैबीच सडकमा गोली हानाहान हुन्छ । यस क्रममा सर्वसाधारण पनि मारिन्छन् । आपराधिक क्रियाकिलापबाहेक उच्च मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य किन्न नसकिने गरी आकासिएको छ । 


सबै कुरा सामान्य हुन्थ्यो भने हाइटीको नाम विश्वमा सम्मानका साथ लिइन्थ्यो । हुन पनि हाइटी निकै गौरवशाली इतिहास बोकेर बसेको छ । विश्व इतिहासमा दास विद्रोहले स्थायी विजय हासिल गरेको एक मात्र मुलुक हो, हाइटी । सन् १७९१ देखि सन् १८०४ बीचसम्म चलेको लामो विद्रोहबाट हाइटीमा दासप्रथा मात्र अन्त्य भएन, त्योसँग मुलुक फ्रान्सको उपनिवदेशबाट पनि स्वतन्त्र भयो । हाइटी संयुक्त राज्य अमेरिकापछि युरोपेली उपनिवेशबाट स्वतन्त्र हुने विश्वकै दोस्रो मुलुक हो । स्वतन्त्रतापछि हाइटीमा स्थापना भएको गणतन्त्र अश्वेत बहुल मुलुकको पहिलो गणतन्त्र थियो । अर्थात हाइटी विश्वको पहिलो अश्वेत गणतन्त्र हो । सन् १८०४ मा फ्रेन्चको नियन्त्रणबाट मुक्त भएपछि हाइटीले संविधान पनि निर्माण गरेको थियो । विश्वको प्रारम्भिक संविधानमा गणना हुने हाइटीको सन् १८०४ को संविधान जारी हुँदा विश्वमा अमेरिका (१७८८), पोल्यान्ड(१७९१) र फ्रान्स (१९७१)ले मात्र लिखित संविधान जारी गरेका थिए । 


तर, गौरवशाली इतिहासले वर्तमानको समस्या समाधान नहुने रहेछ । आज हाइटीलाई असफल राष्ट्रको उदाहरणको रूपमा लिइन्छ । उत्तर अमेरिकाका सम्पन्न मुलुकबीच रहेको यो मुलुक सो क्षेत्रको सबैभन्दा गरिब मुलुक हो । तर, आजको यो स्थितिको लागि सम्पन्न मुलुक त्यसमा पनि श्वेत बहुल मुलुक जिम्मेबार छन् । युरोप र अमेरिकाका स्वेतबहुल राज्यका सरकारले पहिले हाइटीको उच्च दोहन गरे र पछि उसले स्वतन्त्रता घोषणा गरेपछि पनि पटकपटक मान्न तयार भएनन् । पश्चिम शक्तिमध्ये पनि विशेषतः फ्रान्सले हाइटीलाई तहसनहस बनाउन कुनै कसर बाँकी राखेन । आजको हाइटीको स्थितिका लागि हिजोको औपनिवेशिक शासनमा गरिएका व्यवहार र स्वतन्त्रतापछि एक्ल्याउने प्रयास धेरै जिम्मेवार छ ।


हाइटीको इतिहासमा कार्यकालमै मारिने पहिलो राष्ट्रपति होइनन्, मोइस । खासमा हाइटीका दोस्रो राष्ट्रपति तथा स्वतन्त्र सेनानी बोयरपछि १९औँ शताब्दीकालभरि जति पनि राष्ट्रपति बने हरेकजसो हिंसात्मक कुमार्फत अपदस्त भए । यो अभ्यास २०औँ शताब्दीमा पनि अन्त्य भएन । २०औँ शताब्दीको पहिलो १५ वर्षमा १० राष्ट्रपति बदलिए । हाइटीको इतिहासमा २८ वटा सरकार बलपूर्वक अपदस्त भएका छन् । यस्तो सत्ता परिवर्तनपछि प्रायजसो देशको संविधान फेरिन्थ्यो । हाल हाइटीमा लागू संविधान २३औँ संविधान हो भने यस क्रममा केही राष्ट्रपति मारिएका पनि छन् ।


हाइटीमा निरन्तरको राजनीतिक अस्थिरताको दाउ हेरेर सन् १९१५ मा छेउमै महाशक्तिको रूपमा उदाइरहेको अमेरिकाले हाइटीमा देशभित्रका आफ्नो व्यावसायिक स्वार्थलाई जोगाउने भन्दै नौसैनिक पठायो । खासमा अमेरिकाले हाइटीभित्र बढ्दो जर्मन प्रभावलाई निस्तेज पार्न पनि यो कदम चालेको थियो । जर्मनी र अन्य पश्चिमी मुलुक पहिलो विश्वयुद्ध लडिरहेको थियो । अमेरिकी नौसैनिकले सन् १९३४ सम्म हाइटीमा अड्डा जमाएर बसे । यस अवधिमा अमेरिकाले आफूअनुकूलका व्यक्ति सरकारमा ल्याउँथे र विरोधीहरूको कठोर दमन हुन्थ्यो । 


सन् १९१५ को अमेरिकी अतिक्रमण हाइटीमाथि विदेशी हस्तक्षेपको पहिलो घटना थिएन । हाइटीमा विभिन्न समयमा स्पेन, फ्रान्स, अमेरिका, डोमिनिकन गणतन्त्रले शासन गरे । र, सबैले हाइटीलाई केही न केही हानी पु¥याएर छाडे । हाइटीको पहिलो बाह्य अतिक्रमण क्रिस्टोफर कोलम्बसबाट सुरु भएको थियो । अमेरिका पत्ता लगाएको जस पाउने स्पेनी नाविक क्रिस्टोफर कोलम्बसले अमेरिका महादेशमा चार समुद्री यात्रा गरे । त्यसमध्ये पहिलो यात्रामै उनी हाल हाइटी रहेको टापुमा पुगेका थिए । क्रिस्टोफर कोलम्बसले यही टापुमा अमेरिका महादेशमा पहिलो युरोपेली बसोवास बसाएका थिए ।

स्पेनिस, फ्रेन्च र अमेरिकी औपनिवेशिक शक्तिले विश्वमा दास विद्रोहबाट जन्मिएको र पहिलो अश्वेत गणतन्त्र मुलुक हाइटीको स्वतन्त्रता र वैभवको सपनालाई कुल्चिरहे ।

 

क्रिस्टोफर कोलम्बसले हाइटी पुग्दा त्यहाँ पहिलेदेखि ताइनो नामक आदिवासीहरूको बसोवास थियो । उनीहरू हजारौँ वर्ष पहिले एसिया र अमेरिकाबीचको समुद्र रहेको भूभाग हिउँले जमेको वेला एसियाबाट बसाइँ सर्दै अमेरिका महादेश पुगेका थिए । आफ्नै हिसाबको विशिष्ट संस्कृति र सभ्यता भएको ताइनो जाति टापुलाई ‘ऐइती’ भन्थे । तर, कोलम्बसलाई यो नाम स्वीकार्य भएन, उनले यस टापुको नाम हिस्प्यानियोला (आफूले जहाजी अभियान सञ्चालन गरेको देशको नामबाट ‘सानो स्पेन’) राखिदिए । कोलम्बसले आदिवासीहरूप्रतिको अवहेलना तिनको वासस्थानको नाम फेरेर सुरु भएको थियो ।
कोलम्बसले ताइनो जातिलाई पहिलोपटक भेट्दा तिनले सुनका गहना लगाएको देखेका थिए । त्यसैले उनले टापुमा सुन खानी हुनसक्ने लख काटे । त्यसैले पनि उनले सुनको उत्खननका लागि टापुमा बसोवास गराएको भनिन्छ । कोलम्बसले ताइनो आदिवासीलाई नै बन्धक बनाएर सुन उत्खननमा प्रयोग गरे । केही परिमाण सुन भेटियो पनि । तर, यसमा आदिवासीले ठूलो क्षति भोगे । क्रिस्टोफर कोलम्बसले शोषण गरेर खानी उत्खनन गर्दा कैयौँ आदिवासीले ज्यान गुमाए । बचेका ताइनो आदिवासीहरू पनि युरोपेलीहरू संसर्गमा आउँदा तिनलाई लाग्ने रोगका कारण झन्डै सखापजस्तै भए । समयसँगै टापुमा ताइनो भेटिन छाड्यो । स्पेनी उपनिवेशवादीहरू छेउछाउका भाग र टापु पूर्वी भाग (आजको डोमिनिकन गणतन्त्र) मा लाखा पाखा लागे । 


स्पेनिसको काम नलाग्ने भनेर बेवास्तामा परेको यो भागमा फ्रेन्चहरूले चाख दिन थाले । आदिवासीहरूको बसोवासको समयमा खेतीपाती हुने जमिन खानी उत्खननको समयमा थप विस्तार भएको थियो । र, त्यहाँको जमिन विश्वकै ममिलोमध्ये एक थियो । ती दिन युरोपमा कपास, चिनी तथा कफीको उच्च माग थियो । फ्रेन्च धनाढ्य जमिनदारले यस भूमिमा खेती सुरु गरे । उच्च उब्जनी हुन थालेपछि ठूलो स्तरमा खेती हुन थाल्यो र त्यसका लागि त्यति नै ठूलो संख्यामा कृषि मजदुरको आवश्यकता पर्न थाल्यो । फ्रान्सले श्रमशक्तिका लागि केही समयदेखि अफ्रिका महादेशबाट दास बनाएर अमेरिका महादेश ल्याउने गरेको अश्वेतहरूलाई प्रयोग गर्न थाल्यो । 


सुरुमा फ्रेन्च बेस्ट फ्रेन्च कम्पनीमार्फत हाइटीको खेती सञ्चालन हुने गरेकोमा सन् १६६५ मा राज्य स्वयंले औपचारिक शासन चलाउन थाल्यो । जसलाई समयक्रममा त्यस क्षेत्रको अर्को औपनिवेशिक शक्ति स्पेनले पनि मान्यता दियो । हाइटीको कृषि साम्राज्य फ्रान्सका लागि अत्यधिक नाफामूलक सिद्ध भयो । हाइटीमा त्यसबखत संसारको सबैभन्दा धेरै उखुखेती हुन थाल्यो । कफी उत्पादनमा यो मुलुक निकै अगाडि थियो । १८औँ शताब्दीमा हाइटी सम्पूर्ण युरोपेली उपनिवेशमध्ये सबैभन्दा धेरै मुनाफा दिने उपनिवेश बन्यो । सन् १७८० को दशकमा युरोपले उपभोग गर्ने ६० प्रतिशत कफी र ४० प्रतिशत चिनी हाइटीले पूर्ति गथ्र्यो । अर्थात् वेस्ट इन्डिज क्षेत्रमा रहेको अन्य मुलुकका सबै उपनिवेशभन्दा बढी उत्पादन हाइटी एउटैमा मात्र हुन्थ्यो । 


तर, फ्रान्सको मुनाफा अफ्रिकाबाट दास बनाएर ल्याइएको श्रमिकको चरम शोषणबाट सम्भव भएको थियो । हाइटीको खेती चलाउन बर्सेनि ४० हजार अश्वेतहरू भित्र्याइन्थ्यो । तीमध्ये धेरै त काममा हुने अत्यधिक शोषण, न्यून भोजन, कठोर श्रम र गम्भीर सजायले मर्थे । जसको कारण दासदासीहरूको आपूर्ति निरन्तर जारी राख्नुपथ्र्यो । फ्रेन्च जमिनदार तथा सरकारी अधिकारीहरू अश्वेत दासप्रति निकै क्रुर हुन्थे । सामान्य गल्तीमा श्रमिकहरूलाई दिनभर उल्टो झुन्ड्याएर राख्थे, बोरामा हालेर जिउँदै समुद्रमा फाल्थे, जिउँदै गाड्नेजस्ता कार्य पनि सामान्य थियो । ती वेला लेखिएका दस्तावेजअनुसार नेल लगाएर लहरै काम गरिरहेकामध्ये कोही अत्यधिक थकानका कारण मर्थे । यसरी मरेका दासीको नेल खोल्ने झन्झट गर्नुको साटो टाउको काटिन्थ्यो । कृषि काममा संलग्न दासदासीहरूको जीवनस्तर यति दयनीय थियो दासी महिला गर्भको बच्चालाई जन्माउन डराउँथे र विभिन्न तरिकाले गर्व फाल्थे । त्यसवेला हाइटीमा दासदासीको औसत आयु जम्मा २१ वर्ष मात्र थियो । खासमा यही क्रुर व्यवहारले दासदासीहरू उनीहरूले कृषि जमिनदार तथा फ्रेन्स उपनिवेशविरुद्धको भूमिगत रूपमा संगठित हुन थाले । 

हाइटीको राजधानी पोर्ट–अ–प्रिन्स, तस्बिर : न्युयोर्क टाइम्स

१७९१ अगस्ट २१ मा दासी श्रमिकहरूको आक्रोश विस्फोट भयो । हाइटीमा विद्रोह सुरु हुँदा फ्रान्सभित्रै ठूला उथलपुथल भइरहेको थियो । विश्वचर्चित फ्रेन्च क्रान्ति भएको दुई वर्ष मात्र भएको थियो र फ्रान्सभित्र राजनीतिक स्थिर हुन सकेको थिएन । हाइटीमा क्रान्ति हुँदा फ्रान्सभित्र क्रान्तिकारीहरूको सरकार थियो । तिनले हाइटीको विद्रोहलाई हेरेर सम्पूर्ण फ्रान्सभर दासदासीलाई मुक्त गर्ने निर्णय गर्‍यो । दासप्रथा मुक्त गरे पनि क्रान्तिकारी फ्रेन्च सरकार हाइटी त्याग्न तयार थिएन । त्यसैले त्यो टापु राज्यलाई नियन्त्रण लिन फ्रान्सले त्यहाँ सेना पठाइयो । जनरल टुसान्ट लुभेरटुयरको नेतृत्वमा गठित हाइटीको सेनाले फ्रेन्स सेनाविरुद्ध विरतापूर्वक लड्यो । विशाल औपनिवेशिक सेनासँग लुभेरटुयरको स्रोत नभएको सेनालाई हम्मेहम्मे प¥यो । लुभरटुयर फ्रेन्सहरूको कब्जामा पुगे । उनलाई फ्रान्समा लगेर कैद गरियो, जहाँ उनको ज्यान गयो । हाइटी स्वतन्त्रताको परिकल्पनाकार लुभेरटुयर पक्राउ परे पनि उनले सुरु गरेको स्वतन्त्रता संग्राम रोकिएन । अन्य हैटियन सैनिक जनरल एलेक्जेन्डर पेसन, जिनज्याक डेसालिनले उनको स्थान लिए । अन्ततः तिनले युरोपका कुनै पनि लडाइँमा नहारेको नेपोलियनको दिक्विजयी सेनालाई हराइछाडे । सन् १८०४ जनवरी १ मा हाइटीले आफूलाई फ्रान्सको उपनिवेशबाट मुक्त ग¥यो । 


हाइटीको स्वतन्त्रालाई कुनै पनि तत्कालीन शक्तिले मान्यता दिएन । यहाँसम्म कि बेलायतको उपनिवेशबाट केही वर्षअघि मात्र मुक्त भएको संयुक्त राज्य अमेरिकाले समेत हाइटीको स्वतन्त्रतालाई मान्यता दिएन । हाइटी र उसमा एउटा ठूलो भिन्नता थियो । अमेरिका गोरा बहुल मुलुक थियो भने हाइटी अश्वेत त्यसमा पनि पूर्वदासदासी मुलुक । सायद हाइटीको राजनीतिक सफलतालाई मान्यता दिए आफ्नो देशको अश्वेत दासहरू उत्साहित हुन्छन् भन्ने डर श्वेत बहुल संयुक्त राज्य अमेरिकालाई थियो । हाइटीले फ्रान्सको उपनिवेशबाट स्वतन्त्रता घोषणा गरेको समर्थन गर्नुको साटो त्यसवेला शक्तिशाली मुलुकहरू ऊविरुद्ध नाकाबन्दी गर्न एकजुट भए । सुरुबाटै एक अश्वेत स्वतन्त्र मुलुकविरुद्ध श्वेत शक्ति एकजुट भएर उभिए । 

सन् १७८० को दशकमा युरोपले उपभोग गर्ने ६० प्रतिशत कफी र ४० प्रतिशत चिनी हाइटीले पूर्ति गथ्र्यो । एक समय विश्वको सबैभन्दा समृद्ध उपनिवेश आज विश्वको सबैभन्दा गरिब मुलुक कसरी बन्यो ?


फ्रान्सले तत्कालीन समयको सबैभन्दा समृद्ध उपनिवेश गुमाएको थियो । उसले यो तथ्यलाई सहजै स्विकार्न सकेन र हाइटीलाई स्वतन्त्र नभएर विद्रोही राज्य भन्थ्यो । सन् १८२५ सम्म फ्रान्सले हाइटीलाई पुनः कब्जामा लिने प्रयास गरिरह्यो । हाइटीले कुनै हालतमा दासत्व नबिगार्ने बरु जुनसुकै मूल्य तिर्ने बताएपछि फ्रान्सले ठूलो क्षतिपूर्ति रकम माग गर्‍यो । फ्रान्सले क्षतिपूर्तिमा हाइटी परित्याग गर्दा छोडेको जमिनको मात्र हिसाब गरेको थिएन, आफूले गुमाउनु परेको दासदासीलाई पनि सम्पत्तिमा गणना गर्‍यो । सबै जोडेर फ्रान्सले हाइटीसँग १५ करोड फ्रान्कको माग गर्‍यो, त्यो पनि सुनमा । वर्षौँसम्म दोहन गरेर नाफा कुम्ल्याएको उपनिवेशवादी शक्तिले स्वतन्त्रता चाहने मुलुकसँग उल्टो क्षतिपूर्ति माग्नु हास्यास्पद कुरा र सरासर लुट थियो । तर, कैयौँलाई भद्दा मजाक लागेको, एउटा बलियो मुलुकले हिजोको दिनमा आफूले कज्याएको मुलुकबाट क्षतिपूर्ति लिने फ्रान्सले कार्यान्वयन गरिछाड्यो । आज पनि उत्तर औपनिवेशिकवादी इतिहासकारहरू यसलाई इतिहासको सबैभन्दा ठूलो लुटको रूपमा लिन्छन् । 


पाँच वर्षपछि फ्रान्सले क्षतिपूर्ति रकम केही घटाए पनि हाइटीका लागि रकम निकै ठूलो थियो । हाइटीले सन् १८२५ देखि सन् १९४७ अर्थात् झन्डै १२२ वर्षसम्म मूल्य तिरिरह्यो । हाइटीसँग यति विशाल ऋण तिर्न सक्ने धन थिएन, त्यसैले उसले अमेरिकी, जर्मन र फ्रेन्च बैंकबाट विशाल ब्याजदरमा ऋण लिएर फ्रान्सको क्षतिपूर्ति तिरिरह्यो । यहाँ रोचक कुरा छ, फ्रान्सको बैंकबाट रकम सापटी लिएर हाईटीले उसकै राज्यलाई क्षतिपूर्ति तिरिरहेको थियो । र, त्यसका लागि बैंकलाई ठूलो रकम ब्याजसमेत तिथ्र्यो । ब्याजदर पनि यति धेरै थियो कि सबै ऋण तिरिसक्दा उसले क्षतिपूर्तिलाई तोकिएकोभन्दा दोब्बर रकम ब्याज नै तिरेको थियो । आज पनि समय समयमा हाइटीभित्र फ्रान्सले विगतमा गरेको दोहनको क्षतिपुर्ति दिनुपर्ने कुरा उठ्छ । फ्रेन्च प्रगतिशिल अर्थशास्त्री थोमस पिकेटीले हाइटीलाई फ्रान्सले गरेको दोहनको क्षतिपूर्तिस्वरूप फ्रान्सले २८ अर्ब डलर तिर्नुपर्ने हिसाब निकालेका थिए । तर, फ्रेन्च राजनीतिज्ञले भने यो रकम तिर्नु नपर्ने बताउँदै आएका छन् । 


सन् १९०० मा हाइटीले उसको राष्ट्रिय बजेटको ८० प्रतिशत ऋणमा खर्चनुपर्ने अवस्थामा थियो । लामो समय ठूलो ऋण तिर्दातिर्दा हाइटीको अर्थतन्त्र ध्वस्त बन्यो । सबै ऋण तिरिसक्दा मुलुक अत्यन्त विपन्न र थप ऋणमा फसेको थियो । स्वाभाविक रूपमा कमजोर अर्थतन्त्र तानाशाही उदयका लागि राम्रो वातावरण हुने गर्छ । त्यही भएर सन् १९५७ देखि २८ वर्षसम्ममा फ्रान्वा डुभालियर र उनका छोराले क्रुर शासन चलाए । शीतयुद्धकालीन समयमा डुभालियर बाबुछोराले आफूलाई कम्युनिस्टविरोधी देखाएर अमेरिकाको समर्थन पाइरहे । तर, विदेशी हस्तक्षेपमाझ मुलुक भने तन्नम अवस्थाबाट उठ्न सकेन ।


फेर हाइटी भौगोलिक स्थितिका आधारमा पनि ठगिएको छ । राजधानी पोर्ट ओ प्रिन्स सक्रिय टेक्टोनिक प्लेटमाथि रहेको छ । सो सहरमा सन् २०१० मा आएको विशाल भूकम्पको विध्वंशात्मक असरबाट यो मुलुक अझै उठ्न सकेको छैन । त्यस्तै, यो मुलुक समुद्री आँधी आइरहने भागमा रहेको छ । जसका कारण यहाँको जमिन पटक पटक जलमग्न हुने गर्छ । तर यी दुई प्राकृतिक प्रकोपले विध्वंशात्मक प्रभाव पार्नुमा पनि औपनिवेशिक दोहनको थोरबहुत जिम्मेवार छ । देशको मूल धन विदेशी ऋण तिर्न मात्र खर्च हुँदा हाइटीले राम्रो पूर्वाधार निर्माणमा खर्च गर्न सकेन । सन् २०१० जनवरी १२ मा हाइटीमा सात रेक्टर स्केलको भूकम्प गयो । बलियो पूर्वाधार भएको भूभागमा यति तीव्रताको भूकम्पले त्यति विशाल क्षति पार्दैनथ्यो ।


फ्रेन्स औपनिवेशिककालमा व्यापक खेती गर्नका लागि व्यापक वनविनाश भयो । यसले गर्दा यहाँको माटो कमजोर हुँदै गयो । जुन सामान्य आँधीबेहरीमा पनि भूक्षय हुने गर्छ जब कि एउटै टापुमा पूर्वी भागमा रहेको मुलुक डोमिनिक गणतन्त्रमा त्यस्तो क्षति हुँदैन । यो मुलुक स्पेनिस शासनमा रह्यो । स्पेनिस शासक तथा अधिकारी तुलनात्मक रूपमा समाजमा घुलमिल भएकाले उनीहरूले फ्रेन्सले जस्तो नाफाका लागि अधिकतम दोहन गरेनन् । आज भू–उपग्रहबाट हेर्दा हाइटी र डोमिनिक गणतन्त्रको सिमाना प्रस्ट छुट्टिन्छ । हाइटीको भाग वनस्पतिविहीन उजाड देखिन्छ भने डोमिनिकन गणतन्त्र हराबरा जंगल देखिन्छ । राजनीतिक अस्थिरता र आर्थिक विपन्नताले तानाशाही शासन तथा आपराधिक समूहलाई मलजल ग¥यो । हाइटी यो दलदलबाट निकट भविष्यमा उम्किन निकै कठिन छ । र, उसलाई यो स्थितिमा ल्याउन उसको स्वतन्त्रताबाट त्रस्त औपनिवेशिक शक्ति र आजका सम्पन्न मुलुकहरू स्पेन, फ्रान्स र अमेरिका धेरै हदसम्म जिम्मेवार छन् । 

एजेन्सीको सहयोगमा