• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
उषा थपलिया
२०७८ कार्तिक ६ शनिबार ०८:२५:००
इतिहास

ख्याति र विवादबीच जेलिएका गान्धी

२०७८ कार्तिक ६ शनिबार ०८:२५:००
उषा थपलिया

अहिंसात्मक आन्दोलनमार्फत झन्डै दुई सय वर्षको ब्रिटिस आधिपत्यलाई भारतीय राजनीतिक तथा आध्यात्मिक नेता मोहनदास करमचन्द गान्धीले मुलुकबाट धपाए । आफ्नो वास्तविक नामभन्दा ‘महात्मा गान्धी’बाट विश्वभर चिनिएका उनलाई स्वाधीनताको लडाइँमा मिलेको सफलताकै कारण भारतका ‘राष्ट्रपिता’ मानिन्छ ।

 

अहिंसा र सत्यको जगमा उनले छेडेको आन्दोलनले ब्रिटिस शासकलाई भारतबाट त लखेट्यो नै, दक्षिण एसियाली मुलुकहरूमा जागरण ल्याउनसमेत सघायो । नेपाली राजनीतिक नेता तथा सामाजिक अभियन्ताहरूले राणाशासनविरुद्ध आन्दोलन गर्न गान्धीबाट नैतिक र भौतिक प्रोत्साहन पाएका थिए । शस्त्रास्तको होडमा दुई–दुईवटा विश्वयुद्धले जर्जर बनेको तत्कालीन वैश्विक परिवेशमा गान्धीको अहिंसात्मक आन्दोलनले दिलाएको सफलता पूरै विश्वका लागि फरक दृष्टान्त थियो । उनकै व्यक्तित्वको कदरस्वरूप संयुक्त राष्ट्रसंघले गान्धीको जन्मदिन अक्टोबर २ लाई ‘विश्व अहिंसा दिवस’को रूपमा मनाउने गरेको छ । 

 

देशबाट ब्रिटिस साम्राज्य हटाउने श्रेयका साथै निष्ठाको राजनीति, आध्यात्मिक चिन्तन, राष्ट्रवादी भावना, महिला सशक्तीकरणका लागि सकारात्मक दृष्टिकोणजस्ता पक्ष उनको व्यक्तित्वसँग जोडिएका छन् । ‘अन्न, वस्त्र, आरोग्य र शिक्षामा आत्मनिर्भर हुन सके दुनियाँमा कसैको गुलाम हुनुपर्र्दैन’ भन्ने सैद्धान्तिक दर्शनलाई व्यवहारमा उतार्न उनी हमेसा लागिपरे । आफैँले चर्खामा धागो कातेर बनाइएको धोती, गम्छा लगाएर स्वदेशी उत्पादन प्रवर्धन गर्ने उनको शैलीको प्रभाव छिमेकी देशमा पनि परेको थियो । अरू देशका लागि समेत प्रेरणाको स्रोत बनेको गान्धीको व्यक्तित्व विवादमुक्त भने हुन सकेन । अनेकौँ प्रसंग, अभिव्यक्ति र व्यवहारहरूले उनको उत्तरार्धको जिन्दगीलाई निकै आलोचनात्मक बनायो । मुलुकप्रति त्याग र समर्पणकै कारण मोहनदासबाट ‘महात्मा’ (महान् आत्मा) बनेका गान्धीउपर किन विरोधाभाष उत्पन्न भयो ? विश्वमै ख्याति फैलिएको सन्त र त्यागी व्यक्तिको जीवनका विभिन्न आयाममाथि आलोचना हुनुका कारण के के थिए ? के–कस्ता घटनाले यो अवस्था निम्त्याएको थियो ? यिनै सवालमाथि यस आलेखमा चर्चा गरिनेछ । 


गान्धीको व्यक्तित्वबारे भारतीय नेताहरूकै सर्वस्वीकार्य मत पाइँदैन । गान्धी जनस्तरबाट ‘राष्ट्रपिता’को रूपमा त चिनिए, तर यसबारे भारत सरकारले न अहिलेसम्म औपचारिक निर्णय गर्न सकेको छ, न त राजनीतिक दलहरू नै यसमा एकमत देखिन्छन् । मुलुकको स्वतन्त्रताका लागि जीवनभर लडेका गान्धीले स्वतन्त्र भारतमा ६ महिना पनि बाँच्न पाएनन् । अहिंसाको प्रवर्तक उनको जीवनलीला अन्ततः हिंसात्मक कृत्य (हत्या) बाटै सकियो, तर उनको दुःखद हत्याको सन्दर्भमा भारतीय दलहरू परस्पर विभाजित भए ।

 

गोलीको आहतमा पनि राम नाम जप्दै देह छाडेका गान्धी मुस्लिम धर्मको पक्षपोषकमा समेत दरिए । वर्तमान सत्तासीन दल भारतीय जनता पार्टीले गान्धीको हत्यालाई ‘समयको माग हो’ भन्न छाडेको छैन । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूसमेत गान्धीको स्वभाव र चरित्रप्रति पूर्ण सन्तुष्ट थिएनन् । बेलायती फिल्म निर्देशक रिचार्ड एटनबरोले सन् १९८२ मा रिलिज गरेको फिल्म ‘गान्धी’ निर्माणअघि गान्धीको सम्बन्धमा धेरै अनुसन्धान गरेका थिए । सोही क्रममा जवाहरलाल नेहरूसँग ‘गान्धीबारे तपाईंको  धारणा के छ ?’ भनी जिज्ञासा राखेका थिए । ‘गान्धी महान् व्यक्ति भएर पनि उनीसँग उनका कमजोरी, मनोदशा र असफलता थिए’ भन्ने जवाफका साथै ‘गान्धी एक मानव भएकाले सन्त नबनाउनुहोस्’ भन्ने आग्रह नेहरूले एटनबरोसँग गरेका थिए । 

अफ्रिकाबाट १९१५ मा स्वदेश फर्किएदेखि भारत स्वतन्त्र भएको १९४७ को अवधिलाई ‘गान्धी युग’ भनेर इतिहासमा लेखाउन गान्धी सफल भए । राष्ट्रपिता, बाप्पु, सन्त, महात्माजस्ता उपमा उनको नामसँग जोडिए । तर, फरकखाले दृष्टिकोण, चरित्र, अभिव्यक्ति र अडानका कारण अनेकौँ विवाद र आलोचनाले पनि उनलाई पछ्याउन छाडेन ।

 

गान्धीकै अहिंसामार्ग पछ्याएका मार्टिन लुथर किङ र नेल्सन मन्डेलाजस्ता नेताहरू नोबेल पुरस्कारबाट सम्मानित भए, तर चारपटक मनोनयनमा परेर पनि गान्धीले पुरस्कार पाउन सकेनन् । गान्धीका विवादास्पद अभिव्यक्तिलाई यसको कारण मानिन्छ । ‘ब्रिटिसविरुद्धको अहिंसात्मक आन्दोलन जुनसुकै वेला हिंस्रक हुन सक्ने’ गान्धीको टिप्पणी र यसैअनुसार देखिएको पछिल्लो परिस्थितिका कारण मनोनयनमा परेर पनि उनले पुरस्कार पाउन नसकेको नोबेल कमिटीका एक सल्लाहकार जैकव वारमुलरको भनाइ छ । सन् १८४२ अगस्ट ८ देखि ‘भारत छोडो आन्दोलन’का नाममा ‘गर या मर’ भन्ने उनको नारा पनि यसका लागि सहायकसिद्ध मानिन्छ । ‘गान्धीको राष्ट्रियता भारतीय सन्दर्भमै सीमित रहेको’ भन्दै वारमुलरले उनको राष्ट्रवादमा पनि खोट लगाएका थिए । गान्धी राष्ट्रवादी नेता मानिन्छन्, तर उनको राष्ट्रवादी दृष्टिकोण आफ्नो र अरूका लागि फरक हुने गरेको केही तथ्यले पुष्टि गरेका छन् । नेपालसँग जोडिएको एक प्रसंगमा समेत गान्धी–राष्ट्रवादको एकांगीपन मजासँग झल्किन्छ । 


प्रसंग, सुगौली सन्धिमा नेपालले गुमाएको भूभाग फिर्ताको हो । पुष्पप्रसाद लुइँटेलको पुस्तक ‘इतिहास...’ मा उल्लेख भएअनुसार बेलायतले भारतलाई स्वतन्त्रता दिनेताका अंग्रेजका अन्तिम गर्भनर माउन्ट वेटनले राणाहरूलाई एक सन्देश पठाए– ‘सुगौली सन्धिमा गुमेको भूमि फिर्ता लिने हो भने हामी तयार छौँ ।’ त्यतिवेला गान्धी भारतका प्रभावशाली नेता थिए । अंग्रेजहरूको यो आसय र यसमा भारतीय नेताहरूको राय बुझ्न राणाहरूले सामाजिक अभियन्ता तुलसीमेहर श्रेष्ठलाई भारत पठाए ।

 

गान्धी आश्रममा दीक्षित भएका श्रेष्ठको गान्धीसँग घनिष्ठ सम्बन्ध थियो । श्रेष्ठले राणाहरूको सन्देश सुनाएपछि गान्धीले भने, ‘यदि अंग्रेज राजी हुन्छ भने आफूलाई त्यो भूमि फिर्ता गर्न कुनै आपत्ति छैन ।’ तर, उत्तिखेरै गान्धीले यो पनि थप्न भुलेनन् कि ‘१२२ वर्षदेखि भारतीय भूमिको रूपमा ती क्षेत्रले प्रगति गरिरहेका छन्, शिक्षा जागरणको विकासका साथै त्यहाँ स्वतन्त्रता र प्रजातन्त्रका एकसेएक नेताहरू हुर्किएका छन् । त्यो क्षेत्र नेपालमा फिर्ता हुँदा राजा–महाराजाहरूको पारिवारिक शासनलाई ठूलो चुनौती त्यहीँबाट उत्पन्न नहोस्, यतातिर पनि विचार पु¥याउन मेरो सल्लाह पु¥याइदिनुहोला ।’


श्रेष्ठबाट गान्धीको सन्देश हुबहु सुनेपछि राणाहरू त्यसै सेलाए । गभर्नरको प्रस्ताव गान्धीको जुक्तिसँगै तुहियो । सुगौली सन्धिमा विवश भएर नेपालले त्यो भूमि गुमाउनुपरेकोबारे गान्धी अनभिज्ञ थिएनन्, तर आफ्नो मुलुकमा गाभिइसकेको भूमि सजिलै नेपालमा फिर्ता नजाओस् भन्ने लोभकै कारण गान्धीले पछिल्लो तीर हानेका थिए, त्यसैले उनको भित्री मकसद जोगायो । भारतीय जनताका लागि अंग्रेज शासनभन्दा बढी उकुसमुकुस थियो, नेपालीका लागि राणा कहर । यदि बाहिर भनिएजस्तै गान्धी सत्य, न्याय र निष्ठाका पक्षपाती थिए भने नेपाली जनतामाथि राणाहरूले गरेका अत्याचारप्रति उनी उत्तिकै असह्य हुने थिए, तर उल्टो तथ्य चरितार्थ भयो । नेपाली जनताको स्वतन्त्रताप्रति आँखा चिम्लिएर राणाहरूकै अत्याचारलाई चीरस्थायी बनाउन राणाहरूलाई पनि नफुरेको सुझाब उनले पेस गरे । 


भारतमा महिला सशक्तीकरणका लागि गान्धीको ठूलो योगदान रह्यो । आफ्नो हरेक प्रकारका आन्दोलनमा उनले धेरै महिलालाई समाहित गरेका थिए । महिला–पुरुषको हैसियत बराबरी रहेकाले राज्यका अंगमा महिलालाई पनि स्थान दिइनुपर्छ भन्ने उनको धारणा थियो, महिलाहरूले अवसर पाएका पनि थिए । देशलाई स्वावलम्बी बनाउने उद्योगधन्दामा महिला सहभागितालाई उनले सधैँ प्रोत्साहन गरे । अधिकांश अभियानमा गान्धीसँगको अग्रपंक्तिमा महिलाहरूकै वर्चस्व रह्यो । यतिसम्म कि जीवनको उत्तरार्धतिर गान्धीका शिथिल पाखुरा दायाँबायाँ रहेका महिलाकै काँधमा मात्रै लड्किएको दृश्य तस्बिरहरूमा देखिन्छ । महिलाप्रति यति ‘उदार’ हुँदाहुँदै पनि महिलासम्बन्धी उनका कतिपय दृष्टिकोण निकै आलोच्य रहे ।

 

एकातिर, राष्ट्र निर्माणमा महिलाको भूमिका अपरिहार्य रहन्छ भन्नेमा दृढ संकल्पित र अर्कोतिर, धर्म, संस्कृतिअनुरूपको सनातनी कामकाज, सन्तानको लालनपालन, पति र घरपरिवारको रेखदेख र अन्य यावत् घरेलु जिम्मेवारी महिलाको प्राथमिक विषय हुन् भन्ने द्वैध मनस्थितिलाई उनले एकै समयमा अभिव्यक्त गरिरहे । महिला सन्दर्भमा चर्चा हुँदा यौनसम्बन्धी फरक दृष्टिकोण पनि अक्सर जोडिएर आउने गर्छ । सन्तानोत्पादनका लागि मात्र महिला–पुरुषबीच यौनसम्बन्ध कायम हुनुपर्ने उनको अवधारणा थियो । पुरुषहरू शारीरिक आनन्दका लागि यौनसम्बन्ध राख्न उद्यत हुन्छन् भने महिलाहरू त्यसमा प्रतिरोधी हुनुपर्ने उनी बताउँथे । 


यौनको मामिला खुलस्त पार्दै आफ्नै निजी जीवनलाई समेत चर्चाको विषय बनाएका गान्धीले शारीरिक सुखलाई बिदा गरेपछि पत्नी कस्तुरबासँग आध्यात्मिक सम्बन्ध मात्र रहेको बताएका थिए । जिन्दगीको उत्तरार्धमा ब्रह्मचर्य अपनाएका जैन कवि राजचन्द्र र रसियन लेखक लियो टल्सटोयबाट प्रभावित भएर गान्धी ब्रह्मचर्यतर्फ आकर्षित भएको बुझिन्छ । १३ वर्षमा बिहे गरेका गान्धीले ३८÷३९ वर्षको उमेरमा चार सन्तानको जन्मपछि पत्नी कस्तुरबासँगको शारीरिक सुखबाट मुक्त हुँदै ब्रह्मचर्यमा जाने घोषणा गरे । यतिसम्म त उनको जिन्दगीको निजी विषय ठहरिएला, तर ब्रह्मचर्यमा गइसकेपछि उनको यौनिक क्रियाकलाप जसरी सार्वजनिक भयो, त्यसले उनलाई आलोचित बनायो । ७८ वर्षमा हत्या गरिएका गान्धीले त्यसको केहीअघि किशोरावस्थाको अन्ततिर रहेकी नातिनी–भतिजी मनुलाई विनावस्त्र आफ्नो बिछ्यौनामा सुत्न लगाए । ‘ब्रह्मचर्यप्रति आफ्नो प्रतिबद्धताको परीक्षणका खातिर त्यसो गरिएको तर परीक्षणमा आफू असफल भएको तथ्य गान्धी आफँैले सार्वजनिक गरे, महिला अधिकारकर्मी र बौद्धिक समुदायले उनको परीक्षणलाई मननयोग्य ठानेनन् । 


आफैँद्वारा संरक्षित, नातिनी मानिएकी र किशोरावस्थाकै पेरिफेरीमा रहेकी मनुलाई यौन परीक्षणको साधन बनाएर शक्ति र सम्मानको दुरुपयोग गरेको आरोप गान्धीमाथि लाग्यो । यद्यपि त्यो वेला मात्र होइन, अहिले पनि गान्धीका अनुयायीहरू मनुुुुसँग गान्धीको सम्बन्ध अस्वस्थ नरहेको बताउँछन् भने गान्धी आफैँले त्यो कुरा बाहिर ल्याएकोमा ‘इमानदार स्पष्टोक्ति’ भन्ने गर्छन् । वास्तवमा गान्धीको अनैतिक क्रियाकलाप थियो त्यो । लेखक तथा अनुसन्धानकर्ता रिता बेनर्जीले त गान्धीलाई पीडक नै करार गरेकी छिन् ।

गान्धीकै अहिंसा मार्ग पछ्याएका मार्टिन लुथर किङ र नेल्सन मन्डेलाजस्ता नेताहरू नोबेल पुरस्कारबाट सम्मानित भए, तर चारपटक मनोनयनमा परेर पनि गान्धीले पुरस्कार पाउन सकेनन् । गान्धीका विवादास्पद अभिव्यक्तिलाई यसको कारण मानिन्छ ।

 

कम उमेरमै ब्रह्मचर्य घोषणा गरेर जीवनको अन्तिम अवस्थातिर समेत यौन परीक्षण र त्यसमा असफल भएको घोषणा गान्धीले कुन नैतिक बलका आधारमा गर्न सकेका हुन् ? आफैँप्रति विश्वस्त हुन नसक्ने ब्रह्मचर्यको भाकल के ढोँगी चरित्र थिएन ? श्रीमतीको समेत सहमतिमा ब्रह्मचर्य घोषणा गरेको भनिए पनि कस्तुरबाको पक्षबाट गान्धीको ब्रह्मचर्यलाई कसरी विश्लेषण गर्ने ? के आफूले जस्तै अन्य पुरुषसँग ब्रह्मचर्यको परीक्षण र त्यसमा असफल हुने छुट गान्धीले कस्तुरबालाई दिएका थिए ? यी प्रश्नहरू गान्धीउपर सधँै तेर्सिरहेका छन् । महिलावादी दृष्टिकोणका साथै उनले आत्मसात् गरेको हिन्दूधर्म, अध्यात्मिक चेतना, न्याय र नैतिकताका मान्य सिद्धान्तलगायत कुनै पनि पक्षले उनको त्यो चरित्रलाई स्विकार्दैन भने गान्धीलाई साँचो अर्थमा कसरी न्यायका प्रतीक, सन्त, धार्मिक, आध्यात्मिक तथा महिलावादी नेताका रूपमा स्विकार्ने ?  


रंग र जातिविरोधी नेताको रूपमा पनि गान्धीलाई चिनिन्छ । तर, उनका जीवनी लेखक रामचन्द्र गुहा आफ्नो जीवनको सुरुमै गान्धी जातीयतावादी रहेको बताउँछन् । २१ वर्ष दक्षिण अफ्रिका बसाइका दौरान उनले भारतीयहरूका लागि मात्र आन्दोलन गरेर त्योभन्दा दयनीय जीवन बिताइरहेका अश्वेतका लागि बेवास्ता गरेको आरोप लागेको पाइन्छ । सन् २०१६ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले घाना विश्वविद्यालय परिसरमा अनावरण गरेको गान्धीको मूर्ति २०१८ मै हटाइयो । युनिभर्सिटीका प्रोफेसरहरूले सुरु गरेको ‘पिटिसन’मा गान्धीलाई ‘रेसिस्ट’को आरोपसहित ‘अफ्रिकन हिरोज सुड बी पुट फस्र्ट’ भन्ने अभियानका कारण मूर्ति हटाइनुकासाथै ‘गान्धी मस्ट फल ह्यासट्याग’ प्रयोग फैलिएको बिबिसीकै साइटमा उल्लेख छ । यस्ता गतिविधिका कारण अफ्रिकामा कायम गान्धीको प्रतिष्ठामा समेत धक्का लाग्दै गरेको बुझिन्छ । 

 

अफ्रिकाबाट १९१५ मा स्वदेश फर्किएदेखि भारत स्वतन्त्र भएको १९४७ को अवधिलाई ‘गान्धी युग’ भनेर इतिहासमा लेखाउन गान्धी सफल भए । राष्ट्रपिता, बाप्पु, सन्त, महात्माजस्ता उपमा उनको नामसँग जोडिए । तर, फरकखाले दृष्टिकोण, चरित्र, अभिव्यक्ति र अडानका कारण अनेकौँ विवाद र आलोचनाले पनि उनलाई पछ्याउन छाडेन । अहिंसा र शान्तिको प्रवर्धनमा विश्वव्यापी ख्याति कमाएका गान्धी अन्ततः हिंसात्मक तरिका खेपेर संसारबाट बिदा भए । तर, विडम्बना के छ भने गान्धीको हत्या विवादित बनेर हत्यारा नाथुराम गोड्सेको प्रशंसा क्रमशः बढ्दै गइरहेको छ ।