• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सुमिना
२०७८ कार्तिक १३ शनिबार ०७:५२:००
साहित्य

उसलाई शान्त रहन दिनुहोस्

२०७८ कार्तिक १३ शनिबार ०७:५२:००
सुमिना

एक स्त्री वेश्या कहलिएकी हो–
ऊ अक्सर ओठमा लगाएर हिँड्थी 
गाढा रातो लिपस्टिक ।

 

अर्की आइमाई वेश्या कहलिएकी हो–
हुँदैनथ्यो कहिल्यै उसको मुस्कानमा कुनै संकोेच
अक्सर घरभित्र वा बाहिर, एकान्तमा वा भिडमा 
मुस्कुराउँथी उन्मुक्त ।

 

अझै अर्की वेश्या भनिएकी हो–
ऊ समान भएर सहकार्य गर्थी 
निडर पुरुषहरूसँग ।

 

अर्की रमाउँथी चुरोटका धुवाँहरूमा 
र अक्सर घुमिरहन्थी 
डिस्को बार र नाइट क्लबहरूमा ।

 

एउटी आइमाईको ओठको रङसँग 
अर्की आइमाईको उन्मुक्त हाँसोसँग 
समान भावसँग
निडर जिन्दगीको चुनावसँग 
असहमत हुने 
कायर समाजका 
ए अति प्रतिष्ठित 
मेरा अनन्य पुरुष मित्रहरू हो,

यति सर्वसुलभ नबनाउनुहोस्
तपाईंका भाषाहरूमा 
तपाईंका लेखाइ र बोलाइहरूमा 
‘वेश्या’ र ‘वेश्यालय’ शब्द 

वेश्या त्यस्तो सांकेतिक भाषा होइन 
जसलाई प्रस्तुत गरियोस् उदाहरणमा 
प्रकट गर्न हरेक निकृष्ट तत्वहरूलाई

उर्फ विकृत व्यवस्था 
कुरूप सत्ता र नीच प्रवृत्ति
जसको वेश्यासँग
दूरदूरसम्म कुनै मोलतोल नै छैन ।

 

बरु एकाकार हुनुहोस् 
वेश्याको असली मर्मसँग 

वेश्या त त्यो उदारता हो–
जो हजार विवशता र बाध्यताहरूको
जाँतोमा पिसिएर 
ढोँगी, नीच र द्वैध चरित्रहरूलाई
विनाआपत्ति आफूभित्र समाहित गर्छे 
र निरस मुस्कुराउन सक्छे ।
वेश्या त्यो सामन्जस्य हो –
जसले आफ्नो र पराइको
सुख र दुःखको 
रोजाइ र चाहनाको 
सम्पूर्ण समाधि मेटाइदिन सक्छे ।

 

वेश्या त्यस्तो विद्रोह हो –
जसले समाजमा
कथित शिष्टता, मर्यादा र मूल्य मान्यतामाथि
तेजाब छर्किदिन सक्छे 
र उल्टो पारिदिन सक्छे 
यो अत्याचारी समाजको विधान ।

 

वेश्या त्यो चिंगारी हो–
जसले चाहे हर कुनै समय
उतारिदिन सक्छे 
तपाईंको छद्म प्रतिष्ठित अनुहारको नकाब
र बनाइदिन सक्छे ठाउँको ठाउँ तपाईंलाई
नामीबाट बदनामी ।

 

आजसम्म
बहुअनुहार र बहुचरित्रका बहुरहस्यहरू
बडो मुस्किलले 
मात्र आफ्नो छातीमा दफनाएर 
अटसमटस गह्रौँ जिन्दगी बाँचेकी छ ऊ ।

 

ए अति प्रतिष्ठावान् 
मेरा अनन्य पुरुष मित्रहरू,
ऊ शान्त छे, स्थिर छे, मौन छे
त्यसैले बचेको छ तपाईंको छद्म प्रतिष्ठा 
कृपया नजिस्क्याउनुहोस् 
ऊ शान्त छे
शान्त नै रहन दिनुहोस् ।