• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
किरण दहाल
२०७८ कार्तिक २७ शनिबार ०८:२३:००
समाज

सिंहदरबार सिँगार्ने माली

२०७८ कार्तिक २७ शनिबार ०८:२३:००
किरण दहाल

सिंहदरबारस्थित संसद् सचिवालयको बगैँचामा देखिन्छ, थरीथरीका फूलहरू– सयपत्री, गोदावरी, चमेली, लालुपाते, लाहुरे, जिरेन्याम, गुलाब, नौरंगी आदि–आदि । दिउँसोपख बगैँचामा टहलिनेहरू बाक्लै भेटिन्छन् । चिसो मौसममा कोही चौरमा न्यानो घाम तापिरहेका हुन्छन् । कोही फूल हेर्दै बगैँचा चहारिरहेका भेटिन्छन् । सांसद, कर्मचारी, पत्रकार, आगन्तुकहरू फोटो खिचिरहेका हुन्छन् । संसद् आउने मन्त्रीहरू पनि कहिलेकाहीँ टक्क उभिएर बगैँचा नियाल्छन् । त्यही बगैँचामा हरेक दिनजसो भेटिन्छन्– बालकृष्ण न्यौपाने (५५) । उनी संसद्को बगैँचाका माली हुन् । ‘यस बगैँचालाई स्याहारसुसार गरेको पनि २८ वर्ष पुगिसकेछ,’ भर्खर कोपिला फुटेर निस्किएको गुलाबको फूल हेर्दै उनी भन्छन् ।


भोजपुरे न्यौपाने ०४४ सालमा पहिलोपटक काठमाडौं आएका थिए । गाउँका एकजना चिनजानका दाइले काठमाडौंमा काम लगाइदिन्छु भनेपछि उनी घरबाट भागेका थिए । उनलाई भगाएर ल्याउनेले काठमाडौंमा एक राणा परिवारको घरमा राखिदिए । उनले घरधन्दा सम्हाल्नुपर्ने पर्ने भयो ।घर आलिसान थियो । चारैतिर भित्तामा राइफल सजाइएको थियो । छुँदै पड्केलाजस्ता बन्दुक कतै निसाना लगाइरहेजस्तो देखिन्थ्यो । त्यस्तो भव्य घर उनले पहिलोपटक देखेका थिए । उनी सम्झन्छन्, ‘मैले त कहिल्यै काठमाडौं नदेखेको । राणाको घर पाँच तलाको थियो । त्यति अग्लो घर कहिल्यै देखेको थिइनँ । सात्तो गयो ।’राणाको घरमा उनलाई उकुसमुकुस भयो । कोही चिनेको मान्छे आए साथ लागेर जाऊँला भन्दाभन्दै १५ दिन बित्यो । तर, अहँ । कोही आएनन् । उनलाई ल्याएर छाडिदिने दाइ पनि देखिएनन् । 


१६औँ दिनमा तरकारी लिन निस्किँदा उनी त्यहीँबाट भागे । घरबाट भाग्दाको क्षण सुनाउँछन्,‘त्यो घर छाडे भनेर सोच्दा क्या आनन्द आयो । एकछिनपछि मनमा डर पलायो– अब कहाँ जाने ?’यो बिरानो सहरमा उनले पटक–पटक सुनेको एउटा नाम थियो, पशुपति । त्यही पशुपतिमा गाउँका छिमेकी दाजुभाउजू ऊन कातेर बस्छन् भनेर उनले सुनेका थिए । उनले त्यतै जाने निधो गरे । तर, पशुपति जाने बाटो थाहा थिएन । बाटामा भेटिनेलाई सोध्दै उनी जसोतसो पशुपति पुगे । असनबाट कस्सिएर हिँड्दा एक घन्टा पर रहेको पशुपति पुग्न उनलाई बिहानभर लाग्यो ।संयोग । पशुपति परिसरमा हिड्दाहिँड्दै उनी खोजेकै मान्छेकोेमा पुगे । ती गाउँले दाजुभाउजूले ऊन कातिरहेको देखे । ‘मलाई त भगवान् पाएजस्तो भयो,’ उनले भने ।


त्यसपछि उनी त्यहीँ ऊन कात्न थाले ।अलि समयपछि ऊन कात्न छाडेर उनले बालुवा बोक्ने काम थाले । पशुपतिनजिकै बागमती खोला किनाराको माथि लास जलाइरहेको हुन्थ्यो, उनी खोलाबाट बालुवा निकालिरहेका हुन्थे । दैनिक कैयौँ मृत शरीर धुवाँ र खरानी बनेर सकिएको देखेपछि उनले सोचे, ‘यो जिन्दगी केही रै’नछ ।’ हरेकदिन वियोगमा भक्कानिएका आफन्तजनको आँसुले उनलाई साह्रै पोल्यो । यो पेसाले पनि उनलाई चैन भएन । बरु, विरक्त्यायो । उनले बालुवा बोक्ने काम छाड्ने निधो गरे ।

तपाईंलाई मनपर्ने फूल कुन हो ? उनी यो प्रश्नै रुचाउँदैनन् । उनका लागि सबै फूल प्रिय छन् । भन्छन्, ‘मेरा लागि सबै फूल उत्तिकै सुन्दर छन् । कसरी छानौँ ? एउटाको भन्दा अर्काे फूलको नाम छुट्ला । भो भेदभाव गर्दिनँ ।’

 

त्यतिवेला बालुवा बोक्ने कामसँगसँगै उनले ज्यामी काम पनि सिकिरहेका थिए । त्यसपछि उनी ज्यामी काम गर्न थाले । बालुवा बोक्दा डोकाको एक रुपैयाँ पाउँथे । ज्यामी काममा अलि बढी पैसा पनि हुन्थ्यो ।ज्यामी काम गर्दागर्दै उनी नारायणहिटीमा रङ लगाउनसमेत पुगे । पशुपतितिरै ज्यामी काम गर्दाको एक घरबेटीले उनलाई त्यहाँ जागिर लगाइदिएकी थिइन् । ‘मैले ज्यामी काम गर्ने घरको साहुनी नारायणहिटीमा काम गर्थिन् । उनलै रङ लगाउने पेसामा लगाइदिएकी थिइन्,’ उनी ०४७ सालको सेरोफेरो सम्झन्छन्, ‘त्यहाँ राजाहरू हिँड्थे । परबाट घाँटी तन्काएर हेर्थे । नजिकै त आर्मीले ढिम्किन पनि दिँदैनथे ।’


नारायणहिटीमा ५/६ महिना काम गरेपछि उनले त्यहाँ पनि छाडे । पशुपतितिरै पुनः ज्यामी काम गर्न थाले । ज्यामी काम गर्न गएको घरसाहुले उनलाई एक दिन सोध्यो– जागिर खाने ? उनले भने, ‘जागिर त खाने हो, हजुर । कमाइचाहिँ कति हुन्छ ?’ ‘महिनाको एक हजार ।’ उनलाई जागिरको प्रस्ताव गर्ने ती व्यक्ति संसद् सचिवालयका कर्मचारी थिए । ‘उहाँकै घरमा ज्यामी काम गर्थेँ । म जागिर खान राजी भएपछि उहाँले लगाइदिनुभयो,’ न्यौपाने भन्छन् । ०५० सालमा उनी सिंहदरबारस्थित संसद् सचिवालयको जागिरे भए । दुई वर्षपछि उनी संसद्को स्थायी कर्मचारी भए । उनको दुई काम थियो– सचिव/महासचिवलाई सहयोग गर्ने र बगैँचामा काम गर्ने ।


त्यतिवेला नाम मात्रैको बगैँचा थियो । फूलहरू थिएनन्, झाडी थियो । राजारानी संसद् आउँदा नर्सरीबाट फूलहरू ल्याएर सजाइन्थे । अरू वेला मतलब थिएन । उनी भन्छन्, ‘राजारानी आउने रे भनेपछि नर्सरीबाट धेरै फूल ल्याएर संसद् भवन ढपक्क सजाइन्थ्यो । चारैतिर गमला राखिन्थ्यो । थरीथरीका फूलहरूले रंगीचंगी हुन्थ्यो संसद् भवन । अरू वेला फूल रोप्ने भन्ने थिएन ।’ 


उनी जागिर खान आइपुग्दा सभामुखमा दमननाथ ढुंगाना थिए । पछि, रामचन्द्र पौडेल आए । पौडेलले व्यवस्थित ढंगले बगैँचा बनाउन लगाए । झाडीहरू फाँडेर फूल रोप्न लगाए । बिरुवा रोप्न लगाए । दुबो रोप्न लगाए । बगैँचामा घुम्नका लागि बाटो बनाउन लगाए । गमलामा फूल रोपेर सचिवालय भवनको ठाउँठाउँमा राख्न लगाए । त्यतिवेलैदेखि बगैँचाकै लागि काम गर्ने भनेर मालीहरू भर्ना भए ।


कांग्रेस नेता तथा तत्कालीन सभामुख पौडेल खुब बगैँचा घुम्थे । ‘उहाँ कार्यकक्षबाट टहलिन बगैँचा आइरहनुहुन्थ्यो । ‘थ्याङ्क्यु, राम्रो भएको छ, राम्रा फूल फुलेछन्’ भन्नुहुन्थ्यो,’ उनी पौडेलका गतिविधि सम्झिन्छन्, ‘पानी पनि दिइराख, अलि सुक्खा लागेछ, राम्रो काम गर्‍यौ भनेर मलाई वेलावेला भनिरहनुहुन्थ्यो ।’उनले देखेका सभामुखमध्ये बगैँचामा सबैभन्दा धेरै घुम्ने पौडेल नै हुन् । पौडेल जसरी अन्य सभामुख आएको उनले देखेका छैनन् । बरु, हिजोआज सांसदहरू पुग्छन् । संसद्कै महासचिव भरतराज गौतम दैनिकजसो बगैँचामा डुल्छन् । 


मान्छेहरू बगैँचामा टहलिएको हेर्ने उनलाई खुब मनपर्छ । उनी थप्छन्, ‘सांसदहरू आइरहनुहुन्छ । घुम्नुहुन्छ । फोटो खिच्नुहुन्छ । मलाई एकदमै रमाइलो लाग्छ । अरू मान्छे पनि आउनुहुन्छ । क्या आनन्द लाग्छ । म त पर बसेर हेरिरहेको हुन्छु । आफूले हुर्काएका फूलमा अरू मान्छे लोभिएको कसलाई मन पर्दैन र ? म त झन् माली ।’


तपाईंलाई मन पर्ने फूल कुन हो ? उनी यो प्रश्नै रुचाउँदैनन् । उनका लागि सबै फूल प्रिय छन् । भन्छन्, ‘मेरा लागि सबै फूल उत्तिकै सुन्दर छन् । कसरी छानौँ ? एउटाको भन्दा अर्काे फूलको नाम छुट्ला । भो भेदभाव गर्दिनँ ।’