• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक २७ शनिबार ०८:४५:००
समाज

सिलिकन भ्यालीका धनाढ्यलाई दुष्ट मान्दिनँ : युभल नोहा हरारी

सिकारी युगदेखि आजसम्म कहिल्यै मानिसलाई असर गर्ने गरी जलवायु परिवर्तन भएन

२०७८ कार्तिक २७ शनिबार ०८:४५:००

 

सन् २०१५ मा ‘सेपियन्स’ अमेरिकामा प्रकाशित भएलगत्तै इजरायली इतिहासकार तथा दार्शनिक युभल नोआ हरारी सार्वजनिक बौद्धिकताको उच्च तहमा उक्लिए । पछिल्ला पुस्तक ‘होमो डेउस (२०१७)’ र ‘ट्वान्टी फस्र्ट लेसन फर द ट्वान्टी फस्र्ट सेन्चुरी (२०१८)’ मार्फत उनले सार्वजनिक बौद्धिकताको आफ्नो हैसियतलाई थप मजबुत बनाए । हरारीका लेखनमा प्रायजसो हाम्रो समाजमा आख्यानमा विश्वास गर्न सक्ने मानव क्षमताबाट निर्देशित रहेको कुरा दोहोर्‍याएको हुन्छ । आख्यान हाम्रो सामूहिक कल्पनामा रहने हुँदा ती शक्तिशाली हुने उनको तर्क छ ।

 

भगवान् वा राष्ट्रलाई हरारी आख्यान मान्छन् । यिनै आख्यानप्रतिको आमविश्वासले मानव जातिले सामाजिकस्तरमा सहकार्य गर्छन् । हरारीको लेखन निकै विस्तारित छ । उनका लेखनमा प्रागैतिहासिक विगतदेखि अँध्यारा सुदूर भविष्यसम्म समेटिएका छन् । ‘आमरूपमा मानिसले मलाई विनाशको दूतका रूपमा हेर्छन् । अर्को समूह पनि छ जो म सबै कुरालाई अद्भुत ठान्छु भन्ने धारणा बनाएर बसेको छ,’ ४५ वर्षे हरारीले बताए । निश्चित रूपमा यी दुवै धारणा सही हुन सक्छन् । तर,हरारी भन्छन्, ‘एकपटक पुस्तक बजारमा गएपछि विचार तपाईंको हातमा हुँदैन ।’ उनै हरारीसँगको विस्तृत वार्ता प्रस्तुत गरिएको छ :

 

मानवतासम्बन्धी केही ठूला विचारलाई तपाईंले लोकप्रिय बनाउनुभयो । तपाईंले ‘आख्यानमा राजनीतिक शक्ति हुन्छ’, ‘होमो सेपियन्स प्रविधिका कारण प्रयोगविहीन हुँदै छन्’ भन्ने विचार लेख्नुअघि पनि विभिन्न रूपमा ती विद्यमान थिए । तपाईंले त्यस्तो के जादु गर्नुभयो, यो विचार एक्कासि लोकप्रिय बन्यो ? 


एक त म इतिहासको विद्यार्थी हुँ । यसअघि यस प्रकारका ठूला संश्लेषण निर्माण गर्ने प्रयास या विज्ञान(जस्तो जीवविज्ञान र उद्विकासशास्त्र) या सामाजिक विज्ञान(जस्तो अर्थशास्त्र)बाट भइरहेको थियो । पछिल्लो दशकमा मानविकीले एकप्रकारले हार मानेको अवस्था थियो । मानविकीले विशाल भाष्य निर्माण गर्ने प्रयास गर्नु वर्जितझैँ भएको थियो । तर, मानविकीले राख्ने दृष्टिकोण महत्वपूर्ण हुन्छ । हजारौँ वर्षदेखि मानव समुदायलाई बिथोलिरहेका धेरै दार्शनिक प्रश्न अहिले व्यावहारिक बन्न थालेका छन् । 


पहिले दार्शनिकहरूलाई एकप्रकारको सुख थियो । तिनलाई कुनै विषयमा घोत्लिने वा नघोत्लिने दुवै सुविधा थियो । तर, अब जैविक–प्रविधिजस्ता धेरै नयाँ कुरा हाम्रो यथार्थ बन्ने क्रममा छ । यी विषयमा के–कस्तो निर्णय गर्ने भन्नेका लागि मानवता के हो अथवा केलाई असल भन्नेजस्ता महत्वपूर्ण दार्शनिक प्रश्नको जवाफ दिनैपर्छ । मैले जीवविज्ञान वा अर्थशास्त्रको कोणबाट नभएर इतिहास र दर्शनशास्त्रको दृष्टिकोणबाट लेखेकाले मेरो लेखनले धेरै मानिसलाई तानेको हुन सक्छ । फेरि मेरो मूल विचार साधारण छ । म आख्यानको प्रधानताबारे लेख्छु । विश्वलाई बुझ्न कथालाई गम्भीरताका साथ लिनुपर्छ भन्ने मेरो जोड हो । मेरो विचारमा हामीले जुन कथ्यमा विश्वास गर्छौँ, त्यसले हामीले निर्माण गर्ने समाजलाई आकार दिन्छ । 

तपाईंले मानवताबारे बृहत्तर निष्कर्ष निकाल्ने मनस्थितिका साथ काम गरिरहँदा, ती निष्कर्ष अति मामुली रहेको निर्धारण गर्न कत्तिको कठिन हुन्छ ?

 
मैले के पत्ता लगाएको छु भने, निष्कर्ष जति धेरै साधारण हुन्छन् तिनले त्यति नै धेरै मानिसलाई आकर्षित गर्छन् । 

भनेपछि त्यो तपाईंको ट्रिक पो हो ?


कथासम्बन्धी आज मैले जति पनि कुरा जानेको छु, त्यो स्नातक तहको पहिलो वर्षमा सिकेको थिएँ । तपाईं–हामी सोसल कन्स्ट्रक्ट र इन्टर–सब्जेक्टिभ (इन्टर–सब्जेक्टिभ इकाइ भनेको ती विचार वा विश्वास हुन् जुन धेरै मस्तिकबीच आदान–प्रदान हुँदा मात्र अस्त्विमा आउँछ ।) यथार्थमा बाँच्छौँ भन्ने तथ्य सबै मानिसलाई थाहा भएको एकदम मामुली कुरा भन्ने म सोच्थेँ । तर, यो त धेरै मानिसका लागि ठूलो आविष्कार पो रहेछ । तर, म भने यो संसारको सबैभन्दा मामुली कुरा होला भनेर सोच्थेँ । 

तपाईंले संसारको सबैभन्दा सामान्य ठानेको कुरा यति धेरै लोकप्रिय हुँदा तपाईंको  विश्वास डगमगाएन ?


डगमगाए । यसले वैज्ञानिक समुदायको ठूलो अंश र आममानिसको विशाल हिस्साबीच सञ्चारको अभाव रहेको देखाउँछ । विज्ञान र अन्य विज्ञले धेरै पहिलेदेखि थाहा पाएको र सहमति जनाएको विषय अझै पनि सर्वसाधारणका लागि ठूलो लाग्नेरहेछ । अवस्था यस्तै छ । 


अरू कुरामा जे भए पनि वैज्ञानिक समुदायले जलवायु संकटको भयावह अवस्थाबारे स्पष्ट रूपमा सर्वसाधारणलाई सकर्त गराइरहेको छ । वैज्ञानिक समुदाय र अन्य धेरै विज्ञले बताएअनुसार स्थिति आपत्कालीन बनिसकेको छ । यति सतर्कताका बाबजुद हामीहरू नजिकिँदै गरेको संकटसँग जुध्न सकिनेस्तरको विश्वव्यापी राजनीतिक इच्छाशक्ति जुटाउन सकिरहेका छैनौँ ? किन होला ?


जुन कथामा मानवीय शत्रु हुन्छ तिनले धेरैको ध्यान तान्छ । जलवायु परिवर्तनमा त्यस्तो तत्व भेटिँदैन । हाम्रो दिमाग यस्तोखालको कथाका लागि बनेकै होइन । सिकारी युगदेखि आजसम्म जलवायु कहिले पनि मानिसलाई असर गर्ने गरी परिवर्तन भएन । हामीलाई रुचि लाग्ने कथाहरू त कबिलाका केही मानिस आफूलाई मार्ने षड्यन्त्र रचिरहेका छन् भन्ने खालका हुन्छन् । मैले पढेको उत्कृष्ट रिपोर्टका अनुसार यदि हामीले आजैबाट विश्वको वार्षिक कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत मात्रै पर्यावरणमैत्री प्रविधिमा खर्च गर्न सुरु गर्‍याैँ भने जलवायु परिवर्तनको संकटलाई टार्न सक्छौँ । यो ठूलो रकम भए पनि कार्यान्वयन गर्न सकिने रकम हो । यदि कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत चाहिने थियो भने म पनि धेरै ढिलो भइसकेको भन्ने थिएँ । तर, जम्मा दुई प्रतिशत पूर्णतः कार्यान्वयन गर्न सकिन्छ । 
यसमा राजनीतिज्ञले गर्नुपर्ने मुख्य काम दुई प्रतिशत बजेटलाई एउटा शीर्षकबाट अर्कोमा सार्ने मात्र हो । यो कसरी गर्ने पहिलेदेखि हामीलाई थाहा छ । हामी धेरै ढिलो भइसक्यौँ, विश्व ध्वस्त हुँदै छ भन्ने खालको निराशाजनक सोचबाट टाढा रहेर दुई प्रतिशत बजेटमा ध्यान दिए पुग्छ । 

यसले वैज्ञानिक समुदायको ठूलो अंश र आममानिसको विशाल हिस्साबीच सञ्चारको अभाव रहेको देखाउँछ । विज्ञान र अन्य विज्ञले धेरै पहिलेदेखि थाहा पाएको र सहमति जनाएको विषय अझै पनि सर्वसाधारणका लागि ठूलो लाग्ने रहेछ ।
 


विश्वव्यापी वार्षिक कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत प्रयोग गर्ने विषय कत्तिको आकर्षक कथ्य हो ? 


वैश्विक कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत प्रयोग गर्ने विषयले त्यति धेरैको ध्यान तान्दैन । तर, मुख्य कुरा त्यही हो र यसमै आशा छ । हामीले सम्पूर्ण अर्थतन्त्रलाई बदलेर पुनः गुफामा फर्कनुपर्दैन । हामीले वार्षिक कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतबराबर रकम स्थानान्तरण गर्ने मात्र हो । मेरो विचारमा यो एक शक्तिशाली सन्देश हो । अन्य कथ्य पनि छन्– यदि तपाईंले ग्रेटा थनवर्गले चलाएजस्तो युवाहरूको पर्यावरणीय आन्दोलनलाई ध्यान दिनुभयो त्यहाँ वृद्धहरूलाई ‘तिमीहरूले आफ्नो लोभ र गैरजिम्मेवारको अग्निमा हामीलाई होम्दै छौँ’ भनेको सुन्नुहुन्छ । यो कथ्य वातावरणमा कार्बन–डाइअक्साइड बढिरहेको जस्तो झुर छैन । बरु यो कथ्यमा वृद्धहरूलाई युवाहरूको विरोधीका रूपमा शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ । 

तपाईंलाई यो प्रश्न फरक–फरक रूपमा सोधिन्छ भन्ने मलाई थाहा छ, तर पनि म सोध्दै छु । तपाईंका लेखन सिलिकन भ्यालीका धनाढ्यहरूमाझ निकै लोकप्रिय भएको तथ्यलाई तपाईं कसरी हेर्नुहुन्छ ? तपाईंका लेखनमा यी धनाढ्यका कामको निकै खतरनाक प्रभाव रहेको औँल्याइएको हुन्छ । तर, त्यही वृत्तमा तपाईं लोकप्रिय हुन कुनै संयोग मात्र पक्कै होइन । 

 

भन्नुपर्ने कुरा धेरै छ । मैले सिलिकन भ्यालीका केही अभ्यासको आलोचना गरेको छु र तिनका केही अभ्यास मानव जातिकै लागि प्रमुख खतराको रूपमा प्रस्तुत गरेको छु । तर, मैले तिनको कामलाई यो ग्रहमा भइरहेकोमध्ये सबैभन्दा महत्वपूर्ण पनि भनेको छु । मेरो विचारमा यो वृत्तमा मेरो काम लोकप्रिय हुनुमा यो एउटा कारण हुन सक्छ । मैले तिनको आलोचना गरे पनि तिनले गरिरहेको कामको महत्वलाई जोड दिएको छु । मानव जातिको भविष्य केही हदसम्म तिनको हातमा छ भन्ने सोच्दा तिनलाई आनन्द लाग्छ होला ।


म फेरि सिलिकन भ्यालीका धनाढ्यलाई दुष्ट पनि मान्दिनँ । तिनले गरेका केही काम असल छन् । मैले मेरा श्रीमान् इत्जिक याहाभलाई समलिंगीहरूका लागि बनाइएको एउटा डेटिङ एपको सहयोगमा इजरायलमा भेटेको थिएँ । म यो कुरामा सिलिकन भ्यालीप्रति कृतज्ञ छु । अन्यथा इजरायलको एउटा सानो, प्रादेशिक सहरको समलिंगी पुरुषले प्रेमी पाउन निकै गा¥हो हुने थियो । मेरो विचारमा सिलिकन भ्यालीको मुख्य समस्या के हो भने, तिनले आफ्नो विशाल प्रभावलाई बुझ्न सकेका छैनन् । उनीहरूलाई प्रविधिबारे गहिरो जानकारी छ । तिनको प्रयोगमार्फत संसार बदल्ने यात्रा सुरु त गर्छन्, तर उनीहरूमा इतिहास, मानव समाज र मनोविज्ञानबारे प्रशस्त समझदारी छैन । 

तपाईं अहिले कुनै यस्तो विचार विकास गर्दै हुनुहुन्छ कि जुन तपाईंका पाठकलाई उल्का क्रान्तिकारी लागोस् ?


म दुईवटा उदाहरण दिनेछु, एउटा ठूलो र अर्को सानो । मैले ‘होमो डेउस’ लेख्दा मेरो मुख्य चासो मानवतावाद र उदारवादपछि के आउनेछ भन्ने थियो । उदारवाद र मानवतावाद मानव जातिले सिर्जना गर्न सकेको सबैभन्दा उत्कृष्ट कथ्य हो भन्ने मलाई लाग्छ । अब २१औँ शताब्दीको प्राविधिक विकासका कारण हामी त्योभन्दा अगाडि जानुपर्छ । प्राविधिक विकासका कारण मानवतावाद र उदारवादको सबैभन्दा आधारभूत विचार तथा अवधारणामाथि प्रश्न उठेको छ । तर, विगत पाँच वर्षको अवधिमा विश्वका धेरै भेगमा भएको राजनीतिक विकासका कारण म त्यो मोर्चाबाट पछाडि हटेको छु । म साँच्चै अब आउने विचार हेर्न त चाहन्छु, तर साथमा आजकाल मानिसहरूलाई मानवतावाद र उदारवाद बुझाउने संघर्ष थालेको छु । 

भनिदिनुस् न त मानवतावाद र उदारवादपछि के आउँछ ?
म निश्चिन्त छैन । म अझै ‘होमो डेउस’मा प्रस्तुत गरेको विचारभन्दा अगाडि जान सकेको छैन । (होमो डेउसमा हरारीले ‘डाटाइज्म (तथ्यांकवाद)’ नामक ‘उदाउँदो धर्म’को चर्चा गरेका छन् । उनले पुस्तकमा लेखेका छन्ः तथ्यांकवादले ब्रह्माण्ड तथ्यांकको बहावबाट बनेको छ भन्ने घोषणा गर्छ र कुनै परिघटना वा इकाइको मूल्य तथ्यांक प्रशोधनमा तिनको योगदान हेरेर निर्धारण हुनेछ ।’) 

 

मैले सूचना क्रान्तिले व्यक्तिलाई विभक्त गर्ने तरिकाबारे अध्ययन गरेँ । ‘व्यक्ति’ मानवतावाद र उदारवादको मूल आधार हो । अहिलेसम्मको मेरो अवलोकनले सूचनाको बहाव नयाँ आधार बनेको छ । यसमा मानिस अब स्वायत्त, स्वतन्त्र इच्छायुक्त र विश्वबारे निर्णय गर्न सक्ने कुनै अद्भुत स्वत्व रहेन । एकजना मानिस अब अरू जीवजस्तै निरन्तर बहावमा रहने सूचना प्रशोधन प्रणाली बनेको छ । राजनीतिक रूपमा यसको के अर्थ हुन्छ ? सामाजिक अर्थमा के हुन्छ ? म निश्चिन्त छैन । मलाई यस विषयमा खोज–अध्ययन गर्ने इच्छा छ । 

तपाईंले सानो उदारणको पनि उल्लेख गर्नुभएको थियो । यसबारेमा बताइदिनुस न ।


सानो मोर्चाको कुरा गर्दा पछिल्लो समय मैले पढेका किताबबाट सुरु गर्छु । म अहिले ट्रान्सजेन्डर र ननबाइनेरी(आफ्नो लैंगिक पहिचान ‘महिला’ र ‘पुरुष’का रूपमा व्यक्त गर्न नसक्ने ) मानिससम्बन्धी नयाँ सिद्धान्त समेटिएको पुस्तक पढिरहेको छु । यसअगाडि मैले क्रिस्चियन धर्मका सुरुवाती दिनबारे लेखिएको पुस्तक पढेँ । मैले यी दुई विषयबीच धेरै समानता भेटेँ ।

 
जेन्डरसम्बन्धी अहिले जति पनि बहस भइरहेका छन्, ती अचम्म लाग्दो रूपले सुरुवाती क्रिस्चियनमाझ क्राइस्ट र ट्रिनिटी(इसाई धर्मले एकल ईश्वरमा विश्वास गरे पनि एक ईश्वरमा तीन समान व्यक्तिः पिता, पुत्र र पवित्र आत्मा समाहित हुन्छ भन्ने विश्वास गर्छ)को प्रकृतिबारे हुने बहससँग मिल्छन् । उनीहरू मुख्यतः क्राइस्ट ननबाइनेरी व्यक्ति हो कि होइन भन्ने प्रश्नमा घोत्लिरहेका देखिन्छन् । त्यहाँ क्राइस्टको चरित्र ईश्वरीय हो कि ईश्वरीय–मानवीय दुवै हो वा न ईश्वरीय न मानवीय हो ? भन्ने धेरै बहस हुन्छन् । यसमा मानव र व्यक्तिको प्रकृतिबारे हाल हामीबीच चलिरहेको धेरै बहसको प्रतिबिम्ब भेटिन्छ । हामी दुवै हुन सक्छौँ ? कि हामी एउटै मात्र हुन सक्छौँ ? 


सुरुवाती क्रिस्चियन हस्तीहरू सहिद र तपस्वी योगीहरू थिए । जस्तो सन्त सिमोनलाई नै हेर्नुस् ।(सन्त सिमोन स्टाइलाइट्स एक क्रिस्चियन सन्न्यासी थिए । पाँचौँ शताब्दीमा सिरियामा बस्ने सिमोनले झन्डै ३५ देखि ४२ वर्ष एउटा खम्बामाथि उभिएर कटाएका थिए ।) उनीहरू आफूसँग उपलब्ध जेजति छ, त्यसको प्रयोग गरेर मानिसको शरीरको सीमा खोजिरहेका थिए । 

यदि हामीले आजैबाट विश्वको वार्षिक कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत मात्रै पर्यावरणमैत्री प्रविधिमा खर्च गर्न सुरु ग र्‍यौँ भने जलवायु परिवर्तनको संकटलाई टार्न सक्छौँ । यो ठूलो रकम भए पनि कार्यान्वयन गर्न सकिने रकम हो ।


जेन्डरको मुद्दामा पनि अहिले शरीरसँग के–के गर्न सकिन्छ भन्ने धेरै प्रश्न छन् । यसरी बदल्न सकिन्छ कि त्यसरी पो गर्न सकिन्छ कि भन्ने प्रश्नहरू पनि छन् । अब दुई कुरामा सबै समान त छैनन्, तर मेरो दिमागका नसाले भने सुरुवाती क्रिस्चियन धर्म र वर्तमान जेन्डर बहसबीच अन्तर्क्रिया  सुरु गरेको छ । 

 

यस प्रकरणको सुखद पक्ष के रह्यो भने, क्रिस्चियन धर्मभित्र भएका सबैजसो बहस शान्तिपूर्ण टुंगोमा पुगे ।


ती दिन यी बहसमा संलग्न क्रिस्चियन पन्थ महत्वहीन थिए । तर, पछि यी बहस र यसमा कसले जित्यो वा कसले हार्‍यो भन्ने कुराले मानव इतिहासको विकासमै ठूलो प्रभाव पार्‍यो । तपाईंलाई ट्रान्सजेन्डर मानिस र नन्बाइनेरी मानिस आदिबारे अहिले किन यति ठूलो राजनीतिक बहस भइरहेको छ जस्तो लाग्छ ? खासमा जेन्डरको बहसमा धेरैले अवचेतन रूपमा मानवीय शरीर तथा मानव दिमागमा के गर्न सकिन्छ भन्ने बहसको प्रतिबिम्ब देखिरहेका छन् । हामीले कसरी शरीर–मस्तिष्कको पुनर्संरचना गर्न सक्छौँ ? हामीहरूले तिनलाई कसरी बदल्न सक्छौँ ? यी प्रश्नको पहिलो व्यावहारिक सामना गर्ने स्थान जेन्डर बनेको छ ।

 
जेन्डर तथा सेक्सको कुरामा मानिसहरू सधैँ कट्टर र संवेदनशील रहँदै आएका छन् भन्न सक्छौँ, तर अवचेतन रूपमा मानिसहरूले यसलाई अन्तर्मानवतावादको पहिलो बहसका रूपमा बुझेका छन् भन्ने मलाई लाग्छ । (विज्ञान र प्रविधिको प्रयोग गरेर मानिसको अहिलेको भौतिक तथा मानसिक सीमाबाट पार पाउन सकिन्छ भन्ने विश्वास हो, अन्तर्मानवतावाद ।) मानव शरीर, दिमाग र स्मृतिजस्ता कुरा बदल्न प्रविधिको कत्तिको प्रयोग गर्न सकिन्छ भन्ने विषयको झल्को दिने भएकाले जेन्डरका विषयमा यति चर्को बहस देखिरहेका छौँ । 

 

तपाईंको विचारमा जेन्डरसम्बन्धी बहस भविष्यको अन्तर्मानवताप्रतिको भयसँग जोडिएको छ ?


हो । अन्तर्मानवतावाद मानव हुनु भनेको के हो भन्नेसँग सम्बन्धित छ । अब अन्तर्मानवतावादमा पनि समान विचार देखिँदैन । यसका विभिन्न व्याख्या छन् । एउटा व्याख्याअनुसार अन्तर्मानवतावाद भन्नुको अर्थ मानिसको पूर्ण क्षमता हासिल गराउनु हो । अब यहाँ ‘मानिस हुनु भनेर तपाईं के बुझ्नुहुन्छ’ भन्ने कुराले फरक पार्छ । हामी यही प्रश्नको जवाफ चाहन्छौँ, तर यो सजिलो जवाफ भएको प्रश्न भने होइन । 

(डेभिड मार्किज ‘द न्युयोर्क टाइम्स म्यागेजिन’का स्टाफ लेखक र ‘द टक’का स्तम्भकार हुन् । न्युयोर्क टाइम्सबाट श्रवण उप्रेतीको अनुवाद)