• वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
राधा कार्की
२०७८ मङ्सिर ४ शनिबार ०७:५९:००
साहित्य

अँधेरी रात

२०७८ मङ्सिर ४ शनिबार ०७:५९:००
राधा कार्की

कस्तो डगर हो यो 
सक्दै नसकिने शिखारोहण गर्न 
जसले शेष बनायो बेहिसाब मान्छेको चोला !

किन देखिँदैन आज नानीहरूको मुस्कान 
कस्तो जिन्दगी हो यो ?
सधैँ अरूकै  लागि ज्यूहजुरी गर्नुपर्ने 
यही बाटोको छातीमा अलपत्र परे कति
कति झरे नुन ढाकरसँगै छङ्गाछुर भिरमा
अझै पनि 
किन पाक्दैन श्रमिकको अँगेनोमा ढिडो ?


आखिर,
किन पछ्याइरहन्छन् हरहमेसा अँधेरी रातहरू ?
मेरा बाजेहरूले
ढाकरमा बोकेका थुप्रै स्वामीहरू
आज यो देशको उद्योगपति बनिसकेँ  !
किन मेरा थाप्लामा तीनपुस्ते ऋण ?
लालाबालाको पेटपूजा गर्न 
दुई गाँस जाउलो खुवाउनकै लागि
बोकिरहेछु साहुको ढाकर
तरिरहेछु अभावको जँघार ।

 

काखेबच्चा च्यापेर ढाडमा
कति गरे होलान् मेलापात मेरा बजूहरूले !
कति बगे होलान् अभावका नालीमा 
भोकले चिथोरेका अबोध सन्तानका रहरहरू !

 

आज पनि 
उस्तै छ डगर 
जहाँ भासिइरहेछन्
हजारौँ जीवनका कम्पनी गाडीहरू ! 
०००