• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डिडी पन्त
२०७८ मङ्सिर ४ शनिबार ०८:३१:००
साहित्य

हजार सपनाहरूको माया लागेर आउँछ

२०७८ मङ्सिर ४ शनिबार ०८:३१:००
डिडी पन्त

सपनाको संसार अपरिमेय छ । अभेद्य छ । र अपार पनि । जतिसुकै अंशबन्डा गरे पनि नसकिने र नरित्तिने खालको छ । त्यसैले त पुस्तौँपुस्तादेखि सपनाको शृंखला निरन्तर जारी छ । अघिल्लो पुस्ताको सपनामा पछिल्लोको पुस्तैनी हक हुन्छ । ऊ ती सपनाहरूलाई मलजल गर्छ । नयाँ रूप र अर्थ दिन्छ । फलतः अघिल्लो पुस्ताको सपना कालान्तरमा कुनै परिवार वा सिंगो समाजकै सपनाको रूपमा प्रकट हुन्छ । कतिपय अवस्थामा त तिनको आयतन झनै ठूलो र स्वरूप थप उन्नत भएर आउँछ । 


म बाँचेको पुस्ताले पनि युगीन सपना सँगालेको छ । कति सपनाहरूमा त भोगाइका भाव र भाका अतिशय भिजेका हुन्छन् । यही भोगाइका भण्डारमा उभिएर भोको एउटा पुस्ता अद्यापि आँतका सपना देख्छ । सुक्खा खेतहरूमा बाली उमारेका सपना देख्छ । अनि कहिले ऊ आङका सपना देख्छ र जाडोले कठ्यांग्रिएको आफ्नो जीउमा न्यानो लुगा पाएको सपना देख्छ । त्यसो त उसका यी सपनाहरू भस्मीभूत हुने क्रम पनि नित्य रूपले चलेकै छ । तर, पनि सपनाका स्रोतको संवद्र्धनमा ऊ लागिरहन्छ । अस्ति मात्रै पनि केही भूपालहरूकै आश्वासनलाई आफ्ना सपनाको स्रोत मानेर वास खोज्दा केही भूमिहीनहरूले तातो गोली खाए ।

 

भयानक भुजंगका भावभंगीमा बुझ्दैन ऊ । त्यसैले श्रुतिश्रवणकै आधारमा मेरो पुस्ता कहिले सिंगापुर त कहिले स्विट्जल्र्यान्डको सपना देखिरहन्छ । केही आफ्ना निजी त केही बिरासतमा पाएका सपनाहरूको माया छ मेरो पुस्तालाई । पितापुर्खाका सपनामा मान्छे सायद अलि बढी नै भावुक हुन्छ र तिनकै मोहमा कैदी पनि बन्छ क्यार । र त तिनको संवद्र्धन र प्राप्तिका लागि हरदम प्रयत्नशील रहन्छ । सपनाको नजानिँदो प्रेममा ऊ परिरहन्छ । कमै मात्रले यो शृंखला टुटाउने शठता देखाउँछन् । अपवाद हुन नसकेको म । मेरो नियतिले पनि पुस्तैनी सपनाहरूको संसार सम्झाइरहन्छ । तिनको सुवासले प्रेमिल स्पर्शको अनुभूति गराउँछ । त्यसैले होला आममान्छेहरूजस्तै मलाई पनि मेरा हजार सपनाहरूको माया लागेर आउँछ ।


संसारले कुनै अन्य अनुपम र अलौकिक सपना देखिरहँदा मेरो वर्तमान भने उही पुरानै सपना देख्दो छ । चाहना त मेरो वर्तमानको पनि नयाँ र रंगीन सपना देख्ने थियो । सार्वभौम र स्वतन्त्र भएकै कारण पनि संसारसँगै तिनका सपनामा जोडिन मन थियो । तर, चाहेर मात्र हुँदोरहेनछ । मेरो वर्तमानले सपनाको न चाहेजति विविधीकरण गर्न सकेको छ, न नयाँ सपनाको आह्वान गर्न नै । खै कसले मेरो सपनाको उडान वन वे बनाइदियो । म केवल सिंगापुर पुगिरहन्छु र त्यतै बिलाउँछु । म स्विट्जल्र्यान्ड पुग्छु र त्यतै हराउँछु । टनेलमा पानी बगेजस्तो । बाजेबराजुहरूले पनि यस्तै कुरा सुनाउँथे । म पनि ती सपनाको स्यालहुइँयामा दगुरेकै छु । बँधुवा मजदुरजस्तो विनाप्रश्न पुराना सपनाहरूको ऋणको ब्याज चलाइरहेकै छु ।

 

जानीनजानी तिनका खास सर्जकहरूको पछि लागिपरेकै छु । केही थान मान्छेहरूले मेरो सिंगो पुस्तालाई विवेक बन्धक पुस्ता भनेर आरोप लगाउँछन् र म किंकर्तव्यविमुढ भई त्यो पनि सही बसेकै छु । किनकि कुरा कहीँ न कहीँ आशाको छ । झिनै सही, सास छउन्जेलको आस भनेजस्तो । हो, एउटा कुरा सत्य हो । मेरा युगीन सपनाका सर्जकहरू हिजोआज कोही बहुलाएजस्ता देखिन्छन् त कोही भुँडीका रोगीजस्ता । तर, ती मरिहालेका भने छैनन् । चेतनशून्य पनि ती छैनन् । भावशून्य पनि कसरी भन्नु खै ? आफन्तको शुभलाभ गराउनु परे ती ज्यानकै बाजी लगाउँछन् । शुभलाभको गणितमा निष्ठाको हिसाब नामेट गर्नुपरे पनि पछि पर्दैनन् । हाम्रा सपनाका पुराना मूर्तिहरूमा सुनौलो जलप भने लगाइरहन्छन् । हामी तिनै भुलभुलैयामा आफ्नो प्रतिनिधित्व भएको ठान्छौँ र थप प्रश्नहरू सोध्ने वा परख गर्ने दरकार ठान्दैनौँ । साँच्चै भन्ने हो भने हामी अज्ञात भविष्यका सुन्दर सपनाका भाष्यहरूको मायाजालमा फसेका छौँ । भाष्यहरूको परीक्षण नै नगरी वा भनौँ वस्तुनिष्ठ प्रमाणको आवश्यकता बोध नै नगरी कागकै पछि एकोहोरो दगुरिरहेका छौँ हामी । एक्लो वृहस्पति हुन नसकेको म । भिडमा सहभागी छु म पनि । केही विगतका त केही वर्तमानका । सपनाहरू असरल्ल छन् मेरा पनि । कति दुस्वप्न हुन्, कति स्वर्णिम त कति दिवास्वप्न, लेखा छैन । लाग्छ, हरेक टुटेफुटेका सपनाहरूले पनि एउटा नसुनिएको मीठो गीत गाउँछ । जोन किट्सले भनेजस्तो ‘नसुनिएका धुनहरू सुनिएकाभन्दा मीठा हुन्छन् ।’ त्यही एउटा अदृश्य र अज्ञेय लालसाले मथिंगल घुमाउँछ । र, त मलाई अनुदित हुन बाँकी मेरा हजारौँ सपनाहरूको माया लागेर आउँछ ।


सायद मान्छे स्वभावैले केही मन पर्ने कुरा थाती राख्न चाहन्छन् र त्यसैमा मिठासको अनुभूति गर्छन् । कुनै बच्चाले घन्टौँसम्म मुखमा गुलियो खेलाइरहेजस्तो । म पनि अज्ञात आशामा आफ्ना सपनाहरूको अनुवाद ज्यादै सुस्तसुस्त भएको हेर्छु । हिजो देखेकै सपना पुनरावृत्त गर्छु । यसै दैनिकीमा रमेको छु । मानौँ म सपनाको धारावाहिक चलाइरहेको व्यापारी हुँ । कति दशकौँ पुराना सपना छन् त कति ताजा । कति अल्पकालीन छन् त कति दीर्घकालीन महŒवका । जतनले सँगालेको छु चेतन र अवचेतनमा ती सबैलाई । तिनकै स्याहारमा मन रमाउँछ । यी सपनाहरूको पूरा भर्पाइ हुने कुनै टुंगो भने छैन । मनमा विरोधी भाव नआउने पनि होइन । तर पनि खै कुन तत्वले यतिविघ्न विश्वास जगाउँछ । परिवेशले यता तीतो यथार्थको साक्षी बकाउँछ । तर पनि मलाई मेरा हजार सपनाहरूको माया लागेर आउँछ ।

खै कसले मेरो सपनाको उडान वन वे बनाइदियो । केवल सिंगापुर पुगिरहन्छु र त्यतै बिलाउँछु । स्विट्जरल्यान्ड पुग्छु र त्यतै हराउँछु । 


स्वप्नदर्शी पुस्ताका पनि आ–आफ्नै परिचय छन् र कथा छन् । एउटा वर्ग यस्तो छ जो आफैँ सपना देख्दैन । अरूले देखाएका सपनाहरूको पदचाप पहिल्याउन मात्र विवश छ । तिनका विपना त अर्कैका निर्देशनमा चल्छन्, तर सपना पनि त्यसअर्थमा पराधीन नै हुन्छन् । दिनहुँजसो ती आफ्ना सपनाका सौदागरसँग शरणागत हुन विवश हुन्छन् । सपनाको लगाम अर्कैसँग भए हिँडाइको रोजाइ पनि आफ्नो कहाँ हुन्छ र ? रोचक कुरा त के छ भने ती सौदागरहरूको सौदा अधिकांश मरुस्थलतिर हुन्छ । गरिबी र अज्ञानताका फाँटहरूमा ती सपनाहरूको बिउ रोप्छन् । विषम भूगोलहरूमा ती मृत्युको व्यापार गर्छन् ।

 

तिनका सपनाका टनेलरूपी करेसाहरूमा तातो हावा र बालुवा हुन्छ । शुष्कता हुन्छ । हिमालका स्पर्शबाट सिञ्चित मलिला फेदहरूमा उब्जिएका सपनाहरू तिनका कक्रक्क परेका तथाकथित करेसामा उम्रिनै सक्दैनन् । केही गरी हुर्किएछन् भने पनि ती फलदायी हुँदैनन् । सर्वत्र शुष्कता भए सपनाको शीतलता पो कति टिक्न सक्छ र ? यस्तै अनुकूलनको अभावमा हाम्रा बन्धुबान्धवका सपना तातो हावासँगै बिलाएका कथा कति छन् कति । यस अर्थमा म भाग्यमानी ठान्छु आफूलाई । किनकि मेरा सिंगापुरका सपना हराएका छैनन् । यद्यपि, ती पनि मेरा मौलिक सपना त होइनन्, तर निरन्तर अर्काले सपना देखाइदिइरह्यो भने कालान्तरमा ती आकांक्षा हुँदारहेछन् क्यार । हिजोआज मेरा सपनाहरू पनि आकांक्षामा दरिन थालेका छन् ।

 

सुदूरकै सही ती सपनाहरूसँग एकखाले अपनत्व र लगाव राख्न थालेको छु म । यद्यपि यो अपनत्वको भावसहितको सपनाको मूल्य भने चर्कै तिर्दै आइरहेको छु । यी स्वर्णिम सपनाका सौदागरहरू मसँग अप्रत्यक्ष लेनदेन गर्छन् । विपनामा अर्कै थरी ठेकेदारहरू देखिन्छन् । सपनामा म तिनकै शब्दचित्र पैँचो लिएर मुख मिठ्याउँछु । वर्षैपिच्छे नवीकरण हेतु दस्तुर बुझाउँछु । र म मेरा अधुरा सपनाको बाँकी बक्यौता हिसाब फरफारक गर्न बरु थप ऋणमा डुब्न विवश छु । किनकि मलाई मेरा सपनाहरू अल्पायुमै मर्छन् कि भन्ने सोच मात्रैले पनि सताउँछ । एउटा मूर्तिकारले मूर्तिका टुटेफुटेका हरेक चोइटाहरू सँगालेर राखेजस्तो मलाई पनि मेरा सपनाहरूको फूलबारी सँगाल्ने हुटहुटी बढेर आउँछ । मलाई थाहा छ हरेक सपनाको मूल्य हुन्छ । साँवाको भन्दा ब्याजको मोह बढ्ता भनेजस्तो मलाई मेरा तीतामीठा दैनिकीभन्दा हजार सपनाहरूको माया लागेर आउँछ ।

 


साँच्चै भन्ने हो भने, मलाई मेरा सपनाहरूको कद र आयतन यति ठूलो कहिले भयो भन्ने थाहा छैन । सायद मान्छेहरू सपनाको गणित मौलाएको पत्तै पाउँदैनन् । कहिले ती एक दश सय हुँदै हजारको संख्यामा पुगे र म तिनको मायामा डुबेँ थाहा छैन । सायद ईश्वरबल्लभलाई पनि त्यसै भयो होला र त यो कालजयी गीत लेखे होलान् । घोत्लिएर हेर्दा यतिविघ्न जटिलता देखिन्छन् जीवनमा । र विपनाको संसार त झनै दुर्बोद्य छ । जीवनको यही गणितको मेसो नपाएर मान्छे दिनमा एकाधपटक दार्शनिक बन्छ रे । त्यही झोकमा ऊ ‘मान्छे खाली हात आउँछ र खाली हातै जान्छ, उसका सपना र चाहना त क्षणभंगुर मोहका पुलिन्दा मात्र हुन्’ भनी फलाँकी हिँड्छ । तर, मलाई लाग्छ–मान्छेका सपनाहरू उसको चितासँगै जल्दैनन् बरु ती झन ताजा भएर र बौरिएर आउँछन् ।

 

पुस्ताका लागि दायित्व र बिरासत बन्न जान्छन् । नपत्याए हेर्नुस्– मेरा बाजेबराजुले देखेका गाँस, वास र कपासका सामान्य सपना पनि आजपर्यन्त मेरो पुस्ताको दायित्व बनिरहेकै छन् । झन् टड्कारो र झन् महँगो स्वरूपमा । ती सपनाहरूको पूर्तिका निम्ति आफ्ना सपनाहरू बन्द बाकसमा समेत सुताउन मेरो वर्तमान विवश छ । यी सबै दृष्टान्तका अन्तर्यमा सपनाका कहालीलाग्दा कथा छन् । हो, यिनै सपनाको मायामा मान्छे हरेक त्यागका लागि तयार हुन्छ । कालीप्रसाद बाँस्कोटाको गीत ‘चालीस कटेसी रमाउँला’को सपना त्यस्तै त्यागको दृष्टान्त हो । हरेक मान्छेसँग केही भोकका त केही भोगका सपनाहरू हुन्छन् । एकथरीले ती मनमनै सँगाल्छन् त अर्काथरीले प्रकट गरिरहन्छन् । सपना नदेख्ने वा देखेर पनि देख्दिनँ भनी झुटो बोल्ने दुवैथरी मानिसमा केही न केही समस्या छ भनेर बुझे हुन्छ । खासमा हरेक मान्छेसँग असंख्य सपनाहरूको कोलाज हुन्छ । मौका पाउनेबित्तिकै मान्छे ती कोलाजहरू सार्वजनिक गर्न रुचाउँछ । अप्राप्तिमा दुःखी हुन्छ र प्राप्तिमा ज्यादै रमाउँछ । सपना पूरा होऊन् या नहोऊन् चिन्ता छैन । निसर्त मलाई मेरा हजार सपनाहरूको माया लागेर आउँछ ।

केही थान मान्छेहरूले मेरो सिंगो पुस्तालाई विवेक बन्धक पुस्ता भनेर आरोप लगाउँछन् र म किंकर्तव्यविमुढ भई त्यो पनि सहिबसेकै छु । किनकि कुरा कहीँ न कहीँ आशाको छ । झिनै सही, सास छउन्जेलको आस भनेजस्तो ।


ढलेका सपनाहरू र ढल्दा सपनाहरूसँग रातदिन साक्षात्कार हुनेले पनि हजार सपना देखेकै हुन्छ । टल्सटायले ठिकै भनेका हुन्, ईश्वरले मान्छेलाई आफ्नो भावी नियतिबारे जानकारी दिएका हुँदैनन् । त्यही नियतिको अज्ञानताका कारण काखमै नाबालक च्यापी रात्रिबसमा कुनै आमाले आफ्ना सपना सदाका लागि बिसाएको खबर सुनिन्छ । हनिमुनमा निस्केको जोडी अनायास सेतो बस्त्रमा बेरिएर पार्सलका रूपमा घर पुग्छन् । कुनै दिन खुट्टामा चप्पलसमेत राम्रो नपाएको ठेकेदार एक समय रेड कार्पेटको मात्र कुरा गर्छ । यी सबै दृष्टान्त सपनासँग घटित भवितव्य हुन् ।

 

नचिताइएका र नदेखिएका घटना जहाँ मनसाय तत्व उपस्थित हुँदैन ती भवितव्य हुन्छन् । विपनामा जस्तै सपनामा पनि भवितव्य घटित हुन्छन् । यस्ता भवितव्य हुँदा मान्छे अतीततिर फर्किन चाहन्छ जसरी भवितव्यले भएका दुर्घटनास्थलमा पुग्दा कुनै गाडीचालक पटक–पटक फर्केर हेर्छ वा वरिपरिकालाई आफ्नो कथा सुनाउँछ । ठिक त्यसैगरी मान्छे सपनाका दुःखद भवितव्यबाट तंग्रिन अतीत केलाउँछ । उसको वर्तमान अर्धचेतनको अवस्थामा हुन्छ । त्यस्तो परिस्थितिमा ऊ आफ्ना भावी सपनाहरूको मलामीजस्तो हुन्छ । त्यसो त हरेक मान्छे आफ्ना सपना ढलेका वा ठडिएका दृष्य अनायास सम्झिरहन्छ वा सम्झिन चाहिरहन्छ । प्रीतिकर सपनाहरूको सम्झनाको गर्तमा नजानिँदो माया लुकेको हुन्छ । मलाई पनि मेरा ज्युँदाजाग्दाका हजारौँ सपनाहरूको औधि माया लाग्छ । अझ ढलेका सपनाहरूको झन् बढी माया लाग्छ । त्यसैले भन्न मन लाग्छ, हजार सपनाहरूको माया लागेर आउँछ ।


हरेक मान्छेसँग सपनाहरूको पुलिन्दा हुन्छ । कतिपयले ती सुतेर देखेका हुन्छन् त कतिपयले जागेका वेला । जुनसुकै अवस्था भए पनि सपनाहरूलाई कुनै कद, आयतन र समयका मानदण्डमा जोखेर मूल्यांकन गर्नुहुँदैन । कसैका सपना स्वर्णिम हुने र कसैका पित्तल भन्ने पनि हुँदैन । सपना त सपना हुन् । ती प्रायः आफ्ना हुन्छन् । यस अर्थमा सपनाहरू आफन्त पनि हुन् । ‘त्यसो भए चरम निराशामा रहेको मान्छे किन त्यस्ता आफन्ती सपना आफैँ निमोठ्छ होला ?’ भन्ने एउटा जटिल प्रश्न उब्जिन्छ । मलाई त्यसरी जानेहरूलाई पनि आफ्ना सपनाहरूको बिछट्टै माया हुन्छ नै भन्ने लाग्छ । अस्ति छिमेकका प्राध्यापक नरेन्द्रले आत्महत्या गरे भन्ने खबर आयो ।

 

झुन्डिएको लाससँगै उनका सपनाको साक्षी चिठी पनि पाइयो–‘छोरीलाई कलाकार बन्ने धोको छ । उसको इच्छामा बाधा कसैले नगर्नू । छोरोलाई डाक्टर बनेर आफ्नो रोगी बुबाको उपचार गर्ने धोको छ, मेरो भागको खेत बेचेर पनि उसलाई मेडिकल पढाइदिनू । श्रीमतीलाई सुखी राख्ने सपना थियो, खासै केही गर्न सकिनँ । रुग्ण शरीर घिसारेर उनलाई थप बोझ दिन पनि त भएन । मेरा यी सपनाहरू परिवारको नाममा सुम्पिँदै छु । योगेश वैद्यले गाएजस्तो ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ’ भन्ने गीतको सहारा लिन खोजेँ, तर सपना भुलाउन नसकिँदोरहेछ । आँसु त पिएरै जान चाहन्थेँ, तर दिएर जानुपर्ने हुँदोरहेछ । सपनाहरू मुरलीधरको गीतजस्तो ‘उडायो सपना सबै हुरीले’ भनेजस्तो पनि होइनरहेछन् । सपना त स्थानान्तरण हुने र पुस्तान्तरण मात्र हुनेरहेछन् । आज म पनि गोप्य र एकल निर्णयका साथ मेरा सपनाहरू पुस्तान्तरण गर्दै छु । मलाई अर्को जन्मको नियति त थाहा छैन, तर यदि कुनै पुनर्जन्म हुन्छ र आफ्ना सपनाहरूको लेखा परीक्षण गर्न पाइन्छ भने मलाई मेरा अधुरा सपना पूरा भएको हेर्ने धोको छ । मेरा सपनाको बेरुजु फस्र्योट भएको हेर्न मन छ । म स्वयंले आफ्नो इहलीला समाप्त गरेको हुँ । मेरो मरणमा कसैलाई पनि सास्ती नदिनू । भुन्टी छोरीलाई अपार माया । सपनाको पुन्टे डाक्टरलाई शुभकामना । सखीलाई हार्दिक क्षमायाचना ।’


यो चिठी पढेपछि म मेरो बुझाइमा झन् आश्वस्त भएको छु । त्यस्तो मरण त आफ्नो शरीरप्रति गरिएको क्षणिक घात मात्र हो । विषमताको आहालमा उब्जिने अत्यासपूर्ण सोचको परिणति हो । तर, यो सपनाको मृत्यु कदापि होइन र हुन सक्दैन । त्यस्तो मृत्यु त केवल प्राविधिक पक्ष हो । मनको आवेगलाई रोक्न नसक्नुको परिणति हो । क्षणिक अन्धताले छाएको अवस्था हो । मनोविद्हरू यस्तो अवस्थालाई एमेक्डेला हाइज्याक भन्छन् । तर, यस्तो अवस्थामा मान्छेलाई आफ्ना सपनाहरूको माया हुँदैन भन्ने सत्य होइन । मात्र दिमागी असन्तुलनको भाव र क्षण हो त्यो । आत्महत्याको सम्बन्ध त मनसँग मात्र हुने हो । मान्छेका सपना त ज्यूँका त्यूँ रहन्छन् । सपनाको सम्बन्ध नहुने कुरा त मान्छेबाहेकका प्राणीलाई लागू हुने विषय हो । नरेन्द्र सरको यो चिठी पनि उनका जीवित सपनाकै प्रमाण हो । त्यसैले भन्न सकिन्छ, हरेक मान्छेलाई आफ्ना सपनाहरूको माया लागेर आउँछ । हिँड्दै जाँदा ऊ कहिले आशा त कहिले निराशामा छाउँछ, तर सपनाहरूको मायामा ऊ गल्ली–गल्ली धाउँछ र मरणोपरान्तसमेत अधूरा सपनाको पूर्ति प्राप्तिका लागि कामना गरिबस्छ । र, मजस्तै सायद मनमनै गुनगुनाउँछ हजार सपनाहरूको माया लागेर आउँछ ।