• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७८ मङ्सिर ११ शनिबार ०७:२०:००
पर्यावरण

‘जलवायु परिवर्तन श्रमिक वर्गको मुद्दा हो’

२०७८ मङ्सिर ११ शनिबार ०७:२०:००
नयाँ पत्रिका

नेपाली मूलकी सरहाना श्रेष्ठले अमेरिकाको न्युयोर्क राज्यसभामा उम्मेदवारी दिने भएकी छिन् । उनी समाजवादी विचार राख्छिन् । उनी निर्वाचित भएमा समाजवादीहरूको उपस्थिति राज्यसभामा बढ्नेछ । ‘ज्याकोबिन’का लागि स्वतन्त्र पत्रकार एन्ड्रियु ज्याम्ब्रोनेले श्रेष्ठसँग लिएको अन्तर्वार्ता दिनेश पन्तले अनुवाद गरेका हुन् । सोही अन्तर्वार्ताको सम्पादित अंश :

 

आफ्नो बारेमा भन्नुहोस् न ।

म पेसाले ग्राफिक डिजाइनर हुँ । सन् २००१ मा कम्प्युटर ग्राफिक्स पढ्न यहाँ आएकी थिएँ । सन् २००४ मा कलेजको पढाइ सकिएयता ग्राफिक डिजाइनिङ गरिरहेकी छु । यसअतिरिक्त जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम आयोजना गर्छु । यो कार्यक्रम पब्लिक पावर न्युयोर्कको राज्यव्यापी साझेदारी गठबन्धनसँग मिलेर गर्छु । म नेपालको पहिलो पुस्ताको आप्रवासी हुँ । जब म यहाँ आएँ, जर्ज बुसको शासन थियो र ९ सेप्टेम्बर २००१ को हमला र त्यसले निम्त्याएको परकम्प चलिरहेको थियो । त्यसयता युद्धविरोधी आन्दोलन एवं समतामूलक अर्थतन्त्रको पैरवी गर्दै आइरहेकी छु । समग्रमा मेरो बृहत्तर राजनीतिक योजना बजारका लागि नभई जनताका लागि काम गर्नु हो । 

 

तपाईं कहाँ बस्नुहुन्छ, तपाईं कति समयदेखि त्यहाँ हुनुहुन्छ र तपाईंका अन्य कुनै सान्दर्भिक व्यक्तिगत विवरणबारे अलिकति बताउन सक्नुहुन्छ ?

सन् २०१९ मा अमेरिकी नागरिक बनेँ । सन् २०१८ मा मेरो श्रीमान्सँग एसोपस भनिने यो नगरमा सरेँ । म यहाँ लङ आइल्यान्डमा कलेजका लागि आएँ । म काठमाडौं उपत्यकाकी हुँ । त्यहाँ हरेक दिन बिहान उठ्नासाथ वरिपरि हिमशृंखला देखिन्छ । त्यसैले मलाई यो ठाउँ वरिपरि पनि हिमाल भइदिएहुन्थ्यो जस्तो लाग्छ । 

 

तपाईं निर्वाचित भए कुन नीतिका लागि लड्नुहुन्छ ?

डेमोक्र्याटहरूको अत्यधिक बहुमत भए पनि यहाँको राज्यसभा प्रगतिशील विधेयकमैत्री छैन । मैले केही विधेयकहरूमाथि विशेष ध्यान दिइरहेकी छु । किनभने यी विधेयकले केही विषयलाई सही दिशा प्रदान गर्ने आधार निर्माण गर्नेछ । आवासका मामिलामा हामीले निकै महत्व दिएको न्यायपूर्ण बेदखली (गुड कज इभिक्सन) सम्भवतः प्रारम्भिक चुनावको नतिजासँगै पारित हुनेछ । यो विधेयक एकदमै आवश्यक छ, किनभने यसले भाडामा बस्नेहरूलाई उजुरी गर्न र अधिकारका लागि संगठित हुन सुरक्षाको अनुभूति गराउनेछ ।

 

अहिले धेरै भाडामा बस्ने मानिसहरू आफ्ना घरबेटीसँग डराएका छन् । आफू बसेको अपार्टमेन्टमा हुने कुनै पनि समस्यामा बोल्न सक्दैनन् । त्यसैगरी स्वास्थ्य सेवामा हामीले न्युयोर्क स्वास्थ्य विधेयक अगाडि सारेका छौँ । यो विधेयकलाई पारित गराउन हाम्रा अगाडि ठूलो चुनौती छ । केही तप्काका मानिसहरूका स्वार्थ बिमा कम्पनीहरूसँग जोडिन्छन् । त्यस कारण राज्यका प्रतिनिधिहरू यो विधेयकलाई पारित गराउन उदासीन देखिन्छन् । यद्यपि अघिल्लो विधायक सत्रमा थोरबहुत परिवर्तन देखिएका छन् । त्यसकारण म अझै पनि यो विधेयकमा आशावान् छु ।

नेपालमा जैविक विविधताको रक्षा गर्ने समुदाय रक्षा गर्ने शक्तिमा पुग्न सकेको छैन । प्रकृति विनाश गर्ने विकास परियोजनाको विरोध गर्दा मानिस मारिएका छन्  ।


जलवायु परिवर्तन, सार्वजनिक ऊर्जा बिल, सार्वजनिक नवीकरणीय ऊर्जा निर्माण विधेयक हाम्रा मुख्य प्राथमिकताका विषय हुन् । सार्वजनिक नवीकरणीय ऊर्जा निर्माण विधेयक एक थप रूपान्तरणकारी विधेयक हो, जसले न्युयोर्क पावर अथोरिटीलाई नवीकरणीय ऊर्जा निर्माण गर्न मात्र होइन, समुदायहरूमा लगानी पनि गर्न दिन्छ । अन्ततः जलवायु परिवर्तन श्रमिक वर्गको मुद्दा हो । यदि हामीले ठीक ढंगले तयारी नगर्ने हो भने श्रमिक वर्ग सबैभन्दा धेरै प्रताडित हुनेछन् ।

 

तपाईंलाई  वातावरणको पक्षमा पैरवी गर्न के कुराले आकर्षित गर्‍यो ?

रमाइलो कुरा के थियो भने जब हामी राजतन्त्रात्मक नेपालमा हुर्किरहेका थियौँ, तब प्रायः सबै पाठ्य–पुस्तक प्रकृतिपरस्त प्रोपागान्डा जस्तै थिए । हिमाल, पहाड, तराई, जैविक विविधता भएको एवं विश्वभरिका मानिस यो सुन्दर मुलुक हेर्न आउँछन् भनेरै प्रचार गरिन्थ्यो । जैविक विविधतामा गर्व पनि गर्ने र वित्तीय लाभका लागि यही विविधतालाई बेच्न पनि पछि नपर्ने विरोधाभास नेपालजस्ता ठाउँमा देख्न सकिन्छ । हामीसँग अहिले रहेको नाफामुखी अर्थतन्त्र प्रकृतिको शोषणमा निर्भर छ । वास्तवमा यो पश्चिमाहरूको नवउदारवादी संस्कृति हो । तथाकथित तेस्रो विश्वमा हुर्केको नाताले म भन्न सक्छु, धनी एवं शक्तिशाली मुलुकहरू निर्धन मुलुकका थाप्लोमा सबै कुरा हाल्दिन्छन् । गरिब मुलुक लाचार छन् ।

 

उनीहरू विकासका लागि दाता मुलुकले दिएको अमेरिकी डलर एवं तिनले सिर्जना गरेका ऋणबाट शासित छन् । विडम्बना दिगो भविष्यका नाममा पनि यस्ता ऋण प्रवाह हुन्छन् । नेपालमा जैविक विविधताको रक्षा गर्ने समुदाय रक्षा गर्ने शक्तिमा पुग्न सकेको छैन । प्रकृति विनाश गर्ने विकास परियोजनाको विरोध गर्दा मानिस मारिएका छन् ।

 

अकुत धन र असीमित वृद्धिका लागि प्रकृतिलाई अर्थव्यवस्थामा लतार्नु हाम्रा मूल्य–मान्यताहरू ह्रास भएको जनाउने प्रतिनिधि तत्व हुन् । जुन आर्थिक वृद्धिको मोडलले मानिसलाई मानिस नभई बजारको उपभोक्ताको रूपमा देख्छ, त्यो आर्थिक वृद्धि एक अचेत एवं गतिशून्य मोडल हो । अहिलेको जलवायु संकट यिनै असीमित वृद्धिको मोडलबाट सिर्जना भएको हो ।  

 

मेरा लागि जलवायु राजनीति पनि अन्य क्षेत्रका राजनीति समान हो । न्युयोर्क सहरमा आकस्मिक बाढीले भुइतलाका मानिसहरू मारिए । यो दुवै आवास एवं जलवायु मुद्दा हो । मानिसहरू दिनानुदिन रोगी भैरहेका छन् र अस्पतालमा उपचार नपाउन सक्छन् । यो पूर्वाधार, जलवायु एवं स्वास्थ्य सेवा मुद्दा हो ।

 

तपाईंको सम्भावित प्रतिद्वन्दी सन् १९९३ देखि हालसम्म राज्यसभामा बहाल छन् । यस्ता व्यक्तिलाई तपाईंले कसरी पराजित गर्न सक्नुहुन्छ ? 

यहाँ मानिसहरू कार्यकाल सीमामा विश्वास गर्छन् । चुनावी प्रतिस्पर्धा सहज भने हुनेछैन । अमेरिकी लोकतान्त्रिक समाजवादी पैसाको कारोबारबाट चुनाव लड्दैन । हामी सहयोगबाट परिचालित हुन्छौँ र मानिसहरूलाई प्रेरित एवं संगठित गर्छौं । पदासीनहरू अत्यधिक पैसा खर्च गरेर चुनाव लड्छन् र व्यक्तिगत आक्रमणमा उत्रिन्छन् । यो चुनावी ‘टेम्प्लेट’ अर्थात् स्वाभाविकता हो । मलाई सम्भवतः बाहिरिया भनिन्छ होला । हामीलाई जसले यो संकटमा पारेको छ, तिनै उद्योगबाट पैसा नलिनबाट रोक्न कहीँ कतैबाट दबाब छैन ।

मतदाताको उपस्थिति मुख्य चुनौती हो । घरदैलो कार्यक्रम, बैठकलगायत जमिनस्तरका कार्यक्रममा तीव्र रूपमा लागिपरेका छौँ । हामी मतदातालाई चिन्न चाहन्छौँ, प्रचारका लागि मात्र नभई हामी साँच्चै मतदातासँग कुरा गर्न चाहन्छौँ । हामी धेरै अगाडि बढिरहेका छौँ । किनकि मलाई लाग्छ– मानिसहरू इमानदारिताको प्रशंसा गर्छन् र गर्न चाहन्छन् । हामी चुनाव व्यक्तिगत नाफाघाटाका लागि लडिरहेका छैनौँ, राजनीतिक संस्कृति परिवर्तन गर्न लडिरहेका छौँ । हाम्रो उद्देश्य यी एकजना व्यक्ति नभई राजनीतिक संस्कारमा परिवर्तन गर्नु हो । मलाई लाग्छ, जनता पनि यही चाहन्छन् ।