• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ मङ्सिर ११ शनिबार ०७:३२:००
यात्रा

मनमोहक कपुचे

२०७८ मङ्सिर ११ शनिबार ०७:३२:००

कपुचे पदयात्राको ‘कनेक्सन’ अन्नपूर्ण हिमालसँगै छ । तर, यो पदयात्रामा अन्नपूर्ण सर्किट वा पुनहिलको यात्राजस्तै कल्पना गरेर जाँदै हुनुहुन्छ भने त्यो मिल्दैन । यी पदयात्रामा प्रायः आँखैअगाडि हिमाल भेटिइरहन्छ । यात्री र होटेल रेस्टुरेन्ट भेटिरहन्छन् । कपुचे फरक छ, तर अन्नपूर्णसँगै छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको फेदीमा छ कपुचे हिमताल । हो यही हिमताललाई पछ्याउँदै पदयात्रीहरू त्यहाँ पुगिरहन्छन् । घना जंगलबीच यात्रा गर्दा हिमाल छेकिइरहन्छ, मात्र मादी नदीको सुसाहट यात्राको साथी बन्छ ।

इदी झरना


कपुचे सबैभन्दा होचो स्थानमा रहेको हिमताल हो । समुन्द्र सहतदेखि २,४५० मिटरको उचाइमा रहेको यो तालमा पुगेपछि आँखैअगाडि हिमाल ठोकिन्छ । अन्नपूर्ण दोस्रो हिमाल यो तालको स्रोत हो । तालको मनमोहक नीलोपानीले यात्राका सबै कठिनाइ बिर्साइदिन्छ । कपुचे यात्रा पोखरा हुँदै सुरु हुन्छ । पोखराको काहुँ खोलाबाट जिप वा बसको यात्राबाट उत्तरी गाउँ सिक्लेस करिब चार घन्टामा पुगिन्छ । कच्ची बाटो हुँदै सिक्लेस पुगेपछि त्यहाँ गुरुङ संस्कृतिको स्वागत पाइन्छ । सिक्लेस टेक्नेबित्तिकै हिमालको चिसो हावाको झोक्काले हान्न थालिहाल्छ । पहिलो दिन सिक्लेसमा बिताउनका लागि होटेल र होमस्टे छन् । तर, कतिपय एकै दिनमा कपुचेको फेदी हुगुमा बस्न पनि पुग्छन् । हुगुमा तीनवटा होटेल छन् । हुगुमा सिक्लेसीहरूले पहिले आफ्नो गोठ राख्ने गरेको बताउँछन् त्यहाँ होटेल लबिम सञ्चालन गरिरहेका प्रकाश गुरुङ । सिक्लेसबाट उकाली–ओराली गर्दै हुगुमा पुगेपछि मात्र केही खाँदै सुस्ताउन पाइन्छ । 

हुगुमा फड्के तर्दै


मादी नदीको एकोहोरो सुसाहट सुन्दै उकाली लाग्नु यो पदयात्राको विशेषता हो । सिक्लेस छोडेपछि पदयात्राको क्रममा अर्को गाउँ भेटिन्न । सीधै हुगुमा तीनवटा होटेल र कपुचे पुगेपछि भेटिने अरू तीन होटेल नै आश्रयस्थल हुन् । जंगलको अप्ठ्यारो बाटो हुँदै कपुचे जाँदै गर्दा कतै खुला ठाउँ देखियो भने पनि न्यास्रो मेटिन्छ । कपुचे ट्रेक एक शान्त यात्रा हो । त्यहाँ अरू कुनै होहल्ला छैन । मात्र छ त प्रकृति र त्यसका सुन्दरता । शान्त यात्रा मन पराउनेहरूका लागि यो रोजाइ हुन सक्छ । 

अन्नपूर्ण दोस्रोमा आएको हिमपहिरो


कतै ठाडै उकालो, कतै ओर्लिनै मुस्किल पर्ने ओरालो । यात्रामा होस गरिएन भने लडेर मादीको छेउ पुग्ने उस्तै खतरा । भर्खरै पदयात्रा खुलेकाले यहाँको बाटो यात्रीहरूका पदचापले मात्रै बनेको छ । स्थानीय पर्यटन व्यवसायीहरूले पनि बाटोलाई सहज बनाउन प्रयास गरेका छन् । २०७२ को भूकम्पअघि कपुचेमा फाट्टफुट्ट पदयात्रीहरू जान थालेको बताउँछन् स्थानीय दुधबहादुर गुरुङ । आफू २० वर्षअगाडि कपुचे पुग्दा त्यहाँ सो तालको सानो निसाना मात्रै देखिएको भए पनि निरन्तरको हिमपहिरोले ताल बनेको उनी बताउँछन् ।

२० वर्षअघि कपुचेमा सिकलेसका दूधबहादुर गुरुङलगायत


सिक्लेस पुग्ने प्रायको गन्तव्य हिजोआज कपुचे र कोरी हुने गरेको छ । बिदाको समयमा कहिलेकाहीँ त सिक्लेसका होटेल र होमस्टेले थेग्नै नसक्ने गरी पर्यटकहरू पुग्छन् । उनीहरूको व्यवस्थापन गर्न कहिलेकाहीँ त कठिन हुने गर्छ । सामूहिकतामा रमाउने सिक्लेसीले जसोतसो समस्याको समाधान गरिहाल्छन् । आरामसँग हिँड्दा यो यात्रा दुई दिनमै पूरा हुन्छ । प्रायः पदयात्रामा खच्चरहरू मालसामान बोकेर हिँडिरहेका भेटिन्छन्, तर यो बाटोमा खच्चर हिँड्न सक्दैन । त्यसैले सामान ढुवानीका लागि मानिसकै भर पर्नुपर्छ । सिक्लेसबाट हुगुसम्म सामान लगेको भरियाले दुई हजार र कपुचे पुर्‍याएको तीन हजार लिन्छन् । 

सिकलेस गाउँ


कपुचेमा होटेल सञ्चालन गरिरहेका सुवास गुरुङले बाटो राम्रो बनाउनसके पर्यटकहरू अझै आकर्षित हुन सक्ने बताउँछन् । उनले कपुचेमा सोलार लाइट राखिदिन पनि स्थानीय सरकारलाई अनुरोध गरे । हुगु, कपुचेमा सञ्चारको कुनै व्यवस्था छैन । होटेलका आफ्नै वाकिटकीबाहेक । मोबाइल फोन फोटो खिच्न मात्रै काम लाग्छ, टावर टिप्दैन । हुगुबाट तीन घण्टा उकालो लागेपछि कपुचे पुगिन्छ । कपुचेमा आगो ताप्दै रातिको हिमाल हेर्नुको छुट्टै आनन्द छ । अन्नपूर्ण दोस्रोमा आउने हिमपहिरो आँखैअगाडि देखिन्छ कपुचेबाट । 

अन्नपूर्ण दोसो र लमजुङ हिमाल


होटेलबाट पाँच मिनेटमा कुपुचे ताल पुगिन्छ । ताल यति मनमोहक छ कि हेर्दाहेर्दै हामीले त्यहीँ दुई घन्टा बिताएको पत्तो नै पाएनौँ । नीलोपानी र हिमालले स्वर्गीय आनन्द दिन्छ । तिनै सम्झना बोकेर अप्ठ्यारो बाटो फेरि सिक्लेस फर्किनु त छँदैछ ।