• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
हिरादेवी वाइबा
२०७८ मङ्सिर ११ शनिबार ०७:४८:००
समाज

बिस्तारै परिवर्तन कि पुस्तान्तरण ?

जीवित देवी मानेर बालिकाहरूको कुमारी पूजा गर्ने सामाजिक व्यवस्थाले नै सम्झना विक र अंगिरा पासीहरूलाई बलात्कार र हत्या गरिरहेको छ ।

२०७८ मङ्सिर ११ शनिबार ०७:४८:००
हिरादेवी वाइबा

 

‘हैन नि म्याम, पहिले–पहिले फिमेलहरू डोमिनेटेड भए पनि रिसेन्ट टु सेन्चुरीमा उनीहरूले पढ्न पाएका छन् । घरबाहिर काम गर्न जान पाएका छन् । के यो चेन्ज हैन ? चेन्ज बिस्तारै हुँदै छ त !’

 

‘अनि त्यो ६ हजार वर्ष उनीहरूले गुमाउनुपरेको कुराहरू नि ! कसरी कम्पेन्सेट गर्ने..!?’


मलाई कुरा पूरा गर्नै नदिई ऊ बोल्छ, ‘जस्तै– नेपालमै हेर्नू त ! हाम्रो प्रेजिडेन्ट को हो ? फिमेल होइन ? अनि तपाईं कसरी भन्न सक्नुहुन्छ कि फिमेलहरू पछाडि छन् ?’


‘उसो भए हाम्रो देशमा भोकमरी छ । खान लगाउन नपुग्ने, आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्थामा मानिस छन् । त्यहाँबाट एउटा परिवारलाई उठाएर ल्याई खान–बस्नको राम्रो व्यवस्था गर्नेबित्तिकै भोकमरी सल्ब हुन्छ त ?’


‘त्यो त हुँदैन । तर, बिस्तारै चेन्ज त भैहाल्छ नि !’ 


उसको बारम्बारको ‘बिस्तारै चेन्ज हुन्छ !’ भन्ने वाक्य सुनेपछि कक्षाको एउटा कुनाबाट अलिक रिसाएको आवाज आयो, ‘ओ हेल्लो ! नेपाल इज्नट काठमाडौं ओन्ली ! एन्ड ह्वाटएभर यु सी इजन्ट द ओन्ली त्रुथ ! हु द हेल आर यु टु लेबल विमिन्स फ्रिडम ?’


अनलाइन कक्षामा प्रायः शुक्रबार हामी पाठ्यपुस्तकबाहेक डकुमेन्ट्री, जनचेतनामूलक छोटा मुभीहरू हेर्ने र आफ्नो बुझाइ बताउने गर्नुका साथै केही न केही विषयमा छलफल गथ्र्याैं । मानसिक स्वास्थ्य, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि गरिने दुव्र्यवहार, लिंग, जात र वर्गका आधारमा हुने विभेद आदि । त्यसैको निरन्तरतास्वरूप पछिल्लो हप्ता भौतिक कक्षामा छलफल चलिरहेको थियो, जसमा उल्लिखित संवाद भएको हो । 


अक्सर यस्तो छलफलमा अधिकांश छात्राहरू ऊर्जाशील, सकारात्मक र प्रगतिशील विचारहरू राख्छन् भने केही छात्रहरूचाहिँ महिलाहरू विभेदमा छन् भन्ने सुन्नेबित्तिकै डिफेन्समा उत्रिन्छन् । अचम्म त लाग्दैन, तर एकदम दिक्क महसुसचाहिँ गर्छु । समस्यामूलक सिकाइहरू लिएर हाम्रा भाइ–बहिनी हुर्किंदै छन् र त्यसलाई सच्याउन हामी केही पनि गरिरहेका छैनौँ ।


वरपर, साथी समूह, अग्रजहरू, अहिले त सामाजिक सञ्जालमा उपलब्ध सामग्री, सेलिब्रेटी इन्फ्ल्युन्सरहरूलाई पछ्याउँदै पनि उनीहरूले धेरै कुरा सिक्छन् । तर, यस्ता सञ्जालका इन्फ्ल्युन्सरहरूले के मेसेज दिन्छन् ? के बोल्छन् ? त्यसले कस्तो प्रभाव पारिरहेको छ त ? विभेदलाई प्रश्रय दिने, महिलाहरूको घरेलु श्रम शोषणलाई रोमान्टिसाइज गर्ने, बडी सेमिङ गर्ने, हिंसालाई जस्टिफाई गर्ने, महिलालाई वस्तुकरण गर्ने, सेक्सुअलाइज गर्नेहरू प्रशस्त भेटिन्छन् । यसले बालबालिकामा कस्तो मानसिक छाप पर्छ भनेर हेर्ने हो भने यो समाज अघितिर होइन, पछितिर कुदिरहेको भान हुन्छ । अझै इन्फ्ल्युन्सरहरूले दिने मेसेजले वाक्क बनाउँछ ।


यो हप्ता मात्रै टिभी कार्यक्रम होस्ट पासाङ योञ्जन लामा र युटुबलगायत सञ्जालमा युवाहरूले खुबै पछ्याइरहेका स्टोरी टेलर साइग्रेसको कुराकानीको भिडियो क्लिपलाई धेरै साथीहरूले सेयर गरेर कल आउट गरेको देखेपछि मैले पनि लिंक खोलेर हेरेँ । उनीहरू भन्दै थिए, ‘आफैँलाई फेमिनिस्ट भन्नेहरूले हराउँदै गएको लैंगिक विभेदलाई उचाल्दै छन् । बिस्तारै सुधार हुँदै गएको समाजलाई उग्र रूपले बिथोल्दै छन् ।’ अझै नेपालमा धेरै फेमिनिस्टहरू भएर समाजलाई आक्रान्त पारे भन्ने कुराकानीको आशय थियो । साइग्रेसले थप्दै भने, ‘केही समयअघि मात्रै दुई–तीनजना महिलाले अन्धाधुन्ध पुरुषलाई आरोप लगाए । पछि पुरुष निर्दोष भएर छुटेपछि उसलाई समाजमा पुनः स्थापित हुन सहज भएन !’ उनको यो क्लिप सुन्दै गर्दा, महोत्तरी, भंगहा नगरपालिका–२ बखरी टोलकी मुसहर समुदायकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या गरिएको समाचार म फेसबुकको न्युज फिडमा आक्रोशित र निरीह हुँदै हेर्दै थिएँ ।

महिलाद्वेषी व्यवस्थाको ध्यान भंग गर्ने गरी चिच्याएर भन्न मन लाग्छ, ‘मलाई आजै, अहिल्यै र यतिखेरै यो दमनात्मक, विभेदकारी र अति चर्को, अति अमानवीय सामाजिक–मनोवैज्ञानिक संरचनाबाट मुक्ति चाहिएको छ !’

 

दाइजोको निहुँमा जलाइएका महिलाहरू, निसन्तानपनाको समस्या, त्यसमाथि पनि छोरा नजन्माएको भनेर परिवारले गर्ने दुव्र्यवहार, सामाजिक हिंसा खेपिरहेका, श्रीमान्को विवाहेतर सम्बन्धका कारण हत्यासम्म गरिएका महिलाहरू, यौन शोषणमा परेका बालिका तथा महिलामाथि दैनिक आउने समाचार यिनीहरूसम्म कसरी पुग्दैन रहेछ ?


अपवादका घटनालाई लिएर सामान्यीकरण गर्ने (मिडिया पर्सनालिटी ? इन्फ्ल्युन्सर ?) हरूले हरेक दिन महिला, बालबालिका, यौनिक अल्पसंख्यकमाथि हुने, शारीरिक, मानसिक, मनोवैज्ञानिक हिंसा र अपराधहरूमा प्रहरी प्रशासनले उजुरी लिन आनाकानी गरेको, कतिपय ठाउँ र अवस्थामा ठाडै अस्वीकार गरेको, पीडकलाई सामाजिक, आर्थिक हैसियतको बलमा अझै उत्पीडन गरेको, मुस्किलले उजुरीसम्म दर्ता हुँदा पनि प्रहरीले झुक्याएर मिलापत्र गराइदिएर न्यायको यात्रा बिथोलिदिएको समाचार किन देख्दैनन् ? किन पढ्दैनन् ? भर्खरै मात्रै निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका खातिर पैदल हिँडेर सिंहदरबारमा न्याय खोज्दै आएको टोलीको समाचार यिनीहरूको दृष्टिकोणमा धुलो जमेजसरी बसेको पितृसत्तात्मक लेन्सले कहिले देख्ला ?


जब–जब महिलाहरू बोल्छन्, आफूविरुद्ध भएको हिंसा र दमनलाई छेक्ने मौनताको पर्खाल भत्काउँछन्, तब–तब ‘नट अल मेन’ आउँछ । सबै पुरुष उस्तै हँुदैनन् भन्ने सवालमा कसैले सामाजिक सञ्जालमै लेखेको भेटेकी थिएँ, ‘संसार यति असल पुरुषहरूले भरिएको छ भने हरेक महिला र बालिकाले आफ्नो जीवनकालमा कसरी कुनै न कुनै किसिमको यौनजन्य दुव्र्यवहार भोग्नुपर्छ ?’


कक्षामा छलफल हुँदै गर्दा एकजना भाइले भनेका थिए, ‘महिलालाई धेरै स्वतन्त्रता भयो, अधिकार भयो । किनकि उनीहरूको नाममा महिला अधिकार छ, लेडिज फस्ट छ । तर, किन पुरुष अधिकार छैन ? किन मेन फस्ट छैन ?’ यो अबोध प्रश्न मात्रै होइन । शोषण र दमनको इतिहासलाई ढाकछोप गरेर पछिल्लो पुस्तालाई कसरी गुमराहमा राखिएको छ भन्ने गतिलो उदाहरण पनि हो ।


ठ्याक्कै त्यही सानो भाइको प्रश्नजस्तै थियो, टिभी प्रस्तोता र स्टोरी टेलरको तर्क । तर, यो तर्कमा निर्दोषपना, अबोधता थिएन । बरु टिपिकल पुरुष अहमता झल्किन्थ्यो । उनीहरूका अनुसार महिलाहरूले लोग्नेको खुट्टा मोल्न छोड्नु, जागिर गर्न जान पाउनुमै पितृसत्ता हराइसकेको छ । परिवर्तन आइसकेको छ । 
‘महिला अधिकारका लागि बोल्नेहरूलाई सम्मानचाहिँ छ । तर, नचाहिँदो तरिकाले मुद्दा तताएको चाहिँ ठीक लाग्दैन !’ भन्ने पासाङ र साइग्रेसहरूलाई कति चाहिँ ठिक्क हो ? कति चाहिँ सम्मानयोग्य हो ? यस्तो अभिव्यक्ति सुनिरहँदा भारतीय कमेडियन वीर दासले नोभेम्बर १२ मा अमेरिकाको वासिंटनस्थित जोन एफ केनेडीमा प्रस्तुत गरेको एकालाप सम्झिएँ ।

 

एकालापमा उनले अहिलेको भारतको विरोधाभासको व्याख्या गर्दै भनेका छन्, ‘म त्यो भारतबाट आएको हुँ, जहाँ हामी महिलालाई दिउँसो पूजा गर्छौं र रातमा उनीहरूको सामूहिक बलात्कार हुन्छ ।’ (नेपाल पनि त केही फरक छैन । जीवित देवी मानेर बालिकाहरूको कुमारी पूजा गर्ने सामाजिक व्यवस्थाले नै सम्झना विक र अंगिरा पासीहरूलाई बलात्कार र हत्या गरिरहेको छ ।) तर, सबैभन्दा आपत्तिजनक र खेद प्रकट गर्नुपर्ने कुरा त के छ भने यस्तो भनेर ताली पाएका वीर दास आफैँ हिपोक्रेसीका नमुना हुन् ।

 

उनको उल्लिखित लाइन कोट गर्दै गर्दा मैले उनका केही स्ट्यान्ड अप कमेडीहरू हेरेँ । उनले–एउटा जमात अघि उभिएर भनेका छन्, ‘म मायावतीलाई यसकारण घृणा गर्दिनँ किनभने उनी पुरुषजस्तै देखिन्छिन्, उनी उत्तर प्रदेशी लवज भएकी पेन्गुइनजस्ती छिन् । म उनलाई यस कारण घृणा गर्छु किनकि एकपटक मैले उनलाई पैसाको माला लगाएको देखेँ । पुरुष फ्यान्टसीको दुई कुरा उनले प्रयोग गरेको पाएँ– क्लिभेज र पैसा र तिनलाई सबैभन्दा कुरूप तरिकाले देखाइन् । मलाई कहिल्यै पैसाले ढाकिएको क्लिभेज हेर्न मन लागेन । ह्विप्ड क्रिम ? येस ! चकलेट सस् ? येस ! चन्डीगढका केटीहरूले गर्दै छन् भने आँपको अचार पनि ठीक छ ।


उनले यसरी मजाकको पात्र बनाएकी मायावती दलित समुदायको बलियो प्रतिनिधित्व गर्दै चारपटकसम्म उत्तर प्रदेशको मुख्यमन्त्री रहिसकेकी प्रभावशाली नेतृ हुन् । उनै मायावतीप्रति वीर दासले स्ट्यान्ड अप कमेडीको नाममा बमन गरेको स्त्रीदोष र कथित उच्च जातीय पुरुष अहंकार हेरे–सुनेपछि मसँग वीर दासका लागि घृणाबाहेक केही बाँकी रहेन ।


महिलाहरूले निर्बाध उपयोग गर्न पाउनुपर्ने अधिकारलाई संकुचित गर्ने, सीमाहरू तोकिदिने, उनीहरूको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने साइग्रेसहरू, पासाङहरू को हुन् ? पितृसत्ता हराउँदै गएको रटान लगाउँदै गर्दा पुरुषहरूको नियन्त्रणमा राख्न पाए ठीक नत्र खत्तमको ट्याग लगाइदिने ? नारीहरूलाई हृदयदेखि नै सम्मान गर्छु भन्नेले उनीहरूले स्वतन्त्र रूपमा निर्णय लिएको, आफैँलाई अभिव्यक्त गरेको, आफ्नो मर्जीमा बाँचेको देख्दा नारीवाद समस्या देखेर शब्द नै हटाउनुपर्छ भन्ने, महिला पुरुष भनेर नछुट्याऊ, समानताका लागि कुरा गरौँ भन्नेजस्तो अति नै सतही टिप्पणी गर्ने, नारिवाद शब्द सुन्दै तर्सिने, पितृसत्ताको चरम शोषण÷दमनमा परेका महिलाहरूको व्यथा यति सामान्यीकरण गर्ने, को हो तपाईंहरू ? 


अझ कतिपय अवस्थामा त पुरुष साथीहरू तर्क गर्छन्, ‘हाम्रो बाउ–बाजेले, पुर्खाले गरेको गल्तीको सजाय हामीले किन भोग्ने ?’ ध्यान दिनुस्, दोहोर्‍याएर–तेहेर्‍याएर पढ्नुस् र याद गर्नुस्– जसरी तपाईंको पुर्खाले शोषण र दमनको जगमा टेकेर आर्जेको सम्पत्ति र नाममाथि तपाईंहरू गर्व गर्नुहुन्छ, उपभोग गर्नुहुन्छ, त्यसरी नै तिनीहरूले गरेको कुकर्म, अत्याचार र अपराधको भागिदार तपाईं बन्नुपर्छ । त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ । जवाफदेहिता राख्नुपर्छ ।


केही समयअघि मात्रै एकजना साहित्यिक अनलाइनका (सम्पादक ? )ले हिंसालाई जस्टिफाई गर्दै प्रेमको नियम लेखेका थिए । उनी तिनै मानिस पनि हुन्, जसले हिंस्रकलाई हुनेसम्मको बचाउ गरिनेछ भन्ने अभिव्यक्तिसमेत दिएका थिए । साहित्य लेखनमै रहेका धेरैले पछ्याएका उनको पोस्टमा हो मा हो मिलाउँदै प्रतिक्रिया दिनेहरूको चेतना देखेर उदेक लाग्यो । साहित्य समाजको ऐना त हो नै, सँगै समाज परिवर्तनको संवाहक पनि । तर त्यसरी अरूलाई प्रभावित पार्न सक्नेहरूले नै समस्यामूलक सोचाइ र विचारहरूलाई मलजल गर्दै लगे हाम्रो गन्तव्य कहाँ भेटिएला ? 


सडकमा, मिडियामा मैले तिमीहरूको लागि बोल्दिएकै छु, घरभित्र वा सम्बन्धमा मैले जे गरे पनि सहनुपर्छ भन्ने मानसिकता अग्रपंक्तिमा उभिएर महिला हिंसाविरुद्ध लेख लेख्ने, नारा लगाउने, ब्यानर बोक्ने पुरुषहरू जताततै भेटिने कथित बौद्धिक जमातमा, कसैले आफूमाथि हिंसा भयो भनेर उजुरी गर्दा प्रहरी, प्रशासन, कानुनले पीडकलाई आफू हिंस्रक होइन भनेर प्रमाणित गर भन्नुपर्नेमा, उल्टो पीडितले नै आफू पीडित हो भनेर प्रमाणित गर्नुपर्ने व्यवस्थामा, बलात्कार जस्तो संवेदनशील विषयलाई मिलापत्रमा टुंगो लगाउने प्रशासन, महिला हिंसालाई सामान्यीकरण गर्दै नजरअन्दाज गर्ने नागरिक समाज, बौद्धिक सर्कल र पीडकको वाहवाही र पीडितलाई हीनताबोध गराउने सामाजिक संरचनामा बसेर महिलालाई अधिकार धेरै भयो भन्ने दुस्साहस कसरी आउँछ होला ? 

 

जुन सामाजिक संरचनामा महिलाले न्याय पाउन सडकमै उत्रिनुपर्ने, उजुरी दर्ता गर्न सामाजिक सञ्जाल र अभियन्ताहरूसँग हार–गुहार गर्नुपर्ने, महिनौँको पैदल यात्रा गर्नुपर्ने अवस्था र व्यवस्था छ, त्यहीँनेर उभिएर महिलाहरूलाई अधिकार धेर भयो भन्ने पितृसत्ताका पहरेदारहरूलाई कस्तो सम्मान अर्पण गरौ ? ‘बिस्तारै परिवर्तन हुँदै छ । हामी परिवर्तन हुँदै छौँ । भएकै छ त । हामीले दिएकै छौँ त’ भन्नेहरू भेट्दा मलाई ‘बिस्तारै केही पनि आउँदैन केवल मृत्युु आउँछ’ भन्ने हिन्दी कवि सर्वेश्वर दयाल सक्सेनाको कविता पंक्ति याद आउँछ । कक्षाकोठामा छलफल हुँदा १४ वर्षको विद्यार्थीसमेतले परिवर्तन बिस्तारै हुन्छ भनेको सुन्दा/देख्दा म अवाक् हुन्छु ।

 

मलाई दिक्क लागेको त अझै यो कुराले थियो कि उ भनिरहेको थियो,‘महिला उत्पीडनको इतिहास ६ हजार वर्षको भएपनि यो दुई शताब्दीमा कति धेरै परिवर्तन भएको छ ! त्यो पनि हेर्नुपर्छ, बिस्तारै हुँदै छ नि । तर, यो परिवर्तनले महिलाहरूलाई माथि लैजानेछ र पुरुषहरूलाई दमन गर्नेछ ।’ म चकित भएको थिएँ । जहाँ महिलाहरूले आज पनि आत्मनिर्णयको अधिकार थाहै नपाएर, आफ्नो अस्तित्वको अर्थ नै नबुझेर दासत्व स्विकारेर जीवन सकाइरहेका छन् । महिला मुद्दाका कुराहरू उठ्नेबित्तिकै पितृसत्ता ढल्छ भन्ने डर कति चाँडो पलाएको ? कलिलो किशोर मस्तिष्कमा यस्तो विशाक्त सोचको बीजारोपण कसले गरिरहेको छ ? १३/१४ वर्षको किशोर आँखाहरूमा नभेटेको परिवर्तनको आशा अन्त कहाँ खोज्ने ? कति पुस्ता, कति शताब्दी पर्खिने ? 


कवि विनोदविक्रम केसीको ‘मलाई आजै समाजवाद चाहिएको छ’ भन्ने कविताको पंक्तिलाई रिफरेन्स मान्दै, यो महिलाद्वेषी व्यवस्थाको ध्यान भंग गर्ने गरी चिच्याएर भन्न मन लाग्छ, ‘मलाई आजै, अहिल्यै र यतिखेरै यो दमनात्मक, विभेदकारी, र अति चर्को, अति अमानवीय सामाजिक–मनोवैज्ञानिक संरचनाबाट मुक्ति चाहिएको छ !’