• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केशव सिलवाल
२०७८ मङ्सिर ११ शनिबार ०८:०१:००
साहित्य

कविताको समाजशास्त्र

२०७८ मङ्सिर ११ शनिबार ०८:०१:००
केशव सिलवाल

झन्डै दुई दशक बितिसक्यो कवि विश्व सिग्देलसँगको घना संगत । दशक भन्नु क्रियाशील जीवनको हरियाली एक अंश हो । यसबीच मैले विश्वबाट कविताको अविराम आत्मीय साथ पाएको छु, कैयौँ कविता सँगसँगै वाचन पनि गरेको छु । पचासको अन्तिम र साठीको प्रारम्भमा भर्भराउँदो आगोका कविता सुनाउँदै हिँड्थ्यौँ हामी । ऊ ‘अकाल कुसुम’ नामक साहित्यिक पत्रिका निकालेर आफ्नो उपस्थितिको ढुंगा हिर्काइरहेथ्यो । 


उसको संयुक्त कथासंग्रह भारतबाट प्रकाशित भयो, तर ऊ कवितालेखनमा लिप्त थियो, संग्रह मात्र आउन बाँकी । संग्रह निकाल्न पर्‍यो, कवि अभय श्रेष्ठ, विनोदविक्रम केसी, अमोघ काफ्लेसहित हामीले कुत्कुताइरहन्थ्यौँ । धेरै पछि उसले हाम्रो कुरा मान्योे र निकाल्यो ‘तालीको समाजशास्त्र’ । उसको कविताको सिद्धान्त तोकेर वादभित्र हुँडल्न मन छैन । तर, रुवाइभन्दा उसका कविता अलग छन् । ऊ कवितामा नाटकीय गुण मिसाउन चाहँदैन । न त फ्यान्टासी मात्रै उसको रहर हो । एकदम कमजोर छ उसको प्रचार ग्रन्थी पनि । गुदीबेगर प्रचारमा रमाउनेभन्दा ऊ बिलकुल अलग छ र गुटविहीन पनि । ऊ ग्याङ्स्टार/हुल्लडबाज/इन्द्रजाली कवि होइन ।


कविताको आफ्नै शास्त्र हुन्छ, विधि विधान र प्रक्रिया हुन्छ । कविताको शास्त्र भन्नु समाज हो, मानिस हो । समाजबाट भागेर, मानिसलाई परहेज गरेर कविता बाँच्न सक्दैन । यही कुरा बोध गरेर कवि विश्वले ‘तालीको समाजशास्त्र’ हामीसमक्ष पस्किएको छ । संग्रहको शीर्षकमै समाजशास्त्र जोडिएपछि कविताभित्र समाज हुनैपर्छ र छ । शीर्ष कवितामा तालीको ऐतिहासिक उद्बोधन छ । सर्वप्रथम आमाले नै तालीको सिर्जना गर्छिन् जुन सार्थक हुन्छ, मायालु हुन्छ र सिर्जनात्मक हुन्छ । निर्मम हुन सक्दैनन् आमाका ज्यावलहरू । ती ताली पनि सिर्जनात्मक हुन्छन् जुन उज्याला बालगीतमा बज्छन् । तर, विडम्बना, समयक्रमअनुसार त्यो ताली भिडको पछिपछि बजी हिँड्छ । बालापनमा ताराबाजी लैलैको सप्रेमबाट झंकृत भएको ताली अन्ततः बजारमा बिक्री हुन पुगेको यथार्थ कवि विश्वले सिर्जना गरेको छ । ऊ लेख्छ–


हामीले त 
हाम्रो हातको ताली 
नजान्दै बालखैमा नामसारी गरिदिएछौँ
नमान्दा–नमान्दै मनले 
जो भिडको पछिपछि बजी हिँड्छ
जो सत्ताको समर्थनमा
निरन्तर घन्किरहन्छ सदनमा
जो बनेको छ तिम्रो हतियार 
र, निहत्था हामी      
(तालीको समाजशास्त्र/११)

 

संग्रहको पहिलो कविता ‘सार्वजनिक शौचालय’ले शौचालयभित्रको मनस्थिति वर्णन गर्दै अन्त्यमा संसद् भवनलाई शौचालयसँग दाँजेर गजबको दनक दिएको छ । सार्वजनिक शौचालय, लज्जावती झार र संसद् भवनको कुशल संयोजन छ, तिखो व्यंग्यको संघुलन छ । संग्रहभित्रको अब्बल कविता हो बेगर मास्टर । त्यसो त हामी सबै माग्ने हौँ प्रकृतिको, अनि आमाको । प्रकृति र आमाले हामीलाई जीवन दिएका छन् । जीवनदाताको अगाडि हामी माग्ने हौँ । तर, अमेरिका, विश्वदादागिरीको अगाडि हामी कचौरा थाप्न सक्दैनौँ । यसै अन्तर्यलाई विश्वले कवितामा पस्किएको छ । बालबालिका जसलाई अपांग बनाएर बेगर मास्टरले माग्ने धन्दा चलाउँछ, त्यो दर्दनाक पृष्ठभूमि कविताले बोल्छ । त्यही पृष्ठभूमिमा उभिन्छ संसारको बेगर मास्टर– अमेरिका । संसारभर उसको दादागिरी छ, उही हो माग्ने देशको सिर्जनकर्ता । ऊसँग गरिब देशबाट चुसेको रगतको अथाह सागर छ, उसले संसार ध्वस्त गर्ने हतियार लुकाएर आतंकको वितण्डा सिर्जना गरेको छ । भन्छ– मसँग माग, म दाता हुँ । बाँकी त उसका भरौटे हुन्, हातमा थमाइएको कचौरा समात्ने हुन् । जब कचौरा विद्रोहमा उत्रन्छ तब निस्कन्छ कचौराबाट बिन लादेन र ढल्छ ट्विन टावर । 


तिमीले थमाएको कचौरा 
तिमीले दिएको सुरक्षा
र, गस्तीको चिल बाबजुद
एउटा बिन लादेन
निस्कनेछ यही सिलबरे कचौराबाट
र, हल्लिनेछ जरैदेखि
तिमीजस्तै झिँगा धपाउन आङ झट्कार्दा
हामीले काँध बोकेको ट्विन टावर 
(बेगर मास्टर/२३)

 

यस्ता बिल्कुल नयाँ, अहिलेसम्म कसैले नछोएको विषयवस्तुमा विश्वले कविता सिर्जेको छ । एउटा समस्या छ कविमा कि सबैको कविता कतै न कतै जुधेको हुन्छ, कि त विषयमा या कि त लयमा । तर, विश्व यसबाट उन्मुक्त छ । आफ्नै नवीन विषयमा उसले कविता बुनेको छ जुन कसैसँग सानो अंश पनि मिल्दैन । विषयवस्तु र शैली पनि उसको आफ्नै छ । यति मैले लेखिन भने विश्वलाई अन्याय हुन्छ, मौलिक कविताको उजागार गर्ने कार्यमा कन्जुस्याइँ हुन्छ । 

संग्रहभित्रको अब्बल कविता हो बेगर मास्टर । त्यसो त हामी सबै माग्ने हौँ प्रकृतिको, अनि आमाको । प्रकृतिले, आमाले हामीलाई जीवन दिएका छन् । 


बजार अप्रभावित कुनै स्थान छैन, कोही मानिस छैन । मानिस खल्तीमा बजार बोकेर हिँड्छन्, राति बजारको सिरानी अड्याएर सुत्छन् । बजारको खुराक भनेको तेस्रो विश्व हो, सुदूरघरको दाँतीबाट गायब खुर्पेठ्याक बजारको सौखिन हातमा आइपुगेको छ, आँटीबाट गायब भएको फुर्लुङ पनि बजार नै आइपुगेको छ, स्वादसँग हामीले हाम्रो सम्पदा साटिरहेका छौँ । ठेकी, टुकी, पेरुंगो, मदानी गायब हुनुको कारण खोतल्दै कवितामा गज्जबको जिकिर गरिएको छ । कतैबाट साभार नगरिएको अर्गानिक, सर्वथा नयाँ विषयवस्तु प्रस्तुत गरेर विश्वले कविताको नवीन स्वाद पस्किएको छ, नयाँ–नयाँ बिम्ब प्रयोग गरेको छ । जति कविता पढ्नुहोस् ती अलग लाग्छन्, कतै नजुधाउनु कविको खासियत लाग्छ । केही शीर्षक हेरौँ– मीन पचासपछि, दुबोको हरियो सपना, जुस पसलमा, कैँचीको मुटु, म्यानेकिन र उनको पोसाक, सालको पात, प्रेसरकुकरको सिठी, नांगो साबुन आदि । कपाल काट्ने कर्मीको पीडालाई उसले कैँचीको मुटुमा समेटेको छ । लोकतन्त्र होस् या पार्लरका पारखी बुझ्दैनन् कैँचीको  पीडा । प्रेसरकुकरको सिठीमा भान्छाघरमा फर्किएको रौनकलाई आममानिसको पीडादायक दैनिकीलाई पस्किन्छ । 


भर्खरै 
सुदूर गाउँले चिन्नुअगाडि नै
ससाना, तर अचुक हतियार
गायब भइसकेका छन्
र, निहत्था उभिएको छ तेस्रो विश्व 
‘मल्टिनेसनल’ कम्पनीको अजंगको ‘होर्डिङ बोर्ड’ सामु
जसले सिकाइरहेछ तेस्रो विश्वलाई 
स्वाद
जिब्रोको लम्बाइभन्दा लामो हुन्छ 
(बजार र तेस्रो विश्व/८)

 

कविता लेख्नुअघि विश्वले समाजको सघन अध्ययन गर्छ । उसका कवितामा समाजको गहिरो उत्खनन भेटिन्छ । सालको पातमाथिको उसको अध्ययनले हामीलाई कायल बनाउँछ । सालको पात बिम्बलाई तामाङ समाजसँग गज्जबले उनिएको छ । सालको पात बजाउँदै भारी बोकेर उकाली–ओराली गर्नु हाम्रो दैनिकी हो । यो संसार मुठीभरका लागि स्वर्ग छ र बाँकीलाई पसिनाको धारा । तामाङको संघर्ष, तामाङमाथि सिर्जिएका अनेक विभेदकारी बिम्बको विरोध र आत्मीय भावको प्रस्तुतीकरण कवितामा पढ्न सकिन्छ । बटुवालाई नदी तार्न कुशल, तर आफ्नो जीवन धरापमा पार्ने मझधारको माझीबारेको कविता संघर्षशीलको कविता हो ।

 

कसैले वास्ता नगरिएको नांगो साबुनमाथि कवि विश्वको आँखा पुग्छ र खेल्न थाल्छ कवि मन । त्यसपछि जन्मन्छ कविता– नांगो साबुन । तेस्रो विश्वझैँ पिल्सिएर नांगो साबुन आधुुनिक बजारमा संघर्ष गर्न पुग्छ जहाँ उसलाई टिक्न धौधौ छ । कुटिर उद्योगविरुद्ध सारा बजार बज्रन्छ, तर पनि नांगो साबुन टिकिरहेको छ । नांगो साबुनलाई ठेकी–मदानीझैँ नष्ट पार्ने योजनाप्रति कविको असहमति छ । सीमाको पीडा उल्लेखित ‘सप्पै तय थियो’ कवितामा भारतीय पुलिसले ओहोरदोहोर गर्ने नेपालीलाई कसरी गाँज्छ, त्यो प्रकट गरिएको छ । यस्ता कविता लेख्ने ल्याकत कवि विश्व सिग्देलसँग मात्र छ, अरूसँग होइन । 


कवि सिग्देलको अर्को विशेषता हो राजनीतिक अन्तर्वस्तु । देशको राजनीतिप्रति असन्तुष्ट मानिसको बोली देख्न सकिन्छ धेरै कवितामा । हजारौँ सहिदले ज्यान फालेपछि आएको हो यो गणतन्त्र, समावेशिता र संघीयता । नत्र, उही निरंकुश राजतन्त्रको पाउमुनि पददलित भएर बाँच्नुपथ्र्यो प्रजा । तर, यही परिवर्तनलाई खुट्टाले कुल्चिएर हिँड्ने नवराजामय छ देश । गोल्डस्टार जुत्ता थियो एकपटक जुन लगाएर हिँड्दा राज्यको आँखीभौँ ठाडो हुन्थ्यो । मानौँ, त्यो जुत्ता नभएर बम होस् । 


मेरा जुत्तादेखि त्रस्त थिए
सैनिक
प्रशासन
सरकार
हाम्रा हरेक टिकाउ र मजबुत वस्तुसँग
छिमेकीलाई भएजस्तै चिढ
डम्फुु–डमरूमा नाच्ने शासकको 
हराएको थियो निद सायद
मेरा गोडामा टिकाउ जुत्ता देख्दा 
हल्लिएको थियो महामहिमको कुर्सी
थर्थरी काँपेको थियो सत्ता !
(कमरेड गोल्डस्टार/१०५)

 

अर्को छोटो र निकै अर्थपूर्ण कविता छ ‘पोलिमर नोट’ । यस कवितामा दर्शनलाई नोटको चित्रमा लगेर टाँसिदिने र लत्याउने प्रवृत्तिप्रति तिखो र सटिक व्यंग्य छ । कविता छ–
हामीहरू मार्क्स  हौँ
वा, हौँ माओ
बुद्ध हौँ वा हौँ ताओ
दर्शनलाई 
रु. दशको पोलिमर नोट हुनबाट जोगाऔँ ।
(पोलिमर नोट/२२)

 

यस्ता कविताका अनेकौँ दृष्टान्त पस्किएको छ कवि विश्वले । उसकै कविताको सहारा लिएर भन्छु– हामी सबैलाई थाहा छ विश्व एक इमान्दार कवि हो । उसको संगतले मेरो कविता यात्रा पुलकित छ ।