कहिलेकाहीँ दिक्क लाग्दा दुई जोर लुगा र केही हजार रुपैयाँ झोलामा हालेर फुत्त निस्कन मन लाग्छ । थाहा छैन किन हो, एक महिनासम्म काठमाडौंको खाल्डोबाट बाहिर निस्किएन भने गहिरो कुवामा भासिएको महसुस गर्छु । त्यसैले पनि घुम्न मन लाग्छ, अझ त्यो खार्च व्यहोर्ने गरी कुनै मन मिल्ने साथीले ‘तिमी घुम्न जाने ?’ भनेर सोधिहाले आफ्नो मन दायाँ–बायाँ नसोची ‘हुन्छ’ भनिदिन्छ ।
नयाँ वर्ष आउँदै गर्दा मेरो मन बडो ठुस्स परेर बसेको थियो । एमफिलको पढाइ, फुलटाइम जागिर, ‘पत्रिकामा किन नलेखेको ?’ वा ‘किताब कहिले आउँछ ?’ भन्ने साथीहरूका प्रश्नबाट आत्तिएका वेलामा फ्याट्ट डा.रेणु अधिकारीको म्यासेज आयो, ‘तिमी ट्रेकिङ जान्छ्यौ ?’ म्याग्दीको पुनहिल ट्रेकिङ गन्तव्य थियो, जहाँ १७ वर्षअघि स्कुले विद्यार्थी हुँदा पुगेको थिएँ ।
अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या । अदिति अधिकारी र मेरो पोखराबाट पुनहिलतर्फको यात्रा सुरु भयो । पहिलो दिन घान्द्रुक, दोस्रो दिन टाढापानी, तेस्रो दिन पुनहिल र चौथो दिन पोखरा फर्किने योजना थियो । घान्द्रुक कसरी जाने ? हामीसँग केही विकल्पहरू थिए, पोखराबाट सीधै घान्द्रुकको जिप रिजर्भ गरेर जाने वा सार्वजानिक बसमा नयाँ पुलसम्म गएर त्यहाँबाट जिपमा जाने । हामीले नयाँ विकल्प निकाल्यौँ, नयाँपुलसम्म ट्याक्सीमा र त्यहाँबाट जिपयात्रा । नयाँपुलसम्म पुग्दा मैले अदितिलाई आफ्नो बाल्यकालको गफ दिन भ्याएँ । भर्खर पिच भएको सराङकोटदेखि नागडाँडासम्मको बाटो, लुम्ले कृषिकेन्द्रसँग जोडिएका हाम्रा उपद्रोका कथाहरू, अहिले अस्ट्रेलियन क्याम्प भनिने ठूलाखर्क र छेउका खर्कहरू, जहाँबाट मानिस भैँसीको मल लुम्लेको बेँसीमा ल्याउँदाका सुख–दुःखका कथा ।
नयाँपुलसम्म लैजाने भनेका ट्याक्सीचालकले अलिकति पैसा थपिदिए घान्द्रुक नै पुर्याइदिने इच्छा जाहेर गरे । हामीलाई पनि एउटा गाडीबाट झोलाहरू निकालेर अर्को गाडी खोज्दै हिँड्न मन थिएन । त्यसैले हामी त्यही ट्याक्सीमा घान्द्रुकभन्दा एक घन्टा तलसम्म जाने भयौँ ।
धुलो खाँदै पर्यटक
यतिवेला सडक फराकिलो बनाउने नाममा देशैभरि धेरै पिच बाटाहरू ग्राभेलमा रूपान्तरण भएका छन् । रूपान्तरणको यो महाअभियानमा पोखरादेखि नयाँपुलसम्मको बाटो पनि परेको थियो । त्यसभन्दा पछिको बाटोको त भर्खरै पहिलो ट्र्याक खन्ने काम सकिएको थियो । ट्याक्सी कहीँ हिलोमा चिप्लिँदा र कहीँ बुंग–बुंग धुलो उडाउँदै दौडिँदा म ती पर्यटकलाई सम्झिन्थेँ जो धुवाँ, धुलोमुक्त दुनियाँमा विचरण गर्न आएका थिए । ड्राइभरदाइले भन्दै थिए, ‘अब देशले पर्यटनमा आफ्नो ध्यान लगाएको छ । त्यही भएर यो बाटो जोमसोमसम्मै चार लेनको बन्दै छ ।’ मलाई भने पर्यटन विकासका लागि चौडा पारिरहेका सडकले कतै पर्यटकलाई ‘यो रुटमा धेरै धुलो छ, नगएको राम्रो’ भन्ने सन्देश त दिइरहेको छैन ? भन्ने लाग्यो ।
हामी स्कुले विद्यार्थी हुँदा लुम्ले–चन्द्रकोट–वीरेठाँटीको पुरानो ट्रेकिङ रुट धेरै चल्तीमा थियो । चन्द्रकोटको हाम्रो स्कुलमा वेला–वेला गोरा र जापानीहरू लाइनका लाइन तम्बु गाडेर बस्थे । तिनीहरू वेला हामीलाई कापी, कलम, मिठाई र न्याना लुगा पनि बाँड्थे । स्कुलका सरहरूले विद्यार्थीलाई सांस्कृतिक कार्यक्रम गर्न लगाउनुहुन्थ्यो । संगम माविका तत्कालीन पिउन नारन सुवेदीले वेलावेलामा गाउनुहुन्थ्यो, ‘चन्द्रकोटको बाटो गोरालाई र घोडालाई, कहीँ गए पनि सुख छैन दुखिया छोरालाई ।’ सायद उहाँको गीतमा ‘लाहुरे भए पनि, गाउँमा बसेर काम गरे पनि गरिबलाई गाह्रो नै छ’ भन्ने भाव थियो होला ।
पोखरा बाग्लुङ राजमार्ग बनेपछि स्थापित भएको नयाँपुलको बजारले लुम्ले चन्द्रकोटको पैदलयात्रालाई बिस्तारै विस्थापित गरेको थियो । घान्द्रुकसम्मको बाटो खुलेपछि वीरेठाँटी बजार पनि सुक्दै गइरहेको छ । तैपनि केही पर्यटक नयाँपुलदेखि नै यात्रा थालेको पनि देखिन्थ्यो । भर्खर खनेको बाटोमा धुलो उडाउँदै कुदिरहेका थिए जिप । फर्किंदा उल्लेरीको उकालोबाट जिपमा चढेका थियौँ । उल्लेरीको उकालोबाट चढेको जिप अमेरिकामा बस्ने नेपालीले बुक गरेका थिए, हामीले लिफ्ट पायौँ ।
बाटोमा वेला–वेला पर्यटकलाई धुलाम्मे बनाउने गरी जिपले धुलो उडाउँथ्यो । मलाई पैदल सडक मासेर मोटरबाटो खनेकोमा दिक्क लाग्यो । जिपमा सोलुखुम्बु घर भएका गाइड पनि थिए । उनी भन्दै थिए, ‘सोलु र यहाँको बाटो एकैपटक खनेको हो, त्यहाँ बाटो पिच भइसक्यो, यहाँ भएको छैन ।’ त्यसैमा अमेरिका बस्ने अदिति दिदीले थपिन्, ‘अमेरिकामा एकैपटक सबै भत्काउँदैन, थोरै मात्र भत्काउँछ, भत्काएको पिच भएपछि मात्रै अरू भत्काउँछ ।’ तर, नेपालमा एक छेउदेखि अर्को छेउसम्म खनेको वर्षौंसम्म पिच गर्ने चलन छैन ।
चिनियाँ र आन्तरिक पर्यटकको मौसम
काठमाडौंमा हामी पुनहिल जाने भनेपछि मान्छेहरूले भनेका थिए, ‘यो अफसिजन हो, बोटोमा मान्छे पनि भेटिन्नन्, बेस्सरी चिसो छ ।’ मान्छेका यस्ता कुराले गर्दा अदिति र मैले बाक्ला ज्याकेट किनेका थियौँ । घान्द्रुकमा हामी बसेको होटेल भरिभराउ थियो, नयाँ वर्ष मनाउन आएका कुनै विद्यालयका विद्यार्थी र केही बिदेशी पर्यटकले । पैदलयात्रा गरिरहनेका लागि घान्द्रुकदेखि घोडेपानी एक दिनको बाटो हो । तर, हामी बिस्तारै जानेहरूका लागि दुई दिन लाग्छ । पुग्न जहाँ पुगे पनि यात्रा बिहान नै सुरु गर्नुपर्छ भनेर हामीले घान्दु्रकको होटेल बिहानै छाड्यौँ । सुनसान जंगलमा एक घन्टा हिँडेपछि भेटिएको खुला चउरमा हामी घाम तापिरहेका थियौँ, दुईतिरबाट कुनै जनावर कराएको आवाज आयो । मैले अदितिलाई हेरेँ, उनले मलाई । डर–डर लाग्यो, हाम्रो पछि लागेको कुकुरले चउरको एक चक्कर लगायो ।
भैँसीखर्कबाट आइरहेका चिनियाँ टोलीका गाइडले मृगको आवाज भनेपछि हाम्रो मन ढुक्क भयो । बिस्तारै बाटोमा पर्यटक भेटिन थाले । नयाँ वर्षको अवसर पारेर छुट्टी मनाउन हिँडेका नेपाली समूह समूहमा थिए । कोही जोडी–जोडी थिए, कोही चार÷पाँचजना समूहमा । कोही बीसौँजनाको समूह पनि देखियो । मेरो मनमा झट्ट आयो, पर्यटक मात्र देखिएका हरियो प्लेटधारी गाडीले नेपाली पर्यटकलाई बोक्दा हुन् कि नाइ ? पर्यटक राख्ने होटेल र होमस्टेले यिनलाई वास दिँदा हुन् कि नाइ ?
टाढापानीमा खाना खाने वेलामा बानेश्वरको एपेक्स कलेजबाट गएका विद्यार्थीले भने, ‘दिदी यतै बस्नुस्, वनठाँटीमा चिनियाँहरूको ग्रुप छ तिनैले होटेल पाउँदैनन् होला, हामीले के पाउनु ?’ पर्यटकीय क्षेत्रमा नेपालीले होटेल नपाउने बारेमा पहिलादेखि नै सुन्दै आएकी थिएँ, पाइन्न कि जस्तो पनि लाग्यो । तर, १ बजे नै के होटेल खोजेर बस्नु भनेर हामी वनठाँटीतर्फ लाग्याँै । टाडापानीदेखि वनठाँटीसम्मको दुई घन्टाको बाटोमा कल्पना गरेभन्दा धेरै पर्यटक भेटिए । बाटोभरि नै पर्यटक, गाइड र भरियाहरू ।
वनठाँटीबाट झरेको चिनियाँ पर्यटकको ग्रुपलाई बाटो छोड्दै हिँड्दा मैले स्कुलका पिउन नारन दाइले गाएको ‘...बाटो गोरालाई र घोडालाई’ भन्ने गीत खुब सम्झिएँ । बेलुका होटेलमा कुरा हुँदा गाइडहरू भन्दै थिए, ‘एउटा सयजनाको र अर्को ८० जना पर्यटकको टिम छ ।’
जाडोयाममा अन्य देशका पर्यटक कम आउने भए पनि चिनियाँ पर्यटकका लागि यो समय विशेष रहेछ । चीनमा नयाँ वर्षमा लामो बिदा हुने हुँदा उनीहरू नेपाल घुम्न आउने रहेछन् । चिनियाँ पर्यटककै कारण होटेलहरू भरिभराउ देखिन्थे । चिनियाँहरू झर्कोलाग्दा पनि हुने रहेछन् । बाटोमा हिँड्दा पनि चर्को आवाजमा रेडियो बजाउने, ठाउँ–ठाउँमा आफ्नो देशबाट ल्याएका स्टिकर टाँस्ने, ठूलो समूहमा हल्ला गर्दै हिँड्ने र ठूलो समूहमा एकैपटक बोल्ने उनीहरूका अवगुण रहेछन् ।
चर्पीविनाका पर्यटकीय क्षेत्र
यात्रा गर्दा धेरै मान्छेले पानी कम पिउँछन् । धेरै पानी पिउँदा बाटोमा पिसाब लागिरहन्छ । बाटोमा पिसाब फेर्न दिशा–पिसाबमुक्त घोषित क्षेत्र, शौचालय एउटै छैन । तर, सुख्खायाममा निरन्तर हिँडिरहँदा निस्किने पसिनाबराबर पानी पिउनैप¥यो । नेपालभरि केही वर्षदेखि खुला दिसामुक्त अभियान चलेको छ । तर, दुःखसाथ भन्नुपर्छ, पर्यटकको लहरो लाग्ने घान्द्रुकदेखि घोडेपानीसम्म एउटा मात्रै सार्वजनिक शौचालय देखियो । त्यही पनि फोहोर र दुर्गन्धित । खुला दिसामुक्त पर्यटकीय क्षेत्रमा पर्यटक खुल्लमखुला शौच गर्न बाध्य छन् ।
न्यानो ठाउँमा बस्ने मानिसलाई चिसो ठाउँमा चिसोकै कारण पनि पखाला लाग्न सक्छ । लगातार हिँड्नुपर्ने, तर शौचालय नहुँदा ठूला ढुंगा तथा झाडीतर्फ शौच गर्नुपर्ने बाध्यता रहेको बताउँथे गाइडहरू । विदेशीले झाडीलाई ‘नेपाली शौचालय’ भन्दा आफूहरूलाई असजिलो लाग्ने गरेको गाइड सुनाउँदै थिए ।
जमिरहेका झरनाको दृश्य
हिँउ परिरहेको होला, चिसो मौसम होला भन्ने अनुमान त पहिल्यै थियो । तर, जब पूरै खोला र झरना ढिक्का भएर जमेको देखियो, त्यसको बयान नै गर्न सक्दिनँ । न त मोबाइलमा खिचेका फोटोले व्याख्या गर्न सक्छन् । वनठाँटीमा बसेको होटेलमा नुहाउनका लागि ग्यास गिजरको व्यवस्था थियो । बिहानै उठेर नुहाउनका लागि धारो खोल्दा धारो कर्याक कर्याक गरेपछि मैले होटेलवाला दिदीलाई भनेँ, ‘दिदी धारोमा पानी आएन ।’ उनले मलाई आँगनको धाराको पानी देखाइन् र भनिन्, ‘सबै पानी जमेको छ । पानी पाइपमै जमेको छ, कित्लीमा तताइदिन्छु, अनि नुहाउनू ।’ एक कित्ली पानीले ‘यस्सो फ्रेस’ भइयो । बिहान ८ बजे खाजा खाएर उकालो लागेपछि हामीलाई कुरेर बसेका थिए, जमिरहेका खोला र झरना । चिस्यानयुक्त जंगलमा रहेको छिपछिपे पानी जमेपछि त्यसले माटोलाई छाडेर अर्कै आकृति बनाउँदो रहेछ । ती आकृतिलाई सुम्सुम्याउँदै हिँड्नुको मजा शब्दमा उतार्न सम्भव छैन ।
बन्द सरकारी विद्यालय
घोडेपानीको होटेलमा पुग्दा दुई वर्षकी बच्चीले आफैँ चिया पिइरहेकी थिइन् । दुई वर्ष पुग्दै गरेका बच्चाको हरेक व्यवहारले तानिरहन्छ । तोतेबोली, लड्खडाएका खुट्टा र पोख्दै खाँदै गरेको खानेकुरा । मलाई तातो चिया ती बच्चीको शरीरमा पर्ला कि भन्ने डरलागिरहेको थियो । बेलुका आगो ताप्ने समयमा होटेलकी साहुनी बहिनी (जो ती बच्चीकी आमा थिइन्) हाम्रो गफमा सामेल भइन् । उनले छोरीलाई दूध चुसाउँदै दुखेसो पोखिन्, ‘यहाँको स्कुल केटाकेटी नपुगेर बन्द भयो, पढाउन पोखरा पठाउनका लागि अझै सानै छे ।’ ती साहुनीका कुराले होटेलहरूको बीचमा सुनसान बास्केटबल कोर्टको कथा बताउँथ्यो । जहाँ कुनैवेला विद्यार्थी खेल्नकै लागि झगडा गरिरहेका हुन्थे ।
पाइलापाइलाको यात्रा
हरेक कामको सुरुवात मानिसले ठूलो उत्साहले गर्छन्, उत्साह मर्दै गएपछि बीचबाटोबाटै फर्किन्छन् । मानिसहरू पुनहिलसम्म सूर्योदय र सूर्यास्त पुगेका थिए । कुनै दिन बादल लागेर हिमाल र सूर्योदय दुवैको दर्शन नहुन पनि सक्यो । बिहानको ४ बजेदेखि नै टाउकोमा हेडलाइट बोकेका मान्छे उकालो लागिरहेका थिए । लाग्थ्यो, जुनकिरी उकालो चढ्दै छन् । हिँडिरहनेलाई आधा घन्टा, हिँड्ने बानी नभएकालाई एक घन्टाको उकालो बाटो ।
उकालो चढ्दा बाटोमा एकजना बुढा अमेरिकन नागरिक देखिए, उनी पाँच/सात पाइला सार्थे अनि तुसारोले ढाकेको भुइँमा थचक्क बस्थे । गाइड थिए खरायोजस्ता र पर्यटक थिए कछुवाजस्ता । गाइड वेला–वेलामा झर्को पनि मान्थे क्यार । तर, पुनहिल पुगेपछि ती पर्यटकले भने, ‘संसारमा कति मानिस होलान् छिटो हिँड्ने, तीमध्ये धेरै कहीँ पुगेका छैनन् । तर, बिस्तारै हिँड्ने भए पनि म यहाँसम्म आइपुगेको छु । बिस्तारै हिँडेरै धेरै देश घुमिसकेको छु ।’
उनको भनाइले मन छोयो । ‘मान्छेमा केही गर्ने दृढता छ भने उसको गतिले कुनै बाधा पुर्याउन्न’ मैले सिकेको नयाँ मन्त्र हो यो । हामीले लक्ष्यतर्फ सम्भव भएसम्म पाइला सारिरहनु नै पर्छ । लक्ष्यप्राप्तिको यात्रामा हरेक पाइलाको महत्व हुन्छ ।