• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कुन्ता शर्मा
२०७८ पौष ३ शनिबार ०७:०९:००
सम्झना

पढ्ने कोठा

२०७८ पौष ३ शनिबार ०७:०९:००
कुन्ता शर्मा

उमेरसँगै मान्छेको काम गर्ने तरिकामा फरक आउँदो रहेछ । उसको उपभोग गर्ने कुरा अथवा भनौँ सुविधाको चाहनामा समेत फरक आउँदो रहेछ । यौवन अवस्थामा सहज भएका कुराहरू ढल्किँदो उमेरमा असहज हुँदै जाँदा रहेछन् । आजभोलि मलाई पनि यस्तै फरक खाले अनुभूति हुन थालेको छ । म  आफैँमा पनि आजभोलि केही परिवर्तन महसुस गर्न लागेको छु । ओछ्यान आफ्नै  सजिलो लाग्ने, खाना आफ्नै  भान्साको ठीक लाग्ने, बाथरुम आफ्नै  प्रयोग गर्न उचित लाग्ने आदि–इत्यादि कुराहरूमा अचम्मलाग्दो गरी परिवर्तन आउँदो रहेछ । किन यस्तो हुन्छ ? मनमा आश्चर्ययुक्त प्रश्नहरू उब्जन्छन् । के शरीरले प्रौढता प्राप्त गर्दै जानुको कारणले यो सब भएको हो ? पहिलाको तुलनामा अहिले केही सजिलो वातावरण प्राप्त भएर वा अन्य कुनै कारण ? यो मेरा लागि निकै घोत्लिने विषय बनेको छ । 


तपाईंहरूलाई सुन्दा विश्वास नलाग्ला मसँग यतिवेलासम्म घर भन्न लायक घर छ्रैन । घरको त कुरै छाडौँ, एउटा ढुक्कले बसेर पढ्ने–लेख्ने बेग्लै कोठासमेत छैन । भनाइको मतलब पढ्ने–लेख्ने सजिलो निजी कोठा छैन । सजिलो टेबल अनि पर्याप्त प्रकाश आउने टेबलबत्ती छैन । कोठा नै नभएपछि  आफूलाई चाहिने अन्य उपयुक्त सामग्रीहरूको त झन् कुरै भएन । 


अहिलेसम्म मैले जे–जति साहित्यको रचना गरेकी छु, लथालिंगको अवस्थामा नै गरेकी छु । म मात्र होइन धेरै जसो लेखकहरूको अवस्था यस्तै नै हुन्छ । त्यसमाथि महिलाहरूको सवालमा केही नगण्य सुविधा–सम्पन्नबाहेक अरू सबैको त बेहालै हुन्छ जस्तो लाग्छ मलाई । एकातिर विविध दायित्वहरूको चटारो, अर्कोतिर कलम समाउने आकांक्षा । मैले त कहिले पनि साहित्य सिर्जनाका लागि सजिलो वातावरण पाइनँ । ‘हतार–हतारमा लतारपतार घुइँचो सडकमा होस् या जुलुसको कतारमा’ भनेजसरी नै साहित्य सिर्जना गरिरहेँ । तर, मनले भने जहिले–तहिले सुन्दर र शान्त परिवेशको चाहना गरिरह्यो । कमसेकम मनमा भावनाका छालतरंगहरू उर्लिरहेका वेला बाधा–व्यवधान नहोस् भन्ने इच्छा गरिरह्यो । तर, मलाई भने यस्तो वातावरण हालसम्म पनि उपलब्ध हुन सकेको छैन । 

 

आजभोलि एउटा घर, अझ भनौँ एउटा सानो अनि सजिलो कोठाको अभावले निकै सताउन थालेको छ । हुन त टाटीको घरदेखि भारतीय धनाढ्य मुकेश अम्बानीको संसारकै महँगो घर सत्ताइस तले अन्टालियामा बस्नेहरूलाई पनि पक्कै केही न केही अभाव महसुुस हुँदो नै हो । तर, मेरो कुरा भने अलग्गै हो । म ठुल्ठुला घरहरू अनि बिलासिता जीवनको सपना देख्दिनँ । त्यतातिर मेरो आकांक्षा र आकर्षण छैन पनि । त्यसो त मैले २०२४ सालतिर आफ्नाे बीसवर्षे अविवाहित उमेरमा नै धरानको छाताचोकमा पिलर, लिन्टर र बिमसमेत प्रयोग भएको आरसिसी भवन निर्माण गराएकी थिएँ । जो यस्तो प्रविधिमा बनेको धरानकै पहिलो घर थियो र ठुल्ठुला भूकम्पहरूलाई चुनौती दिँदै अद्यावधि जस्ताको तस्तै उभिएको छ । त्यहाँ अति धेरै खटानमा परिएछ, जसको कारणले मलाई आजसम्म आफ्नाे घर बनाउने आँट आएको छैन । 


अहिले भने घरको अभाव खट्किरहेको हुन्छ । आफ्नो  निजी घर भन्नु नै स्वतन्त्रताको प्रतीक पनि रहेछ । पहिला जतासुकै बसेर सिर्जना गर्ने गरेको भए पनि अहिले मनले लेख्ने–पढ्ने कोठाको चाहना गरिरहेको हुन्छ । एउटा चट्ट परेको कोठा होस्, लेख्न बसेका वेला मच्छर र झिँगाले नसताऊन् । कोठाको चारैतिर भ्mयाल होऊन् । सूर्यका किरणले निर्बिघ्न प्रवेश पाऊन् । हावा सरसराउँदै बेरोकटोक पसोस् ।


भन्न त भनिन्छ, खाने मुखलाई जुँगाले छेक्दैन । लेख्न मन लागेपछि जस्तोसुके ठाउँमा बसेर पनि लेख्न सकिन्छ । सायद केही अंशसम्म त्यो कुरा सही पनि होला । तर, नाकमाथिको जुँगा चट्ट पारेर छाँटिएको सफा मुख र तल्लो ओठसम्म ढाक्ने गरी फस्टाएको खरबारीजस्तो जुँगा भएको मुख, खाँदाको अवस्था निश्चितै पनि फरक हुन्छ । त्यसमाथि अझ खिर बा दही–चिउरा खान पर्‍यो भने त के हाल होला जुँगाको, सजिलै कल्पना गर्न सकिन्छ । 


कतिपय समयमा लेख्दालेख्दै सबै कलमकागज एकातिर पन्साएर हिँड्नुपर्ने अवस्था पनि आइपर्छ । ढोकामा ताल्चा लगाएर हिँड्न नपाएपछि सधैँ तनाव भइरहने । भरे घर फर्केर आउँदा कुन–कुन रचनाको सत्यानास ककसबाट हुने हो भन्ने त्रासदी भइरहने । यो ०२६ सालतिरको कुरा हो । बार्ड नं. १३ मा आमाबुबाले जोडेको सम्पत्ति हाम्रो सानो परिवारका लागि लगभग सम्हाल्न गाह्रो भएको थियो । बुबा ओछ्यान परिसक्नुभएको थियो । भाइ बालक नै थियो । आमाबाट बाहिरको काम सम्पादन हुने कुरा थिएन । त्यसकारणले पनि हामीले हालको जिरो प्वाइन्टमा सोह्र कठ्ठा बेचेर बाँकिरहेको आठ कठ्ठा जग्गा र काठको ठुलो घर सस्तोमस्तो मूल्यमा बेचेर बजार झर्‍याैँ। घरजग्गा बिक्रीबाट आएको रकम छाताचोकको घरमा तला थप्न लगायौँ । छत ढलाइको दिन थियो । म केही काम परेर बजार निस्किएँ । चानचुन आधाघण्टा पनि नबित्दै घर फर्केर आउँदा त मेरो सातापुत्लो उड्ने दृश्य आँखाअगाडि आइलाग्यो । 

ओहो ! जिन्दगी त हानेको झटारोजस्तो भएर बित्यो । घरीको हिरासत, घरीको जेल, घरीको छोटै अवधिका लागि भए पनि भूमिगत । अस्तव्यस्त नै भयो एकबारको जिन्दगी ।


सुत्ने कोठाको टेबलमा फुलिस्केपका पानाहरूमा साफी गरेर चानचुन सयबटाजति कविता राखेकी थिएँ । आमाले ती फुलिस्केफका पानाहरू खप्टाइ–खप्टाइ ढलाइका कामदारलाई दहीचिउरा, तरकारी र अचार खुवाउने काम गर्नुभएछ । ओहो मेरो बेहाल भयो । कविता लेखेर छाप्न लाज लाग्ने बानीको परिणाम पनि थियो त्यो । घुर्‍यान लथपथ भएर हेरिनसक्नु थिए मेरा सिर्जनाहरू । के गर्नु न के गर्नु भएँ म । आजजस्तो डटपेनको समय थिएन । जे–जस्तो फोहोरमा परेका भए पनि घिन मारेर पुछपाछ गरौँ भन्नु । मसीको कलमले लेखेका कविता सबै नै लथपथ भएका थिए ।


कोठामा बसेर केही बेर आँसु बगाएँ । त्यो समयमा पनि तीन कक्षासम्म पढेकी मेरी आमाले सय थान कविताहरूको सत्यानास गर्नुभयो । कसो–कसो गरी दुईवटा कविता टेबलमुनि खसेर जोगिएछन् । ‘लाहुर गएको प्रेमीलाई एउटा पत्र’ जो ०२७ सालमा ‘सम्झना’ भन्ने धरानबाट प्रकाशित हुने पत्रिकामा छापियो र अर्को कविता ‘काफल चरी’ काठमाडौंबाट निस्किने एउटा साहित्यिक पत्रिकामा २०३० सालमा छापियो । त्यसपछि त्यो पीडाको कारण मैले वर्षौं कविता लेखिनँ । 


त्योबाहेक पनि आफ्नाे निजी कोठा नभएको कारणले मेरा निकै कविता दुर्घटनामा परे । घरको कनिष्ठ सदस्य तथा नानीहरूको हातबाट पनि कविताहरूको सत्यानास भयो । छोराहरूले कतिपय कथाकविता चंगा बनाएर उडाए । अनि कविताका झोलाहरूमा कविता धुल्याएर मुसाहरूले बच्चा हुर्काउन पनि भ्याए । ओहो ! जिन्दगी त हानेको झटारोजस्तो भएर बित्यो । घरीको हिरासत, घरीको जेल, घरीको छोटै अवधिका लागि भए पनि भूमिगत । अस्तव्यस्त नै भयो एकबारको जिन्दगी । मनमा घोर अपमानको आगोले बनाएको घाउ त छँदै नै थियो । त्यसपछि आन्दोलनका आँधीबेहरीमा होमिनुपर्ने बाध्यता मात्र होइन, आफ्नै  चेतनाले अह्राएको अभिभारा पनि थियो । एकजना नजिककी दिदीले भनेको याद आउँछ, ‘कुन्ता, तिमी त ताइको फुरौलाजस्तै छौ । बाफरे कति खट्न सकेकी ।’


केही वर्षअघि एकजना समकालीन महिला साथीको घरमा पाहुना लाग्न गएकी थिएँ । काठमाडाैंको निकै राम्रो ठाउँ अनि एक रोपनीको क्षेत्रफलमा बनेको अढाई तले घर । ओहो ! कति आनन्ददायक बसाइ । मेरो मनले समीक्षा गर्‍यो । खानासाना खाइयो । उनको परिवार पनि सानो नै थियो । हामी दुई साथी मात्र एक्लै भएपछि मैले उनलाई प्रश्न गरेकी थिएँ, ‘...बसाइ त सजिलै रहेछ नि साथीको ?’


उनी खिन्न देखिइन् । केही सकसमा परेजस्तो । मेरो अनुहारमा सायद प्रश्नहरू पोखिए । उनले खिन्न स्वरमा भनिन्, ‘के भन्नु र ? घर देखिन त यत्रो देखिन्छ, तर आफूलाई ढुक्क भएर बस्ने, भनौँ सुत्ने एउटा कोठासम्म छैन । यसो कहिले काहीँ रुन मन लाग्यो भने पनि पाइँदैन । आँसुसमेत भित्रभित्रै पचाउनुपर्ने हुन्छ ।’ सुत्ने कोठासमेत बाँढ्नुपर्ने हुन्छ, विचित्रको बाध्यता । 


उनको आँखामा आँसु पनि टिलपिलाएका थिए । पछि उनले बेलिविस्तार लगाइन् उनका समस्याहरू । परिवारको सदस्यहरूबीच कहिले लोग्नेको नाममा, कहिले छोराछोरी अनि कहिले उनीहरूका शाखासन्तानको नाममा जहिलेतहिले महिलाहरूले नै समर्पित भइरहनुपर्ने डरलाग्दो बाध्यता हुन्छ । उनी पनि एकल महिला नभनौँ, मजस्तै आफ्नै बलबुतामा बाँचेकी स्वतन्त्र अनि सबल महिला थिइन् । 


उमेरले ७५ वर्ष पार गर्‍यो । जीवनको उत्तरार्धमा पुगियो । यतिखेरसम्म जीवन व्यवस्थित भएजस्तो लाग्दैन । तर, अब भने पहिलेजस्तो अस्तव्यस्त स्थितिमा काम गर्न सकिने जाँगर नहुँदो रहेछ । धेरै हिउँद–वर्षा, हुरीहुण्डरी र असिनापात भोगेको पहाडको शिखरको रुखजस्तै अनुभूति गर्ने रहेछ शरीर र मनले । जीवन कठिनाइ र सकसपूर्वक बितेको भए पनि यसको उत्तरार्धमा मन र शरीरले केही अनुकूल भनौँ सहज वातावरण खोज्नु स्वाभाविकै हो जस्तो लाग्छ । वर्तमानमा सहज वातावरण उपलब्ध भए सायद पुराना थकान मेटिने थिए कि ? अरू जे होस्, जस्तोसुकै होस्, लेखकहरूका लागि निर्बिघ्न र सजिलो लेख्ने कोठा प्राप्त भए केही सुन्दर सिर्जना जन्मन सक्ने थिए होलान् । भनौँ तन्मयतापूर्वक एउटा लेखक सिर्जनामा तल्लीन हुन सक्ने थियो होला र लेखिसकिएका रचना सुरक्षित हुने थिए होलान् । तर, यो सब कुरा कसले बुझ्ने  ? लेखक कसको हो ? परिवारको ? देशको ? कसको ? यसको के उत्तर होला । 


धरान–१३