• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
कृष्ण सुब्बा
२०७८ पौष ३ शनिबार ०८:३४:००
साहित्य

न्युटनको तेस्रो नियम

२०७८ पौष ३ शनिबार ०८:३४:००
कृष्ण सुब्बा

शनिबारको दिन थियो । शनिबार पनि म करिब–करिब बेफुर्सद थिएँ । डाँसखोलाको किनारमा रहेको कटेरोको छहारीमा बसेर म गेसपेपर रटिरहेको थिएँ । फिजिक्सको गेसपेपर । फिजिक्स मलाई गाह्रो लाग्छ । न्युटनको स्याउको किस्सा त खुब स्वाद लिएर पढेको थिएँ, तर चालसम्बन्धी तीन नियम दिमागमा घुसिरहेको थिएन । 


पहिलो नियम (म रटिरहेको थिएँ) : बाह्य बल प्रयोग नगर्ने हो भने चालमा रहेको वस्तु सधैँभरि चालमा र स्थिर वस्तु सधैँभरि स्थिर रहन्छ । 
दोस्रो नियम (म रट्न बाध्य थिएँ) : कुनै पनि पिण्डको प्रवेग परिवर्तनको दर लगाइएको बलसँग समानुपातिक हुन्छ । (फर्मुला पनि रटेँ : एफ इक्वेल्स टु एमए । रट्नु थियो, किनभने पास हुनु थियो ।) 


तेस्रो नियम : हरेक क्रियाको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ । 


केही बेरको रटाइले मलाई थकायो । 


अरू बार त सुगा बन्नु नै थियो, शनिबार पनि सुगा बन्नु ? 


हरेक रटाइको बराबर तर विपरीत प्रतिक्रिया के हुँदो हो ? 


सायद नरट्नु । 


मैले न्युटनको तेस्रो नियम मानेँ र गेसपेपर बन्द गरेँ । योभन्दा उत्तम प्रतिक्रिया अरू थिएन । 


कटेरो सुनसान थियो । गिट्टी कुटेर झन्डै एक ट्र्याक्टर हुनै लागेको थियो । त्यही गिट्टीको रासमाथि एउटा ढुङ्गालाई पिरा बनाएर बसेको थिएँ । कटेरो सिटाले बारिएको थियो । रुखका हाँगाबिँगाको डाँडाभाटामा प्लास्टिक ओढाइएको थियो । अर्थात्, कुनै गरिबको झुपडीले जति गरिबी व्यक्त गर्नुपथ्र्याे, त्यसले त्यति गरिबी व्यक्त गरिरहेको थियो । 

अलि पल्लोपट्टि उस्तै गरिबी प्रदर्शन गर्ने कटेरोको छेउमा दुईजना बूढाबूढी ख्वाङख्वाङ खोक्दै गिट्टी कुटिरहेका थिए । खोक्दै गिट्टी कुटिरहेका थिए, गिट्टी कुट्दै खोकिरहेका थिए । न्युटनको चालसम्बन्धी पहिलो नियम त्यहाँ पालना भइरहेको थियो । बाह्य बल प्रयोग नगर्ने हो भने चालमा रहेको वस्तु सधैँभरि चालमा र स्थिर वस्तु सधैँभरि स्थिर रहन्छ । तिनका दुःख सधैँभरि चालमा थिए । दुःख निवारण गरिदिने कुनै बाह्य शक्ति दृश्यमा कतै थिएन । 


मेरोनजिकै एक हुल चल्ला माउ पछ्याउँदै झाडी खोस्रिरहेका थिए । पर खोलामा लडेको रुखले छेकेर बनाएको सानो पोखरीमा केटाकेटीहरू नाङ्गै पौडिरहेका थिए । ती आफैँमा मग्नमस्त थिए । बाल्यकालको सौन्दर्य नै यही हो । न चिन्ता, न औडाहा । डाँसखोला शान्त थियो । एक छिन एकतमासले हेरिरहेँ, त्यो खोलालाई । यसले कतिको घरको चुला बालेको थियो । कति तिर्खालुहरूको तिर्खा मेटेको थियो । कतिका खेतबारी आदिकालदेखि सिञ्चिरहेको थियो । अनि, बर्खा मासमा बौलाएर कतिलाई बगाएको थियो र आफूसँगै समेटेर सागर पुर्‍याएको थियो । आफ्ना किनारमा हरेक दिनजसो पोलिएका लासहरूको खरानी बोकेर ऊ यसरी नै 
बगिरहेको थियो । 


एक झोक्का चिसो हावा मलाई छोएर, मानौँ जिस्काएजसरी, डाँसखोला तरेर पारि गयो । म प्रकृतिको नियम नियालिरहेको थिएँ, भोगिरहेको थिएँ । आहा ! प्रकृतिको नियम न्युटनको नियमभन्दा कति सुन्दर छ, कति मिठो छ । (यसलाई रट्नुपर्ने झन्झट पनि त छैन ।) 

‘नानी कति बज्यो ?’


म झसङ्ग भएँ । मेरो सोचको लय बिथोलिदिने त्यो आवाज एउटा थकित र वृद्ध कायाबाट आएको थियो । उनका चाउरिएका गाला उमेरभन्दा बढी सायद दुःखका दसी थिए । मेरी आमाकै उमेरकी एउटा आकृति मेरो अगाडि ठिङ्ग उभिएको थियो । 

नोकिया १२०० मोडलको पुरानो मोबाइल टिंट पारेर हेरेँ ।
‘सवा दुई बज्यो, आमा !’
‘ए समय त निकै पो गएछ त ।’
उनी मेरोनजिकै एउटा ढुङ्गालाई पिरा बनाएर बसिन् । एक खेप सुस्केरा काढिन् र पोल्टाबाट किच्चिएको चुरोटको बट्टा झिकिन् र एउटा 
चुरोट सल्काइन् । 
‘नानी पनि तान्नुहुन्छ कि ?’
म फिस्स हाँसे मात्र ।


‘नरिसाउनुस् है नानी ! आजकल त ओठ निचोरे दूध आउलाजस्ता केटाकेटीले पनि चुरोट तान्छन् । त्यही भ’र सोधेकी नि !’ उनले आकाशतिर फुरुरु धुवाँ फाल्दै भनिन् । मुख र नाकबाट धुवाँको मुस्लो छोडिन् । म चुपचाप उनलाई हेरिरहेँ । 
‘आमा एक्लै जङ्गल आउनुभएको ?’ मैले सोधेँ । 
‘होइन, साथीहरू पनि थिए । वन समितिका मान्छेले खेदाएर कता 
पुगे, कता ?’
‘अनि दाउरा लान पाइन्न भनेर थाहा छैन त ?’
‘थाहा छ, तर हामी दाउरा होइन, निगुरो र च्याउ खोज्न आएका थियौँ ।’ 
उनले अनुहार अँध्यारो पारिन् । चुरोटको ठुटो भुइँमा धसेर निभाइन् । 
‘अरू त तगडा थिए, भागिहाले । म त अलि बिरामी थिएँ, 
भाग्न सकिनँ ।’
‘अनि तपाईंलाई केही गरेनन् त ?’
‘कहाँ केही नगर्नु नि, अछामेको सिटाले पिडुँलैपिडँुलामा हाने ।’ 


गुन्यू अलि माथि सारेर बूढीआमैले निलडामहरू देखाइन् । मेरो आङै सिरिङ्ङ भयो । हरेक निलडाममा हेरिनसक्नुको अत्याचार छापिएको थियो, क्रूरता छापिएको थियो । मान्छे यतिसम्म अविवेकी हुन सक्छ ! मैले हेर्न नसकेर आँखा अन्तै डुलाएँ । यी बूढीआमा देवकुमारी थिइन् । भुटानी शरणार्थी । आफ्नो थातथलोबाट अन्यायपूर्वक लखेटिएकी । दुःखैदुःखको पत्करे डोको बोकेर नेपाल आइपुगेकी । 

‘वनमा एउटीले यो भुटाङ्गेलाई मार्नुपर्छ भनेर ठूलो लाठी उज्याएकी थिई ।’ उनका आँखा भरिएका थिए । ‘नानी, मैले हात जोड्दै उनीहरूलाई भनेकी थिएँ, म भुटाङ्गे होइन, म शरणार्थी होइन, म पनि तपाईंहरूजस्तै नेपाली हुँ । म भुटाङ्गे, शरणार्थी भनेर कहाँ छाप छ, कहाँ ठप्पा छ ? तर, त्यहाँ मेरो कुरा सुन्ने कोही थिएनन् । मान्छेमा मानवता नै नरहेपछि अन्यायको कुनै सिमाना नहुँदो रहेछ । मलाई बीचमा राखेर उनीहरू वरिपरि बसेर ताली पिट्दै नाच्न लगाए । नमान्दा एउटाले जगल्टामा तान्यो । म गरिब बूढी, त्यसमाथि बिरामी, उनीहरूले रत्ति दया देखाएनन् । म यो सानो प्लास्टिकको झोलामा उनीहरूको यो विशाल जङ्गलै बोकेर लाने त थिइनँ नि ।’ उनले छरपस्ट कपाल मिलाउँदै भनिन् । 

यसपल्ट भने उनले आँसुको वेगलाई ‘बाह्य शक्ति’ लगाएर रोक्न सकिनन् । भक्कानो छाडेर रोइन् । दुई–चार थोपा आँसु गिट्टीको रासमा खसे र बिलाए । कठोरताले कोमलता कसरी निलिदिन्छ, म साक्षी भएको थिएँ ।


उनले मनको बह कहने एउटा माध्यम बनाएकी थिइन्, मलाई । ‘नानी, म त अब जान्छु अमेरिका ।’ चोटग्रस्त आवाजमा उनी भनिरहेकी थिइन्, ‘आफ्नाले दिएको पीडाभन्दा बरु पराईले दिएको पीडा सहन सजिलो हुँदो रहेछ । भुटानमा भोटेले अन्याय गर्दा उतिबिघ्न चित्तमा घाउ लागेको थिएन । उनीहरू त को हो, को हो थिए । न भाषा मिल्थ्यो, न जात, न धर्म । तर, यहाँ त आफ्नैहरूबाट यस्तरी हेपिनुपरेको छ, खेदिनुपरेको छ । भन्नुस् न नानी ! यो देश हाम्रो पनि होइन र ? हाम्रा केही पुस्ता भुटानमा जन्मे होलान्, तर हाम्रा पुर्खाका रगतपसिना यही माटोमा छैन ?’ 


उनका आँखा छल्किन खोजिरहेका थिए, उनी बलजफती रोकिरहेकी थिइन् । 
‘नानी ! मेरी कान्छी छोरी सुत्केरी छे । कालिङ्गे च्याउ खान मन गरी । त्यही खोज्न जङ्गल आएकी थिएँ । निर्दयीहरूले यो हाल पार्दिए ।’ 
उनले अरू बोल्न सकिनन् । शब्दहरू यसरी रित्तिन्छन् । म पनि मौनताको निकै गहिरो तलाउमा डुबिरहेको थिएँ । 


‘आजसम्म कसैको हातको कुटाइ नखाएकी म निगुरो र च्याउले गर्दा कुटिनुप¥यो । भुटानमा पनि त्यहाँको ज्यानमारा सेनाले यो आइमाईलाई नकुट् भनेर ममाथि दया देखाएका थिए, तर आज... ! गरिब हुनुजस्तो पाप अरू केही होइन रछ । आज मसँग पाँच रुपैयाँको निगुरो र दश रुपैयाँको च्याउ किन्ने पैसा हुँदो हो त यसरी बुढेसकालमा कुटाइ खानु पर्दैनथ्यो ।’ उनी गरिबहरूको सार्वभौम भाषा बोलिरहेकी थिइन् । म सुनिरहेको थिएँ । किनभने, म पनि गरिब थिएँ । गरिबीको आत्मीय प्रचलन हुन्छ– एउटा गरिबले अर्काे गरिबलाई सुन्छ । 


देवकुमारीको वेदनाको कथा सकिएको थिएन । ‘छोराछोरीहरू सबै अमेरिका जानुपर्छ भन्छन् । म मानिरहेकी थिइनँ । नेपाल हाम्रो पनि देश हो, हाम्रा पुर्खाको रगत र पसिना छ यो माटोमा, दुःख भए पनि हाँसेर यहीँ बस्नुपर्छ । आफ्नो भनेको आफ्नो हो । म छोराछोरीलाई यसरी नै सम्झाउँथेँ । तर, म कति धेरै गलत रहेछु । मेरो मनमा जे थियो, त्यो सब भ्रम रहेछ । मेरा छोराछोरी सही रहेछन् । उनीहरू हुर्किसकेछन् ।’ 


यसपल्ट भने उनले आँसुको वेगलाई ‘बाह्य शक्ति’ लगाएर रोक्न सकिनन् । भक्कानो छाडेर रोइन् । दुई–चार थोपा आँसु गिट्टीको रासमा खसे र बिलाए । कठोरताले कोमलता कसरी निलिदिन्छ, म साक्षी भएको थिएँ । मलाई अब सान्त्वनाका दुई–चार शब्द बोल्नैपर्ने खण्ड आइलागेको थियो । 

बोलेँ । 


‘आमा ! दुःख नमान्नुस् । समयले सब ठीक गर्छ । भुटानबाट हामी नेपाली भनेर खेदाइयौँ । यहाँ भुटानी भनेर हेपिइँदै छौँ । तर, कुनै पराई मुलुकले राम्रो जीवन र सुखद भविष्यको ग्यारेन्टी दिँदै छ भने हामी पक्कै जानुपर्छ । सबैलाई दुःखबाट मुक्त हुने अधिकार छ ।’ 


उनले गुन्यूको फेरले आँसु पुछिन् । 
‘नानी, म भोलि नै आइओएम अफिस गएर अमेरिका जाने परकिर्या अगाडि बढाउँछु ।’ उनको ‘परकिर्या’मा अठोट थियो, खास खालको अठोट । 
‘भोलि त आइतबार होइन र, आमा ?’

डाँसखोला शान्त थियो । एकछिन एकतमासले हेरिरहेँ, त्यो खोलालाई । यसले कतिको घरको चुला बालेको थियो । कति तिर्खालुहरूको तिर्खा मेटेको थियो । कतिका खेतबारी आदिकालदेखि सिञ्चिरहेको थियो । अनि, बर्खामासमा बौलाएर कतिलाई बगाएको थियो र आफूसँगै समेटेर सागर पुर्‍याएको थियो ।


उनी मज्जाले हाँसिन् । 
‘नानी रमाइलो हुनुहुँदो रछ ।’
म डन्डीफोर भरिएका जोर गाला तन्काएर हाँसिदिएँ । 
मैले उनको हातमा पचास रुपैयाँको नोट राखिदिएँ । उनले पहिले त लिन मान्दै मानिन् । मैले जबर्जस्ती थमाइदिएँ । ‘आमा ! बाङ्गेबाट च्याउ र निगुरो किनेर छोरीलाई लगिदिनोस् ।’

उनले आँसुमय आँखाले मलाई हेर्दै भनिन्, ‘तपाईंको  भलो होस् ।’
देवकुमारी हातमा फित्ता चुँडिएको चप्पल बोकेर डाँसखोलाको किनारैकिनार ओरालो लागिन् । उनी अलप नभएसम्म मैले हेरिरहेँ ।
मेरी आमा पनि अमेरिका जान मानिरहेकी छैनन् । 


आफूलाई भनेँ, ‘भोलि आमालाई पनि च्याउ खोज्न जङ्गल पठाउनुपर्ला । त्यसपछि त... उनी पनि आफ्ना मान्छेहरूको ‘आफ्नोपन’बाट परिचित होलिन् ।’ 
म फेरि गेसपेपरमा घोप्टिएँ । त्यहाँ न्युटन हाजिर थिए । 
देवकुमारीले जङ्गलमा आफ्ना मान्छेहरूबाट जे भोगिन्, त्यो ‘क्रिया’ थियो । 


पहिले अमेरिका जान ज्यान गए नमानेकी उनी अब अमेरिका जाने ‘परकिर्या’ अगाडि बढाउने उपक्रममा थिइन् । र, यो थियो ‘प्रतिक्रिया’ । 
न्युटन कति शाश्वत थिए !

क्या ठीक भनेका थिए, ‘हरेक क्रियाको बराबर तर विपरीत 
प्रतिक्रिया हुन्छ ।’