• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हरि अधिकारी काठमाडाैं
२०७६ बैशाख ७ शनिबार ११:४७:००
इतिहास

जसले छाडी गए

२०७६ बैशाख ७ शनिबार ११:४७:००
हरि अधिकारी काठमाडाैं

विक्रमको एक्काइसौँ शताब्दीको तीनचौथाइ पूरा हुने वर्ष ०७५ साल नेपालका लागि धेरै नै अशुभ रह्यो । ६७ वर्षको परिपक्व उमेरमा हिँडिरहेको यस पंक्तिकारको सम्झनामा यस्तो ‘अलच्छिनी’ साल नेपालको इतिहासमै कहिल्यै आएको थिएन, जसले हाम्रो राष्ट्रिय जीवनमा कुनै न कुनै रूपमा ख्याति आर्जन गरेका यति धेरैजनालाई एकै घान पारेर हाम्रा माझबाट हरेर लगेको होस् । यो सानो लेखका माध्यमबाट म २०७५ सालमा दिवंगत भएका सबै मानव आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र तीमध्ये केही, विशेषगरी नेपालको सार्वजनिक जीवनलाई कुनै न कुनै रूपमा प्रभावित पार्न सफल ख्यातनामा व्यक्तिहरूको चर्चा गर्न चाहन्छु । मैले संकलन गरेको सूचना अधुरो हुने सम्भावना धेरै बलियो भएकाले यो लेखमा त्रुटि रहन सक्ने कुरामा म सचेत छु र अग्रिम क्षमायाचना गर्छु । 

कला र साहित्य
०७५ सालमा भाषाशास्त्री, अनुसन्धाता र कथाकार प्राध्यापक बालकृष्ण पोखरेल, कलाकार मनुजबाबु मिश्र, कुमारबहादुर जोशी, कवि हेम हमाल, लेखक, सम्पादक र अनुसन्धाता शिव रेग्मी, लेखक र अनुसन्धाता प्राध्यापक कमलप्रकाश मल्ल, कवि र सञ्चारकर्मी यज्ञनिधि दाहाल, गायक तथा नाट्य कलाकार हरिप्रसाद रिमाल, चलचित्र कलाकार बिएस राणा, चलचित्र निर्माता तथा कलाकार रामकेशर बोगटी, किराँत संस्कृतिविद् घनश्याम मुकारुङ राई, तबलावादक टेकबहादुर सुस्लिङ मगर, कवि रोहिणीविलास लुइँटेल, कवि शिवप्रसाद दाहाल, दार्जिलिङ (भारत) का नेपाली उपन्यासकार, कथाकार असित राई, उतैका नाटककार लक्ष्मण श्रीमल, गायक र कलाकार बुद्धिकृष्ण लामिछाने, कवि कलाकार गणेश न्यौपाने मुनाल, लेखक र अर्थविद् मदनकुमार दाहाल, कवि र सञ्चारकर्मी गोपीकृष्ण खनाल, नेपाल भाषाका कवि नातिबज्र, लेखक नरेन्द्रराज शर्माको निधन भयो । 

प्राध्यापकद्वय बालकृष्ण पोखरेल (८६) र कमलप्रकाश मल्ल (८३) आआफ्ना क्षेत्रमा अद्वितीय थिए । सम्पूर्ण प्राज्ञिक निष्ठाका साथ ती दुई विद्वान्ले गरेको अनुसन्धान र लेखेका कृतिहरू नेपाली वाङमयका अमूल्य सम्पदा भएका छन् । कुमारबहादुर जोशी (७७) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यका विषयमा विशेषज्ञता हासिल गरेका थिए । शिव रेग्मी (७८) एक श्रेष्ठ लेखक र सम्पादक त थिए नै नेपाली पुस्तक र साहित्यिक पत्रपत्रिकाका ठूलो संग्रहकर्ता पनि थिए । हेम हमाल (७७) आधुनिक नेपाली कविताका एक सुपरिचित हस्ताक्षर थिए । झापाका साहित्यकारहरू रोहिणीविलास लुइँटेल, गोपीकृष्ण खनाल र शिवप्रसाद दाहाल राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको आराधना गरिरहेका मौन साधकका रूपमा स्मरणीय छन् । निजामती सेवामा लामो समय काम गरेका नरेन्द्रराज शर्मा (७०) ले लेखेको आत्मवृत्तान्तको पुस्तकको सबैले सराहना गरेका थिए । यज्ञनिधि दाहाल (६५) छन्दोबद्ध कविता पनि अलि–अलि लेख्थे, तर उनको ख्याति भने रेडियोकर्मीका रूपमा चौतर्फी फैलिएको थियो । प्रख्यात अर्थशास्त्री प्राध्यापक मदनकुमार दाहाल (७१) कवि तथा कथाकार पनि थिए, नेपाल भाषामा कविता लेख्ने नातिवज्र (७५) लाई पनि कविका रूपमा भन्दा भोटाहिटीको एउटा गल्लीका मुखमा चीन, सोभियत रुस र उत्तर कोरियाबाट पठाइने कम्युनिस्ट विचारधाराका प्रचारमुखी पुस्तक पत्रपत्रिकाका विक्रेताका रूपमा बढी चिन्थे काठमाडाैं नगरवासीले । 

मनुजबाबु मिश्र (८३) मूर्धन्य नेपाली कलाकार हुनुका साथै सिद्धहस्त गद्यकार पनि थिए । हरिप्रसाद रिमाल (९२) नेपाली रंगमञ्चका प्रमुख स्तम्भ मानिन्थे । गीत–संगीतमा पनि उनको गहिरो अभिरुचि थियो । उनले गाएका केही गीत अत्यन्तै लोकप्रिय छन् । गणेश न्योपाने मुनाल (७५) कुशल चित्रकारका साथै सानो–ठूलो दुवै खाले पर्दामा जमेका अभिनेता पनि थिए । बिएस राणा (७९) नाटक र फिल्म दुवै क्षेत्रमा ख्याति आर्जन गरेका वरिष्ठ कलाकार थिए । उनले बेलायतको राजधानी लन्डनको रंगमञ्चबाट अभिनयको तालिम लिएका थिए र त्यहीँबाटै महान् अंग्रेजी नाटककार विलियम सेक्सपियरले लेखेका नाटकहरूमा अभिनय गर्दै उनको अभिनय यात्रा सुरु भएको थियो । चलचित्र कलाकार एवम् निर्माता रामकेशर बोगटी (५८) चलचित्र निर्माताहरूको संघका अध्यक्ष पनि थिए । गायक तथा कलाकार बुद्धिकृष्ण लामिछाने (६४) अत्यन्तै विख्यात लोकगीत गायक थिए । घनश्याम मुकारुङ राई (७६) ले गृहजिल्ला भोजपुरमै बसेर किराँत लोकसंस्कृतिको संरक्षणका क्षेत्रमा काम गरिरहेका थिए । 

गत साल दार्जिलिङ (भारत)का दुई शीर्षस्थ नेपाली साहित्यकार असित राई र लक्ष्मण श्रीमलको पनि निधन भयो । असित राई (७६) मूर्धन्य भारतीय नेपाली साहित्यकार थिए । उनको उपन्यास ‘नयाँ क्षितिजको खोज’ लाई भारतको प्रतिष्ठित साहित्य एकेडेमी पुरस्कार दिइएको थियो । लक्ष्मण श्रीमल (६३) नेपाली भाषामा लेखिएको नाटक विधामा भारतीय साहित्य एकेडेमी पुरस्कार पाउने पहिलो नेपाली सर्जक थिए । उनलाई त्यो प्रतिष्ठित पुरस्कार ‘कफ्र्यु’ शीर्षकको नाट्यकृतिका लागि दिइएको थियो । श्रीमल कविता पनि लेख्थे । 

पत्रकारिता
गत वर्ष नेपाली पत्रकारिताको क्षेत्रले यसका दुई ठूला स्तम्भमणीन्द्रराज श्रेष्ठ र गणेशबल्लभ प्रधानका साथै मुरारीप्रसाद गौतम र एक नयाँ प्रतिभा एमबी राईलाई गुमायो । लामो समयसम्म दी मदरल्यान्ड नामक अंग्रेजी दैनिक पत्रिकाको सम्पादन तथा प्रकाशन गरेका मणीन्द्रराज श्रेष्ठ (८६) देशको पहिलो समाचार एजेन्सी सगरमाथा संवाद समितिका संस्थापकमध्ये एक थिए । सगरमाथा संवाद समिति नै आजको सरकारी न्युज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) को पूर्व रूप थियो । श्रेष्ठका नाममा अरू कीर्तिमान पनि छन् । उनी नेपालकै पहिलो गल्फ खेलाडी थिए । कमिसन लिने सर्तमा विदेशी अनुदानमा आयोजनाहरू ल्याइदिएर सरकारलाई सघाउन सक्ने गजबका सूत्रधार पनि थिए मणीन्द्र । जुवाको अम्मली उनले भनिन्थ्यो, कहिल्यै पनि हारेनन् । उनको जीवनशैली पनि राजशी किसिमको थियो । गणेशबल्लभ प्रधान (८३) निष्ठावान् पत्रकार थिए । उनले ‘जन्मभूमि’ नामक एक नेपाली साप्ताहिक र अर्को एउटा अंग्रेजी पत्रिका पनि चलाइरहेका थिए । केही समय उनले सरकारी मुखपत्र राससको नेतृत्व पनि सम्हालेका थिए । रहस्य नामक साप्ताहिक पत्रिकाका सम्पादक मुरारीप्रसाद गौतम (७०) बीचको पुस्ताका सक्रिय पत्रकार थिए । एमबी कुलुङ राई (४०) नयाँ पुस्ताका एक संघर्षशील पत्रकार थिए, जसले आफूले रोजेको क्षेत्रमा राम्रोसँग स्थापित हुन अवसर नै पाएनन् । 

राजनीति
गत साल नेपाली राजनीतिको क्षेत्रका तुलसी गिरी, भरतशमशेर राणा, पद्मरत्न तुलाधर, भरतमोहन अधिकारी, मणिसुन्दर बजिमय, हरिप्रसाद जोशी, चक्रप्रसाद बाँस्तोला, कमलप्रसाद पंगेनी, गणेश पण्डित, कृष्णदास श्रेष्ठ, रवीन्द्र अधिकारी, शिवकुमार अधिकारी, तारानाथ कोइराला, अमर नेम्बाङ, विनोदकुमार कार्की, नरेन्द्र अधिकारी, हरिशरण लामिछाने, हर्कबहादुर शाह, सीताराम मास्के र रुद्रमणि शर्माजस्ता प्रभावशाली व्यक्तिहरूको निधन भयो । यीमध्ये अधिकांशको देहावसान बुढ्यौली वा असाध्य रोगव्याधिकै कारण भएको देखिन्छ, जसलाई प्राकृतिक अनिवार्यता मानेर चित्त बुझाउँन सकिन्छ । तर, तुलनात्मक रूपले युवावयका र धेरैका आशाका केन्द्र रहेका बहालवाला मन्त्री रवीन्द्र अधिकारी र आफ्नो भद्रता एवं मिलनसार सहयोगी स्वभावका कारण सबैका आदर पात्र रहँदै आएका नेपाली कांग्रेसका नेता पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीको दुर्घटनामा परेर भएको मृत्युले भने सबैको हृदयमा थप पीडा भरिदिएको छ । रवीन्द्रको मामिलामा त दुर्घटनास्थलसम्मको उनको यात्रा नै अनावश्यक थियो भनिँदै छ । 

नेपालको प्रजातान्त्रिक आन्दोलनका दुर्दान्त खलनायक स्वर्गवासी राजा महेन्द्रका भित्रिया तुलसी गिरी (९४) प्रत्यक्ष शासन गर्ने मनसुबाले हौसिएका उनै महेन्द्रका छोरा ज्ञानेन्द्र शाहको क्याबिनेटको उपाध्यक्ष बन्न तयार भई दुई दशकभन्दा बढी समयपछि जीवनको गोधुली वेलामा प्रवासबाट स्वदेश फर्केका थिए । राजनीतिको जोड–घटाउमा पोख्त गिरी त्यसैका बलमा दुई पटकसम्म देशको प्रधानमन्त्री बनिसकेका थिए । तर, त्यो समय थियो अहिलेको भन्दा धेरै फरक । यसपटक भने गिरीको हिसाब–किताब थोरै मात्रामा पनि मिलेको देखिएन । उनका नेता ज्ञानेन्द्रले नै जबर्जस्ती हत्याएको सत्तालाई थामिरहन सकेनन् । त्यसले गर्दा डाक्टर गिरीको नेपाल प्रत्यागमन पनि एउटा नमिठो भुलमा परिणत भएको थियो । समयको बलशाली लपेटामा परेका कुनै वेलाका राजनीतिक बाहुबली तुलसी गिरी जीवनको अन्त्यतिर नितान्त एक्ला भएका थिए । 

नेपाली राजनीतिको फलकमा देखिएका अर्का चमकदार नक्षत्र भरतशमशेर राणा (९०) को निधन पनि ७५ सालमै भयो । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति भरतले राणा शासनको अन्त्य भएलगत्तै ००७ सालको युगान्तकारी क्रान्तिका नेता र राणा–कांग्रेस संयुक्त सरकारका गृहमन्त्री बिपी कोइरालालाई भौतिक रूपले नै सफाया गरिदिने प्रयत्न गरेका थिए । समयको खेला, राजा महेन्द्रले २०१७ साल पुस १ गते देशको पहिलो निर्वाचित सरकारविरुद्ध सैनिक विद्रोह गरेपछि भने तिनै भरतशमशेर बिपी कोइरालाका सबैभन्दा ठूला समर्थक भएर देखापरे । उनले विघटित संसद्को प्रमुख प्रतिपक्षी दल रहेको आफ्नो पार्टी गोरखा परिषद्लाई नै पूरापूर नेपाली कांग्रेसमा गाभिदिएका थिए । सत्र सालपछि अधिकांश समय कोलकाता, भारतमै बिताएका भरतशमशेर राणाले बंगाली भाषामा उच्च कलात्मक मूल्य भएका सिनेमाहरू बनाएर त्यस आनन्दमयी नगरीको सांस्कृतिक परिवेशमा आफ्नो दह्रो उपस्थिति जनाएका थिए । उनले बनाएका सिनेमाहरूको निर्देशन विश्वप्रसिद्ध चलचित्र निर्देशक सत्यजित रायले गरेका थिए । तीमध्ये ‘सीमाबद्धो’ नामको एउटा सिनेमाले त भारत सरकारले दिने स्वर्णकमल भनिने राष्ट्रिय पुरस्कार नै जितेको थियो ।

पद्मरत्न तुलाधर (७८) नेपाली कम्युनिस्टहरूसँग भएको त्यस्ता एउटा स्वच्छ अनुहार थिए, जसलाई राजधानीका जनताले सम्मान मात्र होइन, भरोसा पनि गर्थे । नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सल्लाहमा तुलाधरले नै दर्जनौँ टुक्रामा विभाजित कम्युनिस्टहरूको एउटा संयुक्त मोर्चा बनाउन विशेष पहल गरेका थिए । त्यतिवेला बनेको त्यो मोर्चा नै आजको विशाल नेपाल कम्युनिस्ट पार्टीसम्म पुग्ने यात्राको प्रस्थानबिन्दु थियो । कुशल लेखक, नेपाल भाषा र नेवार संस्कृतिका उपासक र सदाचारका प्रतिमूर्ति पद्मरत्न आफ्नो अति भावुक स्वभावका कारण चर्चित थिए र कहिलेकाहीँ हँसीको पात्र पनि बन्न पुग्थे । माओवादी आतंकका सन्दर्भमा त्यो आतंकी जत्थालाई सघाउने आफ्नो मनसुवालाई मानवअधिकार संरक्षणको झिनो आवरणमा लपेटेर त्यति वेलाको संसदीय प्रजातान्त्रिक प्रणालीलाई कुनातिर धकेल्ने प्रयास गरेपछि भने काठमाडांैको मुटु असनका रैथाने पद्मरत्न तुलाधरले धेरै प्रजातान्त्रवादीहरूको सम्मान गुमाएका थिए । 

गत साल बितेका अर्का कम्युनिस्ट नेता भरतमोहन अधिकारी (८३) त्याग, तपस्या र संंघर्षबाट खारिएर आएका व्यक्ति थिएनन् । तर, कुशाग्रबुद्धि र पार्टीको आन्तरिक समीकरणको सही आकलन गर्न सक्ने क्षमताका बलमा यिनले पार्टी संगठनमा आफ्नो दबदबा कायम राख्न सकेका थिए । यिनले ९ महिना चलेको देशको इतिहासकै पहिलो वामपन्थी सरकारमा अर्थमन्त्री हुने सौभाग्य पाएका थिए । त्यो मौकाको सही उपयोग गर्दै यी कानुनची कम्युनिस्टले पहिलोपल्ट थोरै अंकको भए पनि वृद्धभत्ता दिने निर्णय गरेका थिए, जुन अहिलेसम्म पनि यिनी र यिनको पार्टीका लागि महिमाको विषय बनेको छ । यिनले नै व्यवस्था गरेको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने सांसदहरूले तजबिजी ढंगमा खर्च गर्न पाउने निश्चित रकमको योजनावाला स्किम जनप्रतिनिधिहरू र तिनका आसेपासेलाई भ्रष्ट बनाउने भयानक उपकरण बनेको छ अहिलेसम्म पनि । 

०७५ मै बितेका पुराना वामपन्थी कृष्णदास श्रेष्ठ राजनीतिको अखडामा उत्रिन तयार लडाकु कार्यकर्ता कम, प्राज्ञिक व्यक्तित्व बढी थिए । श्रेष्ठले आफ्नै अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी लेनिनवादी माओवादी खोलेको भए पनि वास्तवमा उनको आफ्नो पकडको कुनै कन्स्टिचुएन्सी नै थिएन । काठमाडांैको पूर्वी छेउमा रहेको लप्सेफेदी भन्ने गाउँमा उनका केही दर्जन कार्यकर्ता छन् भनिन्थ्यो । खासै जनाधार र संगठन पनि नभएकाले नै हुनुपर्छ, श्रेष्ठले कालान्तरमा आफ्नो सम्पूर्ण ध्यान माक्र्सवादी साहित्यको नेपालीमा अनुवाद गर्ने र त्यस दर्शनको भाष्य तयार गर्ने अभ्यासमा लगाएका थिए । सीताराम मास्के (६७) वामपन्थी झुकावका शिक्षा क्षेत्रका व्यवसायी थिए । यिनलाई नेकपा एमालेका पालामा खेलकुद परिषद्को सदस्य सचिव बनाइएको थियो । यिनले निजी विद्यालयहरूको संगठन प्याब्सनको नेतृत्व पनि गरेका थिए । नेपाली कांग्रेसले २०४४ सालमा भएको काठमाडांै नगर पञ्चायतको प्रधानपञ्चको चुनावमा भाग लिने निर्णय गरी हरिबोल भट्टराईलाई उम्मेदवार बनाएपछि कम्युनिस्टहरूको साझा उम्मेदवार यी मास्केलाई नै बनाइएको थियो । यी पराजित भएका थिए ।

गत साल चोला बदल्ने अन्य नाम चलेका वामपन्थी व्यक्तित्वहरूमा गणेश पण्डित (७२), रवीन्द्र अधिकारी (५०), हर्कबहादुर शाह (७०) र हरिशरण लामिछाने (५१) पनि छन् । पण्डित अत्यन्तै शालीन, इमानदार र निष्ठावान् राजनीतिकर्मी थिए, जसलाई कम्युनिस्ट, कांग्रेस वा राष्ट्रिय प्रजातन्त्र पार्टीका समर्थक सबैले समान रूपमा आदर गर्थे । पण्डित पृथक् धातुले बनेका कम्युनिस्ट थिए कि कसो सबै प्रकारका विचार र दृष्टिकोणको सम्मान गर्थे । रवीन्द्र अधिकारी मन्त्री भएपछि केही मामिलालाई लिएर विवाद र आरोपको घेराभित्र परेका थिए । त्यसबाहेक उनी वामपन्थी वृत्तका चम्किला नक्षत्र नै थिए । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका उनले नेपाल वायु सेवा निगमका लागि वाइडबडी जहाज किन्दा भ्रष्टाचार भएको छ भनी आफूमाथि लागेको आरोपको किनारा लागेकोसमेत देख्न पाएनन् । मध्यपश्चिमका हर्कबहादुर शाह र भक्तपुरका हरिशरण लामिछाने निष्ठावान् वामपन्थी कार्यकर्ता थिए । 

नेपाली कांग्रेसका माथिल्लो तहका नेताहरू चक्रप्रसाद बाँस्तोला (७४), रुद्रमणि शर्मा भण्डारी (६०) र कमलप्रसाद पंगेनी (५५), मणिसुन्दर बजिमय (१०६), शिवकुमार अधिकारी (७९), तारानाथ कोइराला (७८), अमर नेम्बाङ (७७) र स्थानीय स्तरका युवानेता विनोदकुमार कार्की (काभ्रेपलान्चोक) र नरेन्द्र अधिकारी (चितवन जिल्ला)को पनि गत साल नै निधन भयो । तीव्र मस्तिष्कघातका कारण पाँच वर्षभन्दा बढी समयदेखि कोमामा रहेका पूर्वपरराष्ट्रमन्त्री चक्र बाँस्तोलाले भने मृत्युको अँगालोमा बाँधिएपछि चैतन्यविहीन जीवनको बन्धनबाट एक प्रकारले मुक्ति पाएको भन्नुपर्छ । स्याङजा जिल्लाका शिवकुमार अधिकारी र लमजुङका तारानाथ कोइराला प्रतिबद्ध प्रजातन्त्रवादी नेता थिए । सात सालको क्रान्तिमा सक्रिय रूपमा भाग लिएका खोटाङ जिल्लाका मणिसुन्दर बजिमय निधन हुने वेलामा सम्भवतः सबैभन्दा पाको उमेरका कांग्रेसी नेता थिए । तुलनात्मक रूपमा युवा रुद्रमणि र कमलको निधन राष्ट्रकै लागि ठूलो क्षतिको विषय हो । ती दुवै पूर्वसांसदहरू भलादमी थिए र आआफ्ना क्षेत्रमा लोकप्रिय पनि । नरेन्द्र पनि पूर्वी चितवनका उदीयमान नेता थिए । 

अन्य विविध 
गत साल नै प्रसिद्ध उद्योगपति दिवाकर गोल्छा, नामी ब्याङ्कर, लेखक र अनुवादक गोपीकृष्ण श्रेष्ठ, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठ, प्रख्यात चिकित्सक डा. श्यामबहादुर पाण्डे, प्रसिद्ध वन विशेषज्ञ र कवि हरिप्रसाद बस्याल, इमानदार छवि भएका पूर्वनिजामती कर्मचारी भोलानाथ अर्याल, झापाका नामी शिक्षक भरतप्रसाद विमली, प्रख्यात मानव अधिकारकर्मी तेजश्री थापा, पूर्वराजा ज्ञानेन्द्रका विश्वासी मानिने जर्नेल भरतकेशरी सिंह र एनजिओकर्मी भोला दाहालको पनि निधन भयो । दिवाकर गोल्छा उदार हृदय भएका संवेदनशील उद्यमी थिए । गोपीकृष्ण श्रेष्ठ अंग्रेजी भाषामा निष्णात् कवि हृदय ब्याङ्कर थिए । उनले बिपी कोइरालाका प्रायः सबै कृतिको अंग्रेजी अनुवाद गरेका छन् भन्ने सुनेको छु । वन विशेषज्ञ हरिप्रसाद बस्यालले एउटा कविता संग्रह तयार गरेको र त्यसलाई छपाउन खोज्दै थिए दैवले उनलाई चुँडेर लग्यो । तेजश्री थापाले मानव अधिकारको क्षेत्र धेरै काम गरेकी थिइन् । बर्माका रोहिंग्याहरूमाथि भएको जातीय हिंसाका विषयमा थापाले गरेको खोजको ठूलो प्रशंसा भएको थियो । नेपालकै पनि एउटी माओवादी पीडित किशोरीको उनले उद्धार गरेकी थिइन् । 