• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शक्तिकुमार वंशकार
२०७८ पौष १० शनिबार ०८:०९:००
रिपाेर्ट

कहिले रोकिएला मुस्लिममाथि घृणाको प्रचार ?

नेपाली मुस्लिमहरूबाट अतिवादको खतरा छैन, बरु अतिवादको खतरा छ भन्दै झुटा कथाहरू रचना गर्ने अतिवादीहरूबाट नेपाललाई खतरा छ

२०७८ पौष १० शनिबार ०८:०९:००
शक्तिकुमार वंशकार

 

 मुस्लिमको नाम लिनेबित्तिकै मानिसहरूको मन–मस्तिष्कमा इराक, अफगानिस्तान, सिरिया आदि मुलुकको तस्बिर जन्मिन्छ । मानिसले पृष्ठभूमि थाहा नपाएरै इराक, अफगानिस्तानजस्ता मुलुकमा भइरहेको घटनालाई इस्लामसित जोड्ने तथा त्यसैका आधारमा विश्वभरिका विभिन्न मुलुकमा बसोवास गर्ने मुस्लिमलाई कठघरामा उभ्याउने गर्छन् । यसै क्रममा नेपाली मुस्लिमहरूका बारेमा पनि यस्तै किसिमका व्यवहार देख्न पाइन्छ । अचेल त छिमेकी मुलुकहरूबाट प्रभावित भएर मानिसहरूले यस किसिमका कुरा अलि बढी नै गर्न थालेका छन्, जसको प्रत्यक्ष प्रभाव नेपाली मुस्लिमप्रति गरिने व्यवहारमा देखिन्छ । नेपाली मुस्लिमका बारेमा नकारात्मक धारणा बनाएका व्यक्तिले न त उल्लिखित देशमा भएका घटनाक्रमको वास्तविकतालाई बुझ्छन्, न त नेपाली मुस्लिमहरूका बारेमा उनीहरूलाई केही थाहा नै छ ।


कुनै एउटा समुदायको छवि प्रस्तुत गर्न फिल्महरू पनि बन्ने गरेका छन् । उदाहरणका लागि सन् १९८८ मा बनेको ‘रेम्बो’ फिल्मको तेस्रो संस्करणमा अफगानिस्तानको चित्रण गरिएको छ । यो फिल्ममा रुसले अफगानिस्तानमाथि गलत तरिकाले कब्जा गरेको र एउटा समूहले अफगानिस्तानका निरीह जनतामाथि भइरहेको अत्याचारविरुद्ध सशस्त्र विद्रोह गरेको घटनालाई देखाइएको छ । यस फिल्ममा रुसलाई अत्याचारीको रूपमा र तिनीहरूको विरोध गर्ने समूहलाई पीडित समूहको रूपमा चित्रण गरिएको छ, जुन पीडित समूह वास्तवमा मुजाहिद्दिन थिए, जसलाई फिल्मका हिरोले सहायता गरेको भनेर देखाइएको छ ।


फिल्ममा मात्र नभएर वास्तविकतामा पनि रुसविरुद्ध अफगानिस्तानका मुजाहिद्दिनहरूलाई स्थापित गर्न अमेरिकाले नै आर्थिक तथा अन्य प्रकारको लगानी गरेको थियो । यही मुजाहिद्दिनहरू पछि गएर तालिबानको रूपमा परिणत भए । अर्को अर्थमा भन्नुपर्दा तालिबानको निर्माता अमेरिका नै हो । तर, एक दशक नबित्दै त्यही पीडित समूहलाई तब अत्याचारी समूहको रूपमा चित्रण गर्न लागियो, जब रुसलाई विस्थापित गरेर अमेरिकाले त्यही अफगानिस्तान कब्जा ग¥यो । संसारले कसलाई हिरो र कसलाई भिलेन भन्ने ? कसलाई अत्याचारी र कसलाई पीडित भन्ने ? यो तथ्यमाथि कसैको ध्यान जाँदैन । 


इराकमा अमेरिकाले खेलेको भूमिका त अझै कहालीलाग्दो छ । २० मार्च सन् २००३ मा अमेरिकाले इराकमाथि हमला गर्‍यो । यो हमलालाई उसले ‘इराकी जनताहरूको मुक्ति’ भनेर नामकरण गर्‍यो । अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसले इराकका राष्ट्रपति सद्दाम हुसेनले जनसंहारका लागि हतियार लुकाएर राखेको तथा ती हतियार कुनै पनि वेला अलकायदाजस्ता आतंकवादी संगठनलाई उनले दिन सक्ने निहुँमा इराकमाथि हमला गरेका थिए । यसमा उनलाई साथ संयुक्त अधिराज्यका प्रधानमन्त्री टोनी ब्लेयरले दिएका थिए । संयुक्त अधिराज्यले २४ सितम्बर २००२ मा सद्दाम हुसेनसित जनसंहारका हतियार छ, जसको प्रयोग उनले ४५ मिनेटभित्रै गर्न सक्ने भन्ने दस्ताबेज निकालेको थियो । संयुक्त राष्ट्रसंघको टोलीले नोभेम्बर २००२ देखि मार्च २००३ सम्म गरेको ७०० वटा छानबिनमा यस्तो कुनै प्रमाण फेला परेन ।

 

१५ फरबरी २००३ मा संयुक्त अधिराज्यको २० लाख जनताले लन्डनमा प्रदर्शन गरेर इराकमाथि हुन लागेको हमलाको विरोध गरे पनि प्रधानमन्त्री टोनी ब्लेयरको पहलमा संयुक्त अधिराज्यले इराकविरुद्धको युद्धमा अमेरिकाको साथ दियो । तर, जुन हतियारको निहुँमा इराकमाथि हमला गरिएको थियो, त्यो कहिल्यै भेटिएन । पछि आएर अमेरिकाका राष्ट्रपति बुस तथा संयुक्त अधिराज्यका प्रधानमन्त्री टोनी ब्लेयरले आ–आफ्ना देशका संसद्लाई ढाँटेर इराकमाथि हमला गर्नका लागि स्वीकृति लिएको कुरा स्पष्ट भयो ।

 

अमेरिकाले जुन इराकी जनताको मुक्तिको नारा दिएर इराकमाथि हमला गरेको थियो, पछि तिनै इराकी जनतामाथि उसैको रहोबर तथा प्रत्यक्ष सहभागितामा भीषण अत्याचार भयो । सद्दाम हुसेनका वेला कुख्यात रहेको ‘अबु गारिब’ जेलभित्र अमेरिकी सेनाद्वारा निर्दोष इराकी महिलालाई गैरन्यायिक हिरासतमा राखेर बलात्कार तथा बयान पनि गर्न नसकिने खालका अन्य अमानवीय व्यवहार गरियो । पुरुषहरूलाई भयंकर रूपले प्रताडित गरियो । अमेरिकी सेनाको गुप्त दस्ताबेजबाट इराकी जनतामाथि भएको भषिण अत्याचार, हत्या तथा युद्ध अपराधको वृत्तान्त भेटिन्छ । सद्दाम हुसेन र अल कायदाको बीचमा कुनै सम्बन्ध नरहेको कुरा पनि अहिले सार्वजनिक भएका प्रमाणबाट पुष्टि हुन्छ । यसरी एउटा झुटा कथाको निर्माण गरेर सम्पूर्ण इराकलाई गृहयुद्धको आगोमा धकेलियो, जसको परिणामस्वरूप इराकका लाखौँ निर्दोष मानिसले ज्यान गुमाउनुपर्‍यो । 

 

सन् १९८८ मा बनेको ‘रेम्बो’ फिल्मको तेस्रो संस्करणमा अफगानिस्तानको चित्रण गरिएको छ । यस फिल्ममा रुसलाई अत्याचारीको रूपमा र तिनीहरूको विरोध गर्ने समूहलाई पीडित समूहका रूपमा चित्रण गरिएको छ, जुन पीडित समूह वास्तवमा मुजाहिद्दिन थिए ।


अमेरिकाद्वारा इराकमा गरिएको यसै कुकृत्यको परिणामस्वरूप ‘आइसिस’को जन्म भएको कुरा तथ्यहरूबाट पुष्टि हुन्छ । सद्दाम हुसेन कुनै महान् व्यक्ति थिएन, तर माथिका उदाहरणहरू देख्दा अमेरिका पनि कुनै मुक्तिदाता नभएर एउटा यस्तो देशको रूपमा देखा पर्छ, जसको विदेशनीति चरम स्वार्थी छ । उसको केही वर्चस्वशाली व्यक्तिहरूले युद्धलाई सबैभन्दा ठूलो व्यवसायको रूपमा लिएको देखिन्छ । उसले संसारमा आफ्नो वर्चस्व स्थापित गर्न विभिन्न समूहलाई खडा गर्ने, उनीहरूकै मद्दतबाट संसारको विभिन्न देशका सरकार बनाउने र खसाल्ने तथा कुनै देशलाई गृहयुद्धमा धकेलेर भए पनि त्यसबाट आफ्नो स्वार्थ पूरा गर्ने गरेको देखिन्छ । उसको यही कार्यले संसारका विभिन्न देशमा अस्थिरता सिर्जना भयो, जसको परिणामस्वरूप विभिन्न अतिवादी समूह अस्तित्वमा आए, जुन सुरुवातमा आन्तरिक तथा पछि गएर अन्तर्राष्ट्रिय आतंकवादका कारक बने ।

 

अहिले अमेरिकाले जुन आतंकवादको आगोलाई निभाउन खोज्दै छ, त्यो उसैको कारणले संसारमा लागेको आगो हो । आज उसैको घरदैलोसम्म आइपुगेको हो । आज अमेरिका, संयुक्त अधिराज्य तथा संसारका विभिन्न मुलुकका जनताले फिल्ममार्फत विभिन्न प्रकारले कुनै व्यक्ति तथा समुदायको बारेमा झुटा कथाहरू बनाएर, उनीहरूको बारेमा घृणा प्रचार गरेर, तथा हुँदै नभएको भिलेनलाई खडा गरेर देशलाई युद्धको आगोमा होम्ने तथा त्यसबाट नाफा कमाउने काम गरियो भन्ने कुरा बुझे । इराक र अफगानिस्तानमा युद्ध गरेर फर्केका सैनिकहरूको माझबाटै ती युद्धहरूको विरोध गर्ने व्यक्तिहरू खडा भए । आज अमेरिकी जनताले नै जर्ज डब्लु बुसलाई अमेरिकी इतिहासकै सबैभन्दा मूर्ख राष्ट्रपतिको रूपमा चिनेका छन्, जसले अमेरिकी जनतालाई अनुचित युद्धमा धकेले । त्यसरी नै संयुक्त अधिराज्यका जनताले टोनी ब्लेयरलाई विनाकारण लाखौँ निर्दोष व्यक्तिहरूको मृत्युको कारण बन्ने तथा अरूको देशमा विध्वंस मच्चाउने युद्ध अपराधीको रूपमा हेर्छन् ।


फ्रान्स तथा इङ्ल्यान्डजस्ता युरोपेली मुलुकका विभिन्न मुस्लिम युवाहरू ‘आइसिस’जस्तो आतंककारी संगठनमा सामेल हुन देश छाडेर इराक पुगेका थिए । तर, त्यहाँ पुगिसकेपछि त्यहाँको माहोल देखेर उनीहरूको मोह भंग भयो । त्यसपछि उनीहरू आफ्नै देश फर्किए । उनीहरू कसरी अतिवादीतिर आकर्षित हुन पुगे भन्ने कुराको अन्वेषण गर्दा मुस्लिम भएकै कारण विभिन्न किसिमका भेदभाव आफ्नो मुलुकमा सहनुपरेको, राज्यस्तरबाटै त्यसको उचित सम्बोधन नभएको हुनाले राज्यले नै यो भेदभावलाई मलजल गरेको भन्ने उनीहरूलाई अनुभूति भएको, यसैकारण उनीहरूले आफ्नो देशप्रतिको अपनत्व गुमाएको र यसै नाजुक अवस्थालाई दुरुपयोग गरेर अतिवादी समूहहरू युवाहरूको मनमस्तिष्कसँग खेल्न सफल भएर उनीहरूलाई इराक पुर्‍याएको तथ्य प्रकाशमा आयो ।


आजभन्दा सात वर्षअघि स्पेनकी एकजना महिला शान्तिबारे अनुसन्धान गर्न नेपाल आइन् । स्पेनमा पनि नेपालकै हाराहारीमा ४.४ प्रतिशत मुस्लिमहरूको बसोवास छ । उनको कौतुहलको मुख्य विषय भनेको नेपालका मुस्लिमहरू यति शान्तिप्रिय कसरी छन् भन्ने थियो । जबकि स्पेनमा विगतमा केही आतंकवादी घटना भएका थिए, जसमध्ये केही घटनामा मुस्लिमको संलग्नता थियो । नेपालका मुस्लिम विद्वान्हरूसित कुरा गर्दै जाँदा उनी यो निष्कर्षमा पुगिन् कि मुस्लिम समुदाय आफ्नो धर्मसित नङ र मासुजस्तै जोडिएको छ भन्ने कुरा नेपालको राज्यपक्षले बुझेको छ । त्यसैले मुस्लिमहरूलाई उनीहरूले खोजेको अधिकार नदिए पनि उनीहरूको धार्मिक पहिचानलाई निहुँ बनाएर राज्यले दुव्र्यवहार गरेन । परिणामस्वरूप नेपालको मुस्लिम समुदाय यो देशसित अपनत्व महसुस गर्छ, यो देशलाई प्रेम गर्छ, तथा यो देश तथा यहाँका जनताको रक्षाका लागि सधैँ तत्पर रहन्छ । यसैकारण पनि विभिन्न अतिवादी समूह अनेकौँ प्रयासका बाबजुद पनि नेपालका मुस्लिम समुदायभित्र अतिवादको बिउ रोप्न सफल भएका छैनन् ।


विगतमा केही व्यक्तिले अरू देशको राजनीतिक माहोलको सिको गर्दै नेपालमा पनि मुस्लिमविरुद्ध झुटा कथाहरू बनाएर घृणा प्रचार गर्दै मुस्लिम समुदाय र अरू समुदायमाझ शंकाको खाडल खनेर अन्तरसामुदायिक द्वन्द्व चर्काउने प्रयास गरिरहेका छन् । जबर्जस्ती अफगानिस्तान, इराक, सिरिया तथा तालिबानसित जोडेर नेपाली मुस्लिमहरूको छवि बिगार्ने दुष्प्रयास गरिरहेका छन् । उदाहरणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गरिरहेको केही समूहले मदरसा शिक्षा विधेयकको विरोध गर्दै नेपाललाई तालिबान बनाउन लागेको भनेर नारा लगाए । जबकि मदरसा शिक्षा विधेयक र तालिबानको आपसमा टाढा–टाढासम्म कुनै नाता थिएन । यो प्रयास त्यही राजनीतिक प्रवृत्तिको निरन्तरता देखिन्छ, जसमा मुस्लिमहरूलाई बलिको बोको बनाएर केही व्यक्तिहरूले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने प्रयास गर्छन् ।


नेपाली मुस्लिमहरूले नेपाललाई इराक, अफगानिस्तान सिरिया बनाउन चाहने शक्तिहरूको सधैँ विरोध गरेका छन् र भविष्यमा पनि गर्नेछन् । त्यसैले नेपाल र नेपालीलाई नेपाली मुस्लिमबाट अतिवादको खतरा छैन, बरु अतिवादको खतरा छ भन्दै झुटा कथाहरू रचना गर्ने अतिवादीबाट नेपाललाई खतरा छ । केही राजनीतिक प्रयोजनका लागि यस्ता कथा निर्माण गरिन्छ । हामी सबै मिलेर यो झुटा कथाहरूको विरोध गर्नुपर्छ ।
(लेखक वंशकारले विगत दुई दशकदेखि इस्लाम तथा मुस्लिमबारे अध्ययन गर्दै आएका छन् ।)