• वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
दीपा मेवाहाङ राई
२०७८ पौष १० शनिबार ०९:१५:००
२०७८ पौष १० शनिबार ०९:१५:००
दीपा मेवाहाङ राई

मभित्र जीवन हुनुको सार्थकता 
नहुन सक्छु सोचेजस्तो कसैले
स्विकारोक्ति बन्न नदेला चेतशालामा 
जस्तो तिमी छौ 
जस्तो म छु
यही हुनु नै सार्थकता बोध हो 
यदि तिमी हुनुमा
तिमी नहुनुमा
अस्तित्व हराउनु पनि त हो अपनत्वको,

 

कहाँ थिए र घाम–जून एक साथ ?
तर मुस्कुराएकै छन् फरक प्रकृतिमा
तिमी र म त्यही घाम–जून भएर बाँचौँला 
जिन्दगीको आधा अन्तरामा 

 

जसरी ल्यामपोस्टमा जून उभिँदा 
बाटोले उत्सव मनाउँछ
वर्षात्मा घाम बिसन्चो बन्दा
झरी बर्सिदिन्छ मल्हम बनेर
त्यसरी पनि त बाँच्न सकिने रहेछ 
एकार्काको परिपूरक भएर

 

यदि चाहन्छौ भने मलाई वृक्षझैँ फुल्न देऊ
परिवन्दको सोकेसमा राखेर सजाउन नखोज
सुगन्ध बोकेर बगैँचामा फुल्न चाहन्छु
स्वतन्त्र हावाको श्वासप्रश्वासझैँ नसा–नसामा
झंकृत भरेर फैलन चाहन्छु
यदि त्यसो हुन पाइनँ भने 
सायदै फूल हुनुको अस्तित्व हराउन सक्छ 

 

यात्राको उडान भर्ने बाटो
म आफैँलाई बनाउन देऊ
सपनाको भारी उठाउँदै जाँदा 
हराउन सक्छु  जंगलको झाडीभित्र
गन्तव्य खोज्दै जाँदा बिझाउन सक्छन्
विषालु काँडाहरूले पदचापका पैतालामा 
बिझेका काँडा आफैँ निकाल्न देऊ
स्वयंले पीडाहरू महसुस गर्न पाउनुपर्छ
आफू हुनुको बोध गर्न 
स्वयंले पाउनुपर्छ 

 

किनकि
जीवन हुनुको बोध
तिमी हुनुमा भन्दा
तिमी नहुनुमा खोज्न चाहन्छु ।