• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तारामणि राई
२०७८ पौष १७ शनिबार ०७:२७:००
समाज

चन्द्रे कामी अर्थात् एकलखे मात्राले बोक्दै आएको विभेद

सामाजिक विभेदको जग बसाल्ने कुरामा भाषाले कति मलजल गरिरहेको होला ?

२०७८ पौष १७ शनिबार ०७:२७:००
तारामणि राई

 

चन्द्र अर्थात् एकलखे मात्रा लगाएर बनाइएको नाम चन्द्रे । चन्द्रको सुन्तली मल्लसँग प्रेम बस्यो । दुवैले भागी विवाह गरे । दुर्भाग्य, सुन्तलीका आफन्तहरूले चन्द्र र सुन्तलीको प्रेमविवाहको बन्धन जबर्जस्त चुँडाइदिने धृष्टता गरे । निर्घात कुटपिटपछि ज्यान जोगाउन भागेका चन्द्र आठ दिनपछि फेला परे । संरचनागत हिंसाको लामो शृंखला छ । सम्भवतः यो पछिल्लो घटना हो । अन्तर्जातीय विवाहमा पनि जात नै तगारो बनेको यस घटनाको छानबिन वा सत्यतथ्य आगामी दिनमा आउला नै । तर, यस लेखमा सामाजिक विभेदको जग बसाल्ने कुरामा भाषाले कति मलजल गरिरहेको होला भन्ने कुरा उठाउन खोजेको छु । 


बाल्यावस्थामा बोलाउने नाममा प्रायः एकलखे जोड्ने चलन हुन्छ । मलाई ‘तारा नभनी ‘तारे’ भन्थे । मेरो बच्चा हुँदाका साथीहरू थुप्रै थिए । किस्ने, रने, सिबे आदि । युवावयमा पुगेपछि ‘किस्ने’ ‘कृष्ण’ भयो, सिबे ‘शिव’ भयो । तर, ‘रने’ ‘रण’ वा रणबहादुर, रणवीर आदि हुन सकेन । किनभने रने दमाईं थियो, किस्ने र बिस्ने खसआर्य समुदायका थिए । 


रने मात्रै होइन, उनको बाबुको पनि बदलिएको परिचय मलाई याद भएन । जहिलेदेखि उनको बाबुको नाम ‘राजे दमै’ हो भनेर सुनेको थिएँ । उनको शेष नहुन्जेल बदलिएको परिचय सुनिनँ । अर्थात् राजबहादुर वा राजबल वा राजवीर के थियो, त्यस रूपमा सम्मानित वा औपचारिक नामले बोलाएको सुनिनँ । नाम राजा वा मन्त्री नै राखे पनि त्यो नाम कसका लागि वा कुन जातिका लागि प्रयोग भएको छ भन्ने कुराले हिज्जेमा तलमाथि हुनेरहेछ । 


मैले सुनेका अधिकांश दलित समुदायका व्यक्तिका नामहरूमा एकलखे मात्रा लागेका हुन्थे । छिमेकी अर्का दमाईं थरका व्यक्तिको नाम साङ्ले भन्ने थियो । गाउँघरको बिहेबटुलो वा अन्य सामाजिक कार्जोतिर उनलाई साङ्ले भनेरै बोलाएको सुन्थेँ । कलेज पढ्ने तहमा पुगेपछि गाईघाट बजारतिर कतै एकजना व्यक्तिसँग चिनाजानी भएको हुँदो हो । यकिन त भएन । त्यति धेरै घुलमिल थिएन ऊसँग । तत्कालीन जिल्ला विकास समितिका सामाजिक परिचालक वा यस्तै जागिरे थिएजस्तो लाग्छ । त्यसवेला उनको नाम ‘फुन्दे’ भनेर सुनेको थिएँ । अनौठो नाम भएकाले मेरो मानसपटलमा अडिरह्यो यो नाम । पछि म काठमाडौं आएँ । एक दिन दिलीप रसाइलीको नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइलको तस्बिर हेरेँ । मनमनमै प्रश्न गरेँ– को रहेछ फुन्देजस्तो । पछि यकिन भएँ, तिनै दिलीप रसाइली नै फुन्दे रहेछन् । 


नेपाल अर्थात् हाम्रो समाजमा एकलखे मात्राले नछोडेका थुप्रै नाम वा पात्र छन् । हालसालै नियुक्त भएका गण्डकी प्रदेशका मन्त्री ‘दोबाटे कामी’ होस् या कुनै वेला रामचन्द्र पौडेलको गालामा झापट हान्ने ऊबेलाका गोल्छे सार्की होउन्, ती नामहरूले एकलखे मात्रा बोकेकै छन् । यो क्रम पछिल्लो डिजिटल युगको पुस्ता चन्द्र कामीसम्म आइपुग्दा पनि एकलखे मात्राले छोडेको देखिँदैन । गिनेचुनेका मिडियाले समेत ‘चन्द्रे कामी’ नै भनेर समाचार बनाएको देखियो । 


०००
हिन्दू वर्णाश्रम व्यवस्थाअनुरूप शुद्र अर्थात् जातीयताका आधारमा जबर्जस्त पिँधमा पारिएको दलितको नामले किन एक एकलखे मात्रा बोकिरहनुपर्ने ? एकलखे मात्राचाहिँ किन जातिविशेषले काँधमा भिर्नुुपर्ने ? यस बारे दुई किसिमका तर्क हुन सक्छन् । पहिलो, प्यारो वा आत्मीय हिसाबले बाल्यावस्थामा एकलखे प्रयोग गरिएको र त्यही नाम नै स्थापित हुँदै गएको हो । कसैले यसरी तर्क गर्छ भने यो बिलकुल गलत तर्क हो । उमेरको एउटा चरणमा प्रवेश गरिसकेपछि उसको उपस्थिति सामाजिक प्रतिष्ठासँग जोडिन्छ । उसको सामाजिक परिवेश फराकिलो बन्दै जान्छ, सार्वजानिक जीवन सुरु हुन्छ । जसले गर्दा एकलखे नामले अपमानित भएको महसुस गर्छ वा दमित भएको अनुभूत गर्न सक्छ । 


दोस्रो, उसको कागजातमा नै त्यस्तै नाम भएको कारण अरूले एकलखे मात्राको प्रयोग गर्दै आएको हुन सक्ला । यो पनि गलत तर्क हो । कागजातमा नाम लेखिनुपूर्व ती नाम कसरी रहन पुग्छन् ? त्यसमध्ये पनि दलितका नामहरू नै किन अपमानित खालका हुन्छन् ? उनीहरू कुन मनोविज्ञानले ती नाम लेख्न बाध्य हुन्छन् भन्ने कुरा महत्वपूर्ण मानिन्छ । केहीले नाम नितान्त वैयक्तिक कुरा हो भनेर पन्छिन सक्छन् । केहीले ‘नाममा के छ त्यस्तो’ भनेर सेक्सपियरको नाटकका पात्र रोमियो र जुलियटको संवादको प्रसंगलाई लिएर गुलाबलाई जे नाम दिए पनि त्यसले आफ्नो गुण बदल्दैन भनेर तर्क गर्न सक्छन् । मानिसका नामको मूल्य फरक छ । 

हिन्दू वर्णाश्रम व्यवस्थाअनुरूप शुद्र अर्थात् जातीयताका आधारमा जबर्जस्त पिँधमा पारिएको दलितको नामले किन एकलखे मात्रा बोकिरहनुपर्ने ? एकलखे मात्राचाहिँ किन जातिविशेषले काँधमा भिर्नुुपर्ने ? 


निश्चय पनि नाम अरूले नै दिने हो वा भनिदिने हो । यसो भनिरहँदा फेरि बाबुआमाले नाम हालिदिएको होला भन्ने हुन सक्छ । त्यसो त सामाजिक प्रबन्धले कति काम गरेको होला, जसले राम्रो नाम राख्न वा एकलखे हटाउनका लागि हिम्मत जुटाउन सकेन भनेर निर्मम समीक्षा गर्नुपर्छ । किनकि सदियौँदेखि पिँधमा पर्नुको मनोविज्ञानले दुःसाहस नगरेको हुन सक्छ । 


नामसँग अन्धविश्वासको त्यान्द्रोलाई तुन्ने गरेको पनि सुनिन्छ । नराम्रो नाम राखे कसैको आँखा लाग्दैन रे । यो नितान्त ज्ञानप्रणालीको उत्पादनसँग सम्बन्धित छ । 
नाम चलेका मिडियाले समेत चन्द्र कामी नलेखेर किन चन्द्रे कामी नै लेख्यो ? के ती मिडियाले सूचना स्रोतमाथि रुजु गर्‍यो होला ? यदि चन्द्रे कामी नभएर शर्मा भएको भए चन्द्रे शर्मा लेख्न सक्थ्यो ? 


०००
केही दिनअघि एउटा वनभोज कार्यक्रममा सहभागी भएको थिएँ । वनभोजमा निःसन्देह मनोरञ्जन गर्नकै लागि जाने गरिन्छ । केही साथीहरू नाचगानमा सरिक थिए भने एक जमात साथीहरू तासमा कोरम पुर्‍याएर फलास भिँड्न थाले । म पनि दर्शक भएर टुलुटुलु हेर्दै थिएँ । एकजना साथीले भुइँमा तास फाल्दै फ्याट्ट भने – ‘थैत्, कामी रन आएर मरेछ ।’ ध


म तास नखेल्ने भएकाले तासजुवामा प्रयोग हुने विशेष भाषाबारे त्यति जानकारी राख्दिनँ । तर, मलाई ‘कामी रन’ भन्ने शब्दले चसक्क छोयो । सानो रनलाई कामी रन भनिँदो रहेछ भनेर बुझ्न गाह्रो भएन । तर, समाजको पढालेखा वा प्रतिष्ठित जमातले पनि यस्ता शब्द प्रयोग गरेको देखेर मलाई उदेक लाग्यो । सामाजिक विभेद कायम गर्ने वा जातिविशेषलाई होच्याउने बग्रेल्ती उखान–टुक्काहरू छन् । जसमध्ये एउटा उखान–टुक्काले नेपालको पूर्वप्रधानमन्त्रीदेखि प्रतिष्ठित लोक गायिकासमेत विवादमा तानिएका छन् । राष्ट्रिय सभाका सदस्य बनेकी लोक गायिका कोमल वलीले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा ‘आफू मरेपछि डुमै राजा’ भन्ने उखान प्रयोग गर्न पुग्दा निकै आलोचना खेप्नुप¥यो । 


माननीयजस्तो व्यक्तिबाट पनि यस किसिमको उखान–टुक्का प्रयोग किन हुनपुग्यो होला ? पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत प्राइम टेलिभिजनको एउटा कार्यक्रममा यही उखानका कारण आलोचित हुनुपर्‍यो भने उनले यो अभिव्यक्तिका कारण माफीसमेत माग्नुपर्‍यो । जातीय विभेदलाई प्रश्रय दिने किसिमका थुप्रै उखानहरू छन् । जस्तैः राजाको काम छोडी कामीको देवाली !,  धोबीको कुकुर घर न घाटको ! ‘कामी दमाईं माग्न जान्दैन, दाद लुतो आउन जान्दैन’, ‘कामीको ढर्रा, दमाईंको स्वाङ’, 


यस्ता उखान–टुक्काहरू समाजिक परिवेश वा संरचनाले उत्पादन गर्दै आएका छन् । तर, यसलाई आजको २१औँ शताब्दीमा कसरी लिइरहेका छौँ भन्ने कुरा मुख्य प्रश्न हो । मस्तिष्कमा कहीँ न कहीँ अवचेतन मनमा रहेको विभेदजन्य शब्द, वाक्यांश आदि कुरा गडेकै हुनाले वा सामाजिक संरचनाको जगका कारण नजानिँदो तरिकाले अभिव्यक्त भइरहेको हुन्छ । 


विभेदका अनेकौँ स्वरूप भए पनि हामीले प्रयोग गर्ने भाषामा समेत त्यो कुरा प्रतिविम्बित भइरहको हुन्छ । त्यसैले जातीय विभेदलाई बल पुग्ने गरी हामीले छनोट गर्ने शब्द, वाक्य आदि त प्रयोग गरिरहेका छैनौँ ? 


एकजना दलित अधिकारकर्मीले सुनाएको किस्सा – ‘विचारले क्रान्तिकारी, सामाजिक अभियन्ता । जातीय विभेद वा छुवाछुतको अन्त्य हुनुपर्छ भनेर अग्रमोर्चामा उभिने एकजना गैरदलित साथी थिए । घरबाहिर बसिरहेको मलाई देखेर भनिहाले– ‘कामी–दमाईं जस्तो नगर्न यार, भित्रै पस् ।’ हैट ! बुज्रुकहरूको मानस्पटलमा रहेको सुसुप्त दरिद्रता ।