हेर !
हरित कन्यामका
राता चिया बुट्यानहरू
रचिएका छन् चिया टिप्नेहरूका रगतले !
पुस्तौँदेखि खाली छन्
चिया टिप्नेहरूका हात
हरेक दिन एक छाक चिसै निदाउँछ
तिनको चुलो
थकित र बेज्यान छ
तिनको सुख पाउने आस !
बाहै्रमास सिँचिरहन्छ शासक
तिनकै रगतले चियाका मुना
वर्षौँवर्षसम्म लुटिरह्यो शासकले
तिनको बेतन
र, खडा गर्यो एउटा भव्य महल
महलभित्रको काउचमा ढाड तेस्र्याएर
अजिंगर भाँती
निलिरह्यो तिनकै अस्तित्व ।
शासक इतिहास लुकाउंँछ
बदल्छ !
तोडमोड गर्छ !
काल्पनिक कथा बनाउँछ !
होइन भने !
नाक काटिएका कीर्तिपुरेहरू
अचानक !
नाक काट्नेकै जस्तो
चुच्चा नाकले सजिएका इतिहास
किन पढाइन्थ्यो हामीलाई ?
आफ्नो झुटको खेती गर्ने कला
भरपुर प्रयोग गर्दै छ शासक–
रगतले सिँचिएका बुट्यानलाई पनि
हरियो रङको लेपन लगाउन ।
ऊ त हावा पनि चिसो बगोस् भन्ने कामना गर्छ
र, सोच्छ
कि– सदियौँदेखि शोषणको डोकोले किचिएर
सहादत भएकाहरूको
लासको दुर्गन्ध पनि लुकोस्
छोपियोस् ती लासहरू
कुहिरोको कपडाले !
ताकि
हामीले कतै नभेटुँ
तिनीहरूको नाम इतिहासमा ।
आज !
त्यही शासकको कामना काम गर्दै हुँदो हो
अथवा
हुँदैहुँदो हो बंगालको खाडीमा कुनै उथलपुथल !
बहिरहेको छ चिसो हावा
डम्म कुहिरोले छोपिएको छ आकाश ।
वेलावेला वरिपरि
मिलिक–मिलिक हुने क्यामेराका फ्ल्यासलाइटले
यसवेला –
एउटा रहर उजागर गरेको छ
कि–
राखिदिऊँ ठूला अक्षरहरू भएको
एउटा बडेमानको सूचनापाटी
कन्यामको मुख्य ‘भ्यु–पोइन्ट’मा
र लेखुँ–
प्रिय मान्छे !
अर्को फोटो खिच्नुअघि सम्झनुहोला
तपाईं पनि हत्याको साक्षी हुनुहुन्छ...
सौजन्य : यस थलोको अन्तिम पर्यटक ।