• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजु स्याङ्तान काठमाडाैं
२०७६ बैशाख ७ शनिबार ११:५८:००
समाज

रुविन गन्धर्व कहाँ छन् ?

२०७६ बैशाख ७ शनिबार ११:५८:००
राजु स्याङ्तान काठमाडाैं

साइत : लोकतन्त्र दिवस

१३ वर्षअघि जनआन्दोलन चलिरहँदा जब एकजना मैलो लुगा लगाएका बालक सारंगी बोकेर स्टेज उक्लिन्थे, सडकमा बदाम खाइरहेका, रेडियोमा कान थापिरहेका आन्दोलनकारी जर्‍याकजुरुक उठ्थे । लगाइरहेको सर्ट फुकालेर आकाशतिर फ्याँक्थे अनि ‘वान्स–मोर’ भन्थे । हजारौँ झन्डाहरू एकसाथ फरफराउँदै, सिठी बजाउँदै, मुठी कस्दै निषेधित क्षेत्रतर्फ जाइलाग्थे । 

देशमा तन्त्र फेरियो । शासन फेरियो । संविधान फेरियो । पटक–पटक मन्त्रीहरू फेरिए । तर, गोरखाको पालुङटारबाट साझा बसको सिटमुनि लुकेर काठमाडौं पसेको त्यो मैलो बालकको जीवन फेरियो कि उस्तै छ ? जन–आक्रोशको ज्वालामा सारंगीको धुन मिसाएर आन्दोलनकारीलाई उद्वेलित बनाउने ती बालक आज कहाँ छन् ? हातमा सारंगी बोकेर भिडभन्दा अघिअघि लम्किरहने ती फुच्चे आन्दोलनकारी आज के गर्दै छन् ? देशमा लोकतन्त्र आएको १३ वर्षपछि ठमेलको एक रेस्टुरेन्टमा भेटिएका उनै रुविन गन्धर्व भन्दै थिए, ‘सिंहदरबारबाट रुँदै निस्किएँ । अहिले डिप्रेसनमा छु ।’ 
०००
वैशाखको महिना । मध्याह्नको घाम चर्किँदो छ । राति पनि ननिदाउने ठमेल आफ्नै लयमा मस्त छ । त्यही ठमेलको भिड, कोलाहल छिचोली हस्याङफस्याङ गर्दै आइपुगे रुविन । मझौला कदका रुविनले ओठमाथि छुस्स जुँगा पालेका थिए । कोट फुकालेर टेबलमा राखे । पानी पिए । ती बाल आन्दोलनकारी अब २७ वर्षे जवान भइसकेका थिए । उता लोकतन्त्रको जीवन संविधानसभा, संसद्, सदन र बहुमत–अल्पमतको घुम्ती पार गर्दै अघि बढ्यो । यता रुविनको जीवन चोक–चौतारा, गल्ली–गल्छेडा, भिड र भन्ज्याङको बाटो पार गर्दै अघि बढ्यो । 

देश जागेका वेला ‘फुच्चे’ रुविनले गाएका थिए, 
वनको काफल वनकै चरीलाई, 
तिम्रो शासन दुई दिनको भए नि 
हाम्रो शासन जुनीभरिलाई

रुविनले कल्पना गरेको ‘हाम्रो शासन’ कस्तो थियो ? के साँच्चै रुविनहरूका दिन फेरिए ? अब रुविनहरूले धुलाम्य सडकमा सारंगी बोकेर कुनै यात्रुवाहक बसको प्रतीक्षा गरिरहनु पर्दैन ? के गर्दै छन्, हिजोआज ती बाल गन्धर्व ? यी तमाम सवाल उनीअघि तेस्र्याउनु थियो । रुविन शान्त थिए । रुमालले पसिना पुछे । भने, ‘म यतै कतै जीवन बाँच्न संघर्ष गरिरहेको छु ।’ उनले यति भनेर लामो सास ताने । अनि फर्किए आफ्नै विगततिर । फर्किए गोरखाको लिगलिगकोटतिर, जहाँ उनले बाल्यकाल बिताएका थिए । त्यहीँ सिकेका थिए, सारंगीको तारमा कलिला औँला नचाउन । 

साझा बसको सिटमुनि
‘बुबा (चतुरमान गन्धर्व) गाउँगाउँ सारंगी बजाउँदै हिँड्नुहुन्थ्यो । आमा (मैया गन्धर्व) घर हेर्नुहुन्थ्यो,’ रुविनले बिस्तारै सुरु गरे आफ्नो कथा । ९ वर्षको हुँदा कक्षा ४ मा पढ्दै थिएँ । स्कुलबाट फर्केर गोठालो जानु, सारंगी सिक्नु उनको दैनिकी थियो । तर, उनलाई साँघुरो लाग्न थाले– घरपरिवार, टोल–छिमेक । साँघुरो लाग्नुको एउटा कारण थियो, अछुत भनी छुवाछुत गर्ने परम्परा । 

हो, त्यसपछि नै उनले घर छाडे, गाउँ छाडे । पालुङटारबाट साझा बसको सिटमुनि लुकेर काठमाडौं आए । त्यसवेला रुविनसँग एकसुको पैसा थिएन । जिउमा पसिनाले लपक्कै टाँसिएको एकसरो कपडाबाहेक फेर्ने अर्को कपडा थिएन । हात्तीछाप चप्पल लगाएर काठमामाडौंको पुरानो बसपार्क ओर्लिए रुविन । अनि सुरु भयो उनको फुटपाथे जीवन । फुटपाथ नै बन्यो घर, फुटपाथ नै बन्यो आफन्त । फुटपाथ नै बन्यो सपना, फुटफाथ नै बन्यो विपना । 

देशमा लोकतन्त्र आएको १३ वर्षपछि गोरखा पालुङटारबाट साझा बसको सिटमुनि लुकेर काठमाडौं पसेको त्यो मैलो बालकको जीवन फेरियो कि उस्तै छ ? जन–आक्रोशको ज्वालामा सारंगीको धुन मिसाएर आन्दोलनकारीलाई उद्वेलित बनाउने रुविन गन्धर्व आज कहाँ छन् ?

‘त्यतिकै सडकतिर डुलिरहेँ, सडकमा सुतेँ– भोकै,’ रुविनले सुनाए । भोकले सताउन थालेपछि उनले सहारा सम्झिए । त्यो सहारा थियो– सारंगी । तर, रुविनसँग सारंगी थिएन । दार्मिएको भोको पेट बोकेर सारंगीविनै गाउन थाले । गाडी चालकहरू, नाङ्लो पसल थाप्नेहरू उनको नजिक–नजिक आए । गीत सुने । भावुक बने । त्यसपछि गाडी चालकहरू उनका प्रिय साथी बने । उनीहरूले नै खाना दिए । उनीहरूले नै नाना दिए । गाडीमा सुत्ने ठाउँ दिए । भन्छन्, ‘कहिले गाडीको सिटमा, कहिले पार्किङ गरिएको गाडीमुनि सुतेँ ।’ 

चालकहरूले रुविनलाई गाडीमा काम दिए । अब रुविन फलामको डन्डी समाउँदै रिङरोड घुम्न थाले । डेढ महिना रिङरोड घुमेपछि चार सय रुपैयाँ कमाए । त्यसपछि सारंगी किने । 

अब रुविन सारंगी बजाउँदै रिङरोडतिर रिंगिन थाले । त्यो रिंगिने क्रम दिन, साता र महिनाको मात्रै थिएन, पूरै ५ वर्षको थियो । आधा दशकसम्म झरीमा, पुसको ठिहीमा, टन्टलापुर घाममा रुविन सारंगी बोकेर रिङरोडतिर रिंगिरहे । गीत गाइरहे । 

लोकतन्त्रअघि 
दरबार हत्याकाण्ड भयो । ज्ञानेन्द्रले शासन हत्याए । त्यसपछि राजनीतिक दलका नेताहरू रिले अनशन बस्न शान्तिवाटिका आए । रुविन पनि घुम्दै रत्नपार्क पुगे । न ज्ञानेन्द्र झुक्छन्, न रिले अनशन टुंगिन्छ ! एउटा अनिश्चित यात्रामा थिए दुवै पक्ष । अनशन बस्नेहरू हाई काढ्दै अल्छीलाग्दा दिन बिताउँथे । त्यसैबीच अनशन बस्नेमध्ये कसैले भन्यो, ‘त्यो गाइनेलाई बोला त ! अल्छी लाग्यो !’ रुविन सारंगी बोकेर अनशनस्थलतिर पुगे । गीत गाए । रत्नपार्कमा झुम्मिने रुविनका दर्शक पनि अनशनस्थलमै आए । बसाइँ सरेको बस्तीजस्तै बनेको अनशनस्थल अब हराभरा हुन थाल्यो । टिभीमा मात्रै देखिएका ठुल्ठूला मान्छेहरू रुविनले जीवनमै पहिलोपटक प्रतक्ष्य देखे । त्यहीँ देखे, गिरिजाप्रसाद कोइराला र माधव नेपाल । त्यहीँ भेटे, गगन थापा र रामकुमारी झाँक्री । 

राजनीतिक परिस्थिति प्रतिकूल हुँदै गयो । उता माओवादीले युद्ध चर्काउँदै लग्यो । यता रिले अनशनले आन्दोलनको स्वरूप धारण ग¥यो । रुविन त्यही आन्दोलनकारीका भिडमा सारंगी बोकेरै मिसिए । उनलाई सुरुमा देश–दुनियाँको राजनीतिक स्वार्थसँग लिनु–दिनु केही थिएन । आफ्नो गीत सुन्ने दर्शक धेरै पाएकोमा खुसी हुँदै हिँड्दै थिए । बिस्तारै आन्दोलनको रापतापले उनलाई पनि छोयो । भिडमा गुञ्जिएको ‘सामन्ती राजतन्त्र’ शब्दले उनलाई गाउँमा ‘दलित’ भन्दै हेपिएका दिनहरूतिर फर्काए । 

रत्नपार्क, बागबजार, पुतलीसडक, घन्टाघर आन्दोलनको केन्द्रबिन्दु थियो । कहिले आन्दोलनकारी पुलिसलाई लखेट्थे, कहिले पुलिस आन्दोलनकारीलाई लखेट्थे । लखेटालखेट चलिरह्यो । यस्तैमा एक दिन रुविनले रत्नपार्कमा गाएस: 

दाजु मार्‍यौ भाउजू नि मार्‍यौ, 
फोकटमा राजगद्दी हात पार्‍यौ 
माइला नानी रैछौ बेइमानी 

रुविनको यो गीतले आन्दोलनकारीलाई झन् हौस्यायो । जनसागर झन् जुर्मरायो । आन्दोलनकारीको नसा–नसामा रक्तसञ्चार भयो । आन्दोलनकारी पुलिसको घेरा तोड्न अघि बढ्यो । त्यसपछि रत्नपार्क रणमैदान बन्यो । आन्दोलनकारीले ढुंगामुढा गरे । प्रहरीले लाठीचार्ज गरे । अश्रुग्यास प्रहार गरे । गिरिजाप्रसाद कोइराला बेहोस भए । रामचन्द्र पौडेलको टाउको फुट्यो । त्यो क्षण सम्झिँदै रुविन भन्छन्, ‘कसैले भन्न नसकेको कुरा मेलै भनेछु । मेरो दिमागमा कहाँबाट फुत्त आयो थाहा छैन । गीत गाउँदा गाउँदै फ्याट्ट मुखमा आयो ।’ 

लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा लडेका एकजना लडाकु ठमेलको कुनै गुमनाम क्याफेमा सारंगी बजाउँदै गाइरहेका भेटिन्छन् । उनको सुरिलो आवाजले ठमेलको भिड छिचोल्दै प्रश्न गरेझैँ लाग्छ, ‘खोइ कहाँ आयो लोकतन्त्र ?’

आन्दोलनबारे नेताहरूको योजना र बुद्धिमत्ताको प्रभाव सडकमा निर्णायक हुँदो हो । तर, सडकमा गीत गाउँदै हिँड्ने ‘गाइने’ रुविनको तागत पनि कम थिएन । त्यो घटनापछि रुविन उही रहेनन् । उनी चर्चाका पात्र बन्न थाले । पत्रपत्रिकामा उनको फोटो छापिन थाल्यो । प्रहरीको निसानामा अब रुविन पनि परे । 

रुविनले आन्दोलनको मैदानमै भेटे– खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ र प्रदीप गिरिहरू । आन्दोलन हुनुको मर्म बल्ल बुझ्न थाले । प्रत्येक आन्दोलनको मोर्चामा छायादेवी पराजुली, रामकुमारी झाँक्री, गगन थापासँगै देखिन थाले रुविन पनि । चोकचोकमा रुविनकै माग हुन थाल्यो । लेखक खगेन्द्र संग्रौला सम्झन्छन्, ‘रुविन गन्धर्व नागरिक आन्दोलनको प्रभावकारी व्यक्तिमध्ये एक थिए । एकजना टिठलाग्दो बालकको उपस्थितिले आन्दोलनमा ऊर्जा थपेको थियो ।’ त्यसपछि प्रहरीले फुटाउन थाल्यो रुविनको सारंगी । सारंगी फुटाउँदा रुविन बेस्सरी रोए । ‘तर, एउटा सारंगी फुटाएर के भो,’ रुविन त्यो घटना सम्झिँदै भन्छन्, ‘हजारौँ सारंगी किनिदिने मानिस आए ।’ बालाजु चोकमा प्रहरीको लाठी रुविनको खुट्टामा बज्रियो । रुविन घाइते भए । तर, रोकिएनन् । बैसाखी टेकेरै मञ्चहरू उक्लिरहे । 

घाइते हुँदा पनि आन्दोलनमा आउन नछाड्ने ‘जिद्दी’ रुविनदेखि प्रहरी पनि दिक्क बन्यो । एउटा चोकबाट पक्राउ गरेर अर्को चोकमा छोड्दा रुविन फेरि सारंगी बोकेर उही चोकमा पुग्थे । त्यहीँ सुरु गर्थे– सामन्ती राजतन्त्रविरुद्ध गीत गाउन । हैरान भएर प्रहरीले नयाँ जुक्ति निकाल्यो । त्यो जुक्ति थियो– रुविनलाई पक्राउ गरी राजधानीभन्दा टाढा लगेर छाडिदिने । त्यसपछि रुविनलाई कहिले भीमफेदी पुर्‍याइदिन्थे, कहिले थानकोट । कहिले दक्षिणकाली पुर्‍याइदिन्थे, कहिले ककनी । रुविन फेरि बसमा सारंगी बजाउँदै आन्दोलन स्थल आइपुग्थे । झमक्क साँझ सहर पस्दा रुविनले भेट्थे रित्तो सडक । अनि फर्किन्थे लुरुलुरु पुरानो बसपार्कतिर, जहाँ उनी निदाउने बसको चिसो सिट दिनभरि रिङरोड घुमेर आइपुग्थ्यो । 

रुविन नेताहरूसँग हवाईजहाज चढेर पोखरा पुगे । नेताहरूकै गाडीमा बुटबल पुगे । पोखराको घटना उनको स्मृतिमा अझै ताजा छ । भन्छन्, ‘त्यहाँ म बसेको होटेल प्रहरीले खोज्न थाल्यो । त्यसपछि राति नै रवीन्द्र अधिकारीलगायतका नेताले मलाई अन्तै सार्नुभयो ।’ बुटबलको घटना पनि उनी बिर्संदैनन् । उनी बुटबल पुगेको खबर थाहा पाएपछि प्रहरीले प्रत्येक गाडीमा चेकजाँच सुरु गर्‍यो । रुविन भन्छन्, ‘त्यसपछि मलाई मानवअधिकारवादीको गाडीमा राखियो ।’ 

लोकतन्त्रपछि 
१९ दिने जनआन्दोलनपछि राजतन्त्र ढल्यो । गिरिजाप्रसाद कोइराला सत्तासिन भए । आन्दोलन चलिरहँदा कोइरालाले भनेको शब्द उनलाई अहिले पनि सम्झना छ । उनले भनेका थिए, ‘तिमी कसैसँग नडराऊ । हामी छौँ । तिम्रो लागि केही न केही व्यवस्था पक्कै गर्छौं ।’ कोइराला प्रधानमन्त्री हुँदा क्याबिनेटबाटै रुविनलाई पढाउने निर्णय भयो । त्यसपछि रुविनले पढ्न थाले । ट्युसन पढेर प्राइभेट एसएलसी पास गरे । पढुन्जेल सरकारले नै उनका लागि होस्टेल बस्ने व्यवस्था मिलाइदियो । भन्छन्, ‘दुई वर्षसम्म सरकारले मासिक ५ हजार रुपैयाँ दियो । त्यसैले पढेँ ।’ प्लस टु पनि पढे उनले । वेलावेला नेता र मन्त्रीहरू उनलाई खाना खान आफ्नो घरमा बोलाउँथे । समय बित्दै गयो । क्रमशः रुविन नेताहरूका लागि बिरानो हुँदै गए । भन्छन्, ‘त्यसपछि राज्यले मलाई हेरेन ।’ 
०००
रुविन फेरि सारंगी बोकेर निस्किए, भोक टार्ने ध्याउन्नमा । अब रुविन पार्टीसम्बद्ध भ्रातृ संगठनका कार्यक्रममा हिँड्न थाले । कहिले तिजको कार्यक्रम, कहिले क्याम्पसको शुभकामना कार्यक्रम । बर्ड–थे पार्टीहरूमा समेत रुविनलाई बोलाइन थाल्यो । होटेलहरूमा, क्याफेहरूमा, विदेशी पाहुनाका अगाडि रुविनको सारंगी गुञ्जिन थाल्यो । भन्छन्, ‘ठुल्ठूला होटेलहरूमा अपमान पनि व्यहोरेँ ।’

छुवाछुत उस्तै
छुवाछुतको जुन घटना रुविन गाउँ छाड्ने कारणहरूमध्ये एक थियो, उस्तै छुवाछुत उनले लोकतन्त्रपछि पनि भोगे । ‘सालीनदीमा जात्रा लाग्दा म त्यहीँ पुगेँ,’ जनआन्दोलनपूर्वको घटना सम्झिए उनले, ‘सारंगी देखेपछि होटेलभित्र पस्न दिएनन् । होटेलबाहिरै खाजा खाएँ, अनि भाँडा माझेर हिँडेँ ।’ 

लोकतन्त्रपछि पनि कुनै चिया पसल, भट्टीपसल वा चोक–चौतारामा होइन, आन्दोलनमा सँगै हिँडेका ठूला नेताबाटै दलनको सिकार भए रुविन । एकपटक रुविन एक ठूला नेताको घर पुगे, नेताले उनलाई ढोकाबाहिरै रोके । बाहिरै ल्याइदिए कुर्सी । बाहिरै ल्याइदिए चिया । नेताका छोराछोरी कुकुर काखीमा च्यापेर भित्रबाहिर गरिरहे । रुविन ती सबै दृश्य एकोहोरो हेरिरहे । कुर्सीमा बसिरहँदा रुविनको मन भित्रभित्रै रोएको थियो । आक्रोशले हातखुट्टा कामेको थियो । मनमा आँधी चलेको थियो । त्यस दिनदेखि रुविन त्यो घरमा फर्केर कहिल्यै गएनन् । तर, त्यही नेता गणतन्त्रपछि दुई–तीनपटक मन्त्री बनिरहे । रुविन भन्छन्, ‘उनी अहिले पनि मन्त्री छन् ।’ 

कहाँ छन् रुविन ?
‘मलाई साराले चिने । तर, मेरो जाति र पेसालाई कसैले चिनेनन्,’ उनले निराश हुँदै भने, ‘मेरो जीवनमा थोरै परिवर्तन आयो होला । तर, मेरो समग्र जातिको जीवन झन् दयनीय हुँदै छ ।’ 

सत्ता फेरियो । तर, रुविनहरूको दुःख फेरिएन । उनीहरू बाँच्नकै लागि गर्नुपर्ने संघर्ष पनि फेरिएन । ‘लोकतन्त्रपछि बसमा सारंगी बजाउँदै हिँड्ने भाइहरू झन् बढे,’ रुविनको चिन्ता छ, ‘उनीहरूको पढाइ मात्रै छुटेन, उनीहरू लागुऔषधको सिकार पनि भइरहेका छन् ।’ 

रुविनलाई आन्दोलनमा सहभागी हुने विपन्नहरू, सीमान्तहरूको उदाहरणका रूपमा लिन्छन् लेखक संग्रौला । भन्छन्, ‘कुटिनेहरू, सहिद हुनेहरू रुविनहरूमध्येकै थिए । प्राविधिक रूपमा ठुल्ठूला रूपान्तरण भए । तर, रुविनहरूको जीवनमा तात्विक फरक परेन ।’ रुविनको जीवनलाई लोकतन्त्रको प्रतीकको रूपमा लिन्छन् कवि श्रवण मुकारुङ । भन्छन्, ‘हाम्रो लोकतन्त्र कहाँनेर छ भन्ने प्रतीकका रूपमा रुविनलाई हेरे पुग्छ ।’ 

लोकतन्त्रको जीवन संविधानसभा, संसद्, सदन र बहुमत–अल्पमतको घुम्ती पार गर्दै अघि बढ्यो । यता रुविनको जीवन चोक–चौतारा, गल्ली–गल्छेडा, भिड र भञ्ज्याङको बाटो पार गर्दै अघि बढ्यो । 

लोकतन्त्रले गन्धर्वहरूको जीवनमा खास प्रभाव पारेन । दलित भनी छुवाछुत गर्ने, सारंगी बजाउँदै हिँड्नुपर्ने गन्धर्वहरूको विवशता जुनसुकै तन्त्र आए पनि फेरिएन । रुविन भन्छन्, ‘संयोगवश एकाध युरोप पनि पुगेका छन् । तर, अधिकांश गन्धर्व आज पनि जहाँको त्यहीँ छन् ।’ 

सिंहदरबारको चक्कर 
रुविन परिपक्व हुँदै गए । गन्धर्व जातिका बारेमा बोल्न थाले । संगठित हुन थाले । उनी अहिले ‘गन्धर्व संस्कृति कला संगठन’को उपाध्यक्ष पनि हुन् । आफ्नो जातिको समस्या लिएर रुविन संस्कृति मन्त्रालय पुगे । पर्यटन बोर्ड पुगे । भन्छन्, ‘गन्धर्वहरूलाई प्रोफेसनल बनाउनुपर्छ भन्दै पटक–पटक मन्त्रालय धाउन थालेँ ।’ उनी तथ्यांक अघि सार्दै भन्छन्, ‘वार्षिक ४५ हजार सारंगी बिदेसिन्छ ।’ राज्यले सारंगी बनाउने उद्योग स्थापना गरी उत्पादित सारंगी राज्यले नै किन्ने व्यवस्था गरे १६ हजार गन्धर्व जातिको जीवन कायापलट हुने उनको निष्कर्ष छ । 

प्रदीप ज्ञवाली पर्यटनमन्त्री हुँदा गन्धर्वहरूलाई वार्षिक कार्यक्रमका लागि केही रकम छुट्याइएको थियो । त्यही रकम पाउन उनीसहितको टिम दुई वर्ष सिंहदरबार धायो । तर, पाएनन् । थाके । ‘कर्मचारीहरू घरी यो मिलेन भन्छन्, घरी त्यो मिलेन भन्छन्,’ रुविनले भने, ‘सबै थोक जान्ने भए आज गन्धर्व गाडी–गाडीमा सारंगी बजाउँदै किन हिँड्थे र ! गन्धर्व नै मन्त्री भइहाल्थे नि ! नजानेर हो । सिकाइदिनुस् भनेँ ।’ तर, उनको काम बनेन । रुविनलाई उल्टै त्यहाँका कर्मचारीले हकारपकार पारे । ‘२ वर्ष धाएँ, तर काम बनेन । हार खाएँ । त्यसपछि आँसु थाम्नै सकिनँ,’ रुविन भन्छन्, ‘सिंहदरबारबाट निस्कँदा रोएर निस्किएँ ।’

रुविनको काम पर्यटन बोर्डबाट हुन्छ भनेर कसैले सुनाइदियो । त्यसपछि रुविन फाइल बोकेर पर्यटन बोर्ड धाउन थाले । केही काम पनि बन्यो । तर, सोचेजस्तो बनेन । भन्छन्, ‘म फ्रस्टेसनमा छु । तर, म जुध्न छाड्दिनँ । दलालको कुरा सुनेर नेताहरू बिग्रिए । म खबरदारी गरिरहन्छु ।’ 
०००
झलकमान गन्धर्वले उहिल्यै गाएका थिए, ‘बाबा रुन्छन् लौ वर्ष दिन, आमा जुगैभरि लौ हजुर... ।’ यही गीतलाई कवि संगीतश्रोताले प्यारोडी बनाएका छन् । उनी लेख्छन्, ‘नेता गाउँछन् लौ दसै वर्ष, जनता जुगैभरि लौ हजुर...।’ आन्दोलनको मोर्चामा कैयन् नेता–कार्यकर्ताले रुविनसँगै गीत गाए, सँगै नाचे, सँगै रमाए । 

तर, आज नेता साइरन बजाउँदै मन्त्रालयतिर धाइरहँदा लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा लडेका एकजना लडाकु भने ठमेलको कुनै गुमनाम क्याफेमा सारंगी बजाउँदै गाइरहेका भेटिन्छन् । उनको सुरिलो आवाजले ठमेलको भिड छिचोल्दै प्रश्न गरेँझैँ लाग्छ, ‘खोइ कहाँ आयो लोकतन्त्र ?’ 