• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रितेश ज्योति
२०७८ पौष २४ शनिबार ०६:५४:००
समाज

समाज, समानता र सावित्रीबाई फुले

२०७८ पौष २४ शनिबार ०६:५४:००
रितेश ज्योति

दलित, बहुजन, आदिवासी तथा मुस्लिम महिलाको सहभागिता नभई एक सीमित समुदायका महिला मात्र अघि बढ्नाले समाज उल्टो दिशातर्फ उन्मुख हुने विचार राख्थिन् उनी ।

 

संसार महामारीको चेपमा परेको दुई वर्षभन्दा बढी भइसकेको छ र यसको सबैभन्दा धेरै प्रभाव परेका मुलुकमध्ये भारत अग्रपंक्तिमा नै आउँछ । कोभिड महामारीको दोस्रो लहर चलेका वेला भारतले ठूलो क्षति व्यहोर्नुपर्‍यो । लाखौँले आफ्ना  प्रियजन गुमाए । लाखौँको स्वास्थ्यमा प्रतिकूल असर पर्‍यो, कतिले अक्सिजन पाएनन्, औषधि पाएनन्, अस्पतालमा शड्ढया पाएनन् । दीर्घकालका लागि पर्याप्त हुने गरी मानसिक क्षति पनि पुर्‍यायो, यस महामारीले । प्रभावितको संख्या नै हेर्ने हो भने पनि सबैभन्दा धेरै त सीमान्तकृत समुदायका व्यक्तिलाई यसको ज्यादा मार पर्‍यो, भारतको संवैधानिक भाषामा भन्नुपर्दा अनुसूचित जातिलाई ।


यस्तै, एक महामारी, वा भनौँ योभन्दा पनि धेरै भयानक महामारी १९औँँ शताब्दीमा पनि आएको थियो । अझ त्यति वेला त अहिलेको जति पनि स्वास्थ्यसुविधा चुस्त–दुरुस्त थिएन । ब्युबोनिक प्लेग नाम गरेको उक्त महामारीको उपचार गर्न सक्षम डाक्टर भारतमा निकै कम संख्यामा मात्र थिए । लाखौँले ज्यान गुमाए ।भारतमा ब्यूबोनिक प्लेग सुरु हुनुभन्दा हजारौँ साल पहिलेदेखि अर्को महामारीले पनि जरो गाडेको थियो–जातीय विभेदको महामारी ।

 

जनसंख्याका हिसाबले समाजको एक सानो समूहले एक छत्र शासन गरिरहेको अवस्था थियो । यस महामारी चलिरहेकै वेला सुरु भएको थियो ब्युबोनिक प्लेग । त्यतिवेला अंग्रेजको शासन भारतमा कायम नै थियो । सबैलाई बराबर स्वास्थ्य सेवा प्रदान गर्नू भनी तिनै अंग्रेजले भारतका सबै डाक्टर तथा स्वास्थ्यकर्मीलाई आदेश दिएका थिए । तर, यो कुरा हिन्दू समाजका उच्च जातीय डाक्टर तथा स्वास्थ्यकर्मीले मानेनन् । शुद्र तथा अतिशुद्र समाजका बिरामीलाई आपूmले कुनै पनि प्रकारको स्वास्थ्य सेवा प्रदान नगर्ने भनी ती सबले संयुक्त रूपमा अड्डी लिएका थिए ।


आमजनताकी नेता तथा भारतकी प्रथम महिला शिक्षक क्रान्तिज्योति सावित्रीबाई फुलेले समाजलाई दिएका अनेकौँ योगदानमध्ये एक योगदान त्यस महामारीका समयमा पनि देख्न सकिन्छ । आप्mना धर्मपुत्र यशवन्त रावलाई स्वास्थ्यचौकी सुरु गर्न लगाएर उपचारका लागि आएका कसैको पनि परिचय नसोध्नू, सबैलाई समान रूपले सेवा प्रदान गर्नू भनी उनले अह्राएकी थिइन् ।


तर, आज त्यही भारतमा जातका आधारमा कोभिडको खोप पाउने गरेको तीतो यथार्थ पनि जगजाहेर नै छ । र स्वास्थ्यक्षेत्रको इतिहासका पानाहरूमा फुले र उनका छोरा पनि भेटिँदैनन्, न त भारतका महिलावादीको इतिहासमा सावित्रीबाईको नाम नै कतै भेटिन्छ ।सावित्रीबाई ६६ वर्षकी हुँदा गाउँगाउँमा गएर आफैँ बिरामी बोकी छोराको क्लिनिक लिएर जाने गर्थिन् । उच्च जातीय डाक्टरले शोषित तथा वञ्चित समाजलाई दिन नसकेको वा नचाहेको सेवा सबैले पाऊन् भन्ने ध्येय थियो उनको । उनी छोरालाई स्वास्थ्यचौकीमा सहयोग गर्न अहोरात्र खट्थिइन् । प्लेग संक्रामक छ भन्ने थाहा हुँदाहुँदै पनि उनले सहयोगको भाव त्यागिनन् । तर, प्लेगले समातेका कारण उनले आफ्नाे प्राण भने त्याग्नुपर्ने भयो ।


विभिन्न इतिहासकारले सावित्रीबाई फुलेको जीवनी लेख्दा यस घटनाको सविस्तार वर्णन गरेका छन् । केही दस्तावेजहरू हेर्ने हो भने उनले महाराष्ट्रको महार समुदायका एक दश वर्षीय बालकलाई पिठ्यूँमा बोकेरआफ्ना  छोराको स्वास्थ्यचौकी लैजादैँ गर्दा बाटैमा मृत्यु भएको भनी लेखेका छन् । ती बालक त बाँचे, तर फुले बाँचिनन् । बिरामीको सेवा गर्दै जाने क्रममा उनका छोरा डाक्टर यशवन्त रावले पनि आफ्नाे ज्यान गुमाए ।

सावित्रीबाई ६६ वर्षकी हुँदा गाउँगाउँमा गएर आफैँ बिरामी बोकी छोराको क्लिनिक लिएर जाने गर्थिन् । उच्च जातीय डाक्टरले शोषित तथा वञ्चित समाजलाई दिन नसकेको वा नचाहेको सेवा सबैले पाऊन् भन्ने ध्येय थियो उनको ।


भारतीय शिक्षाको इतिहास हेर्ने हो भने पनि सावित्रीबाई फुलेका योगदानको चर्चा नगरी यो विषय पूर्ण हुँदैन । आफूभित्र रहेको शिक्षाको भोकलाई उनले कहिले मर्न दिइनन् । त्यतिवेलाको समाजले महिलालाई पढ्न नदिने भने पनि त्यो तथाकथित नियम मान्न तयार थिइनन् उनी । सानै उमेरमा विवाह भए पनि उनले पढिन् र समाजमा जातीय तथा लैंगिक विभेदका कारण शिक्षासम्म पहुँच नभएकालाई पनि उनले पढाइन् । उनी नै भइन् तिनका शिक्षक, तिनका मार्गदर्शक ।


हामीले अहिले निकै चर्चा गर्ने गरेको ‘इन्टरसेक्सनल फेमिनिज्म’को अवधारणाका बारेमा फुलेले करिब डेढ सय वर्षअघि नै कुरा गर्न थालिसकेकी थिइन् । समाजमा सवर्ण महिला मात्रको हितले समाज अघि नबढ्ने उनको मत थियो । दलित, बहुजन, आदिवासी तथा मुस्लिम महिलाको सहभागिता नभई एक सीमित समुदायका महिला मात्र अघि बढ्नाले समाज उल्टो दिशातर्फ उन्मुख हुने विचार राख्थिन् उनी । यस्ता विचार उनका कवितामा प्रशस्त लेखिएका छन् । 


सावित्रीबाईले आफ्नी साथी फातिम शेखका साथ सुरु गरेको महिला सेवा मण्डलले शोषित तथा वञ्चित समुदायका महिलाका निम्ति काम गथ्र्यो । बालविवाहमा बन्देज, अन्तर्जातीय तथा विधवाविवाहलाई प्रोत्साहन दिने हुँदा यो मण्डल ब्राह्मणसमाजका आँखामा बिझाएको पनि थियो । उनले सुरु गरेका प्रतिष्ठानका भेलामा सबै जातका महिला एकै ठाउँमा बस्थे । कुनै प्रकारको भेदभाव वा छुवाछुतभन्दा माथि उठेर सुरु गरिएका थिए ती प्रतिष्ठान ।


त्यतिवेलाको समाजमा दलित समुदायका व्यक्ति कतै जानुपरेमा कुचो पनि साथैमा बोकेर हिँड्नुपथ्र्यो । आफू हिँडेको बाटो बढार्दै हिँड्नुपथ्र्यो । आफ्नाे छायाँ पनि ब्राह्मणहरूमा पर्न दिन पाइन्नथ्यो । दलित महिलालाई निर्वस्त्र बनाई बीचबाटोमा नाच्न लगाइन्थ्यो । यीमध्ये कुनै पनि नियम पालना नगरेको पाइएमा ब्राह्मणहरू दलितमाथि कोर्रा प्रहार गर्थे । मरणासन्न हुने गरी पिट्थे पनि । कतिको त प्राण नै पनि लिन्थे । सावित्रीबाईले आफ्ना  श्रीमान्सँग मिलेर यसको विरोध मात्र गरिनन्, दलित–बहुजन समाजलाई यस्ता अत्याचार नसहन पनि प्रेरित गरिन् ।


जातीय विभेदको चरम मारमा परेका दलितलाई आत्मसम्मान तथा सशक्तीकरणको बाटो देखाइरहेकी फुलेलाई रोक्न ब्राह्मणवादी समाज भने अनेकौँ उपाय निकाल्थ्यो । उनी आफू पढाउन जाँदा होस् वा आफूले सुरु गरेका संस्थामा जाँदा होस्, उनीमाथि ब्राह्मण पुरुष हिलो, ढुंगा, कुहिएका अन्डा र टमाटर तथा गोबर छ्याप्ने गर्थे । थप दुईवटा धोती बोकेर काममा जान बाध्य थिइन् फुले, तर समाजपरिवर्तनका लागि उनले देखेको सपनामा बाधा आउन दिएन । हामी आज जे छौँ, त्यसमा फुलेको ठूलो योगदान रहेको कुरा कसैले नकार्न सक्दैन ।


हामीले यसै हप्ता उनै फुलेको जन्मजयन्ती मनाइरहँदा सरकारले उनका योगदानको चर्चा नगर्नु निकै लज्जास्पद विषय हो । उच्च जातीय पुरुष समुदायको हातमा रहेको सत्ताले दलित बहुजन तथा महिलाकी मसिहा साबित्रीबाईको अवमूल्यन मात्र गरेको होइन, हाम्रो समाजमा ब्राह्मणवाद कति गाढा रूपले विद्यमान छ भनी पनि देखाउन खोजेको हो ।


सावित्रीबाई फुलेको जीवनयात्रा सिंगो मानवसमाजका लागि एउटा महत्वपूर्ण सन्देश हो । उनी र उनको परिवारको निस्वार्थ सेवाका कारण जुन स्थानमा आज समाज छ, त्यसको सही पहिचान गर्न भने भारतको इतिहास निकै चुकेको छ । सवर्ण समाजको वर्चस्व रहेको इतिहासमा भारतकी प्रथम महिला शिक्षक, एक क्रान्तिकारी लेखक, दलित तथा बहुजन समाजलाई आत्मसम्मानको बाटोतर्फ डोर्‍याउने र शिक्षाको बाटो देखाउने गुरु तथा एक अब्बल पथप्रदर्शकको वर्णन शून्यप्रायः हुनु निकै लज्जाको विषय हो । 

 

(ज्योति मुम्बईका पत्रकारिताका विद्यार्थी तथा अम्बेडकरवादी लेखक हुन् । अंग्रेजीमा लेखिएको उनको लेखलाई नेपालीमा अनुवाद गरिएको हो ।)