• वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
भारतमा कोभिड–१९ को वितण्डा-अतुल लोक/द न्युयोर्क टाइम्स
नयाँ पत्रिका
२०७८ पौष २४ शनिबार ०७:०७:००
सम्झना

तस्बिरमा २०२१

२०७८ पौष २४ शनिबार ०७:०७:००
नयाँ पत्रिका

अप्रिलमा भारतलाई कोभिड–१९ महामारीको विध्वंसकारी दोस्रो लहरले प्रभावित बनायो । भारतमा अप्रिलको अन्तिमतिर लगातार नौ दिनसम्म दैनिक तीन लाख नयाँ केस दर्ज भएपछि विश्वमै पहिलोपटक चार लाख केससम्म देखियो । विज्ञहरूले भारतमा सम्पूर्ण कोराना संक्रमितको संख्या आधिकारिक रेकर्डमा नआएको बताउने गरेका छन् । स्थिति विकराल बन्दै जाँदा भारतको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आयो । अस्पतालमा अक्सिजनको आपूर्तिको कमी हुन थाल्यो । खोप अभावले देशका धेरै राज्यमा सरकारले चलाएको खोप अभियान प्रभावित भयो । भारतमा मुख्यालय रहेको विश्वको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियाले अहिले उच्च मागको सामना गरिरहेको छ । भारत र नेपालबीचको खुला सीमा नीतिका कारण कोरानाको दोस्रो लहर उसका छिमेकी देशमा पनि फैलियो । 

 

एक फरक शपथग्रहण

जोसेफ रोबिनेट बाइडेन जुनियरले २० जनवरीमा अमेरिकाको ४६औँ राष्ट्रपति पदको शपथ लिए । यो कोभिड–१९ युगको पहिलो राष्ट्रपति पदको औपचारिक शुभारम्भ समारोह भएकाले थोरै मानिसलाई मात्र आमन्त्रित गरिएको थियो । उपस्थित सहभागीले मास्क लगाएका थिए । कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति र पहिलो गैरश्वेत उपराष्ट्रपति बनेको इतिहास झन्डै तीन करोड ३८ लाख मानिसले टेलिभिजनमा अवलोकन गरे । समुद्घाटनको मुख्य विषयवस्तु राष्ट्रिय एकता थियो । सोहीअनुरूप राष्ट्रपति बाइडेनले देशको चुनौती सबै मिलेर सामना गर्नुपर्ने आह्वान गरे । भाषणमा बाइडेनले कोभिड– १९ संकटदेखि ६ जनवरीमा अमेरिकी संसद् (क्यापिटल हिल)मा भएको दंगाबारे पनि बोलेका थिए । 

एन्ड्र्यु हार्निक/पुल द न्युयोर्क टाइम्समार्फत

फ्रेन्च ओपन उपाधि कब्जा

सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले ग्रिसका स्टेफानोस सिट्सिपासलाई हराउँदै १३ जुनमा फ्रेन्च ओपन जिते । जोकोभिच आधुनिक कालमा सबै प्रमुख टेनिस प्रतियोगिता दोहोर्‍याएर जित्ने एक मात्र पुरुष खेलाडी बनेका छन् । उनी टेनिसमा रेकर्ड राखेर सन्न्यास लिन चाहन्छन् ।

पिट काईहार्ट/द न्युयोर्क टाइम्स

प्रदर्शनबाट रुस हल्लियो

रुसी विपक्षी नेता एलेक्सी ए. नभाल्नी राष्ट्रपति भ्लादिमिर भी. पुटिनका प्रखर आलोचक हुन् । उनै नभाल्नीमाथि सन् २०२० अगस्टमा अत्यन्त घातक विष नोभिचोक नर्भ एजेन्टको प्रयोग भयो, जसबाट झन्डै उनको ज्यान गएको थियो । १७ जनवरीमा जर्मनीमा उपचार गरेर नभाल्नी मस्को फर्किए, जहाँ उनलाई पक्राउ गरियो र दुई वर्षको जेल सजाय तोकियो । २३ जनवरीमा दसौँ हजार मानिसले सडकमा उत्रिएर उनको पक्राउको विरोध जनाए । प्रहरीले देशभरका कम्तीमा ८५ सहरबाट पाँच हजार मानिसलाई नियन्त्रणमा लियो । रुसमा वर्षौपछि भएको यति ठूलो प्रदर्शनले पुटिनको सरकारप्रति बढ्दो असन्तुष्टिलाई उदांगो बनाइदिएको छ ।

सर्गेई पानोमारेभ/द न्युयोर्क टाइम्स

प्यान्डोरा पेपर्स लिक

३ अक्टोबरमा प्यान्डोरा पेपर्स सार्वजनिक भयो । लिक भएको विशाल दस्ताबेजमा धनाढ्यहरूले कसरी अफसोर कम्पनी प्रयोग गरेर तिनको सम्पत्ति लुकाउँछन् र कर छल्छन् वा गोप्य वित्तीय लेनदेन गर्छन् भन्ने व्याख्या छ । १४ अपसोर फर्मका झन्डै १.२ करोड फाइललाई वासिङ्टन डिसीस्थित इन्टरनेसनल कन्सोरटियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टले वासिङ्टन पोस्ट र गार्जियनजस्ता मिडियासँगको सहकार्यमा सार्वजनिक गरेको थियो । रिपोर्टमा ९० भन्दा बढी देश र क्षेत्रका ३३० सार्वजनिक अधिकारीको नाम उल्लेख छ, जसमध्ये ३५ जना वर्तमान वा पूर्वविश्वनेता पनि छन् । 

लुई एकोस्टा/एपिएफ–गेटी इमेजेज

लेबनानमा वित्तीय संकट
लेबनानको राजधानी बेइरुतको बन्दरगाहमा अघिल्लो वर्ष इतिहासकै सबैभन्दा ठूलो गैरआणविक विस्फोट भयो । त्यसपछि लेबनानमा वित्तीय मन्दी निरन्तर चुलिरहेको थियो । सोहीबीच प्रदर्शनकारीले सडक तताए, दंगा भड्कियो । सरकारले अन्तर्राष्ट्रिय मुद्राकोषसँग पुनरुत्थान योजनाका लागि छलफल सुचारु गर्ने प्रयास गर्‍यो । 

डियागो यबरा सान्चेस/द न्युयोर्क टाइम्स

हैटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या
हैटीका राष्ट्रपति जोभेनले मोइस ७ जुलाईमा उनकै घरबाहिरको सडकमा मारिए । आक्रमणमा उनकी श्रीमती घाइते भइन् । प्रहरीले बताएअनुसार राष्ट्रपतिको हत्या २६ कोलम्बियन र दुई हैटियन मूलका अमेरिकीको एक समूहले गरेको थियो । यो हत्याले पहिलेदेखि राजनीतिक अस्थिरता, संवैधानिक संकट, कु प्रयास, प्रदर्शन र दण्डहीनताको सामना गरिरहेको देशको समस्या बढेको छ । राष्ट्रपति पदको भविष्य अझै अस्थिर छ । हैटीमा आमनिर्वाचन नयाँ मिति नराखी नै रद्द छ । शान्ति व्यवस्था कमजोर हुँदा हैटी अहिले आपराधिक समूहको कब्जामा गएको विश्वास गरिन्छ । तिनै समूहमध्ये एकले पछिल्लो समय १७ अमेरिकी तथा क्यानेडेली मिसिनरी अपहरण गर्दा विश्वभर चर्चा भएको थियो ।

फेडेरिको रियो/द न्युयोर्क टाइम्स

युरोपका विभिन्न ठाउँमा भयंकर बाढी
जुलाईको बीचमा जर्मनी र बेल्जियम लगायत कैयौँ युरोपेली देश ठूला बाढीबाट आक्रान्त बने । बाढीले कम्तीमा २२० को ज्यान लियो भने ११–२५ अर्ब डलरको धनमाल नष्ट गरेको आकलन छ । अचानकको बाढीले कैयौँ पुल नष्ट भए, कारहरू कबाडीको थुप्रोमा परिणत भए । मानिसहरू बढ्दो पानीको सतहबाट बच्न घरको छानामा चढेका थिए । वैज्ञानिकले जलवायु परिवर्तनले बाढीलाई यति भयानक बनाएको बताएका छन् । प्रभावित क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिले वर्षालाई २० प्रतिशतसम्म बढाएको हुन सक्ने तिनको आकलन थियो ।

गोर्डन वेल्टस/द न्युयोर्क टाइम्स

म्यानमारमा सैन्य कु
म्यानमारको सेनाले १ फेब्रुअरीमा कुमार्फत देशलाई नियन्त्रणमा लियो र एक वर्ष लामो संकटकाल घोषणा ग¥यो । टट्माड्अ पनि भनिने म्यानमारको सेना पछिल्लो आमनिर्वाचनको मतपरिणामबाट सन्तुष्ट थिएन । निर्वाचनमा आङ सान सुकी र उनको नेसनल लिग फर डेमोक्रेसी पार्टीले भारी मत हासिल गरेको थियो । कुको विरोधीमा ठूलो प्रदर्शन भयो, जसविरुद्ध सेनाले बल प्रयोग गरे । सेनाको कुविरुद्धको आन्दोलनमा झन्डै आठ सय प्रदर्शनकारीको ज्यान गइसकेको छ । वर्षको अन्तिमतिर अर्थात् ६ डिसेम्बरमा आङ सान सुकीलाई सार्वजनिक शान्ति भंग गरेको र कोभिड– १९ सम्बन्धी नियम उल्लंघन गरेको कसुरमा चार वर्षको जेल सजाय तोकिएको छ (जुन पछि दुई वर्षमा झारियो) । आङ सान सुकी अन्य मुद्दा पर्खिरहेकी छिन्, जसका लागि उनलाई जन्मकैद हुन सक्छ । 

द न्युयोर्क टाइम्स

बेलारुसको फौजद्वारा यात्रुवाहक जहाज बलजफ्ती अवतरण
२३ मेमा एक सय ७० यात्रु बोकेको र्‍यानेर फ्याइट ४९७८ विमान ग्रिसको राजधानी एथेन्सबाट लिथुआनियाको राजधानी भिलनियस उडिरहेको थियो । जहाजमा बेलारुस सरकारका प्रखर आलोचक पत्रकार रोमन प्रोटासेभिच पनि यात्रा गरिरहेका थिए । यात्रुवाहक जहाज बेलारुसको हवाई क्षेत्रबाट यात्रा गरिरहँदा त्यहाँको एयर ट्राफिक कन्ट्रोलले ‘जहाजभित्र सम्भावित सुरक्षा खतरा रहेको’ एक चेतावनी दियो । लगत्तै बेलारुसको एउटा लडाकु विमानले जहाजलाई स्कर्टिङ गर्दै मिन्स्क उतार्‍यो । जहाज उत्रिएपछि भएको निरीक्षणमा जहाजमा कुनै बम भेटिएन । सोही अवधिमा प्रहरीले पत्रकार प्रोटासेभिनलाई पक्राउ गर्‍यो । अहिले उनी १० वर्षको जेल सजाय भोगिरहेका छन् । जहाजमा धरपकड गर्न बेलारुसका राष्ट्रपति एलेक्सान्डर जी लुकासेन्कोले निर्देशन दिएका थिए । प्रतिपक्षीविरुद्ध कठोर रणनीति अपनाएका लुकासेन्को अहिले अन्तर्राष्ट्रिय जगत्को नजरमा परेका छन् । युरोपेली अधिकारीले यो प्रकरणको आलोचना गर्दै घटनालाई जहाज अपहरणसँग तुलना गरेका छन् ।

एएफपी–गेटी इमेज

अफगानिस्तानको शासनसत्तामा तालिबानको फिर्ती
अफगानिस्तानमा तैनाथ अमेरिकी फौज फर्किरहेको समयमै तालिबानले देशभर आक्रमण बढायो । तालिबानको हातबाट एकपछि अर्को प्रादेशिक राजधानी तासको घरझैँ ढल्न थाले । सरकारी फौज तालिबानसँग आत्मसमर्पण गर्ने वा भाग्न थालेपछि अफगान राष्ट्रिय फौज तालिबानसँग हार्‍यो । १५ अगस्टमा काबुलस्थित केन्द्रीय सरकारसमेत ढल्यो । राष्ट्रपति असरफ गनी अफगानिस्तान छाडेर भागे । अन्ततः अमेरिकाले तोकेको समयसीमाभित्र उसको सेना तथा नागरिक देशबाहिर निकाल्न नभ्याउँदै अफगानिस्तानको सत्ता तालिबानको हातमा पुग्यो । देश छाड्न व्यग्र हजारौँ नागरिक काबुल विमानस्थलमा पुगे । अव्यवस्था बढिरहेकै समयमा २६ अगस्टमा आइएसको अफगान शाखा (आइएसआइएस–के)ले विमानस्थलको गेटमा आत्मघाती बम आक्रमण गर्दा १७० नागरिक तथा १३ अमेरिकी फौजको ज्यान गयो ।

जिम हुयलब्रोक/द न्युयोर्क टाइम्स

ब्रिटिस राजकुमार फिलिपको मृत्यु
बेलायतकी महारानी एलिजाबेथका श्रीमान् राजकुमार फिलिप ९ अप्रिलमा ९९ वर्षको उमेरमा बिते । सन् १९४७ मा उनी र भावी रानी एलिजाबेथ द्वितीयाबीच विवाह भएको थियो । यो जोडीको चार सन्तान– चाल्स, एन, एन्ड्र्यु र एड्वार्ड छन् । जनश्रुतिअनुसार विवाहअघि एलिजाबेथले उनका पितासँग फिलिप ‘उनले प्रेम गर्न सक्ने एक मात्र पुरुष’ भएको बताएकी थिइन् । दुईजना ७३ वर्ष विवाहित रहे । आफ्नो शाही भूमिकालाई सहजताका साथ स्विकारेका फिलिपले सन् २०१७ मा सार्वजनिक भूमिकाबाट अवकाश लिनुअघि झन्डै आठ सय परोपकार संस्थाको संरक्षकको भूमिका निभाएका थिए । 

एन्ड्र्यु टेस्टा/द न्युयोर्क टाइम्स

इथियोपियाको टिग्रेमा द्वन्द्व 
टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) शक्तिशाली भएकाले युद्ध टिग्रे क्षेत्रबाट छिमेकी अमहारा र अफार क्षेत्रसम्म फैलिएको छ । युद्धका कारण हजारौँ मानिस मरिसकेका छन् भने टिग्रे क्षेत्रमाथि लागू नाकाबन्दीले चार लाख मानिस भोकमरीको खतरामा छन् । झन्डै २० लाख मानिस युद्धबाट बच्न घर छाडेर भागेका छन् ।

एडुवार्डो सोटेरस/एपिएफ

स्वेज नहर अवरुद्ध
जापानी स्वामित्वमा रहेको १३ सय फुटको कन्टेनर जहाज इभर गिभन झन्डै एक हप्तासम्म स्वेज नहरमा फस्यो । नाविक तथा इन्जिनियर जहाजको जटिल उद्धार अभियानमा दिनरात खटे । कैयौँ टगबोट र खन्ने वाहनको दिनरातको मिहिनेतका कारण अन्ततः २९ मार्चमा जहाज पानीमा अगाडि बढ्यो । यसका लागि लगभग ११ लाख क्युबिक फिट माटो र बालुवा हटाउनुपरेको थियो । जहाज रोकिएको अवधिमा हरेक दिन व्यापारमा १० अर्ब डलरको क्षति भएको थियो । इजिप्टको सरकारले पछि इभर गिभन अड्किएको नहरको दक्षिणी भागलाई थप फैलाउने र गहिरो बनाउने घोषणा गर्‍यो । 

सिमा डियाब/द न्युयोर्क टाइम्स

जलवायु सम्मेलनमा ठोस कदमको माग
स्कटल्यान्डको ग्लास्गोमा ३१ अक्टोबरदेखि १३ नोभेम्बरसम्म २६औँ राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बद्ध पक्षको सम्मेलन (सिओपी २६) आयोजना भयो  । सम्मेलनको समयमा झन्डै १३० सरकार प्रमुख तथा हजारौँ कूटनीतिक प्रतिनिधिहरू जलवायु परिवर्तनसम्बन्धी चुनौतीको समाधानमाथि छलफल गर्न ग्लास्गोमा एक वर्ष ढिलो भेला भएका थिए । तर, कोभिड–१९ महामारीको कारण यो वर्ष पनि ढिलो मात्र सम्भव भयो । सम्मेलनले ६ नोभेम्बरलाई जलवायु न्याय दिवसका रूपमा मनाउने निर्णय पनि गरेको छ । झन्डै एक लाख मानिस जलवायु सुधारको पक्ष र विश्वनेताबाट ठोस कदम माग गर्दै ग्लास्गोको सडकमा प्रदर्शनमा उत्रिएका थिए । 

किएर्‍यान डोड्स/द न्युयोर्क टाइम्स

टेक्ससको गर्भपतनसम्बन्धी  नयाँ कानुन अनुमोदन
११ सेप्टेम्बरमा अमेरिकाको सर्वोच्च अदालतले पाँचविरुद्ध चार मतका आधारबाट टेक्ससको गर्भपतनसम्बन्धी कानुनलाई कार्यान्वयन हुन नदिने निर्णय सुनाउन अस्वीकार गर्‍यो । कानुनमा गर्भ रहेको ६ हप्तापछि गर्भ तुहाउन प्रतिबन्ध लगाइएको छ । साथै, यो कानुनमा गर्भपतन भएको उजुरी दिने अधिकार सबै व्यक्तिलाई दिएको छ । 

केन्नी होल्सटन/द न्युयोर्क टाइम्स

मार्दी ग्रासका लागि फरक मास्क
अमेरिकाको न्यु ओर्लियन्स राज्यमा विशेष रूपमा मनाइने मार्दी ग्रास सन् २०२१ मा कोरोना भाइरस महामारीका कारण नियन्त्रित रूपमा मनाइयो । कोरोना भाइरसको मध्यनजर मार्दी ग्रासका अवसरमा न्यु अर्लियन्समा निकालिने औपचारिक परेड रद्द भयो । सरकारी अधिकारीले यसपटक सामाजिक दूरी कायम राखेर उत्सव मनाउने योजना बनाएका थिए । त्यसपछि मास्क नलगाएका समूहले पर्व मनाएको भिडियो बाहिरिन थाल्यो । नगर अधिकारीले कारबाहीमा उत्रिएर खुलेका सबै बार बन्द गराए ।

इमिली कास्क/द न्युयोर्क टाइम्स

अनुवाद : श्रवण उप्रेती