• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
प्रा. डा. निरञ्जन पराजुली
२०७८ माघ १ शनिबार ०७:२४:००
विज्ञान प्रविधि

रसायनशास्त्रका नक्षत्रको अवसान

२०७८ माघ १ शनिबार ०७:२४:००
प्रा. डा. निरञ्जन पराजुली

प्राध्यापक डा. छविलाल गजुरेलको ८२ वर्षको उमेरमा पुस २३ गते निधन भएसँगै देशले एक कुशल कर्मयोगी रसायनशास्त्री गुमाएको छ । वि.सं २०२० सालमा त्रि–चन्द्र कलेजबाट प्राध्यापन सुरु गरी डा. गजुरेल २०५८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त हुनुभएको थियो ।

 

काठमाडाैँको कोटेश्वरमा वि.सं १९९६ मा जन्मिनुभएका गजुरेलको प्रारम्भिक शिक्षा भारतबाट आएका शिक्षकबाट आफ्नै घरगाउँमा भएको थियो । ती शिक्षकले पढाएको अंग्रेजी र गणित तथा देश–देशावरको कुराले डा. गजुरेल पढाइप्रति जागरुक हुनुभएको थियो । उहाँले पद्मोदय हाइस्कुलबाट विद्यालय शिक्षा पूरा गर्नुभयो । वि.सं २०१७ सालमा त्रि–चन्द्र कलेजबाट बिएस्सी पास गरेपछि ‘कोलम्बो प्लान’मार्फत छात्रवृत्ति पाएर एमएस्सी अध्ययन गर्न दक्षिण भारतको अन्नामलाई विश्वविद्यालयमा जानुभयो । त्यो समय नेपालमा एमएस्सी 
पढाइ हुँदैनथ्यो ।

 

भारतमा पढ्दा सुरुका दिनमा उहाँले तितो अनुभव सँगाल्नुभयो । ‘नेपालबाट आएको विद्यार्थीलाई के आउला भनेर सहपाठीहरू मलाई गिज्याउँथे । शिक्षकको पनि त्यही धारणा थियो ।’ केही महिनापछि क्लासटेस्टमा सर्वोत्कृष्ट अंक ल्याएपछि आफू शिक्षकको नजरमा राम्रो ठहरिएको बताउँदै डा. गजुरेल भन्नुहुन्थ्यो, ‘नेपालमा आइएस्सी र बिएस्सीमा विज्ञानका प्राक्टिकल नाम मात्रको हुन्थ्यो । मलाई भारतमा पढ्न जाँदा केही डर निश्चय लागेको थियो ।’ तर, विडम्बना दशकौँसम्म पनि त्रि–चन्द्रलगायत देशमा विज्ञान विषय पढ्नेको कथा बदलिएको छैन । नेपालमा विज्ञानका प्रयोगशालाको हविगत दक्षिण एसियामा नै नाजुक स्थितिमा छ । 

 

अन्नामलाईमा त्यति वेला नै रसायनशास्त्रका एक प्राध्यापकले अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयबाट पिएचडी गरेका रहेछन् । जसका कारण अन्नामलाईको पढाइमा अमेरिकी शैलीको प्रभाव रहेछ । त्यहाँ एमएस्सीमा रसायनशास्त्रका तीनै विधा (अग्र्यानिक, फिजिकल र अग्र्यानिक केमेस्ट्री) विद्यार्थीले अनिवार्य पढ्नुपर्ने नियम रहेछ । अर्थात् अन्नामलाई विश्वविद्यालयमा हाल त्रिभुवन विश्वविद्यालय वा भारतका अन्य विश्वविद्यालयमा जस्तो रसानशास्त्रको एक निश्चित विधामा एमएस्सी तहमा स्पेसलाइजेसन गर्ने प्रचलन रहेनछ । डा. गजुरेल पनि त्रिभुवन विश्वविद्यालयको एमएस्सी शैक्षिक कार्यक्रममा विधागत स्पेसलाइजेसन हटाएर अमेरिकी शैलीमा बदल्न चाहनुहुन्थ्यो तर सफल हुनुभएन । पिएचडी तहको अध्ययन अनुसन्धानबाट मात्र विधागत स्पेसलाइजेसन छुट्याउनुपर्ने प्राध्यापक गजुरेलको मान्यता थियो । त्रिविले समयमा यो कुरा नबुझ्दा हाल केमेस्ट्री विषय पढाउन प्लस टुदेखि एमएस्सीसम्म एकजना शिक्षकबाट हुने कामका लागि तीनजना नियुक्त गर्नुपरेको छ ।

 

वि.सं २०२० सालमा भारतबाट एमएस्सी गरेर नेपाल फर्केपछि त्रि–चन्द्र कलेजमा रसायनशास्त्रको लेक्चररको जागिर सुरु गर्नुभयो । त्यति वेलाका विभागीय प्रमुख प्राध्यापक प्रशन्नमान सिंह प्रधानले डा. गजुरेललाई अग्र्यानिक, फिजिकल वा इनअग्र्यानिक केमेस्ट्री कुन विषय पढाउन दिने निर्णय गर्न सकेनन् । त्रि–चन्द्र कलेजले भारतमा अध्ययन गर्दा डा. गजुरेलले रसायनशास्त्रका तीनै विधा (अग्र्यानिक, फिजिकल वा इनअग्र्यानिक केमेस्ट्री)मा स्पेसलाइजेसन गरेको पत्याएनन् । अन्योलकै बीच डा. गजुरेललाई फिजिकल केमेस्ट्री पढाउन तोकियो ।

 

अर्कोतर्फ एक वर्षपछि अर्थात् वि.सं २०२१ सालमा भारतको कर्नाटक विश्वविद्यालयबाट एमएस्सी गरेर फर्किएका सुरेशराज शर्माको सन्दर्भमा त्रि–चन्द्रमा यस्तो अन्योल रहेन । किनकि कर्नाटक विश्वविद्यालयले बेलायती शैलीमा एक निश्चित विधामा मात्र एमएस्सीमा विशेषज्ञता ज्ञान दिने रहेछ । त्यसैले डा. सुरेशराज शर्माले भारतमा पढेको विषय अर्थात् अग्र्यानिक केमेस्ट्री पढाउनुहुन्थ्यो त्रि–चन्द्रमा । यसबाट के बुझिन्छ भने ६ दशक अगाडि भारतमा अमेरिकी र बेलायती ढाँचामा पठनपाठन हुने रहेछ । स्मरण रहोस्, भारतले पछिल्लो समय बेलायती शैलीको उच्च शिक्षाका नीतिहरू परिवर्तन गर्दै अमेरिकी ढाँचामा बदल्दै छ । जसको सुरुवात आइआइटीबाट 
भएको बुझिन्छ ।

 

त्रि–चन्द्रको छानबिन समितिले डा. गजुरेलले एमएस्सीमा रसायनशास्त्रको तीनै विधामा विशेषज्ञता हासिल गरेको ठहर गरेपछि मात्र उहाँले पछि अग्र्यानिक केमेस्ट्री पढाउन पाउनुभयो । डा. गजुरेल त्रिविमा एमएस्सी कार्यक्रमका एक संस्थापक पनि हुनुहुन्छ । त्रिविले २०२२ सालमा त्रि–चन्द्र कलेजमा पहिलोपटक अग्र्यानिक केमेस्ट्रीमा स्नातकोत्तर पढाइ सुरु गरेको थियो ।

 

वि.सं २०२५ सालमा फुलब्राइट फेलोसिपअन्तर्गत उच्च शिक्षाका लागि उहाँ अमेरिका जानुभयो र वि.सं २०२९ सालमा युनिभर्सिटी अफ डेट्रोइटबाट अग्र्यानिक केमेस्ट्रीमा पिएचडी गर्नुभयो । अमेरिकाबाट फर्किंदा त्यहाँ पढाइ हुने केमेस्ट्रीका चर्चित कोर्सबुक सुटकेसमा नेपाल ल्याउनुभएको थियो । तिनै किताब ‘अग्र्यानिक केमेस्ट्री’–मरिसन एन्ड बोयड र ‘अग्र्यानिक केमेस्ट्री’–जेरी मार्च विगत चार दशकदेखि त्रिभुवन विश्वविद्यालयमा बिएस्सी र एमएस्सीमा पढाइ हुँदै आएको छ ।

 

वि.सं २०३० अघिसम्म नेपालमा रसायनशास्त्रमा भारतीय किताब नै पढाइ हुन्थ्यो । त्यसपछि बेलायतबाट पिएचडी गरेका प्रा. डा. धु्रवमान अमात्य र अमेरिकाबाट पिएचडी गरेका प्रा. डा. छविलाल गजुरेलको अग्रसरतामा त्रिविको पाठ्यक्रमलाई पश्चिमा ढाँचामा बदल्ने ऐतिहासिक काम भयो । नेपाल केमिकल सोसाइटीको पहिलो विधान उहाँले नै लेख्नुभएको थियो । विज्ञान र प्रविधिलाई समाजसँग जोड्नुपर्छ भन्ने मान्यता डा. गजुरेलको थियो । त्यसैले करुणाकर वैद्यसँग मिलेर उहाँले ‘नेपालका परम्परागत प्रविधि’ नामक पुस्तक लेख्नुभयो । वि.सं २०३६ सालको मदन पुरस्कार प्राप्त उक्त पुस्तकले नेपालमा प्रयोग भएका परम्परागत सीप र ज्ञानलाई विस्तार गर्न सहयोग पुर्‍यायो । यस विषयमा उहाँले जापानमा थप अनुसन्धान गर्नुभयो ।

समय पालनामा उहाँको आनी–बानी हाल पनि रसायनशास्त्रीबीच सर्वाधिक चर्चाकै विषय हुने गरेको छ । कक्षामा विद्यार्थीलाई बुझाउने क्षमता र प्रस्तुतिमा पनि उहाँ विद्यार्थीबीच सर्वाधिक रुचाइएको प्राध्यापक हुनुहुन्थ्यो विश्वविद्यालयमा ।

 

वि.सं २०४४ देखि २०४८ सम्म डा. गजुरेल राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव हुनुहुन्थ्यो । जति वेला विश्वविद्यालय अनुदान आयोग गठन भएको थिएन । शिक्षाको नीति बनाउने सबै काम त्यसै समितिले गथ्र्याे । त्यति वेला नै विद्यालय शिक्षा १२ कक्षासम्म हुने प्रारुप तयार भयो । ‘प्लस टु’सम्मको अध्ययन गाउँमा नै गर्नुपर्छ भन्ने उहाँको मान्यता थियो । त्यसलाई सरकारी नीतिमा समावेश गर्ने काम भयो । उहाँले ‘घरको मानो खाएर आँगनमा उच्च शिक्षा’ भन्ने नारा तय गरी उपत्यकाबाहिर उच्च शिक्षा कार्यक्रमलाई फैलाउन भूमिका खेल्नुभयो । पछिल्लो सरकारले त्यसैलाई आधार मानेर नयाँ ऐन–नियम तर्जुमा गरेपछि आज गाउँ–गाउँमा ‘प्लस टु’ खुलेका छन् । डा. गजुरेलमा अमेरिकी शिक्षाको गहिरो प्रभाव थियो । विश्वविद्यालयको स्नातक शैक्षिक कार्यक्रम त्यति वेला दुईवर्षे भएकोमा त्यसलाई चारवर्षे गराउने योजनामा हुनुहुन्थ्यो । केही वर्षपछि त्यो कार्यान्वयनमा आयो ।

 

डा. गजुरेल राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव हुँदा विज्ञानका हरेक क्षेत्रमा विशिष्टीकृत केन्द्रीय प्रयोगशाला स्थापना गर्ने प्रतिवेदन तयार गर्नुभएको थियो । नेसनल फिजिकल ल्याब, बायोलोजिकल ल्याब, नेसनल केमिकल ल्याब खोली विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषय उक्त प्रतिवेदनमा थियो । तर, सो प्रतिवेदन लागू भएन । डा. गजुरेलका अन्य दुई प्रसिद्ध अनुसन्धान प्रतिवेदन ‘नेपालको पोलिटेक्निक इन्स्टिच्युटको स्थापना, १९८६’ र ‘नेपालमा दूर शिक्षा, १९८९’ ले शिक्षा जगत्मा सकारात्मक प्रभाव पार्‍यो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) निर्माणमा प्रा. डा. गजुरेलको महत्वपूर्ण योगदान छ । उहाँले रोनास्टको ब्लू प्रिन्ट तयार गर्दा तत्कालीन समयमा निकै हलचल आएको थियो । उहाँसहित प्रा. डा. तीर्थराज श्रेष्ठ र प्रा. डा. सुरेशराज शर्माले नास्टको परिकल्पना गरेका थिए । पञ्चायतकालमा रानी ऐश्वर्यको हस्तक्षेपमा रत्नशमशेर जबरा रोनास्टको पहिलो उपकुलपति भएपछि डा. गजुरेलको संस्थापक उपकुलपति हुने सपना तुहिएको थियो । त्यसपछि पनि नास्टमा दरबार र राजनीतिक हस्तक्षेप कायम नै रह्यो । त्यसैले उहाँले पछि नास्टको प्राज्ञ बन्न अस्वीकार गर्नुभयो ।

 

प्राध्यापक गजुरेलमा अंग्रेजी, नेपाली र संस्कृत भाषामा गहिरो दखल थियो । ३८ वर्षे प्राध्यापनमा उहाँले सायदै कक्षामा नेपाली बोल्नुभयो । तीसको दशकमा त्रिविले नेपाली भाषामा विज्ञान पढाउने भनेपछि उहाँले प्रा. डा. मंगलादेवी मानन्धरसँग मिलेर नेपाली भाषामा केमेस्ट्रीका कोर्सबुक लेख्नुभयो तर पछि त्रिविले सो लागू गरेन र किताब उपयोगमा आएन । उहाँले ‘नेपाली बृहत् शब्दकोश निर्माणमा पनि सहयोग पुर्‍याउनुभएको थियो । उहाँ कर्ममा विश्वास गर्नुहुन्थ्यो । वि.सं २०४१ र २०४३ सालमा रसायनशास्त्र केन्द्रीय विभागको प्रमुख हुँदा १० बजेदेखि ५ बजेसम्म पूरा समय कार्यालयमा बस्नुहुन्थ्यो । उहाँ मिनेट पनि हिसाब गर्नुहुन्थ्यो कार्यस्थलमा । प्राक्टिकल कक्षामा उहाँ पूरा समय कक्षामा बस्नुहुन्थ्यो । समय पालनामा उहाँको आनी–बानी हाल पनि रसायनशास्त्रीबीच सर्वाधिक चर्चाकै विषय हुने गरेको छ । कक्षामा विद्यार्थीलाई बुझाउने क्षमता र प्रस्तुतिमा पनि उहाँ विद्यार्थीबीच सर्वाधिक रुचाइएको प्राध्यापक हुनुहुन्थ्यो, विश्वविद्यालयमा ।

 

त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रकाशन गर्ने जर्नलका संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो उहाँ । रसायनशास्त्र क्षेत्रमा अनुसन्धान गर्नेलाई प्रोत्साहन गर्न सात लाखको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गर्नुभएको छ । त्रिवि, रसायनशास्त्र केन्द्रीय विभागले हरेक वर्ष अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान कृति छापेका एकजना उत्कृष्ट अनुसन्धानकर्तालाई ५० हजार राशिसहित ‘प्रा. डा. छविलाल गजुरेल रसायन शास्त्र पुरस्कार’ दिने गरेको छ । उहाँमा श्रीकृष्ण प्रणामी धर्मप्रति गहिरो झुकाब थियो । यससम्बन्धी दुई दर्जन किताब पनि लेख्नुभएको छ र यसको प्रवद्र्धनका लागि सात लाख रुपैयाँको अक्षयकोष खडा गरी पुरस्कार स्थापना गर्नुभएको छ ।

 

उहाँले विज्ञान, प्रविधिलाई अध्यात्मिक ज्ञानसँग जोडेर ‘गरिमा’ मासिक, ‘समुदाय’ र अन्य राष्ट्रिय दैनिक पत्रपत्रिकामा धेरै लेख प्रकाशन गर्नुभएको छ । उहाँले विज्ञान र आध्यात्मसम्बन्धी ४३ वटा किताब लेख्नुभएको छ । वि.सं २०५८ सालमा त्रिवि सेवाबाट निवृत्त भएपछि प्राध्यापक गजुरेल कुनै पनि निकायमा विज्ञको रूपमा जानुभएन । आफू शिक्षण पेसा र अनुसन्धानमा दैनिक अपडेट नभएपछि विज्ञको रूपमा जानु पेसागत धर्मविपरीत हुने उहाँको ठहर थियो । नेपालको उच्च शिक्षामा यो उदाहरणीय मानक हो । अन्तमा रसायनशास्त्रको विद्यार्थीका रूपमा उहाँको प्राज्ञिक कर्मलाई बुझ्ने र विश्लेषण गर्न सके मात्र सच्चा श्रद्धाञ्जली हुन्छ ।