• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ ८ शनिबार ०७:५०:००
सम्झना

डाक्टरको जीवन : रौनक कि रोदन ?

२०७८ माघ ८ शनिबार ०७:५०:००

चिकित्सा पेसासँग दुईवटा (एकअर्कासँग बिलकुल मेल नखाने तर गम्भीर भएर सोच्न बाध्य तुल्याउने) तथ्य जोडिएका छन् : पहिलो, विश्वमा धेरै आम्दानी हुने जागिरको प्रायः सबै शीर्षस्थान विशेषज्ञ डाक्टरहरूले ओगट्ने गर्छन् । नेपालमा पनि नाम चलेका सीमित डाक्टरहरूको आम्दानी आकर्षक नै छ, भलै युवा डाक्टरहरू भने आर्थिक समस्या र सामाजिक सुरक्षाको अभावमा पिरोलिएका र प्रताडित होऊन् । दोस्रो, विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने पेसाकर्मीमा डाक्टर पहिलो नम्बरमा पर्छन् । न्युरो अस्पताल (बाँसबारी) मा कार्यरत एक क्षमतावान् र ठूलो सम्भावना बोकेका ३९ वर्षीय न्युरो सर्जनले केही समयअघि आत्महत्या गरे । एमबिबिएस पढ्दै गर्दा, मेडिकल प्राक्टिस सुरु गर्दै गर्दा, आवासीय चिकित्सक (रेसिडेन्ट डाक्टर) को रूपमा एमडी/एमएस गर्दै गर्दा र पछि विशेषज्ञ डाक्टर (कन्सल्टेन्ट) को रूपमा काम गर्दै गर्दा कामको जटिल प्रकृति, न्यून पारिश्रमिक र सेवा–सुविधा, अस्पतालको कमजोर व्यवस्थापन, असंवेदनशील व्यवहार आदि कारणले कतिपय डाक्टर मानसिक तनाव, मानसिक विक्षिप्तता (इमोसनल बे्रकडाउन), चरम निराशा र डिप्रेसनको सिकार भइरहेका हुन्छन् । यो लेखमा नेपालका चिकित्सकहरूसँग जोडिएका मूलतः दुइटा समस्यामाथि अध्ययन गर्न खोजिएको छ । पहिलो, नेपालमा युवा डाक्टरहरू (मेडिकल अफिसर, आवासीय डाक्टर र भर्खर कन्सल्टेन्ट प्राक्टिस सुरु गरेका डाक्टरहरू) को पारिश्रमिक र सेवा–सुविधा कति न्यायोचित छ ? दोस्रो, आमसर्वसाधारणको स्वास्थ्य सेवामा अहोरात्र खटिने यी युवा डाक्टर स्वयंको मानसिक र संवेज्ञात्मक स्वास्थ्य, व्यक्तिगत तथा व्यावसायिक जीवन र उत्प्रेरणाको अवस्था चाहिँ के–कस्तो छ ? उत्प्रेरणाको विषय युवा डाक्टर र समाजसँग घनीभूत रूपले जोडिएको तर सधैँ ओझेलमा परेको सवाल हो । 

 

समाजले सोचेजस्तो डाक्टरले खोजेको उत्प्रेरणा तलब मात्र होइन । तलबको रूपमा प्राप्त हुने रकमले मात्र उत्प्रेरित गर्दैन । अस्पतालको वातावरण, बिरामीकुरुवाले डाक्टरसँग गर्ने व्यवहार, स्वास्थ्य सेवा दिन आवश्यक उपकरणको उपलब्धता, डाक्टरले पर्याप्त आराम, परिवारलाई समय दिन पाएको छ वा छैन, डाक्टर मानसिक रूपमा विक्षिप्त हुँदा उसका लागि मनोवैज्ञानिक परामर्श र केही दिनको छुट्टी मिल्छ वा मिल्दैन भन्ने कुराहरू हेर्दा सामान्य लाग्छन् तर यसको असर गम्भीर छ । यी सवालको सम्बोधन नभएकै कारण अध्ययनशील र पेसामा भर्खर आएका प्रायः डाक्टर मानसिक तनावमा काम गर्न बाध्य छन् । हाम्रो स्वास्थ्य क्षेत्रमा युवा डाक्टरहरूसँग जोडिएका यी यस्ता सवाल हुन्, जसले तत्कालीन र दीर्घकालीन रूपमा नेपालको स्वास्थ्य क्षेत्रमा गम्भीर प्रभाव पार्ने देखिन्छ ।

 

पढ्दाको खर्च र डाक्टरको आम्दानी
चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि उपत्यकाभित्र ४० लाख र उपत्यकाबाहिर ४४ लाख रुपैयाँ शुल्क निर्धारण गरेको छ । एमबिबिएसका विद्यार्थीमध्ये २० प्रतिशतले पूर्ण छात्रवृत्तिमा र बाँकी ८० प्रतिशतले पैसा तिरेर पढिरहेका हुन्छन् । पाँच वर्षसम्म एमबिबिएस पढ्दा बस्न, खान, स्टेसनरी र अन्य प्रयोजनका लागि एउटा मेडिकल विद्यार्थीको झन्डै १०–१२ लाख रुपैयाँ अतिरिक्त खर्च भएको हुन्छ । त्यस्तै, एमडी/एमएस (पिजी) को शुल्क २३ लाख रुपैयाँ निर्धारण गरिएको छ । एमबिबिएस र एमडी/एमएस छात्रवृत्तिमा अध्ययन गर्नेहरूले अध्ययनपश्चात दुई–दुई वर्षको बोन्ड पनि पूरा गर्नुपर्ने हुन्छ । यसप्रकार, विशेषज्ञ डाक्टर बन्दासम्म पैसा तिरेर पढ्नेहरूको ८०–८५ लाख रुपैयाँ र झन्डै १२ वर्ष लागेको हुन्छ । अझ डिएम÷एमसिएच गर्ने हो भने त २५ लाख रुपैयाँ तिरेर थप तीन वर्ष पढ्नुपर्ने हुन्छ । 

 

एउटा डाक्टरले मेडिकल अफिसर रहँदा सरकारी अस्पतालमा सरकारको अधिकृत आठौँ तहबराबरको अर्थात् झन्डै ४० हजार मासिक तलब पाउँछ भने निजी अस्पताल वा क्लिनिकमा काम गर्नेले ३०–४० हजार रुपैयाँमा चित्त बुझाउनुपर्ने हुन्छ । आवासीय डाक्टरहरूले अध्ययन अवधिभर मेडिकल स्टिपेन्ड (भत्ता) को रूपमा सरकारी शिक्षण अस्पतालमा महिनाको ४० हजार र निजी शिक्षण अस्पतालमा २० हजार प्राप्त गरिरहेका हुन्छन् भने एउटा भर्खरको कन्सल्टेन्ट डाक्टरले ४०–५० हजारको हाराहारीमा तलब प्राप्त गरिरहेको हुन्छ ।

 

चिकित्सा पेसा अत्यन्त संवेदनशील, विशिष्ट र जटिल प्रकृतिको भएका कारण डाक्टरहरूले हरेक दिन उच्च भावना, उत्साह र सकारात्मक मनोदशामा रहेर सामान्यदेखि अति जटिल अवस्थाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने हुन्छ । त्यस्तै, चिकित्सा पेसा त्रुटिरहित हुनुपर्छ, किनकि यहाँ हरेक त्रुटिको मूल्य एकदमै महँगो पर्न सक्छ । त्यसैले सम्भव भएसम्मका सबै बाह्य र आन्तरिक उत्प्रेरणा उपलब्ध गराएर डाक्टरहरूलाई सधैँ पेसाप्रति उत्प्रेरित राखिरहनु राज्य, स्वास्थ्य संस्था र समाज सबैको साझा दायित्व हो । कुनै पनि पेसामा पारिश्रमिक र सेवा–सुविधाले बाह्य उत्प्रेरणाको रूपमा काम गरिरहेको हुन्छ । आज युवा डाक्टरहरूले प्राप्त गर्ने पारिश्रमिक र सेवा–सुविधा बजारको महँगी र खर्चको दैनिक आवश्यकताको तुलनामा अत्यन्त न्यून छ । उदाहरणका लागि बैंकमा कार्यरत एउटा कार्यालय सहयोगीले समेत औसतमा मासिक ४० हजार कमाइरहेको हुन्छ भने एउटा मेडिकल अफिसरले प्राप्त गर्ने मासिक पारिश्रमिक पनि ४० हजारकै हाराहारीमा हुन्छ । कार्यालय सहयोगी र मेडिकल अफिसर दुवैको काम आ–आफ्नो ठाउँमा सम्मानजनक छन् तर कामको प्रकृति, जोखिम, जिम्मेवारी र त्यो काम गर्नलाई आवश्यक शिक्षा र सीप सिक्न लागेको लागत, समय र मिहिनेतलाई आधार मानेर मूल्यांकन गर्ने हो भने कुनै देशमा एउटा बैंकको कार्यालय सहयोगी र मेडिकल अफिसरको पारिश्रमिक र सेवा–सुविधा झन्डै बराबर हुनु कत्तिको न्यायोचित होला ?

 

डाक्टरको विदेश पलायन
स्वास्थ्यकर्मी भनेका फ्रन्टलाइन वर्कर । कोभिड–१९ को स्वास्थ्य संकटले पनि डाक्टर, नर्स र अस्पतालको औचित्य, आवश्यकता र महत्व पुनर्पुष्टि गरिसकेको छ । त्यसैले डाक्टरहरूको पारिश्रमिक र सेवा–सुविधामा राज्यले गर्ने खर्चलाई खर्चको रूपमा भन्दा लगानीको रूपमा हेरिनुपर्छ । समस्या स्रोतको अभाव होइन, वितरणको हो । डाक्टरहरूलाई न्यायोचित ढंगले पारिश्रमिक र सेवा–सुविधा वितरण गर्न हाम्रो राज्य प्रणाली असफल भएकै हो । डाक्टरहरूको पारिश्रमिक, सेवा, सुविधा, अस्पताल व्यवस्थापन तथा यहाँको स्वास्थ्य प्रणाली कहीँ कतै चित्त बुझाउने ठाउँ नभएर आज भविष्यका आशालाग्दा र ठूलो सम्भावना बोकेका महाराजगन्ज शिक्षण अस्पताल, धरान, पाटन र अन्य शिक्षण अस्पतालका अब्बल एमबिबिएसहरू धमाधम युएसएमएलई र प्ल्याब गर्दै क्रमशः अमेरिका र बेलायत पलायन भइरहेका र हुने क्रममा छन् । डाक्टर उत्पादन गर्दा व्यक्ति, परिवार र समाजले गरेको लगानी बिदेसिएको छ । एकजना दक्ष डाक्टर पलायन हुनु भनेको नेपालजस्तो विकासशील अर्थतन्त्रका लागि करोडौँको क्षति हो । अझ नेपालमा उसले बचाउन सक्ने सम्भावित जीवनहरू त झनै अमूल्य छ । उदाहरणका लागि एउटा प्रसूति अस्पतालमा प्रसूति रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट र नर्स गरी तीनजनाको समूहले दिनमा ८–१० वटा प्रसूतिको अप्रेसन धानेको हुन्छ । उक्त समूहले वर्षमा झन्डै एक हजार दुई सयको हाराहारीमा अप्रेसनहरू गरेको हुन्छ, जसले गर्दा कैयौँ आमा र नवजात शिशु सम्भावित मृत्युबाट जोगिइरहेका हुन्छन् । अब आफैँ सोच्नुहोस्, यदि यी स्वास्थ्यकर्मीहरू देशबाट बाहिरिए भने त्यसले राज्यलाई कति घाटा पर्छ ?

 

डाक्टरको मानसिक स्वास्थ्य
कामको प्रकृति नै तनावपूर्ण र जोखिमपूर्ण हुने भएकाले डाक्टरहरू मानसिक समस्याको जोखिममा सधैँ रहन्छन् । एमबिबिएस पढ्दै गर्दा, मेडिकल अफिसरको रूपमा मेडिकल प्राक्टिस गर्दै गर्दा, रेसिडेन्ट डाक्टरको रूपमा शिक्षण अस्पतालमा भोक, निन्द्रा, आराम केही नभनी लगातार ३६ घन्टाको ड्युटी गरिरहँदा, कन्सल्टेन्ट डाक्टरको रूपमा रोग, जीवन र मृत्युलाई नजिकबाट साक्षात्कार गरिरहँदा, बजारमा प्रचलित डाक्टरहरूको न्यून पारिश्रमिक र सेवा–सुविधालाई लिएर चिन्तित भइरहँदा, जागिरको स्थायित्व खोजिरहँदा कुनै पनि वेला कुनै पनि डाक्टर मानसिक स्वास्थ्यको सिकार भइरहेको हुन सक्छ । डाक्टरहरूको मानसिक स्वास्थ्य एउटा सार्वजनिक चासो, चिन्ता र बहसको विषय हो । त्यसैले, विश्वमा डाक्टरहरूको मानसिक स्वास्थ्यबारे काफी शोध, अनुसन्धान भएका छन्, भलै नेपालमा त्यस्ता अध्ययन खासै भएका छैनन् । तर, हुनुपर्ने टड्कारो आवश्यकता भने देखिएको छ । अध्ययनहरूका अनुसार एक्लोपन, निराशा, खानपानमा गडबडी (इटिङ डिसअर्डर), रित्तोपनाको महसुस (बर्नआउट), मुड स्विङ, अनियन्त्रित रिस (एग्रेसन), डर (एन्जाइटी), कुनै पनि कुरामा पूर्णता खोज्नु, चिडचिडाहट (इरिटेसन), कुनै विषयप्रति अत्यन्त नकारात्मक धारणा राख्नु, भावनात्मक दूरी कायम गर्न खोज्नु (इमोसनल डिस्टेन्सिङ), आफूलाई दोषी करार गर्नु, कहिले भावुक त कहिले कठोर बन्न खोज्नु, मानसिक विक्षिप्तता, मानसिक तनाव, डिप्रेसन, अल्कोहल र लागुपदार्थको दुव्र्यसनमा फस्नु, आत्महत्याको विचार आउनु, आदिले बिगिँ्रदो मानसिक स्वास्थ्यतर्फ संकेत गरिरहेका हुन्छन् ।

 

अनेकन् अध्ययनका एउटै निष्कर्ष– तनावपूर्ण पेसा भएका कारण डाक्टरी पेसामा आत्महत्याको दर बढी हुन्छ । पुरुषभन्दा महिला डाक्टरमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी देखिन्छ । डाक्टरी पेसामा महिला सहभागिता बढ्दै गइरहेको सन्दर्भमा यो बडो चिन्ताको विषय हो । त्यस्तै, मेडिकलका विद्यार्थी र आवासीय डाक्टरहरू मानसिक स्वास्थ्य समस्याको उच्च जोखिममा रहने गरेको देखिएको छ । अध्ययनहरूले डाक्टरहरू मानसिक स्वास्थ्य समस्याको जोखिममा रहनु पछाडि तीनवटा कारणहरू औँल्याएका छन्– क्लिनिकल कारण, संरचनागत कारण र व्यक्तिगत कारण । डाक्टरहरू बिरामी, रोग, पीडा र मृत्युसँग दैनिकजसो साक्षात्कार भइरहनुपर्ने हुन्छ । त्यस्तै, बिरामी र उसका मानिसहरूले डाक्टरले त सबै रोग निको पार्न सक्छ भन्ने विश्वासका साथ डाक्टरबाट बढी नै अपेक्षा गरेका हुन्छन्, जसले गर्दा डाक्टरहरूमाथि बढी दबाब सिर्जना हुन्छ । कहिलेकाहीँ आफूले हेरेको कुनै बिरामीलाई बचाउन नसक्दा त्यसले डाक्टरलाई समेत विक्षिप्त तुल्याउँछ । त्यस्तैे कतिपय अवस्थामा बिरामीका मान्छेले डाक्टरहरूमाथि अशिष्ट र अभद्र व्यवहार गरिरहेका हुन्छन् । कहिलेकाहीँ त डाक्टरहरूमाथि भौतिक आक्रमण पनि भएको हुन्छ । यी र यस्तै क्लिनिकल कारणले डाक्टरलाई मानसिक स्वास्थ्य समस्यातिर धकेलिरहेको हुन सक्छ । संरचनागत कारणहरूअन्तर्गत लामो ड्युटी आवर, आराम र निन्द्राका लागि पर्याप्त समय नपाउनु, भद्रगोल अस्पताल व्यवस्थापन, कार्यस्थलमा हुने असहयोगहरू, सहकर्मी, नर्स र अन्य मेडिकल स्टाफहरूसँगका समस्याजनक सम्बन्धहरू, सिनियर डाक्टरहरूले गर्ने असंवेदनशील व्यवहारहरू आदि पर्छन् भने व्यक्तिगत कारणहरूअन्तर्गत डाक्टरहरूको आत्मालोचना गर्ने र काममा पर्फेक्सन खोज्ने स्वभाव, अत्याधिक बढी जिम्मेवारीबोध, भावनात्मक दूरी कायम राख्न खोज्ने प्रवृत्ति, आफ्नो नियन्त्रणबाहिरको अवस्थामा पनि आफूलाई दोषी करार गर्ने मनोवृत्ति आदि पर्छन् ।

 

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा डाक्टरहरूमा आत्महत्याको प्रवृत्ति खासै त्यति देखिँदैन, एकाध घटनाबाहेक । तर, पछिल्लो समय विशेषगरी युवा डाक्टरहरूमा डिप्रेसन र मानसिक तनावको समस्या भने बढेर गएको महसुस गर्न सकिन्छ । नेपालमा डाक्टरहरूको मानसिक स्वास्थ्यको विषयमा अब सोचविचार गर्नुपर्ने अवस्थाचाहिँ आएको छ, तर त्यो चिन्ताजनक बिन्दुमा नै पुगिसकेको अवस्था पनि होइन । नेपालमा युवा डाक्टरहरू मुख्यतया अत्यधिक कार्यबोझ, न्यून पारिश्रमिक र सेवा–सुविधा, सिनियर डाक्टरहरूबाट हुने मानसिक उत्पीडन (मेन्टल ह्यारासमेन्ट) र पेसेन्ट पार्टीले दिने अनावश्यक दबाब, धाकधम्कीले गर्दा मानसिक तनावमा रहेको महसुस गर्न सकिन्छ । अहिले पैसा कमाउनै पर्ने दबाबका कारण युवा डाक्टरहरू चिकित्सा पेसाप्रति बढी नै निराश भएको देखिन्छ । डाक्टर भएर पनि अपेक्षाभन्दा अत्यन्त न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था तथा डाक्टर भएपछि पनि पैसाका लागि घरपरिवारकै भर पर्नुपर्ने बाध्यताले उनीहरूलाई धेरै मानसिक तनाव दिइरहेको देखिन्छ । त्यस्तै, जागिरको स्थायित्वलाई लिएर पनि उनीहरू बढी चिन्तित देखिन्छन् । एकातिर निजी अस्पतालमा काम गर्दा उनीहरू आर्थिक शोषणमा परेका हुन्छन् भने अर्कातिर लोकसेवाले नियमित रूपमा सरकारी डाक्टरको लागि विज्ञापन खोल्न सकेको छैन र विज्ञापन माग गर्दा पनि आवश्यकताभन्दा एकदम कम संख्यामा मात्र विज्ञापन गरेको देखिन्छ । 

 

आवासीय डाक्टरका दुःख 
नेपालका अहिलेका सिनियर डाक्टर र प्राध्यापकहरूमा हामीले पनि धेरै दुःख गरेर आएको हो, त्यसैले तिमीहरूले पनि दुःखकष्ट झेल्नैपर्छ भन्ने मानसिकता हाबी छ, जसले गर्दा आवासीय डाक्टरहरू बढी कार्यबोझमा पर्छन् । नेपालका शिक्षण अस्पतालहरूमा आवासीय डाक्टरहरूले लगातार ३६ घन्टा लामो ड्युटी गर्नुपर्ने हुन्छ । उनीहरूसँग २४ घन्टामा एकचोटि राम्रोसँग खाना खाने फुर्सद पनि हुँदैन । विनाआराम र विनानिद्रा उनीहरू ड्युटीको दिनमा ‘गधा’ जसरी जोतिनुपर्ने हुन्छ । एउटै ड्युटीमा धेरै बिरामी हेर्नुपर्ने हुन्छ । महिनौँसम्म उनीहरू घरपरिवारबाट टाढा रहन्छन् र वर्षमा मुस्किलले २–४ दिन पनि बिदा पाउँदैनन् । मान्छेको एउटा अपेक्षा डाक्टरले ऊसँग मिठोसँग बोलोस् भन्ने हुन्छ । तर, उसलाई यो थाहा हुँदैन कि डाक्टर कस्तो अवस्थाबाट गुज्रेर बिरामीलाई जाँच्न आएको छ । विनम्रता भन्ने कुरा दुवै पक्षबाट झल्किनुपर्छ ।

 

त्यस्तै, कडा ड्युटी आवरका दौरान आवासीय डाक्टरहरूले सिनियर डाक्टरहरूबाट सकारात्मक उत्प्रेरणा र रचनात्मक पृष्ठपोषण पाउनुको सट्टा मानसिक उत्पीडन, गालीगलोज र हतोत्साहित व्यवहार चुपचाप सहनुपर्ने हुन्छ । जबकि उत्प्रेरणाका पछिल्ला सिद्धान्तहरूका अनुसार नकारात्मक उत्प्रेरणाभन्दा सकारात्मक उत्प्रेरणाले मानिसलाई काममा बढी जिम्मेवार र जवाफदेही बनाउँछ । त्यसैले आवासीय चिकित्सकहरूलाई नमिठो गाली गर्नुभन्दा दुई शब्द मिठो बोलिदिने र सकारात्मक पृष्ठपोषण दिने हो भने त्यसले एकातिर आवासीय चिकित्सकहरूको मनोबल उच्च हुन्छ भने अर्कोतिर ड्यटीमा उनीहरूको कार्य सम्पादन पनि राम्रो हुन्छ । त्यस्तै, आवासीय चिकित्सकहरूका लागि आफ्नो ड्युटी र पढाइलाई सँगसँगै लैजानु अर्को सकसपूर्ण कुरा हो । 

 

मैदानमा महिला डाक्टरहरू
चिकित्सा शिक्षा र डाक्टरी पेसामा महिलाहरूको प्रवेश उत्साहजनक हिसाबले बढ्दो छ । चुनौतीका चाङ, शारीरिक र मानसिक कठिनाइ झेल्दै विद्यार्थी, एमबिबिएस डाक्टर, आवासीय डाक्टर र विशेषज्ञ डाक्टरका रूपमा आफ्नो भूमिका प्रमाणित गर्न ती सफल छन् । महिला स्वभावैले बढी भावनात्मक हुन्छन् । तैपनि तिनले आफूलाई विचलित नगराईकन दिनरात नभनी बिरामीको सेवामा आफूलाई समर्पित गरेका हुन्छन् । शारीरिक/मानसिक हिसाबले कष्टपूर्ण हुने महिनाबारीको वेला पनि चिकित्सकीय धर्म पूरा गरिराखेका हुन्छन् । दुधे बच्चालाई समेत छाडेर बिरामीको सेवामा लागेका हुन्छन् । यसैले समाजबाट अझ सम्मान अपेक्षित रहन्छ । यथार्थमा अझै पनि हाम्रो समाजले महिला डाक्टरलाई त्यति विश्वास गर्न गाह्रो मान्छ, जति पुरुष डाक्टरलाई गर्छ । बरु पढाइ र ड्युटीको दौरान कतिपय अवस्थामा महिला डाक्टरलाई सकारात्मक विभेद गर्नुपर्ने हुन्छ, तर समाजको सोच र अस्पताल प्रणाली संवेदनशील देखिँदैन । एमडी गर्दै गर्दा एउटा महिला डाक्टरको उमेर ३० वर्ष कटिसकेको हुन्छ, जसपश्चात् स्वास्थ्य जटिलता पनि सुरु हुन थाल्छ । उमेर बढ्दै जाँदा गर्भधारणमै समस्या देखिनुका साथै सो उमेर समूहका महिला अनेकौँ स्वास्थ्य समस्याको जोखिममा हुन्छन् । बच्चा पाइसक्दा पनि ती महिला डाक्टर, जो अब आमा पनि हुन्, उनको पीडा आफ्नै छ । बालरोगबारे अध्ययन गरिरहेकी एकजना आवासीय डाक्टरको अनुभवअनुसार अस्पतालमा दिनरात अरू सबै बच्चाहरूको विकासक्रम (डेभलपमेन्टल माइलस्टोन) को सूक्ष्म मूल्यांकन गरिरहँदा आफ्नै दुधेबालकको वृद्धि हेर्न, ऊसँग खेल्न, बोल्न र रमाउन नपाउँदाचाहिँ मन खिन्न हुन्छ । ६ महिनासम्म आमाको मात्र दूध खुवाउनु भनेर सबै सुत्केरी महिलालाई सल्लाह दिइरहँदा ती महिला चिकित्सक स्वयं आफैँले आफ्नो बच्चालाई दूध खुवाउन नपाउँदा उनको मन कस्तो हुँदो हो ? यस्ता अनेकन् उदाहरण छन्, जहाँ बच्चा, आमा डाक्टर भएकै कारण मातृस्नेह र स्पर्शबाट वञ्चित हुनुपरेको छ । के महिला डाक्टरले सन्न्यास नै लिएर मात्र रेसिडेन्सी गर्न आउनुपर्ने हो त ? यदि बच्चाको हेरचाहको लागि पर्याप्त बिदा नै नदिने हो भने महिला आवासीय डाक्टरलाई गर्भवती हुनै नपाउने नियम ल्याइदिए भयो त ! 

 

डाक्टरको व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवन
डाक्टरको कमाउने, रमाउने उमेर पढाइमै बित्छ । अरूलाई बचाएको त छ तर आफ्नै जीवन जिउन पाएको हुँदैन । कतिपयले सोच्छन्, डाक्टर त बिरामी नै हुँदैनन् । ढाड, आँखाका रोग धेरै डाक्टरमा हुन्छन् । ज्ञान छ र पनि बिरामी छन् किनकि धेरैजसो डाक्टरले आफ्नै लागि समय दिन पाएका छैनन् । आवासीय डाक्टरलाई वर्षमा दुई–चार दिन मात्र छुट्टी मिल्छ, त्यो छोटो छुट्टी परिवार भेट्न जान काफी छैन । आफ्नै परिवारमा केही स्वास्थ्य समस्या आउँदा वा विषम घटना घट्दा पनि उसले परिवारलाई समय दिन पाएको हुँदैन । चिनजानका मान्छेले डाक्टरलाई जतासुकै र जुनसुकै वेला सामान्य स्वास्थ्य समस्याका कुरामा पनि सोधपुछ गरिरहेका हुन्छन् । कतै जमघट, भोजभतेर हुँदा पनि डाक्टरले आफ्नो पेसासँग सम्बन्धित कुराबाट मुक्त हुन पाउँदैन । कोभिड महामारी अहिले पनि बाँकी नै छ । एउटा डाक्टरले हरेक दिन अस्पतालमा बिरामीसँग साक्षात्कार गरिरहनुपर्छ । घरमा उसको पनि आफ्नो परिवार हुन्छ । यसरी डाक्टरहरू आफूसँगै परिवारको पनि जोखिम लिएर काम गरिरहेका हुन्छन् । राज्यले डाक्टरको त कोभिड बिमा गरेको छ, तर सँगै बस्ने परिवारको चाहिँ गरेको छैन । सेना, प्रहरीमा भर्ती भएको मान्छे पेन्सन पकाएर ३५–४० वर्षको उमेरमा रिटायर्ड हुन्छ । डाक्टरको करियर भने त्यो उमेरमा बल्ल सुरु भइरहेको हुन्छ । 

 

तनाव व्यवस्थापन र सुधारका उपायहरू
अहिले विद्यार्थी र आवासीय डाक्टरहरूलाई उच्च शिक्षण शुल्क र पेसाबाट आउने न्यून पारिश्रमिकले सबैभन्दा ठूलो मानसिक तनाव दिइरहेको छ । यो समस्याको समाधान मेडिकल अध्ययनको लागत घटाएर अनि डाक्टरहरूको पारिश्रमिक र सेवा–सुविधा बढाएर गर्न सकिन्छ । यी दुईवटै औजारलाई आवश्यकता, औचित्य र राज्यको आर्थिक सामथ्र्य हेरी चलाउनुपर्ने हुन्छ । ‘पिजी’ गर्दा आवासीय डाक्टरहरूले तीन वर्षसम्म अधिकांश समय अस्पतालमा ड्युटी गरेर बिताउने र शिक्षण अस्पतालले पनि अतिरिक्त लागत बहन गर्नुनपर्ने हुँदा आवासीय डाक्टरहरूबाट शुल्क लिनु न्यायसंगत देखिँदैन । स्वास्थ्य र शिक्षा नि:शुल्क गर्नुपर्छ भन्ने मुद्दा राजनीतिक रूपमै स्थापित हुँदै गइरहेको वर्तमान परिप्रेक्ष्यमा चिकित्सा शिक्षा निःशुल्क गर्नु आर्थिक र सामाजिक न्यायको सिद्धान्तअनुसार अपरिहार्य देखिन्छ । एकातिर, चिकित्सा शिक्षा नाफामूलकभन्दा पनि सेवामूलक क्षेत्र हो भने अर्कातिर आवासीय डाक्टरहरूकै भरमा शिक्षण अस्पताल चलेका हुन्छन् । पिजी पूर्णतया नि:शुल्क गर्ने, बरु सोबापत डाक्टरहरूले अनिवार्य रूपले दुई वर्षको बोन्ड अवधि पूरा गर्नुपर्ने व्यवस्था लागू गर्दा राज्यकोषमा अतिरिक्त आर्थिक भार सिर्जना गर्दैन र यो व्यवस्था समग्र स्वास्थ्य प्रणालीका लागि दीर्घकालीन हिसाबले हितकर पनि देखिन्छ । त्यस्तै, राज्यको आर्थिक क्षमता बढाउँदै एमबिबिएसमा पनि छात्रवृत्तिको कोटा क्रमशः बढाउँदै लैजान आवश्यक देखिन्छ । त्यस्तै, डाक्टर पढ्ने कुरामा राज्यले अनुदान, करमा छुट, पढ्ने क्रममा गरेको सेवाका लागि सम्मानजनक भत्ता, विनाधितो विद्यार्थी कर्जा सुविधा र अन्य सुविधाहरू दिनुपर्छ । 

 

आवासीय डाक्टरहरूका लागि ३६ घन्टाको लगातार ड्युटी न्यायोचित छैन, जसले काममा त्रुटि हुने जोखिम बढाउँछ । अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्ने हो भने विकसित देशका आवासीय डाक्टरहरूले १२–१४ घन्टाको ड्युटी गरिरहेका हुन्छन् । तत्काल गर्न सकिने सुधारअन्तर्गत ड्युटीको समयमा सबै आवासीय डाक्टरहरूका लागि अस्पतालभित्रै पोषणयुक्त खाना र आराम कक्षको व्यवस्था गर्न सकिन्छ । आवासीय डाक्टरहरूका लागि अस्पतालभित्रै वा वरपर आवास सुविधा र त्यो सम्भव नभए आवास भत्ताको व्यवस्था गर्न सकिन्छ । पछिल्ला अध्ययनहरूका अनुसार अस्पताल र स्वास्थ्य प्रणालीले प्रशासनिक बोझ कम गरेर, कार्यस्थलमा कार्यरत डाक्टरहरूलाई काममा बढी स्वायत्तता दिएर, जागिरको सुनिश्चितता कायम गरेर, डाक्टरले पाउने बिदामा सुधारहरू गरेर, काम र व्यक्तिगत जीवनबीचको सन्तुलनमा सुधारहरू ल्याएर र सकारात्मक उत्प्रेरणाहरू (रचनात्मक पृष्ठपोषण, हौसला र हेरचाह) प्रयोग गरेर मेडिकल विद्यार्थी, प्रशिक्षक डाक्टर र आवासीय डाक्टरहरूको पेसागत तनावलाई कम गर्न सकिन्छ भन्ने देखिएको छ ।

 

अन्य संवेदनशील पेसाहरूमा जस्तै डाक्टरको पनि काम गर्ने निश्चित घन्टा निर्धारण हुनुपर्छ । उदाहरणका लागि एउटा पाइलटको निश्चित कार्यघन्टा तोकिएको हुन्छ किनकि ऊ थाक्यो वा निदायो भने विमान दुर्घटना हुन सक्छ । त्यसरी नै एउटा डाक्टर थाक्यो भने बिरामीको ज्यानमाथि नै जोखिम बढ्न सक्छ । लामो ड्युटी आवरले दीर्घकालीन रूपमा डाक्टरको क्षमता र बिरामीको उपचारमा प्रभाव पार्छ । त्यसैले, डाक्टरले काम गर्न पाउने अधिकतम समय निर्धारण गरिनुपर्छ । 

 

सरकारी अस्पतालमा दरबन्दी कम वा दरबन्दी भए पनि विशेषज्ञ डाक्टरको अभाव र बिरामीको भिड बढी हुँदा एकै दिन एउटै टोलीले दिनभरमा १०–१२ वटासम्म गर्भवतीको सिजरिएन सेक्सन गर्न पर्ने अवस्था रहेको छ । यस्तो तरिकाले अस्पताल चलाउनु उचित हुँदैन । नियम बनाएरै डाक्टरहरूलाई पर्याप्त आराम गर्न लगाउनुपर्छ । दरबन्दी कम भए दरबन्दी थप्नुपर्छ । 

 

अहिलेका युवा डाक्टरहरूको मानसिक चिन्ता र दुःखको अर्को मुख्य कारण उनीहरूको अति भौतिकवादी सोच पनि हो । हिजोआज अक्सर भौतिक प्राप्ति/अप्राप्ति र दु:खकष्टलाई आधार बनाएर युवा डाक्टरहरू मानसिक हिसाबले खुसी वा दु:खी हुने गरेको देखिन्छ । तर, दु:ख, सुख र सन्तुष्टि भनेको आन्तरिकीकरण गर्ने वा अन्तरात्माले महसुस गर्ने कुरा पनि हो । हामी जति धेरै भौतिकवादी भएर सोच्छौँ, त्यति हाम्रो मानसिक चिन्ता बढ्दै जान्छ । त्यसैले, समस्यालाई आध्यात्मिक पाटोबाट सोच्ने हो भने त्यहाँ समस्याबीच पनि मनमा शान्तिको अनुभूति गर्ने ठाउँ हुन्छ । त्यसैले, डाक्टरहरूको मानसिक तनाव र दु:ख व्यवस्थापन गर्नका लागि आध्यात्मिक सोच र चिन्तन प्रणाली अर्को प्रभावकारी र वैज्ञानिक माध्यम हुन सक्छ । त्यस्तै, बिरामीको सेवा र स्वास्थ्य सेवा कर्मबाट सन्तुष्ट हुन सकियो भने पनि मनमा शान्ति छाउँछ । 

 

अन्त्यमा
डाक्टरहरू शारीरिक, मानसिक, मनोवैज्ञानिक र संवेज्ञात्मक हिसाबले स्वस्थ भए भने मात्र उनीहरूले प्रभावकारी ढंगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सक्छन् । त्यसैले डाक्टरहरूलाई बाह्य र आन्तरिक उत्प्रेरणाहरू दुुवैको अनुभूति गराएर स्वास्थ्य सेवाको कर्ममा प्रतिबद्ध र अविचलित राख्नु, उनीहरूलाई यथोचित हेरचाह र सम्मान प्रकट गर्नु राज्य, सरकार, समाज, स्वास्थ्य शिक्षाका नियामक निकायहरू, शिक्षण अस्पतालका प्राध्यापकहरू, अस्पताल व्यवस्थापन, घरपरिवार, साथीभाइ, सहकर्मी, पेसेन्ट र पेसेन्ट पार्टी सबैको उत्तरदायित्व हो । 

 

आखिर डाक्टर उत्पादनमा व्यक्ति, समाज र राज्यकै संयुक्त लगानी परेको हुन्छ । र, प्रतिफल पनि एकजनाले मात्र नपाएर व्यक्ति, समाज अनि समग्र राज्यले नै संयुक्त रूपमा उपभोग गरिरहेकै हुन्छ । त्यसैले, एकचोटि सकारात्मक भएर डाक्टरका समस्याहरूलाई बुझ्ने प्रयास गर्ने कि ! 

 

(डा. रितु यादव, आवासीय चिकित्सक (स्त्री तथा प्रसूति रोग), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन् र किरण दाहाल, नेपाल बैंक लिमिटेडमा कार्यरत छन् ।)