• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजेशमान केसी
२०७८ माघ ८ शनिबार ०७:५३:००
साहित्य

नोबेल पुरस्कार र वैज्ञानिक नोबेल

२०७८ माघ ८ शनिबार ०७:५३:००
राजेशमान केसी

नोबेल पुरस्कार हरेक वर्ष प्रदान गरिने विश्वको सर्वोत्कृष्ट र सम्मानित पुरस्कार हो । यो पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, अर्थशास्त्र, शान्ति र साहित्य विधामा विश्वव्यापी रूपमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिन्छ । यीमध्ये अर्थशास्त्रतर्फको पुरस्कार वैज्ञानिक नोबेलकै सम्झनामा स्विडिस केन्द्रीय बैंकले सन् १९६८ मा स्थापना गरी सन् १९६९ बाट प्रदान गर्न थालेको होे भने बाँकी अन्य विधाका सबै नोबेल पुरस्कार सन् १९०१ बाट नै प्रदान गर्न थालिएको हो । 


वैज्ञानिक नोबेलको पूरा नाम हो अल्फ्रेड वर्नहार्ड नोबेल । उनको जन्म सन् १८३३ को अक्टोबर २१ तारिखका दिन स्विडेनको स्टकहोममा भएको थियो । सानै उमेरदेखि वैज्ञानिक अध्ययन अनुसन्धानमा विशेष अभिरुचि राख्ने नोबेलको प्रारम्भिक शिक्षादीक्षा घरैमा भएको थियो । उनका पिता इन्जिनियर भएको हुँदा नोबेललाई आप्mनो पिताबाट अनुसन्धानसम्बन्धी मूलभूत कुराको जानकारी हासिल गर्न सजिलो परेको थियो । रसायनशास्त्रका अत्यन्त जेहेनदार छात्र मानिने नोबेल १६ वर्षको किशोरावस्थामै स्विडिसका अतिरिक्त अंग्रेजी, फ्रेन्च, जर्मनी, रसियन आदि भाषाहरूसमेत राम्रोसँग बोल्न र लेख्न सक्थे । वैज्ञानिक अनुसन्धानका क्रममा सन् १८४२ मा नोबेल आफ्ना पितासँग स्टकहोमबाट रुसको सेन्टस पिटर्सबर्ग (लेनिनग्राड) तर्फ लागेका थिए । केही वर्ष सेन्टस पिटर्सबर्गमा बिताएपछि सन् १८५० मा उनी त्यहाँबाट एक्लै फर्के । त्यसपछि उनले एक वर्ष फ्रान्सको राजधानी पेरिसमा र करिब चार वर्षसम्म संयुक्त राज्य अमेरिकामा रही रसायनशास्त्रसम्बन्धी अध्ययन गरे । अध्ययनपछि पुनः पिटर्सबर्ग फर्केर नोबेलले आफ्नै पिताद्वारा खोलिएको एक प्रयोगशालामा काम गर्न थाले । तर, सन् १८५९ मा यथोचित साधनस्रोतको अभावमा सो प्रयोगशाला बन्द हुन पुग्यो । 


यस विफलतापछि नोबेलका बाबुछोरा पुनः स्विडेन फर्के र त्यहाँ नोबेलले विभिन्न विस्फोटक पदार्थको प्रयोगसम्बन्धी कार्यका लागि एउटा अर्को कार्यशाला स्थापना गरेर ‘नाइट्रोग्लिसरिन’ नामक विस्फोटक पदार्थ बनाउन आरम्भ गरे । दुर्भाग्यवश सन् १८६४ मा एक दिन त्यस वर्कसपमा भीषण आगलागी हुन पुग्यो । नाइट्रोग्लिसरिन अकस्मात विस्फोटनका कारण भएको सो दुर्घटनामा नोबेलका कान्छा भाइलगायत अन्य चारजनाले समेत ज्यान गुमाउनुपरेको थियो । सो दुर्घटनाका कारण स्विडेन सरकारले नोबेलका बाबुछोरालाई वर्कसप पुनस्र्थापना गर्न अनुमति दिएन र केही समय नोबेल ‘पागल वैज्ञानिक’ भन्ने नामले समेत बदनामी हुन पुगेका थिए । यो घटना भएको एक महिना पनि बित्न नपाउँदै नोबेलका पितालाई पक्षघात भयो । यस दुःखद परिस्थितिले नोबेललाई एक्लो तुल्यायो । नोबेलले नर्वे र जर्मनीमा आप्mनै कार्यशाला स्थापना गर्ने योजना बनाएका थिए । तर, नाइट्रोग्लिसरिनको अकस्मात विस्फोटन हुने गुणमा वाञ्छित सुधार गर्न नपाएकाले उनको यो योजना पनि पूरा हुन सकेन । 

 

यसरी एकपछि अर्को गर्दै नोबेलको जीवनलाई अनेकन समस्याले घेर्न थाले । तर, उनले हिम्मत भने हारेनन् । आफ्नो  निरन्तरको संघर्षबाट कहिल्यै हरेस नखाने नोबेल सन् १८६७ मा आएर डायनामाइट नामक एक अति नै महत्वपूर्ण विस्फोटक पदार्थ पत्ता लगाउन सफल भए । नोबेलको यो विस्फोटक नाइट्रोग्लिसरिन पदार्थमा नै आधारित थियो । निकै शक्तिशाली मानिएको यस विस्फोटक पदार्थको आविष्कारपछि नोबेलले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन थाले । यस सफलताबाट आत्मविश्वास बढेपछि नोबेलले सन् १८७७ मा बेलिस्टाइट नामक एक अर्को विस्फोटक पदार्थको पनि खोजी गरे । यो पनि नाइट्रोग्लिसरिनकै एक किसिमको धुवाँरहित पाउडर थियो, जुन पाउडरलाई कतिपय देशले बारुदका रूपमा समेत प्रयोग गर्न थालेका थिए । यी विस्फोटक पदार्थहरू विशेषगरी पहाडी क्षेत्रमा सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणका साथै सैनिकले युद्धमा हतियारका रूपमा समेत व्यापक प्रयोग गर्न थालेपछि यसको व्यापार पनि प्रशस्त मात्रामा हुन थाल्यो । 

नोबेलका आविष्कार दुरुपयोग हुन गई विश्वमा ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि उनलाई ठूलो पश्चात्ताप र आत्मग्लानि भयो । जसले गर्दा उनमा आफ्नो जीवनकालमा आर्जन गरेको सबै सम्पत्ति मानवहितको काममा लगाउने इच्छा जागृत भयो ।

 

यिनै आविष्कारले गर्दा नोबेलले आफ्नो  जीवनकालमा प्रशस्त नाम र दाम पनि आर्जन गरे । तर, पछि डायनामाइटजस्ता विस्फोटक पदार्थहरूको प्रयोगले युद्धमा एकैपटक सयौँको नरसंहारसमेत हुन थाल्यो । जसले गर्दा विश्वमा ठूलो जनधनको क्षति पनि हुन पुग्यो । हुन त नोबेलले आफ्ना सबै विस्फोटक पदार्थहरूको आविष्कार मानवीय हित र उपयोगिताको भावनाले अभिप्रेरित भएर नै गरेका थिए । तर, उनका यी आविष्कारहरू दुरुपयोग हुन गई विश्वमा ठूलो मात्रामा जनधनको क्षति हुन थालेपछि उनलाई ठूलो पश्चाताप र आत्मग्लानि महसुस हुन थाल्यो । जसले गर्दा उनमा आफ्नो  जीवनकालमा आर्जन गरेको सबै सम्पत्ति मानवहितको काममा लगाउने इच्छा जागृत भयो र सोहीअनुरूप उनले आफ्नो  मृत्यु हुनुभन्दा एक वर्षअघि अर्थात् सन् १८९५ मा आफ्नो  सबै सम्पत्ति मानवीय हित र विकासका लागि विविध क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गरी सदुपयोग गर्न इच्छापत्रमा लेखिदिएका थिए । 

 


वैज्ञानिक नोबेलको सोही सदिच्छाअनुसार सन् १८९७ मा ‘नोबेल फाउन्डेसन’ नामक संस्थाको स्थापना गरी उनीबाट प्राप्त सबै सम्पत्ति (त्यतिखेर उनले आर्जन गरेको अमेरिकी डलर करिब ४१ करोड ८६ लाख) यस फाउन्डेसनको नाममा जम्मा गरी नोबेल पुरस्कारको लागि आवश्यक सम्पूर्ण रकमको खर्च व्यवस्थापन यसै संस्थामार्फत गर्ने गरिएको छ । तर, अर्थशास्त्रतर्फको पुरस्कार रकम भने वैज्ञानिक नोबेलकै स्मृतिमा स्विडेनको केन्द्रीय बैंकमार्फत व्यहोर्ने अथवा प्रदान गर्ने गरिएको छ । पुरस्कार प्राप्त गर्ने वैज्ञानिक व्यक्तित्वहरूको घोषणा भने अक्टोबर महिनामा नै सम्पन्न गर्ने गरिन्छ । जसअनुसार नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लो विश्वविद्यालयमा अवस्थित सभाकक्षमा र बाँकी अन्य विधाका पुरस्कार स्विडेनको स्टकहोममा अवस्थित कन्सर्ट हलमा प्रदान गर्ने गरिएको छ । 


नोबेल शान्त र एकान्तप्रेमी थिए । उनी आजीवन अविवाहित नै रहे । त्यसो त उनले आफ्नो  जीवनको धेरै वर्ष रोगग्रस्त भएर पनि बिताउनुपर्‍यो । अन्ततः सन् १८९६ को डिसेम्बर १० तारिखका दिन इटलीको सेनरेमोमा ६३ वर्षको उमेरमा उनको निधन भयोे । यिनै प्रतिभाशाली वैज्ञानिकको स्मृतिमा हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वकै अत्यन्त प्रतिष्ठित र सम्मानित मानिने नोबेल पुरस्कार प्रदान गर्ने गरिएको छ । नोबेल पुरस्कारअन्तर्गत नगद रकमको साथमा एक स्वर्ण पदक र प्रमाण–पत्र पनि प्रदान गरिन्छ भने पुरस्कार सामान्यतया जीवित रहेका वैज्ञानिक व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।

(लेखक नास्टका सेवानिवृत्त वरिष्ठ प्रवद्र्धन अधिकृत हुन् ।)