• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
झलक सुवेदी
२०७८ माघ ८ शनिबार ०७:५७:००
साहित्य

पूर्वी पहाडबाट एउटा कोसेली

२०७८ माघ ८ शनिबार ०७:५७:००
झलक सुवेदी

आफ्नो समय नै सबैका लागि सबैभन्दा बलशाली मार्गदर्शक हो । आफ्नै समयसँग अन्तक्र्रिया गर्दै हुर्किनु, पौँठेजोरी खेल्दै आजीविका र करियरको बाटो समात्नु, आन्दोलन, बहस, क्रान्ति र प्रतिक्रान्तिमा सहभागी हुनु, रंगरस, माया पिरती, परिवारको सांसारिक मायाजालमा मगनमस्त बन्नु या रागी–बैरागी कर्म गर्नु समाज र समयसँगै मान्छेले गर्ने अन्तक्र्रियाका परिणाम हुन् । माक्र्सेली अवधारणाले मान्छेको विचार जे–जस्तो बन्छ, त्यो उसको चेतनाभन्दा बढी भौतिक परिस्थितिको उपज, उत्पादन प्रक्रियामा सहभागिताको उपज, समाजसँगको अन्तक्र्रियाको परिणामलाई मान्छ । अर्थात् समय भन्नु नै आफ्नो वरपरको भौतिक सामाजिक परिस्थितिको समग्र नाम हो ।


 समकालीन नेपाल अनेकवली परिवर्तनका सुनामी व्यहोर्दै अघि बढेको छ । आर्थिक क्षेत्रमा खासगरी जमिनी तहमा आइरहेका परिवर्तनले परिवार, समाज र व्यक्तिको संगठन भत्काइरहेको छ । के गरौँ कसो गरौँ बनाइदिएको छ । यसबीचमा भएका राजनीतिक आन्दोलन र विद्रोह या क्रान्ति तथा अर्थतन्त्रमा आइरहेका परिवर्तनले सन्तानलाई बाबुबाजेको या आमा–हजुरआमाको जस्तो जीवनको निरन्तरता दिन असम्भव बनाइदिएको छ । एकथरीलाई उत्साह र अवसर छ, समात्न थाप्न जानेकाहरू छन् । अर्काथरीलाई निराशा छ, असन्तोष र विद्रोहको खोजी छ । यी सबै कुरा व्यक्तिको स्वतन्त्र छनोटका मात्र विषय होइनन् ।


सम्पन्नताले जन्मिँदै साथ दिएका या शक्तिको खेल खेल्न जान्नेहरूका लागि जहिले पनि समय अनुकूल छ । जीवनका केही उतारचढावबाहेक दैनिक कार्यव्यापारमा उनीहरूलाई अभावको पीडा, विभेदको पीडा र भविष्यको पीडाबोधले सताउँदैन । तर, जो अभावमै जीवन आरम्भ गर्छ, अभावसँगै जुध्दै अघि बढ्न खोज्छ र विभेदलाई आत्मानुभूत गरेर दुवैबाट स्वतन्त्रता खोज्न तम्सिन्छ, त्यसका लागि विद्रोह अनिवार्य बन्छ । अवश्य पनि बीचमा एउटा खैरो घेराको पंक्ति हुन्छ, जसलाई विद्रोह अनिवार्य बन्दैन, विभेद थेग्न सकिने तहमा मात्र बुझ्दा पनि फरक पर्दैन । समाज यी तीनैथरीको संघर्ष र एकताले बनेको छ । कहिले संघर्ष प्रधान बन्छ, कहिले एकता । 


यस्तो समाजको आममान्छेका सपना र सम्भावनाको सिमाना यही संघर्ष र एकताको जन्जालले तोकिदिएको हुन्छ । नेपाली साहित्यमा पछिल्लो समय यी अवस्थाले सिर्जना गरेका मनोसामाजिक प्रभावहरू मज्जाले प्रतिबिम्बित भएका छन् ।समकालीन नेपाल, पछिल्लो चौथाइ शताब्दीको सेरोफेरोको नेपाल हो । माओवादी विद्रोह, दरबार हत्याकाण्ड, संकटकाल, ज्ञानेन्द्रको अधिनायकवादी शासन, जनआन्दोलन, पहिचानको आन्दोलन, गणतन्त्र र संविधान । यसैका वरपर नेपालले अनेक भित्री–बाहिरी खेलहरू व्यहोरेको थियो । आन्तरिक रूपमा माओवादी र राज्यसत्ता, सात दल र दरबार, सात दल–माओवादी गठबन्धन र दरबार, मधेस या सीमान्त क्षेत्रहरू र काठमाडाँै तथा परम्परागत सत्तासीन सम्भ्रान्तहरू र व्यापक रूपमा अभाव र गरिबीमा परेको आमनागरिक जस्ता प्रतिध्रुवहरूबीच विभिन्न कोणका संघर्ष थिए । त्यसभित्र कतिपय ठाउँमा स्थानीय जनता र माओवादीबीच संघर्ष, जनताकै भिन्न–भिन्न हिस्साबीच संघर्ष (पहाड र मधेस, थारू र पहाडी, कतिपय समयमा जनजाति र खसआर्य, हिन्दूवादी र धर्मनिरपेक्षतावादी) जस्ता आमसंघर्षका साइडइफेक्ट देखिएका थिए । 


वसन्त बस्नेतले ‘महाभारा’मा यी सबै पक्षलाई उधिनेका छन् । आफ्नो राय दिन पनि पाठकलाई स्वतन्त्र छाडेका छन् । सेक्मुरी चाहेर लारुम्बा पसिन् । डुक्पा जन्मकै कारणले पढाइ अघि बढाउन नसक्ने भएको होइन । कटकहरूले विद्रोहको बाटो यत्तिकै समातेका होइनन् । मेरिनाले बन्दुक रहरले समातेकी होइन । तान्छोहाङ बाबुको कारणले यो झञ्झावातमा मिसिन पुगेको छ । डुक्पा, मेरिना, सेक्मुरी र तान्छोहाङ सबै सामान्य जीवनमा फर्किन चाहन्छन् । सबै कतै न कतै आफ्नो वरपरको परिवेशले बेरिएका छन् ।


‘महाभारा’ पूर्वी पहाडमा लमतन्न परेको केही सीमा कोरेको, मान्छेको जीवनलाई या समाज अथवा गाउँलाई वल्लो–पल्लो भेकमा बाँडेर पसारिएको एउटा डाँडो हो प्रकृतिका दृष्टिले । सँगै यो उपन्यासका सन्दर्भमा एउटा पहाडे जीवनको बिम्ब पनि हो आफूभित्र अटाइ–नअटाइ गुराँस, चाँप, उत्तिस, कटुसका बोटसँगै सेक्मरी र मिक्चिरी फूलका घारी पालेर बसेको । अर्थात्, जीवन र मृत्यु, सुख र दुःख, गरिबी र सम्पन्नता, सन्तोक र सन्ताप, उकाली र ओरालीजस्ता जीवनका सनातन मूल्य या सीमाभित्र मान्छेलाई कैद गरिबस्ने परिस्थितिको बिम्ब । यो उपन्यास मुख्यतः इलाम र पाँचथरका साँधवरपर छरिएर बसेका लिम्बूहरूको समाज, संस्कृति र तिनका स्थाननाम विशेषबाट पहिचानसमेत बोकेका र त्यसमा मिसिन आइपुगेको गैरलिम्बूहरूले पनि अपनाएको लिम्बूपाराको कथा हो । मुख्यपात्र डुक्पा बौद्धधर्म परम्परा भएको परिवारको सदस्य हो । कटक र साक्सोहाङ लिम्बू किराँतहरू हुन्, माओवादी विद्रोहमा लागेका । लारुम्बा धार्मिक राजनीतिको एउटा विद्रूप बिम्ब हो ।


उपन्यासमा हिरो भन्नलायक कटक साङपाङ छ, जो पहिले एमाले र माले हुँदै देखिएका सपना पूरा गर्न माओवादी भएर युद्धमा सामेल छ । मलाई भने कटकचाहिँ रत्नकुमार वान्तवाकै उत्तराधिकारीजस्तो लाग्यो । वान्तवा नेपालमा पहिलोपटक मैले सुनेका कम्युनिस्ट क्रान्तिकारी सहिद थिए, मैले उनलाई उनको मृत्युपछि तत्कालीन नेकपा मालेको मुखपत्र ‘वर्ग संघर्ष’को पहिलो अंकमा देखेको थिएँ । उनका विचार र खासगरी छापामार युद्धको तयारी गरिरहेको उनको लडाकु भावनाबाट प्रभावित भएको थिएँ । वसन्त पनि उनकै गाउँ छेउछाउका त हुन् ।


उपन्यासकी नायिका लेखकले सेक्मुरी फूलसँग नाम साटिदिएकी सुक्मती छे लिम्बू परिवारकी । डुक्पा डान्स र पालम हेर्दै गाउँदै स्कुले उमेरमा प्रेममा परेकी छे । उपन्यासमा नायक बनाइएको डुक्पावरपर चक्कर काटिरहन्छ । लेखकका बाल्यकालका चञ्चल दिनहरू, किशोर वयमा यसै आँखामा आइबस्ने मायालु कल्पनाहरू र पहाडको जीवनका अनेक बाध्यताहरूसँग मिसिएर लेखकले देखेको महाभाराका कठिनता यसमा उनिएका छन्, डुक्पामा समाहित भएर । लिम्बू समाजको लाहुरसँगको सम्बन्ध झल्काउने पात्रहरू छन् सहयोगीका रूपमा ।

पछिल्लोपटक पढिएकोमध्ये मन परेको र राम्रो उपन्यास हो, ‘महाभारा’ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले किरात क्षेत्रको, श्याम शाहको ‘अब्बा’ र ‘पथेर’ले मध्य–तराईको र नवीन विभासको ‘रोल्पा सुइना’ले अठार मगरातको माटोको सुगन्ध देशभर छरेझैँ वसन्तको ‘महाभारा’ले इलाम पान्थरको माटोको सुगन्ध बोकेको छ ।


एउटा प्रतिध्रुवमा मिङ्सो छ, जो पञ्चायती राजनीतिदेखि आफ्नो राजनीतिक महत्वाकांक्षा समन गर्न लिम्बू पहिचानको पक्षधर बन्दै जान्छ र अहिले लारुम्बाका धर्मगुरु र उनको संगठनलाई उपयोग गरिरहेको छ । माओवादी सशस्त्र संघर्ष र राज्यका बीच टक्कर बढ्दै जाँदा बीचमा जम्काभेट हुन्छ, लारुम्बाको धार्मिक पन्थ र माओवादीहरूका बीच । दुवैतिर प्रमुख भूमिकामा छन् लिम्बूहरू नै । किराँतहरू नै बाँडिएका छन्, जोसमनी सन्त परम्परा, क्रिस्चियानिटी र माओवादका अनुपालकका रूपमा । 


उपन्यासमा एकैपटक धेरै द्वन्द्व देखाइएका छन् । लारुम्बाको फल्गुनन्द मठसहितको धार्मिक समूह र माओवादीबीच प्रभावका लागि संघर्ष, राज्य र माओवादीबीच सत्ताका लागि युद्ध, विनामेसै र पूर्ण आस्था र विश्वासविना नै माओवादीमा लागेर दाजु, छिमेकी, स्कुले साथी र प्रेमिकाबाट टाढिन पुगेको डुक्पाले आफैँसँग गरिरहेको द्वन्द्व । यद्यपि सबै द्वन्द्वको निकास नदिईकनै उपन्यास सकिएको छ । 


यसमा केवल सन्देश छ कि यस्ता द्वन्द्वले महाभारा वरपरको शान्त समाज, स्वच्छन्द प्रेम र पालममा रमाइरहेका युवा–युवतीको जीवन तथा विद्यालयको शिक्षा, रनवनमा चहारी हिँड्ने गोठाला खेतालाको जीवन सबैलाई नराम्ररी भत्काइदिएको छ । यसको अन्त्य जरुरी छ । प्रेमी बेपत्ता भएको र घरमा माओवादीले लुटपाट गरेपछि बिरक्तिएर लारुम्बामा गएर भिक्षुणीको जस्तो जीवन बिताइरहेकी सुक्मती, प्रेमीका र पढाइ दुवै छाडेर ट्रक ड्राइभर बन्ने सपना लिएर एक्कासि मधेस झरी हराएको र पछि माओवादीको पछि लाग्दा परिबन्दले युद्धको दावानल व्यहोर्दै पार्टी छाडेर भागेको डुक्पालाई महाभाराको प्राकृतिक काखमा ल्याएर मिलन गराएपछि उपन्यास सकिएको छ ।


पछिल्लोपटक पढिएकोमध्ये मनपरेको र राम्रो उपन्यास हो ‘महाभारा’ । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ले किरात क्षेत्रको, श्याम शाहको ‘अब्बा’ र ‘पथेर’ले मध्य तराईको र नवीन विभासको ‘रोल्पा सुइना’ले अठार मगरातको माटोको सुगन्ध देशभर छरेझैँ वसन्तको ‘महाभारा’ले इलाम पान्थरको माटोको सुगन्ध बोकेको छ । ठेट लिम्बुवानी भाषा, संस्कार र संस्कृतिलाई मज्जाले समातेको छ । पढ्नेलाई एकपटक त्यताको पहाडमा घुमिरहेजस्तो लाग्छ, फेरि एकपटक जाऊँ–जाऊँ लाग्छ । केही संवाद र हँसीमजाकसहित उपन्यासले अन्तसम्म पाठकलाई तानिरहन्छ ।


उपन्यासले साठीको दशकको वरपर नेपालमा भएको राजनीतिक संघर्षको अर्थवत्तालाई स्विकार्न सकेको छैन । अर्थात त्यस्तो संघर्षले शान्त र प्रेमिल पहाडी समाजलाई पिडामात्र दियो भन्ने सन्देश दिन्छ । जवकी स्वयं वसन्त नेपालमा भएका आन्दोलनमा उत्पिडित जाती, भाषा, संस्कृतिका पक्षमा देखिन्छन् । तर उनले उपन्यास जता लगेर विसाएका छन् त्यहाँ भने उनी एकोहोरो शान्ती खोज्ने मध्यमवर्गिय वर्ग निरपेक्ष चिन्तनको शिकार भएका छन् । डुक्पामा जे जस्तो प्रकारको दोधार देखिन्छ त्यसमार्फत यी द्धन्दहरू हेर्दा आउने निष्कर्ष पनि यस्तै हुने हो । यसैगरी उनको उपन्यासले महिलाहरूले, दलितहरूले या पहिचान र अधिकार खोजेकाहरूले परम्परागत मुल्य र व्यबस्थासंग सम्झौता गरेर समाज व्यबस्थाको निरन्तरता ठिक मान्नु पर्छ भन्न खोजेको जस्तो लाग्छ । मेरो विचारमा उपन्यासको मुख्य कमजोरी पनि यहि हो । यो कमजोरीका वावजुद उपन्यासले नेपाली समकालिन साहित्यमा आफ्नो अलग पहिचान या छाप छाड्ने पक्का छ ।


वसन्त वस्नेत समकालिन नेपालका जल्दावल्दा सक्रिय पत्रकार हुन् । साहित्य डवलीदेखि राजनीतिक आन्दोलनहरूसम्म कहिँ वहसमा कहिँ रिपोर्टिङमा सामेल भएर उनले गरिरहेका कार्यहरू आफैमा समय सम्वादका उर्जा बनेका छन् । केही वर्ष अघि मात्र ननफिक्सनका रूपमा ‘७२ को विष्मय’ लिएर पाठक सामु उपस्थिती जनाएका वसन्त यसपटक उपन्यासकारका रूपमा डेव्यु गर्न आइपुगेका हुन् । यतिचैं ढुक्कले भन्न सकिन्छ, उनलाई पहिलो उपन्यासले नै एउटा सफल उपन्यासकार बनाइदिएको छ । ‘महाभारा’ ओक्के छ त वसन्त ! यसका लागि बधाई अरु लेखाइका लागि शुभकामना !