• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आभास
२०७६ बैशाख ७ शनिबार १२:५४:००
साहित्य

सिंगो माला उन्नै बाँकी छ

२०७६ बैशाख ७ शनिबार १२:५४:००
आभास

अहिलेको राष्ट्रगान बन्ने बखत केहीलाई त अभियुक्त नै ठान्ने बतास चलेको थियो । त्यो बतासले उडाएको धुलोभित्र म पनि थिएँ । गणतन्त्रमा आफ्नो स्वमूल्यांकन यस कोणबाट पनि गर्ने आँट गर्नुपर्छ झैँ लागेर यसो लेख्दै छु । मैले आफैँलाई किन अभियुक्त भन्नुपर्ने अवस्था आइप‍-यो ? त्यसभित्र धेरै अन्तरकथा लुकेका छन् । हुन त वर्तमान यथार्थमा अब ती कथाको त्यति ठूलो अर्थ छैन भन्ने लाग्छ । तर, हामीले हाम्रो विगतबारे सबै कुरा लुकाएर राखिराख्नु पनि उचित हुँदैन । लाग्छ, भन्न मिल्नेसम्म भन्नुपर्छ । भन्दै जानुपर्छ । तर, विगतको धुलोलाई उधिनेर फेरि धुलो उडाउने नियतले भने होइन, अनुभवबाट केही सिक्ने अभिप्रायले ।

त्यसैले सर्वप्रथम म भन्छु– हाम्रो वर्तमान राष्ट्रगानलाई म एक निमेष पनि अपमान गर्दिनँ । त्यसैले सभा समारोहमा राष्ट्रगान बज्दा जुरुक्कै उठेर यसप्रति सम्मान अर्पण गर्छु । तर, यसलाई बुन्ने अथवा चुन्ने वेलाको प्रक्रियासँग भने म शतप्रतिशत असहमत थिएँ । मलाई लागेको थियो– राष्ट्रगान लेख्ने सिर्जनाकर्म प्रतियोगिताको विषय बनाउनु हुँदै हुँदैन । तर, त्यो वेलाको बोली अर्कै भाकामा हिनहिनाइरहेको थियो । मैले हुँदैन भन्दैमा त्यसवेलाको प्रक्रिया रोकिने अवस्था पटक्कै थिएन । फेरि म तत्कालीन समयको कुनै पनि राजनीतिक समूह अथवा कबिलाको प्रतिनिधि पात्रमा पर्दैनथेँ । राष्ट्रगानको छनोट प्रक्रियामा विवाद सुरु भएपछि भने मैले पनि आफ्नो धारणा अभिव्यक्त गरेको थिएँ । राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक रूपमै लेखेथेँ– ‘राष्ट्रगान होस् त यस्तो ।’ मैले त्यस्तो होस् भन्ने भावले छानेको राष्ट्रगान थियो, गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’ । आलेख प्रकाशित भएको केही दिनसम्म यसले धेरैतिरबाट समर्थन पनि पाएथ्यो । तर, खै के भयो कुन्नि ? केही दिनमै त्यो धारणालाई समर्थन गर्नेहरूले पनि अचानक भाका फेरे । उनीहरूको तर्क थियो– गोपालप्रसाद रिमालको गीतमा अंकित ‘जंगी निसान’ले राजतन्त्रको प्रतिनिधित्व गर्छ । अझ कतिको तर्क थियो– ‘चन्द्र सूर्य’ले चन्द्रवंशी र सूर्यवंशीलाई प्रतिनिधित्व गर्छ । साँच्चै क्रान्तिको तातो बाफले इतिहासलाई छपक्कै छोपेका वेला थियो त्यो । राष्ट्रको झन्डा नै फेर्नुपर्छ भन्ने आवाजसमेत सतहमा देखिएका वेला त्यसखाले तर्कहरू सामान्य लाग्थे । 

त्यही वेला संगीतकार रामेश र अरू केही अगुवा सर्जकले ‘गाउँ गाउँबाट उठ’लाई राष्ट्रगान छान्नुपर्ने तर्क राखेको यथार्थलाई पनि भुल्नु हुँदैन । तर, त्यो गीतले वामपन्थको प्रतिनिधित्व गरेको तर्क राखेर त्यसलाई सजिलै पन्छाइदिए केही स्वनामधन्य प्रजातन्त्रवादीहरूले । गीत र त्यसको धुनले राष्ट्रगान बन्ने स्वभाव बोकेको छ–छैन ? त्यसमा तर्क गरेको भए चित्त बुझ्थ्यो । तर, गणतन्त्र आइसकेपछि पनि वामपन्थलाई छुवाछुत गर्नु सामान्य कुरा थिएन भन्ने ठान्थेँ म । मेरो जमानाको युवा जमातले पञ्चायतको विरुद्धमा ज्यान होम्नुको तात्पर्य वैचारिक विभेदलाई अन्त्य गर्नु थियो । विविधतालाई फक्रन दिनु थियो । तर, गीतलाई समेत उसरी छुवाछुत गर्ने समय निम्त्याएका थियौँ, हामीले हाम्रो गणतन्त्रमा ।
सीप र शिल्पमा विश्वास गर्नेहरूले राष्ट्रकवि माधव घिमिरे, जनकवि दुर्गालाल श्रेष्ठजस्ता सम्मानित सर्जकलाई राष्ट्रगान लेख्ने जिम्मा दिनुपर्ने तर्क पनि राखेका थिए । तर, ती प्रस्ताव पनि ‘गणतन्त्रको मर्मलाई पुरानो पुस्ताले समेट्न नसक्ने’ जस्ता दयालु तर्कको सुरुङमा पस्न विवश थिए । अझ गणतन्त्रको शक्तिले त कविवर माधव घिमिरेलाई सामन्ती सत्ताका पृष्ठपोषक मात्रै हुन् भन्ने सोच राख्थ्यो । हामीले ल्याएको गणतन्त्रले मिलेसम्म सबै पुराना पात्रहरू भिरमै धकेल्न मात्र योग्य हुन् भन्ने मान्यतालाई आत्मसात् गरेको अनुभूत हुन्थ्यो । 

हामी सबैलाई थाहा छ– जे–जति विवाद देखिए पनि राष्ट्रगानको शब्द छनोट प्रतियोगिताबाटै सम्पन्न भयो । त्यसपछिको ध्यान भने संगीत सर्जकतिर सोझियो । केही नामहरू सतहमाथि स्पष्ट र केही नाम सतहमुनि अस्पष्ट गुञ्जन थाले । धुन सिर्जनाको प्रक्रियाले पनि प्रतियोगिताको रूप लिन्छ कि भन्ने चिन्ता थियो । त्यही चिन्ताका बीच संगीतकार छनोटको आन्तरिक लबिङ सुरु भयो । म पनि कुनै न कुनै रूपमा लबिङको मेलोमा सहभागी भएँ । लागेको थियो– अम्बर गुरुङबाट मात्र राष्ट्रगानको समृद्ध धुन सिर्जना सम्भव छ । अहिले लाग्छ, त्यसबखत आफ्नो शिक्षकप्रतिको अन्धभक्तिले मलाई पनि एकोहोरो बनाएकै थियो सायद । अम्बर गुरुङ पनि राजा महेन्द्रले नेपाल भिœयाएका सर्जक थिए । लबिङका वेला छिटफुट त्यसको गाइँगुइँ पनि नचलेको होइन । लबिङमा अम्बर गुरुङको पक्षतिर लागे पनि गीत रेकर्डिङका बखत भने म आफ्नै इच्छाले त्यसमा असंलग्न रहेँ । अम्बर गुरुङबाट गायनमा सहभागी हुन आह्वान नभएको भने होइन । तर, लिखित रूपमै गीत छनोटको प्रक्रियासँग असहमति राखेको मानसिक अवस्थाबाट उम्किनसकेकाले गायनमा संलग्न हुनु उचित ठानिनँ । पछि मैले मेरा सांगीतिक सहपाठीबाट सुनेको हुँ, ‘अम्बर गुरुङले राष्ट्रगानका निम्ति दर्जनभन्दा बढी धुन बुन्नुभएको थियो र ती सबै धुन उनीहरूले अभ्यास गरेका थिए । अहिलेको धुन तत्कालीन शक्तिशाली नेता गिरिजाप्रसाद कोइरालाको छनोटबाट अनुमोदित भएको हो । छनोटमा परेको धुनमा बजेको मादलले गर्दा कोइराला आकर्षित भएका हुन् ।’ आदि ।

राष्ट्रगान लेख्ने सिर्जनाकर्मलाई प्रतियोगिताको विषय बनाउन हुँदै हुँदैन । तर, त्यो वेलाको बोली अर्कै भाकामा हिनहिनाइरहेको थियो । मैले हुँदैन भन्दैमा त्यसवेलाको प्रक्रिया रोकिने अवस्था पटक्कै थिएन । फेरि म तत्कालीन समयको कुनै पनि राजनीतिक समूह अथवा कबिलाको प्रतिनिधि पात्रमा पर्दैनथेँ । 

अब राष्ट्रगान निर्माणको त्यो प्रक्रिया र समय बिस्तारै किंवदन्ती बन्दै जाँदै छ । गणतन्त्र ल्याइसकेपछिको लामै समय हामीले राष्ट्रगान नै नभएको समय पनि बिताएकै हौँ । राष्ट्रगानले पूर्णता पाएपछि धेरैवटा वसन्तले नयाँ पालुवा फेरिसके । यसको धुनले अन्तर्राष्ट्रिय सभा, समारोहमा पनि प्रशंसा पाएको सुनेको छु । हाम्रो रेकर्डिङमा रहेको सिन्थेसाइजरको बनावटी आवाज सुनेरै होला, हाम्रो राष्ट्रगानको धुनलाई जर्मनको ‘स्टुटगार्ट च्याम्बर अर्केस्ट्रा’ले आफ्नै पहलमा रेकर्ड गरेर अम्बर गुरुङलाई उपहार दिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवमा कार्यरत रहँदा ‘स्टुटगार्ट च्याम्बर अर्केस्ट्रा’ले बजाएको हाम्रो राष्ट्रगानको त्यही धुन र त्यसको नोटेसन नेपालमा रहेका अधिकांश कूटनीतिक नियोगलाई उपलब्ध गराइएको थियो । ‘अकेस्टिक’ बाजा प्रयोग गरेर रेकर्ड भएको ‘अर्केस्ट्रा’मा राष्ट्रगानको सौन्दर्य राम्ररी खुलेको थियो । धुनको त्यही सुन्दरता अन्तर्राष्ट्रियस्तरमा प्रचार होस् भन्ने चाहले त्यसो गरिएको थियो । तर, त्यो रेकर्ड आजसम्म कहीँ कतै बजेको सुन्ने अवसर भने पाएको छैन ।

गणतन्त्रको नयाँ राष्ट्रगान बन्नासाथ यसलाई कतिले त आफ्नो मोबाइलको रिङटोन नै बनाएको पनि सुनियो । हामी नेपालीमा आएको त्यस्तो गणतान्त्रिक उत्साहको त अपमान गर्नु उचित हुन्न थियो, गरिएन । तर, हामी हाम्रा राष्ट्रिय गौरवका विषयलाई पनि कति सहजै अपचलन गर्न तम्सन्छौँ भन्नेतिर चाहिँ सचेत हुनैपथ्र्यो । अझै हुनुपर्छ । अरू त अरू कतिपय ठाउँमा राष्ट्रगानमै कम्मर भाँचेर नाचेकोसमेत देखियो । त्यस्तो दृश्य देख्दा मेरो मनमा एउटा तरंग उठेको थियो, ‘ओहो ! केही धुन त नाच्नै नमिल्ने गरी पनि बुन्नु है अम्बर सर ! पनि भन्नुपर्ने रैछ ।’ फेरि अर्को पाटो पनि त छ ! यो नाच्न मिल्ने गरी सरल भएरै त होला ? तोतेबोली बोल्ने बाबु–नानीहरूले पनि यसलाई सहजै गाउँछन् । तिनले राष्ट्रगानलाई टपक्कै टिप्नु सुन्दर पक्ष हो । आजका तिनै तोतेबोलीले त हो हामीले ल्याएको गणतन्त्रलाई भोलि समृद्ध बनाउने । 

हामीले ल्याएको गणतन्त्रमा हाम्रा निम्ति भने असन्तुष्टि र गुनासाका प्रशस्त पोका–पुन्तुरा छन् । हामीले चाहेका थियौँ– गणतन्त्रका पहिलो राष्ट्रपति स्टेथेस्कोप बोकेर अस्पतालको वार्डमा देखिऊन् तर उनी पनि गुनासोकै लस्करमा झुल्किए । पेसामा विश्वास रहेन या बुढ्यौलीले अत्यायो ? थाहै भएन । अमेरिकन गणतन्त्रका राष्ट्रपतिहरूले जस्तो पेसालाई प्रेम गर्ने चलनको ‘ट्रेनसेट’ गर्ने सुअवसर थियो त्यो । हाम्रा पहिलो राष्ट्रपतिले त्यो अवसर गुमाए । नयाँ राष्ट्रगानका सर्जक भने अहिले पनि निकै तन्नेरी नै देखिन्छन् । तर, सुनेको छु– उनलाई राष्ट्रगानले नै पो पेसाविमुख बनाइदिएको कुरा । उनी सार्वजनिक सञ्चारमाध्यममै गुनासो गाइरहेका सुनिन्छन् । राष्ट्रगानका सर्जकको हैसियतले धेरै सभा–समारोहमा उपस्थित हुनुपर्ने बाध्यता आयो र उनको वकालत पेसा नै धरापमा प‍¥यो रे ! मनमनै लाग्छ, यसरी कसैको रोजगारी नै धरापमा पार्ने गरी सभा–समारोहचाहिँ हुन्छन् किन ? फेरि यत्तिका प्रज्ञा प्रतिष्ठान छन् । यी गीतकारलाई पनि त्यतै कतै समेटिदिएको भए हुने नि ! राष्ट्रगानको रचयिता भएपछि त्यति अवसर त जायजै हुन्थ्यो कि ? राष्ट्रगानको रचयिताको सार्वजनिक गुनासो सुन्दा–सुन्दा हिजो–आज झन्–झन् लाग्न थालेको छ– हामी अझै छुट्टाछुट्टै थुँगामै सीमित छौँ, सिंगो माला त उन्नै बाँकी छ ! 