• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पवन बराइली
२०७८ फाल्गुण १४ शनिबार ०७:०७:००
रिपाेर्ट

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमा

फिल्मकर्मीहरू भन्छन्, ‘हामीसँग प्यासन छ, तर राज्यबाट प्रोत्साहन छैन ।’

२०७८ फाल्गुण १४ शनिबार ०७:०७:००
पवन बराइली

 

विश्वको प्रतिष्ठित मानिने बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यस वर्ष दुई नेपाली छोटा सिनेमा (सर्ट फिल्म) छनोट भयो, दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ र सूर्य शाही निर्देशित ‘ह्विल अन द बस’ । ‘फोर नाइट्स’ फेस्टिभलको सर्ट फिल्मअन्तर्गतको मुख्य प्रतिस्पर्धामा र ‘जेनरेसन के प्लस’अन्तर्गतको प्रतिस्पर्धामा ‘ह्विल अन द बस’ प्रिमियर भयो ।


यस्तै, विश्व प्रतिष्ठित मानिने नेदरल्यान्डको रोट्रेड्याम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि यस वर्ष निरञ्जनराज भेटवाल निर्देशित सर्ट फिल्म ‘अन्हद’ र सुनील पाण्डे निर्देशित ‘बाघथान’ प्रिमियर भएको थियो । एकै वर्ष दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा चारवटा नेपाली फिल्म प्रदर्शनका लागि छनोट भएको यो पहिलो उदाहरण हो । 


बंगलादेशको ढाकामा आयोजित ‘२०औँ ढाका इन्टरनेसनल फिल्म फेस्टिभल’मा दुई नेपाली सिनेमाले अवार्ड जित्यो । फिचर फिल्म ‘ऐना झ्यालको पुतली’का लागि सुजित बिडारीले उत्कृष्ट निर्देशक र सर्ट फिल्म ‘पुतलीको सपना’का लागि किरण पोखरेलले उत्कृष्ट स्क्रिप्ट अवार्ड हात पारे । 


एकपछि अर्काे नेपाली सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । कोरोना महामारीपछि बिस्तारै जुर्मुराउँदै गरेका वेला अन्तर्राष्ट्रिय मञ्चको उपस्थितिले नेपाली सिनेवृत्तमा एउटा तरंग पैदा गरेको छ । यो खबरले नेपाली सिनेमाका शुभचिन्तक तथा सिनेमा क्षेत्रमा भविष्य खोज्दै गर्नेहरू थप उत्साहित भएका छन् । 


सनडान्सलाई अमेरिकाको प्रतिष्ठित र संसारकै ठूलो मध्येको फिल्म फेस्टिभल रूपमा लिइन्छ। सन् २०१७ मा पूजा गुरूङ र विभूषण बस्नेतको निर्देशनमा बनेको सर्ट फिल्म ‘दद्या’ले  सनडान्स ‘स्पेशल जुरी अवार्ड फर सिनेमाटोग्राफी’ अवार्ड जित्यो । भेनिस, टोरन्टो जस्ता फेस्टिबलको मुख्य प्रतिप्रर्धामा छानिएको पछिल्लो समय अंकित पौडेलको सर्ट फिल्म ‘सङ अफ क्लाउड्स’ छनोट भएको थियो । सन् २०१९ मा ‘क्यानडा टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभल’मा राजन कठेत निर्देशित फिल्म सर्ट ‘बेयर ट्रिज इन द मिस्ट’ वल्र्ड प्रिमियर भयो । सन् २०१८ मा  राजेशप्रसाद खत्री निर्देशित सर्ट फिल्म ‘जालगेडी’ल बर्लिन फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड चुम्यो ।


प्रतिष्ठित फिल्म फेस्टिबल टोरोन्टो, भेनिस, सनडान्स, लोर्कानो, बर्लिन, रोट्रेड्याम, बुसानलगायतमा नेपाली सिनेमाले स्थान पाइसकेको छ । यस्ता फेस्टिभलमा विशेषतः युवा पुस्ताले बनाएका फिल्म पुगिरहेका छन् । युवा पुस्ताको प्रवेशसँगै नेपाली मौलिक कथाहरू पनि विश्व मञ्चमा पुगिरहेका छन् । 


फिल्म अध्येता तथा फिल्मकर्मी नवधिनि दाहालका अनुसार नेपाली मौलिक कथाहरूमा बनेका सर्ट तथा फिचर फिल्महरू फेस्टिभलमा पुग्नु भनेको नेपाली सिनेमाको बजार फराकिलो हुँदै जानु हो । उनी भन्छन्, ‘विश्वका प्रतिष्ठित फेस्टिभलमा नेपाली सर्ट फिल्म छनोट हुन थालेका छन् । एकाध फिल्मले त अवार्डसमेत जितेका छन् । यो निकै खुसीको कुरा हो ।’


०००

 

०५९ मा छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको ‘मुकुन्डो’ पहिलोपटक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छानिएको थियो । ‘मुकुन्डो’ सनफ्रान्सिस्को, फ्रिवर्ग, फुकुओका र गोटेवर्गजस्ता करिब २५ भन्दाबढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । यसअघि नेपाली सिनेमा स्वदेशी बजारमा मात्रै सीमित थियो । ‘मुकुन्डो’ ओस्कर अवार्डको ७३ संस्करणमा उत्कृष्ट विदेशीभाषी फिल्मका लागि नेपालबाट दर्ता भएको थियो । 


‘मुकुन्डो’ पछि नवीन सुब्बा निर्देशित फिचर फिल्म ‘नुमाफुङ’ले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनायो । ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शनका लागि आधिकारिक छनोट भएको थियो । बंगलादेश इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप र फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक चोइस अवार्डसमेत पाएको थियो ।


छिरिङ र नवीनले अन्तर्राष्ट्रिय प्लाटमर्फमा नेपाली सिनेमा उपस्थिति मात्रै गराएनन्, मौलिक सिनेमाको परिचय पनि दिए । तर, ‘मुकुन्डो’ र ‘नुमाफुङ’पछि करिब एक दशकसम्म नेपाली सिनेमाले अन्तर्राष्ट्रिय मञ्चमा सहभागी जनाउन सकेन । कारण ‘कमर्सियल’ फिल्म निर्माणमा फिल्ममेकरहरू अल्झिरहे । त्यसपछि छिरिङ र नवीनले पनि त्यस्ता सिनेमाहरू बनाएनन् । नबनाउनुको कारण आर्थिक अभाव देखाइयो ।


०७०मा दीपक रौनियारले निर्देशन गरेको फिचर फिल्म ‘हाइवे’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भयो । लेखन र निर्देशनमा सक्रिय राजन कठेतका अनुसार ‘मुकुन्डो’ र ‘नुमाफुङ’पछि लामो समयको नेपाली सिनेमा अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुने अवसर पाएको थिएन । उनी भन्छन्, ‘दीपक रौनियार दाइको फिचर फिल्म ‘हाइवे’ले अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रिमियर हुने मौका पायो । त्यसपछि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल राम्रो ‘प्लाटफर्म रहेछ भन्ने थाहा भयो ।’


सन् २०१५ मा मीनबहादुर भामले ‘कालो पोथी’ बनाए । कालो पोथीले ‘भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा क्रिटिक्स विक अवार्ड जित्यो । साथै युरोप, जापान, अमेरिका, दक्षिण कोरियालगायत देशका दर्जनौँ फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनोट भयो । सन् २०१६ दीपक रौनियारले ‘सेतो सूर्य’ बनाए । ‘भेनिस’, ‘टोरोन्टो’, ‘लोर्कानो’, ‘सिंगापुर’, ‘बुसान’लगायत फेस्टिभलमा प्रदर्शनका लागि छनोट भयो । ‘भेनिस’मा इन्टरफिल्म अवार्ड, ‘टोरोन्टो’मा पिपुल्स च्वाइस अवार्डमा मनोनयन भयो र ‘प्लाम स्प्रिङ अन्तर्राष्ट्रिय फेस्टिभल’मा न्यु भिजन ग्रान्ड जुरी पुरस्कार जित्यो । अन्तर्राष्ट्रिय मञ्चमा ‘कालो पोथी’ र ‘सेतो सूर्य’ले नसोचेको सफलता पाएपछि फिल्ममेकर हौसिए ।

नवधिनि दाहालको बुझाइमा विनोद पौडेल निर्देशित ‘अवेकन आइज’, मिन भाम निर्देशित ‘बाँसुल्ली’, दिपक रौनियार निर्देशित ‘थ्रेसहोल्ड’, अविनाश विक्रम शाह निर्देशित ‘म खुसी छु’ पूजा गुरुङ र विभूषण बस्नेत निर्देशित ‘द कन्टाजियस अपरिसन्स अफ डम्बरे डेन्ड्राइट’ र ‘दद्या’ सर्ट फिल्मले अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भए। उनी थप्छन्, ‘जब यी सर्ट फिल्महरूले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा स्थान पाए, त्यसपछि निरन्तर फेस्टिभललक्षित सर्ट फिल्महरू बनिरहेका छन् ।’

मनोबावु पन्तको ‘अवशेष’ अविनाश विक्रम शाहको ‘तात्तिनी’, निरञ्जनराज भेटवालको ‘काफल पाक्यो’, सुनील पाण्डेको ‘अनन्त यात्रा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रवीणकुमार रावतको ‘कलम’, मनिष लिम्बूको ‘जुन्को’, सन्तोष दाहालको ‘मृगतृष्ण’, गोपाल आचार्यको ‘आखात’, पासाङ दावा शेर्पाको ‘लाईफ लिब्रेसन’, अनुश्का अर्यालको ‘संकल’, मोहन राईको ‘महानगर’ लगायतका सर्ट फिल्महरू अन्तर्राष्ट्रिय  मञ्चमा पुगिसकेका छन् । 

‘बर्लिन’ र ‘बुसान’ फिल्म फेस्टिबलमा उपस्थित हुँदाको अनुभव सुनाउँदै फिल्म निर्देशक राजेशप्रसाद खत्री भन्छन्, ‘नेपाली सिनेमालाई फिल्म फेस्टिभलले विशेष रूपमा हेरेको छ । फेस्टिभल आफैँले पनि नेपाली फिल्महरू माग्न थालेका छन् ।’


निर्देशक राजन थप्छन्, ‘सर्ट फिल्महरूले विदेशीहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । नेपाली मौलिक कथा र संस्कृतिलाई पर्दामा देखाउँदा विदेशी फिल्मकर्मीहरू नेपाली सिनेमाप्रति थप जिज्ञासु र उत्सुक बन्दै गएका छन् ।’

युवा निर्देशक राजेशप्रसाद खत्रीका अनुसार अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपाली सिनेमाको उपस्थितिले विदेशी निर्माताको चासो बढ्दै गएको छ । फेस्टिभल फिल्म प्रदर्शन गर्ने थलो मात्र नभएर फिल्मकर्मीका लागि ठूलो उत्सव पनि हो । यसले फिल्मको प्रचार गर्ने मौका मात्र दिँदैन, एकअर्काको कलासंस्कृति बुझ्ने र ‘कल्चर एक्सचेन्ज’को अवसर पनि प्रदान गर्ने उनको अनुभव छ । ‘बर्लिन’ र ‘बुसान’ फिल्म फेस्टिभलमा उपस्थित हुँदाको अनुभव सुनाउँदै राजेश भन्छन्, ‘नेपाली सिनेमालाई फिल्म फेस्टिभलले विशेष रूपमा हेरेको छ । फेस्टिभल आफैँले पनि नेपाली फिल्म माग्न थालेका छन् ।’ 


अवसरसँगै चुनौती
अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सिनेमाको उपस्थिति बढ्दा खुसी मात्रै भएर बस्न नहुने कतिपय फिल्मकर्मीहरूको मत छ । उनीहरूका अनुसार नेपाली सिनेमाका लागि झन् चुनौती थपिएको छ । चलचित्रकर्मी शान्ता नेपाली भन्छिन्, ‘फिल्म फेस्टिभलमा फिल्म मात्रै छानिएका छैनन् । फिल्ममेकरलाई उपस्थितिका लागि निम्तो नै दिने गरेका छन् । नेपालको यो छविलाई अवसरका रूपमा प्रयोग गर्दै त्यसलाई कायम राख्नु अहिलेका फिल्ममेकरको चुनौती हो ।’ 


नेपाली सिनेमाले अन्र्तराष्ट्रिय मञ्चहरूमा उपस्थिति जनाउन मौलिक तथा गुणस्तरीय सिनेमा निर्माणले तीव्रता पाएन भने उपलब्धि गुम्न सक्ने चिन्ता व्यक्त गर्छन् चलचित्र समीक्षक अनुप सुवेदी । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपाली सिनेमा छनोट हुनु एक किसिमले सफलता मान्नुपर्छ । तर, निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने मुख्य चुनौती हो । राम्रा सिनेमा बनाउन सकेनौँ भने हामी फेरि पछाडि धकेलिन सक्छौँ ।’ वर्षमा एक–दुईवटा फिल्म फेस्टिभलमा छनोट भएर मात्रै नहुने र गुणस्तरीय सिनेमा बनाउन निरन्तर मिहिनेत गरे मात्रै विश्व सिनेमासँग नेपाली सिनेमा जोडिने उनको बुझाइ छ ।


समीक्षक सुवेदीको भनाइमा निर्माता रामकृष्ण पोखरेल पूर्ण सहमत छन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा संसारभरबाट लाखौँ सिनेमाले प्रतिस्पर्धामा गरिरहेका हुन्छन् । त्यसमध्येबाट दुई–चारवटा सिनेमा छनोट हुनु उपलब्धि हो । तर, निरन्तर स्तरीय सिनेमा बनाएर फेस्टिभलसम्म पुर्‍याउन सक्नुपर्छ ।’

सुवेदी थप्छन्, ‘अन्तर्राष्ट्रिय फिल्म मेकिङको ज्ञान आर्जनका लागि राज्यले अन्तर्राष्ट्रियस्तरको ल्याब सञ्चालन गर्नुपर्छ । त्यसले दक्ष जनशक्ति उत्पादन गर्छ । अर्काे गुणस्तरीय सिनेमा बनाउन लगानी पनि गर्नुपर्छ । अनि मात्रै नेपाली अरूरहरूको अन्तर्राष्ट्रिय बजारमा ‘एक्सपोजर’ बढ्छ ।’ 


अन्तर्राष्ट्रिय मञ्चमा पुगेर मात्रै नहुने र सरकारले नै विदेशी निर्माताहरूलाई नेपाल ल्याउने वातावरण बनाउनुपर्ने निर्माता पोखरेलकाे मत छ । उनी थप्छन्, ‘सरकारले अन्तर्राष्ट्रिय फिल्म बजारमा सम्बन्ध विस्तारका लागि फिल्म फेस्टिभल आयोजन गर्नुपर्छ । ताकि विदेशी फिल्म प्रदर्शन गर्न अरूर नेपाल आउन बाटो बनोस् ।’

 

‘फिल्ममेकरसँग प्यासन छ, तर प्रोत्साहन छैन’

छिरिङ रितार शेर्पा, फिल्म निर्देशक

‘मुकुन्डो’ मेरो पहिलो ‘फिचर’ फिल्म हो । यो फिल्म मैले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा देखाउन बनाएको पनि होइन । आजभन्दा २२ वर्षअघि अन्तर्राष्ट्रिय ‘प्लाटफर्म’ हाम्रा लागि टाढाको कुरा थियो । तर, फिल्म फेस्टिभलमा पुग्नु नै सौभाग्य थियो । करिब २५ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘मुकुन्डो’ सहभागी भयो । 

 

त्यसवेला फिल्म बने पनि ‘एक्पोजर’ थिएन । फिल्म बनाउनै गाह्रो थियो । कुन देशमा फेस्टिभल हुँदै छ भन्ने जानकारी हुँदैनथ्यो । मैले दुई–तीनवटा फिल्म म्यागेजिन सबस्क्राइब गरेको थिएँ । त्यो म्यागेजिन हेरेर विभिन्न फिल्म फेस्टिभलबारे थाहा पाएँ । म्यागेजिन हेरेर पछि फेस्टिभलमा मेरो फिल्म पठाउँछु भन्नलाई फ्याक्स गर्नुपथ्र्यो । 


फिल्म फेस्टिबलमा छनोट हुनुअघि आयोजकलाई फिल्म पठाउन नै गाह्रो थियो । त्यसवेला ‘डिजिटल’ प्रदर्शनी सम्भव थिएन । फिल्म मात्रै पठाउन ‘डिएचएल’ गर्दा २५ सयभन्दा बढी खर्च हुन्थ्यो । फिल्म छनोट भएपछि झन् अर्काे समस्या हुन्थ्यो । फिल्म पठाउँदा २०–२५ केजी रिल (क्यान) पठाउनुपथ्र्याे । त्यसवेला ५० वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउँदा ५०–६० हजार खर्च भएको थियो । त्यसवेला धेरै ठूलो रकम थियो । गाह्रो भएकाले धेरै फेस्टिभलमा फिल्म पठाउन सकिँदैनथ्यो । अहिले त इमेलमा पठाए पुग्छ । 


अहिले फेस्टिभलमा फिल्म पठाउन गाह्रो छैन । अहिलेजस्तो भए ‘मुकुन्डो’ पनि धेरै फिल्म फेस्टिभलमा देखाउन सकिन्थ्यो । ‘मुकुन्डो’ टोकियो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, फुकुओका फिल्म, गोल्डेनगेट फिल्म फेस्टिबल अमेरिकालगायतका २५ जति फेस्टिभलमा सहभागी भयो ।


मैले जोखिम मोलेर ‘मुकुन्डो’ बनाएँ । त्यस्तो सिनेमा व्यक्तिगत लागनीमा बनाउन सकिँदैन । हलमा दर्शक आउलान् भनेर आशा गरेको थिइनँ । त्यसवेला ‘मुकुन्डो’ एक–दुईवटा हलमा मात्रै प्रदर्शन गरिएको थियो । दुई हप्तापछि हलबाट हटाइयो । जापानको ‘फन्ड’ नपाएको भए त्यो फिल्म बनाउँन सक्दिनथिएँ ।‘मुकुन्डो’पछि दोस्रो फिल्म बनाउन सकिनँ । ‘फन्डिङ’ नभएपछि अर्काे सिनेमा बनाउन गाह्रो भयो । यसकारण, पनि मेरो ‘ग्याप’ भएको हो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जाने खालको सिनेमा बनाउन सकिनँ ।


राज्यबाट लगानी पायो भने मौलिक सिनेमा बनाएर संसारलाई देखाउन सकिन्छ । राज्यले सिनेमालाई आफ्नै देशको वस्तु उत्पादनको रूपमा लिनुपर्छ । हाम्रोमा अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने सिनेमाको कथामा लागनी छैन । यही समस्या छ । यसकारण पनि बजारमा चल्ने फिल्म बनाउन फिल्मकर्मीहरू लाग्छन् । बजारमा फिल्म बनाउनेको संख्या बढेपछि राम्रो सिनेमा बनाउनेहरू घटे । 

अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सिनेमाको उपस्थिति बढ्दा खुसी मात्रै भएर बस्न नहुने कतिपय फिल्मकर्मीहरूको मत छ । उनीहरूका अनुसार नेपाली सिनेमाका लागि झन् चुनौती थपिएको छ । चलचित्र समीक्षक अनुप सुवेदी भन्छन्, ‘राम्रा सिनेमा बनाउन सकेनौँ भने हामी फेरि पछाडि धकेलिन सक्छौँ ।’


‘कालो पोथी’ र ‘सेतो सूर्य’ बन्ने वेलामा प्रविधिले निकै फड्को मारिसकेको थियो । हाम्रो वेलामा जस्तो फिल्म हेर्न डिभिडी किन्न न्युरोड पुग्नुपर्दैनथ्यो । नयाँ पुस्तामा फिल्म लिट्रेसी विकास हुँदै गयो । त्यसपछि छोटा सिनेमा बन्न थाले । ‘कालो पोथी’ र ‘सेतो सूर्य’पछि फेस्टिभललक्षित छोटा सिनेमा बन्न थाले । 


युवा पुस्ताले राम्रो सर्ट फिल्म बनाइरहेका छन् । फेस्टिभलमा छनोट हुनु ‘एक्पोजर’ पाउनु हो । अर्काे विदेशी फेस्टिभलमा जानु सम्बन्ध विस्तार पनि हो । फिचर फिल्मका लागि लगानी जुटाउने बाटो पनि खुल्छ ।


नेपाली फिल्ममेकरमा फिल्म बनाउने क्षमता नभएको होइन, फिल्म निर्माण गर्ने प्रोत्साहनचाहिँ नभएको हो । फन्डिङ नहुँदा अन्तर्राष्ट्रिय मञ्चमा देखाउने खालका सिनेमा बनाउन सकिन्न । हलमा त्यस्तो प्रकारको फिल्म चल्दैन । सबै फिल्ममेकरसँग फिल्म बनाउने प्यासन छ । तर, प्रोत्साहन भएन । प्रोत्साहनका लागि हलमा पनि त्यस्ता खालको सिनेमा देखाउनुपर्छ । व्यापारमुखी हुनुभएन । दर्शक भए पनि नभए पनि हलमा निरन्तर देखायो भने मेकरलाई प्रोत्साहन मिल्छ । जस्तो फ्रान्स र इजरायलमा यस्तै अभ्यास हुन्छ । हलमा दर्शक खाली भए पनि सिनेमा प्रदर्शन भइरहन्छ । 


‘मुकुन्डो’ र ‘नुमाफुङ’ अन्तर्राष्ट्रिय फेस्टिभलमा लामो समयसम्म लैजान सकिएन । त्यसवेला हामीसँग सिनेमा बनाउने ‘प्यासन’ मात्रै थियो । तर, अर्काे सिनेमा बनाउन कसरी फन्ड जुटाउने भन्ने योजना थिएन । व्यक्तिगत लगानीमा त्यस्ता सिनेमा बनाउन सकिँदैन । फेरि त्यस्ता सिनेमा हलमा चल्ने खालका पनि हुँदैनन् ।
 

(कुराकानीमा आधारित)

 

अन्तर्राष्ट्रिय मञ्चमासहभागिता जनाएका केही नेपाली फिल्महरू :

 

‘मुकुन्डो’ फिचर फिल्म (सन् २०००)
निर्देशक : छिरिङ रितार शेर्पा ।
सनफ्रान्सिस्को फेस्टिबलमा अवार्ड, फ्रिवर्ग फेस्टिभलमा अवार्ड, फुकुओका फिल्म फेस्टिभलमा अवार्ड, गोटेवर्गलगायत २५ फेस्टिभलमा छनोट

 

नुमाफुङ, फिचर फिल्म (सन् २००४)
निर्देशक : नवीन सुब्बा ।
फुकुओका फिल्म फेस्टिभल, गोटेवर्ग फेस्टिभल, सनफ्रान्सिस्को फेस्टिभलमा छनोट । बंगलादेश इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट रनरअप, फ्रान्सको भिजुअल फिल्म फेस्टिभलमा पब्लिक चोइस अवार्ड ।

 

‘हाइवे’ फिचर फिल्म (सन् २०१२)
निर्देशक : दीपक रौनियार 
बर्लिन, मोन्ट्रियल, लोकार्नाे, मिल भ्याली लगाएत फिल्म फेस्टिभलमा छनोट 

 

‘डम्बरे ड्रन्डाइट’, सर्ट फिल्म (२०१३)
निर्देशक : पूजा गुरुङ र विभूषण बस्नेत  
आबुधाबी फिल्म फेस्टिभलमा प्रदर्शन, ट्याम्पेर फिल्म फेस्टिभलमा छनोट, पाराग्वे सर्ट फिल्म फेस्टिबलमा छनोट 

 

‘सुनगाभा’, फिचर फिल्म (सन् २०१३)
निर्देशक : सुवर्ण थापा 
हम्वर्ग, प्लाप स्प्रिङ, मुम्बई, चेन्नाईलगायत फेस्टिभलमा छनोट । 

 

‘झोला’, फिचर फिल्म (सन् २०१३)
निर्देशक : यादवकुमार भट्टराई
सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड

 

‘सेतो सूर्य’ फिचर फिल्म (सन् २०१६)
निर्देशक : दीपक रौनियार 
भेनिसमा इन्टरफिल्म अवार्ड, टोरोन्टोमा पिपुल्स च्वाइस अवार्डमा मनोनयन, प्लाम स्प्रिङ फिल्म फेस्टिभल ‘न्यु भिजन ग्रान्ड जुरी अवार्ड, सिंगापुर फिल्म फेस्टिभलमा सिल्भर स्क्रिन अवार्ड । 

 

‘कालो पोथी’, फिचर फिल्म (सन् २०१६)
निर्देशक : मीनबहादुर भाम
भेनिस फेस्टिभलमा क्रिटिक्स विक अवार्ड, पाराग्वेको फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड, बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनमा

 

‘साँघुरो’, फिचर फिल्म (सन् २०१३)
निर्देशक : जोयस पाण्डे 
सार्क फेस्टिभलमा सिल्भर अवार्ड, जुरीको तर्फबाट उत्कृष्ट ‘न्यु ट्यालेन्ट सर्टिफिकेट अफ रिकग्निसन’ 

 

‘दद्या’ सर्ट फिल्म (सन् २०१६)
निर्देशक : पूजा गुरुङ र विभूषण बस्नेत 
भेनिस, टोरोन्टो, बुसानमा फिल्म फेस्टिभलमा प्रदर्शन, सनडान्स फिल्म फेस्टिभमा सिनोमाटोग्राफी अवार्ड

 

‘डाइङ क्यान्डल’ फिचर फिल्म (सन् २०१६) 
निर्देशक : नरेशकुमार केसी
क्युन्स वर्ल्ड फिल्म फेस्टिभल अमेरिकामा उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड, क्युन्समै उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट अभिनेत्री विधामा मनोनयन

 

‘जालगेडी’ सर्ट फिल्म (सन् २०१७)

निर्देशक : राजेशप्रसाद खत्री
ताइवानमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड, मुम्बई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, बुसान, एसिया प्यासिफिक फिल्म फेस्टिभलमा छनोट 

 

‘जुंलुगो’ सर्ट फिल्म (सन् २०१८)
निर्देशक : राजेशप्रसाद खत्री
बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्म अवार्ड

 

‘तात्तिनी’ सर्ट फिल्म (सन् २०१८)
निर्देशक : अविनाशविक्रम शाह
लोकार्नाेमा एकेडेमी प्रदर्शन, बुसान, रेगेन्सबर्ग फेस्टिबलमा छनोट र कजान फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड

 

‘बुलबुल’ फिचर फिल्म(सन् २०१८)
निर्देशक : विनोद पौडेल
सार्क फिल्म फेस्टिभलमा अभिनेत्रीतर्फको उत्कृष्ट जुरी अवार्ड, जाफ्ना फिल्म फेस्टिभलमा सहभागी, कबांगे फिल्म फेस्टिभलमा ट्युनिसियामा छनोट, 

 

‘जुनुको जुत्ता’ सर्ट फिल्म (२०१९)
निर्देशक : केदार श्रेष्ठ
अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा सर्ट फिल्म अवार्ड, इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ र जर्मनीको फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’, बुसान फेस्टिभलमा प्रदर्शन

 

‘ऐना झयालको पुतली’ फिचर फिल्म (सन् २०२०)
निर्देशक : सुजित बिडारी
बुसान फिल्म फेस्टिभलमा छनोट ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक अवार्ड

 

०००