• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कुमारी लामा
२०७९ बैशाख ३ शनिबार ०६:५२:००
इतिहास

पारिजात : मूर्त–अमूर्त समय संलाप

२०७९ बैशाख ३ शनिबार ०६:५२:००
कुमारी लामा

पारिजात मिथक र यथार्थको दोसाँध बनी पाठक–मनमा सदा बाँचिरहेकी लेखक । केवल केही दशक समय काफी हँुदो रहेछ एक व्यक्ति अरू नै कोही बन्न । सुकन्या वाइबा, डा. महेश मास्के र केही अन्तरंग मित्रहरूको स्मृतिमा सुरक्षित छ, पारिजातको अझै गहिरो वास्तविकता । बाहिर छरिने त यथार्थ र मिथकको मिठो मिश्रण न हो । नाति–नातिना हुर्कंदै छन्, पारिजातकी बहिनी सुकन्याका । म्हेपी घरको सानो बैठकमा झुन्डिएको छ, पारिजातको ठूलो तस्बिर । त्यसैलाई देखाएर ‘छेँ गर’ भन्दा उसै झुकाइदिन्छन् शिर यी मसिना नानीहरू । 


सुकन्या भने अझै स्याहारेर बसेकी छन् पारिजातका रोजा फूलहरू । बार्दलीभरि गमलामा गुलाफ फुलेका छन् । छतमा पारिजातकै विद्यार्थीले उपहार दिएको कुर्सिमल निकै झांगिएको छ । एक भेटमा सुकन्या दिदीले त्यही बुटो सुम्सुम्याउँदै भनेकी थिइन्, ‘दिदीको सम्झना यी यहीँ छ ।’ एकछिन भावुक भएथ्यो माहोल । नाति फुच्चेसँग एउटा सेल्फी लिएँ त्यही बोटमा । भावनाले त हो मान्छेलाई मान्छे बनाइदिने । नत्र त ढुंगामाटो । छटपटी, निराशा र शून्यताले भरिएको समय पार गरी जीवनको खुला मार्ग पारिजातले यही आवासपरिसरमा आत्मसात् गरेकी थिइन् । मूर्त–अमूर्त समय संलाप यही गुनगुनाएकी थिइन् । 

 

अमूर्त समय 
पारिजात सानैदेखि भयङ्कर आत्मकेन्द्रित र कल्पनाशील रहेछिन् । उनका संस्मरणहरू साक्षी छन् । उनी बाहिरी संसार, समाजभन्दा बढी आफैँभित्र हराउँथिन् । त्यसैको उपज हुन सक्छ उनका सुरुवातकालीन कविता, कथा र उपन्यासमा उजागर भएको पात्रहरूको मनोदसा । २०१४ सालमै प्रकाशित भएको कविता सङ्ग्रह ‘आकांक्षा’भरि किशोरी भावले भरिएको प्रेमको आकांक्षा, आशादेखि निराशा, आक्रोश र आत्मस्वीकृतिको अभिव्यक्ति पाइन्छ । 

 

शारीरिक र आर्थिक समस्याहरूसँग जुद्धै एउटी युवतीले नेपाली साहित्यमा खुट्टा हालेकी हुन्छिन् । भूपि शेरचन, वासु शशिहरूसँग संगत बढेको छ । यद्यपि अब आख्यानले आकृष्ट गर्छ । तीनवटा उपन्यासको पान्डुलिपि जलाएर न्यानो तापिसकेकी छिन् । भित्रभित्रै जल्दै खारिँदै छिन् । कुरिरहेकी हुन्छिन् सही समय । प्रतीक्षारत समय आउँछ एक नाटकीय झड्का बनी : शिरीषको फूल । सर्वाधिक आलोच्य । सर्वाधिक प्रशंसित । कमजोर शरीर बोकेकी युवतीको नेपाली साहित्यमा हुन्छ जबर्जस्त प्रवेश । २०२२ सालको मदन पुरस्कार पर्छ पारिजातकै पोल्टोमा । वाह ! फरक माहोलको सिर्जना हुन्छ । निबन्धकार शंकर लामिछानेले छापिदिएका हुन् पहिलो पटक ‘शिरीषको फूल’ । पुरस्कारको चार हजार दामले ट्रान्जिस्टर किनेको, दिदीले स्विटर र सुन किनिदिएको प्रसंग सम्झिँदा निकै भावुक हुन्छिन् सुकन्या । ‘सुकन क्या हो यो त मेरो धेरै पैसा कमाउने छोरा जस्तो पो भो त’ पारिजात जिस्किन्छिन् बहिनीसँग । 

 

बरीमा व्याप्त निराशा र पलायनलाई उनकै व्यक्तित्वसँग दाँजी हेरियो । केही हदसम्म समानता पनि देखिएकै हो । उनीभित्र मडारिहेको थियो निराशा, उपायहीन समय, अभाव, उक्लँदो रोगको पारो र क्लास एटिट्युड, जो उनले डाक्टर बाबु के. एस. वाइबाबाट बिरासतमै पाएकी थिइन् । थपथाप पार्न उनले त्यस बखत पढ्दै गरेका सात्र्र, कामु, काफ्का, सिमोन डी बुभाका पुस्तकहरू पनि थिए सिरानमै । 


‘शिरीषको फूल’पछि पारिजातको लेखनले दु्रतता लिन्छ । यद्यपि कथा सङ्ग्रह ‘आदिम देश’ र ‘सडक र प्रतिभा’ काव्यिक प्रस्तुतिसहित फेरि पनि पात्रहरूको जटिल मनोविज्ञान चित्रणमा नै केन्द्रित हुन्छन् । लाग्छ उनी आफैँभित्रको जटिलतासँग संवाद गर्दै छिन् । कथा ‘मैले नजन्माएको छोरो’ पात्रको मानसिक यात्रा हो, जसले एउटा छोरोको कल्पना गर्छ । तर, त्यही छोरो हुर्किने क्रममा विसंगतिले भरिपूर्ण हुन्छ । सिनेमाका लागि किताब बेच्छ, भट्टी पसल्नीसँग ठट्टा गर्न सुरु गर्छ । बिस्तारै छोरोचाहमा तुसारापात हुन्छ । उस्तै मनोविज्ञान चित्रित छ ‘अनिँदो र शून्यता’मा । एउटी युवती, जसले निराशाका कारण आत्महत्याको बाटो लिन्छे । पलायन उसलाई स्वीकार छ । अधिकतर पात्रको मानसिक द्वन्द्व समेटिएका उनका अघिल्ला कथामा अँध्यारोपना र जीवनप्रतिको वितृष्णा हाबी भएको पाइन्छ ।त्यसैताका लेखिएका पारिजातका कवितामा पनि निराशा, पीडा, एक्लोपन, पर्खाइ आदिले विशेष स्थान पाएका देखिन्छन् । 

यो साँझ
सधैँ म कोही आउँदै नआउनेलाई पर्खेर बस्छु
कोही हुँदै नभएकालाई भाग छुट्याउँछु
आत्मविश्वास बेचेर रोजेको यो एकलास
सधैँ अविश्वासका साथमा थपिन्छ
अर्को नौलो एकान्त
उपाय छैन रे, आफ्नै पनि के लाग्छ ?
यो मेरो उपायहीन सन्तुष्टि हो । 
(उपायहीन साँझ)
पारिजातका ती निरस, अँध्यारा र अमूर्त अभिव्यक्तिहरू नै आगतको फरक चिन्तनका आधार थिए । त्यही समयको एक फेर समाइ घोर अन्योलको कुहिरो पन्छाई चेतना–यात्रामा उनी लम्केकी थिइन् ।  

 

चेतना उडान
ज्यादातर जीवनको विसंगति र अर्थहीनता मन्थन गर्ने पारिजातले एकाएक आशा र जीवनमुखी बाटो पक्रिनु कम आश्चर्यपूर्ण छैन । यसै सन्दर्भलाई स्पष्ट पारिदिन्छिन् सुकन्या दिदीे, ‘वाम विचारमा लागेपछि दिदी जीवनमुखी भएको हो ।’ जीवनप्रतिको वितृष्णाले छ्याप्पै भएकी उनलाई वामपन्थी विचारको ओझले सर्लक्कै आशा र जीवनछेउ पुर्‍याइछाड्यो । समाजमा व्याप्त विभेदका अनेक पाटा, वर्गीय जालो र शोषणसँग नजिक बनायो । उनले फालिदिइन् अघोर धुमिल मनोभावहरू र उत्रिइन्, एक प्रतिरोधी आवाज बनी । त्यही बिन्दुबाट लिएको हो, पारिजातको चेतनाले फरक उडान । क्रमशः उनले आशा र जीवनका कविता लेख्न थालिन् ।

 

दुःखहरूको साटासाटमा आँसु बग्ने गर्छ
तिमी पनि रुन्छौ, म पनि रुन्छु
तर आँसु मान्छेको नियति होइन
आँसु त यस्तो पानी हो, जो आगोमा फेरिन सक्छ
दुःख त यस्तो झिल्का हो, जो डढेलोमा फेरिन सक्छ । 
(गीत र धुनहरू)


समाजशास्त्री बारबरा निम्री अजिजले तीसको दशकमा पारिजातलाई भेट्दा उनी लेखक मात्र नभई राजनीतिक विचार बोकेको लेखकमा परिणत भइसकेकी थिइन् । त्यसैको उपज, पारिजात प्रहरी निगरानीमा थिइन् । कमरेड निर्मल लामा, जसलाई उनी आफ्नो गुरु मान्थिन्, त्यसताका भूमिगत थिए । तथापि विचार आदानप्रदानको निरन्तरता थियो । पारिजातको लेखनीमा वैचारिकता झांगिन थालिसकेको थियो । उनी गरिब, निमुखा, शोषणमा परेकाहरूको पक्षमा बोल्न र लेख्न थालिसकेकी थिइन् । पात्रको मनोदसा चित्रणबाट अब उनी बृहत् समाज र विद्यमान् असमानताप्रति पटाक्षेप गर्ने एक हस्तक्षेपकारी लेखक बनिसकेकी थिइन् । ०४३ सालमा प्रकाशित कथासंग्रह ‘साल्गीको बलात्कृत आँसु’को भूमिकामा उनी भन्छिन्, ‘साधारण कुरालाई साधारण भाषामा टिपेर कागज भर्दा त्यो कथा हुन सक्छ तर साहित्य हुन सक्दैन । शैलीले कथाको प्राण भर्छ ।’

 
शैलीप्रतिको उनको गम्भीरतालाई यसैले प्रस्ट पार्छ । त्यत्तिन्जेलमा उनको शैली अर्मूतबाट मूर्ततातिर ढल्किसकेको हुन्छ । ‘सइसको चिठी’ नामक कथामा एक शोषित तामाङ केटो छ, जो घोडाको पनि नोकर हुन्छ । यस संग्रहको ‘नैकापे सर्किनी’ उत्तिकै शक्तिशाली कथा हो । एक श्रमिक, दलित महिलाको कथा । विष्णुमतीबाट बालुवा झिकेर अपांग लोग्नेलाई पाल्ने एक कर्मशील महिलाको कथा । उसले आफ्नो अस्मिता र पैसाको रक्षा गर्दै भिखारीलाई लात हानी धपाउँछे । त्यो उनको तहबाट हुन सक्ने ठूलो विद्रोह हो । ‘बोनी’ र ‘वधशाला जाँदा आउँदा’ का कथाहरूमा पनि पारिजातले गरिबी, शोषण र अन्यायको भुमरीमा परेका पात्रहरूको अवस्था खोतली समाजमा रहेको असमानता र विभेदप्रति दरिलो प्रहार गरेकी छिन् । त्यसयता समाज र मानिसका समस्याको गहिराइ समाउनु नै पारिजात लेखनीको मूल ध्येय बनेको पाइन्छ । 

 

२०३४ सालमा आएका दुई उपन्यासहरू ‘बैँसको मान्छे’ र ‘पर्खाल भित्र र बाहिर’ मा काव्यिक शैली र पात्रको मनोविज्ञान चित्रणको प्रचुरता भए पनि समाजका अनेक विसंगतिप्रति खरो दृष्टिकोण पाइन्छ । सदर जेलको झ्यालबाट बाहिर नियालिरहने रमेश होस् या फुक्काफाल बेरोजगारहरू सबैमा चेतनाको बीजारोपण भएको छ । उनीहरू समय सचेत छन् । रमेश जेलबाट छुटेर स्वास्नी बाटुलीको सिफारिसमा सडक बनाउने मजदुरीमा लाग्छन् । तर, मजदुरहरूमाथि भएको ठेकेदारको शोषणविरुद्ध बोल्दा फेरि जेल पर्छन् । तथापि क्युरी तामाङ, लाले जस्ता जुझारु युवाले रमेशको चेतनायात्रालाई अघि बढाउने निश्चितप्रायः छ । 


उनले फालिदिइन् अघोर धुमिल मनोभावहरू र उत्रिइन्, एक प्रतिरोधी आवाज बनी । त्यही बिन्दुबाट लिएको हो, पारिजातको चेतनाले फरक उडान । क्रमशः उनले आशा र जीवनका कविता लेख्न थालिन् ।


देशको राजनीतिक परिघटना र राज्यबाट भइरहेका अनेक दमनका शृंखलाले पारिजातभित्र निराशा र विद्रोहको अनौठो कोलाज निर्माण गरेको पाइन्छ । त्यसैको उदाहरण हुन सक्छ ‘बैँसको मान्छे ।’ ती बेरोजगार विद्यार्थीभित्र अनेक द्वन्द्व चल्छ र जन्मिन्छ विद्रोह । उसले पियन साथीको टिबीले सुकाएको ज्यान र छाडेको सास देख्छ, भट्टी पसलमा काम गर्ने स्यामोको मृत्यु र मन्दिर, देवल, पाटीतिर फैलिएको विकृति नियाल्छ । यी सबैबाट ऊभित्र पैदा हुन्छ भिन्न मनस्थिति । दमन, शोषण अनि रोग र गरिबीलाई उसै हेरिरहन सक्दैन । उसले असन्तुष्टि निकाल्छ, ‘पियन केटो तिम्रो मृत्युले मलाई निर्णय दियो । तिमीलाई रेसारेसा सुकाएर मार्ने व्यवस्थाको आज मैले विध्वंसको सुरुवात गरिदिएको छु । यस विस्थापित पियन केटोको बेवारिसे मृत्युमा युद्धको एउटा गरुंगो पाइलो उठिसकेको छ ।’ अब विद्रोहको झिल्का उठिसकेको छ । गरिब निमुखाको मृत्युमा खिसी गर्ने समाजविरुद्ध । ती युवाभित्रको असन्तुष्टिले निश्चय नै एउटा फरक समयको आह्वान गरेको स्पस्ट हुन्छ । पारिजात आफ्ना पात्रहरूलाई यसरी नै तयार पार्छिन् अन्यायविरुद्ध उठ्नका निम्ति । 


अनवरत रूपमा पारिजातको कलम समाजका सीमान्त र शोषितपीडित पात्रहरूको विषयमा चल्न थाल्छ । उनी जटिल र अमूर्त शैलीलाई पाखा लगाई सरल–सहज लेखनीतिर लाग्छिन् । केही समीक्षकहरूले उनको पछिल्ला कृतिमा कलात्मक ह्रास आएको कुरा नउठाएका होइनन् । तथापि विषय, प्रस्तुति, शैली सबैको दृष्टिमा उनका अधिकांश कृति अब्बल छन् । सामाजिक साहित्यिक मूल्यका दृष्टिले पारिजातका कृति समान छैनन् भनी समीक्षक पवन चाम्लिङ दाबी गर्छन् । पारिजातको लेखनमा आएको वैचारिक परिवर्तन नियालेकाहरूलाई त्यसो लाग्नु स्वाभाविक हो । उनका पछिल्ला तीन उपन्यासहरू– उसले रोजेको बाटो(२०३५), अनिँदो पहाडसँगै (२०३९) र परिभाषित आँखाहरू (२०४६) सामाजिक विषय उठानका हिसाबले ज्यादै शक्तिशाली कृति हुन् । 


नुवाकोटको गोरीमाया तामाङ र घ्याब्रिङ बुढाहरूले सामन्तहरूबाट भोगिरहेको उत्पीडन, काठमाडौँमा एकत्रित भएका लालबहादुर, सुबानी सुब्बाहरूको क्रान्ति, पाटन औद्योगिक क्षेत्रमा मजदुरमाथि भएको ज्यादतीजस्ता सामयिक विषय समेटिएको ‘अनिँदो पहाडसँगै’ सम्भवतः पारिजातको चेतनाको उच्चतम उडान हो । पारिजात कलम बोकेकी योद्धा, जसले घरवरपर डुलिरहने प्रहरीलाई वास्तै नगरी निरन्तर दमनविरुद्ध कलम चलाइरहिन् । २०४६ सालमा प्रकाशित अन्तिम उपन्यास ‘परिभाषित आँखाहरू’ले उत्तिकै सघनतासाथ सामाजिक विकृतिलाई उठाएको पाइन्छ । 


पारिजात मूलतः समाजमा विद्यमान समस्यातिर नै केन्द्रित हुन्छिन्, तीस सालपछि । आख्यानमा जस्तै लेख र कवितामा पनि विविध सामाजिक मुद्दा उठाइएको पाइन्छ । आकांक्षा (२०१४) देखि पारिजातका कविताहरू (२०४४) हुँदै बैँसालु वर्तमान (२०५०) सम्मको उनको काव्यिक यात्रामा किशोरी आकांक्षाका रुमानी उडान, घोर निराशाजन्य उबडखाबड बाटा र डोरेटाहरू पार गर्दै उनी भुइँमान्छेहरूको पक्षमा वकालत गर्ने दरिलो आवाजमा परिणत भइसकेकी हुन्छिन् । नारीवादी चेतनाका दृष्टिले विशेष बनेका उनका कविताहरू सहअस्तित्वको पक्षधरतासँगै भिन्न उचाइ पक्रन सफल छन् । ‘मानुषि’, ‘जुठी दमिनीको अभिव्यक्ति’, ‘एउटी स्वास्नीमान्छेको अन्तर्वार्ता’, ‘बैँसालु वर्तमान’, ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’ जस्ता कविता उनको चेतना, समाज दृष्टि, परिवर्तनको आशा र सहअस्तित्वको सवाल समेटिएका सशक्त अभिव्यक्ति हुन् । 

केही हरफ जीवन
साहित्यकार आहुतिको मनमा जिल्लास्तरका कुनै नेताले पारिजातको चरित्रहीन बिम्ब रोपिदिएका थिए, जो धेरै पछिसम्म उनको मनबाट डेक चलेन । पारिजातलाई धेरैले धेरै तरिकाले बुझे, बुझाए । उनी एक मिथक भइन्, तथापि उनको यथार्थ फरक थियो । भूपि शेरचन उनलाई ‘बजारिया केटी’ ठानी परिचय गर्नबाट तर्किएका थिए कुनै बखत । कवि चित्रकार वीरेन्द्र सुब्बाका लागि उनी ‘हाफ ब्रेन ।’ डाक्टर बाबु मिस्टर वाइबाका लागि उनी ‘सेन्टिमेन्टल फूल’ र बिग्रेकी दार्शनिक । अनि बहिनी सुकन्याका निम्ति उनी ‘अपराजिता पारिजात ।’ 


कति थरी परिचय भइसक्छ कुनै व्यक्तिको सानो समयावधिमा नै । साथी बारबराको नजरमा उनी ‘एक नम्बरको जोकर साथै एक नम्बर गम्भीर राजनीतिक चिन्तक ।’ दिदी–बहिनी भेला भएपछि पेट दुख्ने गरी हँसाउने गर्थिन् रे पारिजात । बारबरा अचम्मित हुन्छिन्, ‘एक गम्भीर सामाजिक अभियन्ता कसरी त्यत्ति लाइट हार्टेड हुन सकेकी होलिन् ?’


सायद जिन्दगीले सिकायो उनलाई । कतिन्जेल पो निराशामा जाकिएर बस्नु ? आखिर मन र शरीरको पीडा, आर्थिक अभावको चोट, बढ्दै गरेको औषधि खर्च, डाक्टर बाबुको निरन्तरको रिसर्च, उनले खाइदिनुपर्ने काम नलाग्ने औषधि त छँदै थिए जीवनमा, जोर्नी दुखेर बेहाल हुँदा सिरानीमुनि कोडोपाइरिन नहुँदा पनि साथ दिने लोकल हुने गथ्र्यो सिसीमा । तब केलाई मान्नु पिर ? पर्दाभित्रकी साथी दयासिंहसँगको वनकालीको पिकनिक, पानीमा रुझ्दै असारेको फूल टिप्दाको मिठो क्षण, सुकन्याले प्रत्येक दिन ठेक्का लिइदिएको दूध र एउटा अन्डाको कोटा पनि त थियो उनलाई साथ दिन । तथापि थिए अनेक निराशाजनक समयसँगको संघर्ष । पहिलो उपन्यासको पाण्डुलिपि प्रकाशकबाट अनेक खोट देखाई फिर्ता भएपछि त्यहीँ जलाएर काठमाडाँैको हिउँदे चिसोलाई न्यानो पारेकी थिइन् एक हठी युवतीले । त्यसपछि अरू तीन उपन्यासहरू– ‘वर पीपल’, ‘मानव अन्तर्यामी’ र ‘शारदा’ ले पनि उही नियति भोग्यो । दनदनी सल्काएर ज्यानलाई न्यानो पारिन् । उपेक्षाको प्रतिशोध लिइन् । गजबको अहम् । सरुभक्त भन्छन्, ‘जीवन एक अहंकार हो ।’ 

अन्यायविरुद्ध प्रतिरोधी आवाज मुखर गर्ने पारिजातले समयक्रमसँगै आफूभित्रको अन्योल र जटिलतालाई पाखा लगाई प्रगतिवादी वैचारिकता अँगालेकी थिइन् ।


सम्भवतः अहंकार र अहंबीच मात्र झिनो दूरी छ । आफ्नो अस्तित्व दाबीका निम्ति आवश्यक छ अहंयात्रा । सानी बहिनी केही महिनाको हुँदै आमा बितेपछिको आमाविहीन एक भताभुंगे घरमा हुर्किएकी हुन् पारिजात । घर, जहाँ संस्कार छैन, एक नास्तिक बाबुको कडा शासनमा चलेको छ, जहाँ देउतालाई पानी चढाउने कचौरामा दाल हाल्न थालिएको छ, तामाङको चुलामा नचल्ने सुँगुरको भोज लगाउन थालिएको छ । त्यस्तै फरक घर, फरक माहोलमा हुर्किएकी हुन् उनी । एक कल्पनाशील केटी । एक फुक्काफाल किशोरी, जो कोर्सको किताबहरूमा बाँधिन चाहन्नन् र फेल हुन्छिन् कक्षा सातमा । बहिनी र दाजुहरू निकै मिहिनेती छन् तर उनी रनवन डुल्न, चुरोट फुक्न र कविता कोर्न माहिर भइसकेकी हुन्छिन् कलिलै उमेरमा । घरको एक्लो छोरा शिवकुमार वाइबा बाबुका मनपसन्द तर उही छोराको पानीमा डुबी ज्यान गएपछि विरक्तिएका बाबु नेपाल पस्छन् । 


धेरै थोक एकैपटक हुन्छ त्यस घरमा । डाक्टर बाबुको विरक्ति, आर्थिक संकट, चन्चलिन थालेको किशोरी मन, रहरहरू तर न बस्ने वासको ठेगान, न खाने गाँसको । दिदीको घरमा केही समय बस्दा देखेको भिनाजुको ह्रिंसक रूप र दिदीले झेलेको पीडाले झन् विरक्ति बढ्छ, मनमा । पत्राचारमै सीमित टुसाउँदै गरेको धनुवर मुखियाको मायालाई काचाककुचुक पारी २०११ साल मंसिरमा उनी नेपाल पस्छिन् । 


अभाव र पीडा अनेक छन् उनका । शरीरमा झांगिँदै गरेको दुखाइ छ । दिदीबहिनीले समय मिलाएर एउटै साडीमा कटाएका हिउँद वर्षा पनि छन् जीवनमा  पच्चीस, छब्बीस वर्षको रहरले भरिएको झरिलो समयमा ओछ्यान पर्नुको निराशा कल्पना गर्न सक्छ र अरूले ? यसै प्रसंग जोड्दै जिज्ञासा राख्छु सुकन्या दिदीसामु, ‘जीवनभरि बिरामी दिदीलाई स्याहारिबस्न तपाईंलाई गाह्रो र झन्झट भएन ?’‘भएन । म त सारा संसार, मेरो आफ्नै परिवार सबैलाई छाडेर पनि दिदीको स्याहार गरिबस्न तयार थिएँ,’ फटाक जवाफ आउँछ । 


क्या गहिरो सम्मान र लगाव । सुकन्या दिदीको स्याहारले नै पारिजातको कोपिलाउँदै गरेको सिर्जनात्मकता फक्रिएको हो । आज पनि उनी पारिजातलाई मनपर्ने गुलाफ सुम्सुमाउँदै बसेकी छिन् । फूलहरूप्रतिको उनको मोह अधिक थिएछ । किन त्यति प्रिय लाग्थे होलान् झरिजाने फूलहरू उनलाई ? उनले आफ्नो समय बाँचेर गइन् । सक्नेजति लेखेर गइन् । उनको अनुपस्थितिले खास फरक पारेको त के नै छ र ! आहुतिलाई लाग्छ, एउटा फरकचाहिँ पारेको छ, ‘म सोच्छु पारिजात नहुँदा उनको नयाँ सिर्जनाबाहेक ठोस अभाव नै हुन पुगेको त के होला ? निःसन्देह मलाई लाग्छ कि त्यो अभाव भनेको मूलतः युवाहरूलाई हुन पुगेको छ र कति समयसम्म त्यो रहिरहनेछ, अर्थात् स्नेही अभिभावकको अभाव ।’ 


दुखाइ, पीडा र अभावबीच पनि पारिजात सधैँ युवामाझ हुने गर्थिन् । अरूकै लागि धेर बोलिन्, काम गरिन् । जीवनको अन्त्यतिर आइपुग्दा त उनी साहित्यकारभन्दा बढी सामाजिक अभियन्ता भइसकेकी थिइन् । पञ्चायत सरकारको विरोधमा सडकमा उत्रिएका साहित्यकारमा उनी अग्रपंक्तिमा हुन्थिन् । लेनिनको कट्टर समर्थक उनले मृत्युपश्चात् आफ्नो शरीरमा सेतो नभई हरियो कपडा लगाइयोस् भन्ने इच्छा राखेकी रहिछन् । उस्तै गरियो । उनी हरियो कपडा र शिरमा लेनिनको फोटोसहित बिदा भइन् । 


विभेद र अन्यायविरुद्ध प्रतिरोधी आवाज मुखर गर्ने जोदाहा पारिजातले समयक्रमसँगै आफूभित्रको अन्योल र जटिलतालाई पाखा लगाई प्रगतिवादी वैचारिकता अँगालेकी थिइन् । समाजका दमित पात्रहरू र सामाजिक मुद्दाका विविध आयाममाथि विशिष्ट दृष्टिकोण राख्ने उनी मिथक र यथार्थको विपर्यासमाझ आफ्नै लेखनको बलमा सबैको दिलदिमागमा बस्न सफल एक समयसचेत स्रष्टा हुन् ।