• वि.सं २०७९ जेठ ९ सोमबार
  • Monday, 23 May, 2022
कुमार प्र. अर्याल
२०७९ बैशाख १४ बुधबार १८:४६:००
सम्झना

वैशाख १२ को त्यो कहालीलाग्दो दिन 

२०७९ बैशाख १४ बुधबार १८:४६:००
कुमार प्र. अर्याल

गोरखाको बारपाक केन्द्र बनाई ०७२ वैशाख १२ मा गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्प गएको सात वर्ष पूरा भएको छ। करिब ५६ सेकेन्डको त्यो धक्काले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याई सामाजिक संरचना नै उथलपुथल बनायो। यसै भूकम्पका कारण मानिसको वासस्थान, दिनचर्या र धेरै हदसम्म संस्कृति नै परिवर्तन हुन पुग्यो। विभिन्न व्यक्तिको भूकम्पको तत्कालको अनुभव बेग्लाबेग्लै खालको देखियो। काठमाडौंको भूकम्पग्रस्त ठाउँमा तीन महिना बसी गरिएको ‘इथ्नोग्राफिक’ अध्ययन र आफ्नो अनुभवसमेतलाई समेट्दै भूकम्पपीडितको उक्त दिनको वास्तविक भोगाइका केही अंश यस लेखमा प्रस्तुत गरिएको छ। 

घरबाहिर भएकाहरूको अनुभव
पेसाले पण्डित अर्याल थरका एक वयस्कलाई बिहानैदेखि अनौठो खालको मौसमको अनुभूति भइरहेको थियो। वसन्त ऋतुको समय भए पनि चिसो महसुस भयो। बिहानैदेखि लाखबत्ती बाल्ने ठाउँमा पूजा गर्दै गरेको अवस्थामा अनौठो खालको धक्काको महसुस गरे। ‘भूकम्प आयो !’ भनेर खैलाबैला भयो। उनी घरबाहिर आएर रुखमुनि पुगे। रुखको टुप्पोले भुई छुँदै उठ्दै गरेकोजस्तो दृश्य देखे। जमिनमा घोप्टो परेर बसिराखे। 

स्थानीय बानियाँ थरका एक युवक त्यस वेलामा मोटरसाइकलमा सवार थिए। एक्कासि मोटरसाइकल पन्चर भएजस्तो गरी हल्लिन थाल्यो। त्यसपछि उनले साधन रोक्न खोज्दा सम्हाल्न गाह्रो भई पल्टियो। त्यत्तिकैमा उनको आँखैअगाडिको बिजुलीको खम्बा हल्लिन थाल्यो। उनले बल्ल भूकम्प आएको थाहा पाए। भूकम्पको वेग बिस्तार–बिस्तार बढ्दै गयो। हिँडेका गाडी रोकिन थाले। घरभित्रका मानिसहरू कोलाहल गर्दै सडक र आसपासका खुला स्थानमा भाग्न थाले। ती युवक भने त्यही ठाउँमा उभिन नसकी थचक्क बसे। 

स्थानीय तिमिल्सिना थरका शिक्षक भने त्यसवेला नयाँ बसपार्कनजिक हिँडिरहेका थिए। त्यहीवेला उनकै अगाडि ६ तले घर गल्र्यामगुर्लुम ढल्यो। त्यत्रो संरचनाको भग्नावशेष कहाँ गयो होला भनेर उनी अचम्ममा परे।

भूकम्पको समयमा दक्षिण कोरियामा रहेका ४४ वर्षे तिमल्सिना डिउटी आवर सकेर कोठामा जाँदै थिए। त्यही वेला उनका साथीले फोनमार्फत नेपालमा ठूलो भूकम्प गएको बताए। तुरुन्तै तिमल्सिनाले श्रीमती र अरू आफन्तलाई फोन गरे। तर, कतै फोन लागेन। कोठामा पुगेर अनलाइन हेरे। अनलाइनहरूमा भत्केको धरहरा र अन्य भग्नावशेष मात्र देखे। विदेशमा रहेका सबै नेपालीहरू तनावमा देखिन थाले। केहिबेरमै १५ जनाजति नेपाली एकै ठाउँमा भेला भएर सबैले घरमा फोन गरे। तर, कसैको पनि फोन लागेन। त्यतिखेर उनलाई लागेछ, ‘नेपालमा फोन उठाउने नै कोही बाँकी छैन।’ उनलाई लाग्यो, परिवार नै नरहेपछि अब आफू मात्र बाँचेर के गर्ने ?’ उताको समयअनुसार १० बजेतिर (नेपाली समय बेलुकाको ७ बजे) उनको श्रीमतीको नम्बरबाट एक घन्टी आयो र फोन काटियो। फोनमा कुरा हुन नसके पनि कम्तीमा फोन गर्ने त कोही बाँकी रहेछ भन्ने लागेर मनमा केही शान्ति भयो। पछि सम्पर्क भयो र परिवार सबै सकुसल रहेको तर घर भने भत्केको थाहा पाएँ। 

घर–आसपासमा भएकाहरूको अनुभव 
भूकम्पको समयमा बुहारी र नातिनीसहित दुई तला माथि रहेका ७६ वर्षीय श्रेष्ठ थरका एक वृद्ध घट्याकघुटुक गरेको आवाज आउनेबित्तिकै भूकम्प आयो भन्दै दौडेर बाहिर आउन खोज्दा बुहारीले समातेर रोकेपछि तीनैजना ढोकानिर कुनामा बसे। 

संजोगले आफू बसेकोभन्दा विपरीत दिशातिर घर भत्कियो। त्यो घर लडेको डरभन्दा पनि यदि बुहारीले नरोकेको भए तल पुग्नासाथ त्यही घरले थिचेर ज्यान लिने रहेछ भन्दै उनी झन् डराए। यस्तो विपत्को समयमा होसियारी पुर्‍याउन नसके ठूलै क्षति वहन गर्नुपर्छ भन्ने कुरा त्यसले देखायो।

२१ वर्षे परियार थरका एक युवा पूरै घर भत्किए पनि बाहिर निस्किने अवस्था नहुँदा घरभित्र पलङमुनि छिरेर बाँच्न सफल भए। उनका बाबु भने आफ्नो सिलाइ पसल बन्द नगरी आफ्नो घरतिर कुदे। ३२ वर्षे बिन्दुकारले आफ्नो चार तलाको पक्की घर हरियो बाँसको लौरो हातले हल्लाएझैँ हल्लिएको देखे। करिब २० सेकेन्डपछि बजार क्षेत्रका पुरानाखाले घर सबै लड्दा धुलोले बजार क्षेत्र ढाकेको र आफूले केही देख्न नसकेको अनुभव सुनाए। 

परिवारका सदस्य हताहत भएकाहरूको अनुभव
भूकम्पको क्षणमा सबैजना आत्तिँदै हारगुहार र मद्दतका लागि चिच्याइरहेका थिए। सबैजना एक–आपसमा मद्दत र उद्धारमा जुट्दै पुरिएका, थिचिएका मानिसलाई निकाल्न र घाइतेहरूको उपचारमा तल्लीन थिए। अवस्था यस्तो थियो कि कसैको परिवारको सदस्यको मृत्यु भएको देख्दा बसेर रुने फुर्सद पनि कसैलाई थिएन। 

नकर्मी आमा भूकम्पको धक्का आउनेबित्तिकै घरबाट बाहिर निस्किन खोजिन्। घरको इँटा खसेर टाउकोमा लाग्दा उनी बेहोस भइन्। छोराले तत्काल उनलाई नजिकैको अस्पताल लगे। अस्पताल लाने क्रममा बस्तीका मानिस सबै सडकमा बसेका देखिन्थे। जसको कारण सडकभरि मानिसको भिडका कारण गाडी चलाउन पनि मुस्किल भयो। अस्पताल पुग्दा पनि पूरै कोलाहलको वातावरण थियो। टिचिङ अस्पतालको आकस्मिक कक्षको प्रांगण पूरै घाइते र बिरामीले खचाखच थियो। केही समयको उपचारपछि आमाको होस आयो अनि उनलाई घर फर्काइयो।

आफ्नो परिवार सकुसल भए पनि माइलो दाजुका बुहारी, नाति र नातिनी घरभित्रै परेको सुन्नेबित्तिकै ४४ वर्षे महर्जनको घरमा भएको फलामको गल बोकेर उद्धारका लागि गए, जहाँ अरू पनि जम्मा भएका थिए। मान्छेले मात्र सम्भावना नदेखेपछि नजिकै रहेको प्लानिङमा भएको डोजर ल्याई तत्कालै धराप रहेको घरको गारो भत्काउँदै बिस्तारै पालैपालो तीनैजनालाई निकाल्न सफल भए। नाति र नातिनी बेहोस अवस्थामा भएकाले तत्कालै अस्पताल लगे। 

बस्तीको बीचमा एकजना बच्चा घरभित्र परेको र उक्त घरमाथि वरिपरिका अरू घरहरू पनि लडेकाले बिनाडोजर त्यो भग्नावशेष पन्छाउन असम्भव थियो। साँगुरो सडक त्यसमा पनि घरहरूले पूरै सडक अवरुद्ध भएकै कारण समयमा डोजर पुर्‍याउन सकिएन। सडक पन्छाउँदै भोलिपल्ट मात्र डोजर पुग्यो र पन्छाएर निकाल्दा बच्चाको प्राण गइसकेको पाइयो। समयमा उद्धार गर्न सकेको भए सायद बचाउन सकिने थियो कि !

भूकम्पपछि तत्कालको अवस्था
भूकम्पपछिको तत्कालको अवस्थामा बचेकाहरूको बासस्थानको व्यवस्था मिलाउनु अर्को चुनौती भयो। भूकम्पपछि तत्काल खुला ठाउँमा परिवारका साथ आएका ७६ वर्षे श्रेष्ठलाई उनका छोराले तत्कालै त्रिपालले बनाएको शिविरमा अरू वृद्ध, महिला र बालकहरूसँगै राखे। शिविरमा रहेका महिला तथा वृद्धवृद्धा आपसमा पीडा साटासाट गरेर बसे। विभिन्न जात समूहका मानिस एकै शिविरभित्र अटाएर बसे पनि उनीहरूको भान्छा भने छुट्टाछुट्टै देखियो। बरु खानेकुराको जोहो गर्ने सवालमा भने आपसमा मिलेर गरे। 

खाने रासनको जोहो गर्न यता किराना पसलमा मानिसहरूको भिड लाग्यो। पसलमा भएका खाद्यान्न सामग्री मानिसहरू जतिसक्दो बढी उठाउन खोग्दै थिए। कतिले त्यो दिन दालमोठ र चिउरा खाएर बसे, कतिले आलु उसिनेर खाए। जसको घरभित्र जान सक्ने अवस्था छ, उनीहरूले घरबाट चामल, ग्यास निकालेर शिविरमै खाना पकाएर खाए र अरूलाई पनि बाँडे।

त्यस दिन डोजर रातभरि उद्धारका लागि खटिनै रह्यो। भोलिपल्टसम्म सबै पुरिएका व्यक्तिलाई  निकाली सकियो। घटनास्थलमा नै मृत्यु भएका सबैलाई नजिकको घाटमै एकै ठाउँमा जलाउने प्रबन्ध मिलाइयो। मृतकका आफन्त दागबत्ती हातमा लिएर उभिन सकिरहेका थिएनन्। उनीहरूले अरूको सहायताले चितामा आगो लगाए। पूरै बस्ती नै मसानघाट बनेको त्यो दिन पूरै मलामी नै शोकाकुल देखिए। 

यसरी समग्रमा नियाल्दा जो जहाँ भए पनि यस भूकम्पले कुनै न कुनै रूपले आघात पुर्‍याएको पाइयो। भूकम्पले मानिसहरूको बसाइ र अवस्थाअनुसार फरक–फरक तवरले असर पारेको देखियो। कसैलाई त्यो पीडा क्षणिक देखियो भने कसैका लागि आजका दिनसम्म पनि यो उत्तिकै पीडाको विषय रहिरहेको छ। भूकम्पपछिको तत्कालको अवस्थामा हताहत भएकाहरूको उद्धार, शिविरको व्यवस्थापन, खानपानको व्यवस्थालगायतका क्रियाकलाप समुदायभित्रबाट नै सञ्चालन भएको पाइयो। 

अन्तमा वैशाख १२ गतेको उक्त दिन ‘को गरिब को धनी, सबैको बास पालमुनि’ भन्ने कथन आत्मसात् भएको देखियो। उक्त दिनमा धनी गरिब, सम्पन्न, विपन्नभन्दा पनि सबैजना मानवीय नाताको हिसाबले कसले कुन ठाउँबाट के गर्न सकिन्छ भन्दै एकआपसमा हातेमालो गर्दै विपत्को सामना गरी राहत तथा उद्धारमा निरन्तर खटिएको देख्न सकिन्थ्यो। त्यसैगरी भूकम्पको समयमा सञ्चारको महत्व उल्लेख्य देखियो, जसले गर्दा कसको अवस्था कस्तो छ भन्ने थाहा पाउन मद्दत पुर्‍यायो भने उद्धारको काम पनि सहज बनाएको देखियो। 

योसँगै मानिस कुनै पनि समयमा कहीँ पनि हुन सक्ने हुँदा आफू र आफ्नो घरसँगै समस्त समाज र राज्य नै सुरक्षित हुनु आवश्यक छ अनि मात्र विपत्बाट सुरक्षित हुन सकिन्छ भन्ने पाठ पनि यस विपत्ले सिकायो।

(लेखक सोसल साइन्स वाहाःमा आबद्ध छन्।)