सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक दिवस
मलाई छोटुको बिहानै आउने कलको बानी परिसकेको थियो । तर, एक साताजति छोटुको कल आएन । त्यस दिन म आफैँले कल गरेँ । कल छोटुले नै उठाए ।
मैले सोधेँ, ‘छोटु के हुँदै छ ? तिम्रो भाइको खबर आयो त ?’
उनले भने, ‘हाँ हो गया ?’
मैले सोधेँ, ‘के भयो ?’
उनले भने, ‘भाइका बडी आ गया । ६ दिन आगे । सब काम हो गया ।’
छोटुको कुरा सुनेपछि लामो सास फेरेँ । मन सजिलो भयो । अनि बेडमा बसेँ । सिरानी तानेर एकछिन बेडमा पल्टिएँ, आँखा चिम्लिएँ र भाइको बडी आएपछि छोटुको परिवारले यसो–यसो गरे होलान् भनेर मनमा चित्र बनाएँ । अनि सोचेँ, ‘ढिलो–चाँडो छोटुकी आमा देवकीको इच्छा पूरा भयो । छोराको शव देखेपछि देवकी खुसी भइन् होला है ।’
तर, एकछिनमै झसंग भएँ । होइन, म यो के सोच्दै छु ! देवकीको छोराको लास पो आएको हो त । छोराको लास आउँदा देवकी कसरी खुसी हुन सक्छिन् ? अनि म के कुरामा खुसी हुँदै छु ? एउटी आमाको २२ वर्षे छोराको लास आएकोमा ? एकछिन मन अमिलो भयो । होइन, म कस्तो पेसामा छु ? कसैको लास आउँदा खुसी हुनुपर्नेे ! आनन्दित हुुनुपर्ने !
हो, हामी पत्रकार । धेरैले भन्छन्, ‘पत्रकारको त मन नै हुँदैन । संवेदना नै हुँदैन । जहाँ पनि जे पनि प्रश्न गर्छन् ।’ हो, हामी खाली प्रश्न गर्छौंँ । तर, संवेदना नै नभएको भने होइन । हामीसँग पनि छ त संवेदना । दुःख पर्दा रुन्छौँ । मन दुख्छ । तर, कसैको यही पीडा लेख्नुपरेमा, देखाउनुपरेमा उसलाई बुझ्नैपर्छ ।
त्यसपछि प्रत्येक दिन बिहान ६ बजे वीरेन्द्रका भाइ छोटुले मलाई कल गरे । उनी सोध्थे, ‘हमारा भाइका बडी क्या हुआ ?’ तर, उनको त्यति गह्रौँ प्रश्नको उत्तर मसँग थिएन । हवाई उडान बन्द थियो । भोलिपल्ट बिहान फेरि उनको फोन आउँथ्यो । प्रश्न उही हुन्थ्यो ।
कोभिडले विश्व आक्रान्त पारेका वेला हामी पनि घरबाटै काम गर्दै थियौँ । म वैदेशिक रोजगारका विषयमा समाचार लेख्ने भएकाले त्यतिवेला नेपाली कामदारले विदेशमा भोग्नुपरेको समस्यादेखि उद्धारको विषयमा समाचार लेख्दै थिएँ । कोभिडका कारण हवाई उडान बन्द हुँदा खाडी र मलेसिया गएका नेपाली कामदार बिचल्लीमा थिएँ । आर्थिक संकटका कारण बन्द भएका कम्पनीहरूले नेपाली कामदारलाई रोजगारीबाट निकालिदिएका थिए । कामबाट निकालिएका कामदारसँग खान र बस्नसमेत ठाउँ थिएन । नेपाली कामदारहरू आफ्नो कपडाको पोको बोकेर सडकमा, घरको छतमा, शौचालयमा, स्नानगृहमा सुतिरहेका थिए । कतै एउटै कोठामा कोचिएर १५ देखि २० जनासम्म बसेका थिए । भारत, फिलिपिन्सजस्ता बलिया मुलुकले दूतावासमार्फत आफ्ना नागरिकलाई खाने र बस्ने व्यवस्था गरेका थिए । कसैलाई उद्धार गरेका थिए । तर, नेपाल सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्न नसक्दा कामदारहरू बिचल्लीमा थिए । केही कामदार भने भारतीय कामदारको शरणमा थिए ।
हामी घरमा बसेर उनीहरूसँग अनलाइन माध्यमबाट कुरा गर्थ्यौँ । उनीहरू आफूले पाएको दुःख सुनाउँथे । रुन्थे, पीडा सुनाउँथे, उद्धार गर्न याचना गर्थे । हामी भने उनीहरूको आवाजलाई नीति–निर्मातासम्म पुर्याउन समाचार लेखिरहन्थ्यौँ । भोलिपल्ट समाचार प्रकाशित पनि हुन्थ्यो । तर, कति दिनसम्म कामदारका कुरा सुनेर रातमा निद्रा आउँदैनथ्यो । के गरे होलान्, खान पाए कि पाएनन्, बस्ने ठाउँ पाए कि पाएनन्, कोभिड लागेकाहरू मरे कि बाँचे होलान्, यी यस्ता पीडाले मन दुख्थ्यो । तर, विदेशमा भएका कामदारलाई हामी यहाँबाट केही गर्न सक्दैनथ्यौँ । सक्थ्यौँ त केवल लेख्न मात्रै ।
यसैमध्ये एउटा घटना हो, धनुषाका २२ वर्षीय वीरेन्द्र दासको । उनी डेढ वर्षअगाडि मात्रै लेबर भिसामा दुबई गएका थिए । १० कक्षासम्म पढेका वीरेन्द्र गाउँघरमा खेतीपाती गर्थे । तर, वरपरका साथी विदेश गएको देखेपछि उनलाई पनि जान मन लाग्यो । आमा देवकीले ऋण गरेर दुई लाख रुपैयाँ जम्मा गरिन् र वीरेन्द्र दुई वर्षका लागि दुबई उडे । वीरेन्द्रले केही दिनअगाडि मात्रै आमालाई कल गरेर ‘दसैँमा घर आउँछु’ भनेका थिए । आमा पनि छोरो घरमा आएका वेला लगनगाँठो कसिदिने सुरले केटी हेर्दै थिइन् । त्यही समयमा कोभिडको त्रास बढ्यो ।
वैदेशिक रोजगार बोर्डबाट वीरेन्द्रको नम्बर खोजेर उनको घरमा फोन गरेँ । वीरेन्द्रकी आमा देवकीले फोन उठाइन् । मैले सोधेँ, ‘वीरेन्द्रको घरमा फोन गरेको हो, हजुर को बोल्नुभयो ?’ वीरेन्द्रको नाम लिनेबित्तिकै त्यो घरमा हलचल मच्चियो । उताबाट उत्तर त आयो, तर मैले बुझिनँ । फेरि सोधेँ, ‘हिन्दी बुझ्नुहुन्छ ?’ सायद उनले मेरो भाषा बुझिनन् । त्यसैले आफ्नै भाषामा कसैलाई बोलाइन् । केही छिनपछि एकजना पुरुषले बोले, ‘हाँ कौन ।’ उनी वीरेन्द्रका भाइ छोटु रहेछन् । अनि मैले आफ्नो बारेमा भनेँ । सायद उनले पनि पूरै बुझेनन् । उनले यति मात्रै भने,‘हमारा भाइका बडी नही आया ।’
मैले सोधेँ, ‘तिम्रो भाइको बडी त उतै जलाउने भनिएको छ त ?’ उनले भने, ‘नही, हमारा भाइका बडी चाहिए, नही तो हमार मा मर जाएगी ।’ पछाडिबाट धेरै मानिसको हल्ला आइरहेको थियो । एउटी महिला रोइरहेको आवाज आयो । सायद उनी देवकी नै थिइन् ।
दुबई गएका वीरेन्द्र दासको उतै मृत्यु भयो । उनका गाउँघरका साथीभाइले फोन गरेर परिवारलाई खबर गरेका थिए । तर, चार महिनादेखि शव भने आएको थिएन । छोराको मृत्युको खबरले उनकी आमा अचेत अवस्थामा थिइन् । श्रीमतीको अवस्थाले बुबा पनि असामान्य भइसकेका थिए । देवकीका दुईवटा छोरा वीरेन्द्र र छोटु । जेठो छोराको मृत्युको खबरले मर्माहित भएको परिवारमा शव पनि नआउने भएपछि झनै पीडा थपियो । वैदेशिक रोजगार बोर्डले शव उतै जलाउनका लागि मन्जुरी दिन दबाब दिएको रहेछ । त्यसपछि घर समसान घाटजस्तै शून्य थियो । वीरेन्द्रकी आमा पिँढीमा बसेर कतैबाट छोरो आइपुग्छ कि भनेर पर्खिरहन्थिन् ।
मेरो फोनले वीरेन्द्रको घरमा आशा जागेछ । उनीहरूलाई लाग्यो कि सायद मैले वीरेन्द्रको शवका लागि पहल गरिदिन सक्छु भनेर । वीरेन्द्रको शव नै ल्याउने मसँग क्षमता त थिएन । तर, परिवारले मन्जुरी नदिएसम्म शप उतै जलाउन पाइँदैन, त्यसैले शव ल्याउने हो भने कहीँकतै मन्जुरी नदिनू भनेर बुझाएँ ।
त्यसपछि प्रत्येक बिहान ६ बजे वीरेन्द्रका भाइ छोटुले मलाई कल गर्न थाले । उनी सोध्थे, ‘हमारा भाइका बडी क्या हुआ ?’ तर, उनको त्यति गरुंगो प्रश्नको मसँग कुनै उत्तर थिएन । हवाई उडान बन्द थियो । शव नेपाल ल्याउने कुनै गुन्जायस नै थिएन । त्यसैले म उनलाई भन्थेँ, ‘छोटु न आत्तिऊ । हवाईजहाज उड्न थालेपछि आउँछ ।’ अनि उनी फोन राख्थे । भोलिपल्ट बिहान फेरि उनको फोन आउथ्यो । प्रश्न उही हुन्थ्यो, ‘हमारा भाइका बडी क्या हुआ ?’
वीरेन्द्रको शव आएपछि छोटुको कल नआउने पक्कापक्की भयो । छोराको बिहे गरिदिने देवकीको इच्छा त पूरा भएन, तर मृत छोराको मुख हेर्ने इच्छा भने पूरा भयो । अनि म पत्रकार उनको परिवारले वीरेन्द्रको शव पाए भनेर खुसी भएँ ।
घाँटीमै अड्कियो प्रश्न
कोभिडको समयमा हवाई सेवा बन्द हुँदा विभिन्न कारणले विदेशमा मृत्यु भएका कामदारको चार महिनादेखि शव नेपाल आएको थिएन । सम्बन्धित मुलुकले कामदारको शव नेपाल ल्याउनभन्दा उतै दाहसंस्कार गर्न चाहन्थ्यो । यता वैदेशिक रोजगार बोर्डले पनि सबैलाई उतै दाहसंस्कार गराउन प्रेरित गर्दै थियो । कम्पनीले परिवारको मन्जुरी पाएपछि उतै दाहसंस्कार गराउँथ्यो ।
शव झिकाउन झन्झट हुने भन्दै सरकारले उतै दाहसंस्कार गर्न खोजेको थियो । तर, मृतकका आफन्त भने कि त सास चाहियो, कि लास चाहियो भन्थे । एउटा फोनको भरमा आफन्तको मृत्यु भएको विश्वास गर्न सबैलाई कठिन थियो । वीरेन्द्रकी आमाको जस्तै टुकबहादुरकी श्रीमती पुष्पाको पनि यही अवस्था थियो ।
उदयपुर कटारीका ३९ वर्षीय टुकबहादुर बुढाथोकी दुबई गएको दुई वर्ष पुग्नै लागेको थियो । उनले घरमा श्रीमती भित्र्याएर मात्रै विदेश गएका थिए । दुई वर्ष छुट्टी हुने भएकाले श्रीमतीलाई फोन गरेर अब म छुट्टीमा छिट्टै घर आउँछु भनेर पनि सुनाएका थिए । त्यसको भोलिपल्ट उनका साथीहरूले घरमा फोन गरेर उनको मृत्यु भएको सुनाए । तर, उनको परिवारले स्विकार्न सकेको थिएन ।
मृत्यु भएको, तर शव दुबईमा नै अड्किएको सूचीमा टुकबहादुरको पनि नाम थियो । मैले सूचीमा भएको नम्बर टिपेर फोन गरेँ । फोन उठ्यो । तर, त्यो नम्बर उनको छिमेकी दाजुको रहेछ । निकै कोसिस गरेपछि बल्ल टुकबहादुरकी श्रीमतीसँग कुरा गर्न पाइयो । मैले हेलो भनेँ । मसिनो स्वरमा उनले हजुर भनिन् । सहज हुन खोज्दै ‘हजुर टुकबहादुरजीको श्रीमती हो ?’ भनेर सोधेँ । उनले सुकसुकाउँदै ‘हो’ भनिन् ।
उनको आवाजले म कमजोर भएँ । अलमलमा परेँ । उनलाई सोध्नुपर्ने प्रश्न नै बिर्सिएँ । एकछिन संवाद रोकियो । उनी पनि बोलिनन् म पनि बोलिनँ । तर, मलाई उनकै मुखबाट सुन्नुपर्ने थियो । त्यसैले मैले सोधेँ, ‘पुष्पाजी हजुरको श्रीमान्को मृत्यु भएको सरकारको दाबी छ । तपाईंहरूलाई कम्पनीले केही खबर ग¥यो ?’ त्यसपछि उनले अलि सहज हुँदै भनिन्, ‘शव नदेखीकन हामीले कसरी विश्वास गर्ने ? वर्षौँ लागोस्, तर हामीलाई शव चाहिन्छ ।’
सर्लाही लालबन्दीका २५ वर्षीय देवराज पौडेल विगत चार महिनादेखि साउदीको अस्पतालमा छन् । सडक दुर्घटनामा परी उनको आधा शरीर चल्दैन । चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार पुगेको अस्पतालले बताएको छ । तर, उनीसँग यति धेरै रकम भुक्तानी गरी नेपाल फर्कन सक्ने हैसियत छैन ।
टुकबहादुरको परिवार उनको मृत्यु भएकोमा विश्वस्त छैनन् । अघिल्लो दिन मात्रै भान्जीको जन्मदिन थियो । उनले भान्जीसँग फोनमा कुरा गरेका थिए । ठिकठाक मान्छे, भोलिपल्टै कसरी मृत्यु हुन सक्छ ? उनको परिवारलाई पत्यार लागेको छैन । तर, टुकबहादुरको परिवार उनको शव हेर्न चाहन्छ । मेरा लागि समाचार त तयार भयो, तर पुष्पाको आवाज मेरो मनमा धेरै दिनसम्म रहिरह्यो ।
उडान सुरु भएपछि उनको परिवारले टुकबहादुरको शव बुझेको बोर्डले जानकारी दियो । फेरि मलाई खुसी लाग्यो । यो कस्तो खुसी ? एकछिन खुसी भएँ, फेरि अलमलिएँ ।
मैले घरको मुख देख्न पाउँछु दिदी ?
देवराजसँग कुरा भएको पाँच दिनजति भएको थियो । केही समयको कुराकानीपछि देवराजले गरेको यो प्रश्नले अहिले पनि झकझकाउँछ मलाई । ‘मैले घरको मुख देख्न पाउँछु त दिदी ?’ देवराजको यो प्रश्नको उत्तर म आफैँसँग पनि छैन । ‘म समाचार लेखेर सम्बन्धित निकायमा पुर्याउँँछु,’ मेलै देवराजलाई सुनाएँ ।
सर्लाही लालबन्दीका २५ वर्षीय देवराज पौडेल विगत चार महिनादेखि साउदीको अस्पतालमा छन् । सडक दुर्घटनामा परी उनको आधा शरीर चल्दैन । चार महिनाको उपचार खर्च ८२ लाख ४१ हजार पुगेको अस्पतालले बताएको छ । तर, उनीसँग यति धेरै रकम भुक्तानी गरी नेपाल फर्कन सक्ने हैसियत छैन । रकम भुक्तानी नगरेसम्म अस्पतालले उनलाई डिस्चार्ज गर्दैन । कम्पनीले पनि यति धेरै रकम भुक्तानी नगर्ने बताएपछि अहिले देवराज ३२२ नम्बर बेडबाट उद्धार गर्न सरकारसँग गुहार मागिरहेका छन् ।
उनको शरीरको हात र मुखबाहेक अन्य कुनै पनि अंगले काम गर्दैन । उनी दिसा–पिसाब भएकोसमेत चाल पाउँदैनन् । खाना दिन र दिसा–पिसाब सफा गर्नबाहेक उनको बेडमा कोही पनि छिर्दैनन् । जीवनको अन्तिम दिन उनी आफ्नो परिवारसँग बिताउन चाहन्छन्, तर उनलाई सहयोग गर्ने कोही छैनन् ।
देवराजको समस्याका विषयमा हामीले वैदेशिक रोजगार बोर्डमा कुरा गर्यौँ । बोर्डले प्रक्रिया पूरा हुन नै एक महिना लाग्ने बताएको छ । तर, साउदी अरबको केसमा रोजगारदाताले जिम्मा लिएन भने प्रक्रिया झन्झटिलो हुने बोर्डको भनाइ छ ।
टुकबहादुर, वीरेन्द्र र देवराजका यी प्रतिनिधि घटना मात्रै हुन् । यस्ता सयौँ घटना छन् । तर, वैदेशिक रोजगारीमा गएका कामदार सरकारको प्राथमिकतामा नपर्दा नेपाली युवा विदेशमा धेरै जोखिममा परेका छन् । नेपाली कामदार जोखिममा पर्नुको मुख्य कारण सरकारी उदासीनता, दूतावासको गैरजिम्मेवारीपन, बेरोजगारी र वैदेशिक रोजगारका विषयमा जानकार नहुनु हो ।
अधिकांश अदक्ष श्रमिक वैदेशिक रोजगारीमा छन् । शिक्षाको कमीका कारण उनीहरूलाई विदेशमा हुने समस्याका बारेमा पनि जानकारी छैन । न त उनका परिवारलाई नै छ । कुनै समस्या पर्यो भने कहाँ उजुरी गर्ने ? कसलाई भन्ने ? के गर्ने ? भन्नेसमेत जानकारी छैन । कतिपय कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डले उद्धारको काम गर्छ भन्नेसमेत जानकारी छैन । धेरै कम कामदारका परिवार मात्रै बोर्डमा पुग्छन् । जानकारी पुगे पनि बोर्डको काम कारबाही सुस्त छ । त्यस्तै, सरकारले बनाएको प्रक्रिया पनि झन्झटिलो छ । बोर्डले सबै काम परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने हुन्छ । जसको कारण पीडित झनै पीडित भइरहन्छ ।