• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गुरुङ सुशान्त
२०७९ बैशाख २४ शनिबार ०६:५९:००
साहित्य

खबरदारीमा उभिरहेको कविता

२०७९ बैशाख २४ शनिबार ०६:५९:००
गुरुङ सुशान्त

पारिवारिक पृष्ठभूमि र आर्थिक हैसियतका आधारमा हेर्ने हो भने भुइँतहको उत्पीडनबारे उति चासो नराख्ने वर्गभित्रका सदस्य हुन्, कवि केशव सिलवाल । तर, उनी विगत दुई दशकभन्दा बढी समयदेखि प्रगतिवादी धारका कविता लेखेर उत्पीडित समुदायको सांस्कृतिक आन्दोलनमा होमिएका छन् । उनी गुजुल्टिएका दर्शनशास्त्रको बार्दलीमा बसेर अलौकिक चेतका चुस्की मिसाएर कविता ‘लेखिदिने’ कवि कोटरीमा पर्दैनन्, न त सत्तालाई रिझाएर राजकीय नियुक्ति–विन्यासमा अनुप्रास मिलाउने ‘प्रगतिशील’मा पर्छन् । उनी आन्दोलनको आवश्यकताअनुसार कहिले सडक–संघर्षमा डटेर लाग्छन्, कहिले कविताकै मोर्चाबाट प्रतिरोध गर्छन् । उनको यही प्रतिरोध शृंखलाको पछिल्लो आवाज हो– ‘चिबेचरा’ । पचास कविताहरूको यस संग्रहमा उनले आफ्ना अघिल्ला दुई संग्रहमा जस्तै आमजनताबाट टाढिँदै गएका शासक र राज्यमाथि धाबा बोलेका छन् ।


कवि सिलवालको वैचारिकीमा खास समूहप्रति आस्था उम्रेको हुन सक्छ । हुन सक्छ, कुनै दलको सदस्यता नै झोलामा जतनले च्यापिएको होस् । अर्थात्, अमुक दलको सदस्यता नवीकरण नगरी अरूप्रति भरोसा पलाएको पनि हुन सक्छ । काव्यिक कसीमा यी प्रसंगहरू पादटिप्पणी मात्रै भइदिन सक्छ, आमुखमा उभिने जोडदार प्रश्न हो– केशव सिलवालले निरपेक्ष सौन्दर्यको बखान गरेर चलिरहको संरचनालाई टेको मात्रै दिइरहे कि निमुखा र सीमान्तकृतहरूका लागि आफ्नो कविताबाट आवाज भरे ? आजसम्म सिलवालका कविताहरूले बताएका छन् कि उनी भुइँमान्छेकै पक्षधरता लिन्छन् । उनी भन्छन्– ‘कविता मेरा लागि आन्दोलन, संघर्ष र बाँच्ने प्रेरणा हो । राज्य र समाजले गरेका गलत र घृणित कर्तुतहरूप्रति मेरो नोट अफ डिसेन्ट हो, कविता ।’ कवितालाई वैचारिक हतियार र जीवनवादी औजार मान्ने भएकाले उनी शृंगारिक तालीको गडगडाहटका आशामा आफ्नो मसी खेर फाल्दैनन् । उनलाई थाहा छ, कवितामा भोका आवाजहरू गुन्जिएको धेरैलाई रुचिकर लाग्दैन । यहाँ सीमान्तकृत आवाज उराल्ने कविहरूलाई नै सीमान्तकृत बनाउने चेष्टा गरिन्छ । पुँजीवादी बजारमा यस्ता जोखिमलाई चिर्दै सिलवालहरू निरन्तर कविताको मोर्चामा प्रतिबद्ध हुनु पनि उज्यालो पक्ष हो ।


चेकोस्लोभाकियाली कवि मिरोस्लाव होलुब भन्छन्, ‘जब अव्यवस्थालाई अरू धेरै झेल्न सकिँदैन, तब व्यवस्थाका खातिर गरिने अन्तिम प्रयास हो– कविता ।’ होलुबको भनाइमा पूरापूर भरोसा गर्नैपर्छ भन्ने केही छैन । तर, आन्दोलन, परिवर्तन र क्रान्तिका निर्णायक मोडहरूमा कविताले जनतालाई जगाएको दृष्टान्त प्रशस्तै छन् । के मात्रै हो भने कविताका नाउँमा शब्दका जुलुस खडा गर्नुभएन । अक्षर–विलासको भिडभाडले कविताप्रति मात्रै होइन, सम्बन्धित भाषाप्रति नै पाठकीय भरोसा बिलाएर जान्छ, बिस्तारै । दिवसहरूमा यस्सो ‘कोरिदिने’ वस्तु, शब्दसीमा/समय–सीमाभित्र लेखेर पत्रिकाका पृष्ठ भर्ने ‘जिनिस’ र नामको निरन्तरताको माध्यम मात्रै बनाइदिँदा कविता विधा नै अर्धमृत भइदिन सक्छ । सिलवालका कविता पढ्दा बोध हुन्छ, प्रयोगका नाममा अर्थहीन शाब्दिक जञ्जाल बुनेर कविको तक्मा भिर्ने फाल्तुको रहर उनमा छैन । उनको रुचि केमा छ ? उनको रुचि छ– कविताबाट देशको वास्तविक छवि देखाउनुमा । समृद्धिका गगनचुम्बी गफ फलाक्ने नेताहरूलाई उनी देखाउन चाहन्छन्, तुइनमा उल्टो झुन्डिएर विद्यालय गइरहेकी एउटी सानी केटी । सानी केटी अर्थात् यस देशको वास्तविक वर्तमान र कहालीलाग्दो भविष्य ।


सिलवालसँग पनि उडन्ते कल्पनाका आकाशमा कावा खाने समय र स्रोत हुन सक्छन् । तर, त्यो उनको बाटो होइन । यही धरतीका आलो अभाव, विषम विभेद र विकराल बेथितिले उनको निद्रा खोसेका छन् । बहुसांस्कृतिक मुलुकमा आज पनि ‘एक भाषा, एक भेष’को सोचले ग्रस्त राज्यव्यवस्था देखेर उनी आक्रोशित छन् । उनले आफ्नो अनिद्रा र आक्रोशलाई आफ्ना अक्षरहरूमा बुनेका छन् । र, उनी चाहन्छन्– ती अक्षर–अक्षरको इँटाबाट एउटा यस्तो बलियो बाटो बनोस्, जहाँबाट यथार्थमै समतामूलक समाजसम्मपुग्न सकियोस् । 


नेपाली काव्य जगत्मा बोझिला शब्द–संगठकहरूलाई महान् कविको पगरी भिराइदिने काम भएका छन् । अमूर्ततालाई आधुनिकताको अभिलक्षण भनिदिएर प्रशंसाको टाकुरामा उकालिएको छ । तर, ती कविताको महत्ताबारे सांस्कृतिक जगत् बेखबर छ । यता केशव सिलवालहरू अमूर्तताको दहमा पौडिनुभन्दा सरल र बोधगम्य भाषामै जनताका गीत गाउन चाहन्छन् । यसको अर्थ यो नलागोस् कि केशव सिलवाललाई अनेक फुर्का जोडेर महान् भन्नुपर्छ । बनावटी ताली आखिरमा आफ्नै असली कानलाई समेत बनावटी नै लागिरहेको हुन्छ । सिलवालभित्रको कवि साधनारत छ लेखनमा । र, जनताको जमिन नछाड्न कोसिसरत पनि छ । एउटा कविको इमानदारीका लागि यही नै काफी हुन सक्छ । उनी बडे–बडे शास्त्रका गुत्थीमा भन्दा जनसामान्यको समस्यामै आफ्नो कलमको ध्यान पु¥याउँछन् । पेसाले शिक्षणमा भए पनि उनी शिक्षाको नाममा अहंकारको खेतीपाती गर्ने ‘हेडमास्टर’ का विरुद्ध निर्मम लाग्छन् । 


थोत्रा आदर्श र संरचनामै नयाँ पुस्तालाई कैद गर्न खोज्नेहरूविरुद्ध मात्रै होइन, सर्वहारालाई पोस्टर बनाएर आफूलाई ‘कम्युनिस्ट’ देखाउन खोज्ने ‘संस्कृतिकर्मी’विरुद्ध उनका कविताले धाबा बोल्छन् । भन्छन्– ‘चारैतिरबाट घेरिसके सामन्तीका मतियारले/डिजिटल भइसक्यो संसार/डिजिटल भइसक्यो संघर्ष/तिम्रो ठेगाना देऊ न बरु मलाई÷ निकाल्नु छ तिमीलाई गीतबाट÷निकाल्नु छ तिमीलाई नाचबाट/निकाल्नु छ तिमीलाई साहुको भारीबाट ।’


सिलवाल लामो समयदेखि जनताका गीत गाउनेहरूकै सरसंगतमा छन् । तर, संगीतको नाममा संवेदनाको व्यापार गर्नेहरूसँग उनी अति रुष्ट छन् । सर्वहाराको नाम भजाएर आफ्नै व्यापार गर्नेहरू र निरन्तर विभेदकमा रमाउने शासक दुवै कित्तासँग केशव सिलवालहरू एकातिर आक्रोशित छन् भने प्रगतिशील कविताका बहानामा नारा मात्रै एकोहोरो मुठ्ठी उचालिरहेको आरोप अर्कातिर छँदै छ । यस्तो अप्ठ्यारोबीच केशव सिलवालहरूले कवितालाई असलमा कविताकै रूपमै जोगाएर लैजानु पर्नेछ । उत्पीडितको आवाजमा चीत्कार र आक्रोश आउनु स्वाभाविक मान्ने एउटा ‘प्रगतिशील’ सुविधा होला, हामीसँग । तर, कवि आहुतिको यस विचारलाई केशव सिलवालहरूले मनन गर्नु जरुरी छ– ‘कवितामा जुनसुकै कुरा आउन सक्छ र नारा पनि कवितामा कविता नै भएर आउनुपर्‍यो । जनताको पक्षमा, उत्पीडित श्रमिकको पक्षमा लेख्ने कविले प्रगतिवादी विचारलाई जानकारीको तहमा होइन, मनको आलम्ब बनाउने तहमा पुर्‍याउन साधना गर्नैपर्छ ।’


सिलवालका कविताको केन्द्रमा दुई कुराले फन्को मारिरहेका छन्– उत्पीडित जनता र देशप्रेम । देशका लागि आजीवन लड्नेहरू पाखा पारिएको दृश्यबाट आक्रान्त कविको प्रश्न छ– ‘देशको एक–एक अवयवलाई/बन्धकमा राख्नेहरू नै/कसरी भए सबैभन्दा ठूला देशप्रेमी ?’ देशप्रेम आफैँमा सबल ऊर्जा हो । तर, कहिलेकाहीँ देशप्रेम कचल्टिएर राष्ट्रवादमा अवतरित भइदिन्छ । हामीकहाँ बुझ्दा–बुझाउँदा अन्यथा भए पनि राष्ट्रवादको जरा खोतल्दै जाँदा फासीवादसम्मै पुगिन्छ । पहिचानका मुद्दा स्थापित हुँदा–हुँदै पनि सिलवालका कविता राष्ट्रवादतिर ढल्किएको आभास हुनु बडो बेस्वादको पक्ष हो ।

 

समीक्षक उज्ज्वल प्रसाईंका अनुसार सिलवालका कविता बलिया भए पनि अधिकांश कवितामा छचल्किने राष्ट्रवादले उनको सामथ्र्यलाई सीमित गरिदिएको छ । प्रसाईं भन्छन्, ‘उनको चर्चित कविता चिबेचरामा पहिचानको महत्ता स्थापित छ । तर, चराजस्तो बिम्बलाई फेरि ल्याएर राष्ट्रको सीमामा कैद गरिएको छ । कविताले सीमिततालाई चुनौती पो दिनुपर्ने हो ।’ राष्ट्र, धर्म, जात र मानवीय विभाजनभन्दा पर रहेर अबको कविताले मानव जाति र पृथ्वीको साझा मुद्दालाई सम्बोधन गर्नुपर्ने आशय उनकोे देखिन्छ । राष्ट्रप्रेम र राष्ट्रिय मुद्दा मात्रै बोकी हिँड्दा विश्वका उत्पीडितहरूलाई गोलबद्ध गर्ने सामथ्र्य नेपाली कविताले गुमायो भने त्यो अर्को दुर्घटना हुन सक्छ । एकथरी विचारधाराको तानाशाहीविरुद्ध बोल्नु भनेको अर्काथरी विचारधाराको वर्चस्व स्थापित गराउनु होइन, प्रगतिशील विचारधारा र उत्पीडित राष्ट्रहरूको सहअस्तित्वलाई सम्मान गर्नु पो हो । नियत सही हुँदाहुँदै पनि कहिलेकाहीँ बिम्ब र प्रतीक चयनमा यथोचित ध्यान नपुग्दा कविताले गलत अर्थहरू खडा गरिदिन सक्छ । समतामूलक समाज चाहने केशव सिलवालहरू यस मामिलामा थप गम्भीर हुनुपर्छ, जसले प्रगतिशील–सांस्कृतिक आन्दोलनलाई हित नै गर्नेछ ।