
कहाँ गए प्रकृतिका ती सौन्दर्यहरू,
संंस्कारी ती संस्कृति कहाँ हराए
विकृतिका उत्ताउला छालहरूले,
मौलिकताको अवशेषसमेत बगाए ।
मकै मोही त खानुपर्छ है नानी–बाबुहरू,
भन्नुहुन्थ्यो हजुरबा हजुरआमाले
हिजोका ती गुनिला रैथाने स्वादहरू,
अहिले त तिरस्कृत नै हुँदै गए ।
छैन पानी खोलामा
न त हरियाली डाँडामा,
जीव र पक्षीहरू सबैले छोडी गए
के नै बाँकी रहला र यहाँ,
संस्कृति परम्परासमेत यसरी नै हराउँदै गए ।
हिमालमा हिमताल फुट्दै छ भन्छन्,
झिँगा र लामखुट्टे पनि हिमाल चढ्दै छन् रे
हिमाल आरोहण गर्न भने होइन रे,
चिसो ठाँउको खोजीमा पो अरे !
सगरमाथाको देश आज रहन्थ्यो कहाँ,
प्रकृतिलाई मान्छेले जित्ने भए
गगनचुम्बी हिमाल ठडिसक्थ्यो होला कहाँ–कहाँ
विज्ञान र पैसा नै सबैथोक भए ।
हिमाली गौरव रहनेछैन हिमालै नरहे
मानिस हामी रहौँला कहाँ प्रकृति नरहे, संस्कृति नरहे ।
(बुढाथोकी रैथाने प्रवद्र्धन अभियाननेपालका अध्यक्ष हुन् ।)