• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बिना थिङ
२०७९ बैशाख २४ शनिबार ०७:३४:००
साहित्य

ज्याद्री आइमाई

२०७९ बैशाख २४ शनिबार ०७:३४:००
बिना थिङ

‘जान्न । तिमेरुले भनेर मो जान्छ ? जाँदै जान्न । लु घचेटता !’


‘इस्ऽऽऽ जान्छा... ।’ उसले फरिया उचाली ।


भिडले उसलाई झल्ट्याङ्झुल्टुङ् पारेर आँगनको डिलबाट खसालिदियोे । ऊ मलको खाल्डोमा जाकिन पुगी ।


०००
दुई वर्षअघि ।


माघे संक्रान्तिको छेको थियो । झिसमिसेमै डोल्कर तामाङ किनमेल गर्न नारायणस्थान हिँडी । तारेभिरदेखि नारायणस्थानबीच नारनडाँडा, नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्ज, ठूलो खोला र एउटा गाउँ पर्छ । त्यस दिन डोल्करले थैलीमा सात सय नब्बे रुपैयाँ र कम्मरमा हँसु भिरेकी थिई ।


डोल्करले नारनडाँडामा पाती चढाई । त्यसपछि पूर्व फर्किएर उभिई । कोल्टे परेर उभिएको आफ्नो कच्ची घरको धुरी हेरी । भूकम्पले भुत्ल्याएर छोडेको घरको धुरीपातोमा घामको पहिलो आभा खस्यो । ऊ मुसुक्क हाँसी । हाँस्दा उसका दुवै आँखाका कुना आगोमा परेको प्लास्टिकजस्तै गुजुुमुज्ज पर्‍यो । आँखीभौँमाथि दुइटा ठाडा समानान्तर रेखा बने । सातुजस्तो उसको अनुहारको रङ फैलिँदै हरियो रङका हातगोडामा सर्‍यो । केतुकेजस्तो उसको ज्यानमा सिरेटो पस्यो, सरर । शरीरमा कम्पन भर्‍यो । शरीरको कम्पन हटाउन पोल्टाबाट खुकुरी चुरोटको बट्टा झिकी । एक खिल्ली झिकेर ओठले च्यापी । लाइटर घोटी । सल्किएन । 


‘ज्या । चिसोले जम्यो पो क्या हो गाँठे !’ उसले दुवै हातले लाइटर रगेडी । फेरि घोटी । लाइटर हुत्त सल्कियो । उसले चुरोटको पहिलो कस तानी र एक सर्को बाक्लो धुवाँ हावामा बत्याई । अनि छिटो–छिटो निकुञ्ज छिचोल्न हिडीँ ।


निकुञ्जभित्रको गोरेटो बाटो । भय थियो जंगली जनावरको । त्योभन्दा बढ्ता मान्छेको । केही समयअघि जंगलमा एउटी युवतीको लास भेटिएको थियो । सबैले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए । प्रहरीले लास लगेपछि त्यो केस के भयो ? कसैले पत्तो पाएनन् । गाउँलेहरू समूहमा हिँड्न थालेका थिए । डोल्कर भने यी सबबाट निस्फक्री  थिई । उसका लागि पानीपँधेरो थियो, नारायणस्थान । कहाँ खाल्डो छ, कहाँ कान्ला छ अनि कहाँ फड्को मार्नुपर्छ, कण्ठै थियो उसलाई । आँखामा पट्टी बाँधेर छाडिदिने हो भने पनि ऊ सरासर नारायणस्थान पुग्थी होली । उसले हिँड्न अझ सुबिस्ता होस् भनेर गोल्डस्टार जुत्ता लगाएकी थिई । कम्मरमा टिमिक्क हुने गरी पटुका कसेकी थिई । खरेटोजस्तो कपालका केस्रा सोहरेर जुरो पारेकी थिई । 


नारनडाँडाबाट दश मिनेटजति ओरालो ओर्लिंदा ठूलो खोला आइपुग्यो । नाम मात्रै ठूलो, खोला त सानै थियो । अझ हिउँदमा त खोल्सी भएर बग्थ्यो । खोल्सीनजिक पुग्दा उसलाई फेरि चुरोटको तलतल लाग्यो । ऊ त्यहाँ ठिङ्ग उभिई । पोल्टामा चुरोटको खिल्ली केलाउन थाली ।


‘आइयाले.. सिजिले.. आमा..’ लोग्ने मान्छे चिच्यायो ।


डोल्कर झसंग भई । चुरोटको खिल्ली पोको पारेर ऊ हतार–हतार आवाज आएतिर उक्लिई ।


तीन कान्लामाथि पुगेर हेर्दा उसले देखी­, पचास–पचपन्नको एउटा खिनौरे लोग्नेमान्छे । जो सल्लाको रुखको फेदमा खुम्रे किराजसरी पल्टिएको छ । अलिक पर खुर्पा र ढाकाटोपी छ ।


‘ज्या ! कृष्ण स्योलोन पो रहेछ ।’ रुखबाट खसेको कृष्णलाई देखेर डोल्कर आत्तिई । हातले कृष्णको ढाडमा अडेस दिएर उठाई । रुखमा धसारिएकाले ढाड दर्फराएको रहेछ । उसले सोहरिएर माथि पुगेको कृष्णको सर्ट तानिदिई । कम्मरमा बाँधिराखेको नाम्लो डोरी फुकाइदिई ।


‘आइयु..। कसो मोरेन आजु । हाँगा ता यात्रो मोटो थियो । कसोरी भाँचियो–भाँचियो । उस्...।’ कृष्णले आफ्नो ढाड सुम्सुम्यायो । लामो खुइया छाडेर एकपटक आपूm चढेको रुख हे¥यो । अर्कोपटक डोल्करको अनुहार हे¥यो । अनि धागोजस्तो तन्किएको ओठको कुना च्यातिने गरी हाँस्यो । हाँस्दा उसका अगाडिका दाँत देखिए । ती खिया लागेको फलामका पाताजस्ता देखिन्थे ।


कृष्ण तल्लो गाउँको । नारायणस्थानबाट तारेभिर उक्लिने बाटोको टुंग्याउनीमा छ, उसको घर । त्यसपछि निकुञ्ज सुरु हुन्छ । अन्तिम घर भएकाले बटुवाहरू त्यहाँ पानी मागेर खान्छन् । डोल्कर पनि कहिलेकाहीँ पस्थी । कृष्णकी स्वास्नी ६ वर्षअघि नै मरिसकेकी थिई । कृष्णको दुई भाइ छोरा मात्र थिए । दुवैको बिहे भइसकेको थियो । भिन्दै बसिसकेका थिए । कृष्णले सिंहदरबारभित्रको पिपा जागिरमा पेन्सन पकाएका थिए । पेन्सनले नुन, तेल, चामल किन्थे । तरकारी, अन्न आपैmँ उब्जाउँथे । आफ्नो लागि जाँड बनाउँथे । खाना पकाउँथे । दाउरा खोज्न जंगल जान्थे । कृष्णकी स्वास्नी थिङ थरकी थिई । डोल्कर पनि थिङ थरकी । त्यही साइनोले उसले कृष्णलाई स्योलोन भन्ने गर्थी । 


डोल्करले पोल्टाबाट चुरोट झिकेर एउटा कृष्णलाई दिई । अर्को आफैँले सल्काई । 


‘एक्लै किन स्योलोन ?’ डोल्कर कृष्णको छेउमा टुसुक्क बसी । 


‘साथी ता पोलेर खायो । अर्कु को खोज्नु हो ।’ 

दाउराजसरी उसको चित्त फग्लेटा पर्‍यो । उसले सम्झी, कान्छो छोरा जन्मिएको सालदेखि लोग्नेको छातीमा चलेको हो लहरे खोकी । त्यो साँझपख यसरी बढ्थ्यो, मानौँ घेवामा बज्ने काङलिङ कसैले ल्याएर लोग्नेको छातीमा जडान गरिदिएको छ ।


डोल्करले मुखमा चुरोट च्यापी । खुर्पा टिपेर सल्लाका हाँगा टुक्य्राउन थाली । कृष्णले चुरोटको कस तान्दै दाउरा टुक्य्राउँदा फर्लक्–फर्लक् हल्लिएको डोल्करको जुरो एकहोरो हेरिरह्यो । डोल्करले अन्तिमपटक खुर्पा उचाल्दा कृष्णलाई पुलुक्क हेरी । कृष्णलाई घाँटीमा केही अड्केजस्तो आभास भयो । धुवाँसँगै घुटुक्क थुक निल्यो । डोल्करले भारी कसेर बोकी । 


‘मोइ लान्थेँ । तोँलाई दुःख मात्र हुने भो ।’ कृष्णले भन्यो ।


‘आजु स्योलोनले साक्दैना । मो लागिदिन्छु । मो त्यई बाटो जाने ता हो ।’ डोल्कर भारी बोकेर हिँडी । कृष्णले डोल्करलाई पछ्यायो ।


ती दुवै च्यानडाँडामा पुगे । त्यहाँबाट देखियो, कृष्णको घर । गोठ । अलिक तल काठमाडाैं सहर । भारी ल्याएर डोल्करले सीधै आँगनमा बिसाई । छरिएको कपाल सोहरेर जुरोमा कोची । 


आकाशमा घाम लगभग असी डिग्रीमा कोल्टे परेको थियो । डोल्करले चकटी तानी । घामपट्टि ढाड फर्काएर बसी । कृष्णले गहुँको छ्याङ छान्यो । सिलाबरको बटुकाभरि डोल्करलाई दियो । अर्को आफूले स्वाट्ट पार्‍यो ।


‘लु मोलाई हतार भो । किनमेल गार्नु छ ।’ डोल्करले छ्याङको अन्तिम घुट्को निली । 


‘मो ढिँडो मस्काउँदै गार्छ । फर्किंदा पस होई कोन्मे ।’ कृष्णले भन्यो । डोल्करले कृष्णको अनुहारमा हेरी । त्यहाँ सङ्लो पानीभित्र पसेको एउटा सिङ्गो घाम देखी । त्यो घाम सापटी लिएर ऊ नारायणस्थानतिर ओर्ली । 


०००
तारेभिरलाई उँधो छाडेर गयो, माघे संक्रान्ति । फाल्गुण निकाल्दोमा डोल्करले शिवपुरीबाट आँगन भरिने गरि डोलो दाउरा ओसारिसकेकी थिई । 


‘थेबा, दाउरा चिर्देऊ ना होई । मो भकारो सोर्छु ।’ माइलीले जेठा छोरालाई दाउरा फग्लेटा पार्न अह्राई । 


‘सक्दिन होई । तिम्रै कान्छा छोरालाई लगाऊ ।’ जेठा हत्केला मोल्दै चिया पसलतिर हान्नियो । 


पाँच वर्षअघि जेठा छोराले गाउँकै केटी भगाएको थियो । डोल्करले आफूसँग भएको सुनको आधा तोलाको रिङ बुहारीलाई दिएकी थिई । रीतभातलाई तीन डाला सेलरोटी, पाँच ग्यालिन रक्सी, दुइटा लोकल कुखुराको जोहो गरिदिएकी थिई । रातदिन नभनी पारेको रक्सीबाट प्राप्त नगद ट्यांकामा राखेकी थिई । त्यो निख्रियो । परिवारमा सदस्य थपियो । उसलाई लाग्यो, दुःखको मेलोमा छेउकुना गर्ने मान्छे थपियो । तर, डोल्करको दुःखको फाँट यत्ति फराकिलो थियो कि, छेउकुना गर्ने मान्छे उसको जीवनको केन्द्रमा कहिल्यै आइपुगेन । बरु ती डोल्करको जीवनबाट छेउ लाग्दै–लाग्दै गए । अन्ततः जेठा छोरा–बुहारीले बुइँगलमा आगो फुके । डोल्कर र कान्छा छोराले छिँडीमा । कान्छा छोरा दश कक्षामा पढ्दै थियो । 


अठ्ठाइस वर्षको लाठे छोरा पसलतिर हान्निएको हेर्दै डोल्करले बन्चरो उचाली । चिलौनीको अचानोमा डोलो दाउरा राखी । ‘छप्प ।’ पहिलो खेप घात गरी । दाउरा दुई फग्ल्याटा पर्‍यो । दाउराजसरी उसको चित्त फग्लेटा पर्‍यो । उसले सम्झी, कान्छा छोरा जन्मिएको सालदेखि लोग्नेको छातीमा चलेको हो लहरे खोकी । त्यो साँझपख यसरी बढ्थ्यो, मानौँ घेवामा बज्ने काङलिङ कसैले ल्याएर लोग्नेको छातीमा जडान गरिदिएको छ । जतिपटक सास तानेर फाल्यो, उतिपटक बज्ने । कान्छा छोरा कक्षा तीनमा पुग्नु र लोग्ने चिहानमा पुग्नु एकैपटक भएको थियो । डोल्करले जेठा छोरा र कान्छा छोराबीचमा जन्माएकी दुई बहिनी छोरीहरू प्नि त्यही चिहानमै डढाएकी थिई । त्यसयता दुःखको तारेभिर बोकेर ऊ असंख्य पाइला हिँडिसकेकी थिई । 


‘खोइ हो मो चिरिदिन्छिु दाउरा । एक डबका जाँड छान बरु ।’


‘ए होई स्योलोन पो !’

 
सोचको भुमरीले रन्थनिएकी माइलीको हातबाट बन्चरो फुत्क्यो । आँगनको डिलमा कृष्ण ठिंग उभिएको थियो । कृष्णले इस्टकोटबाट चुरोट झिकेर सल्कायो । लामो सर्को तानेर डोल्करलाई दियो । चुरोटको सर्को तान्दै डोल्कर घरभित्र पसी । मकैको हुर्रे छानी । एक–एक डबका जाँड स्वाट्ट पारेपछि कृष्ण दाउरा फग्ल्याटा पार्नतिर लाग्यो । डोल्कर गोठमा भकारो सोहर्न थाली । 


दाउरा चिर्दा कृष्णको दाउरे शरीर पसिनाले लछप्पै भयो । 


‘ज्या, स्योलोनलाई केको दुःख दियो होई मोइले ।’ डोल्कर गोठको धन्दा सकेर आउँदासम्मै कृष्ण दाउरा चिर्दै थियो ।


‘आ..होई । केको दुःख ।’ कृष्णले अन्तिमपटक छप्प पार्‍यो । निधारको पसिना हातले स्वाट्ट पुछ्यो । पिढीँमा बस्यो । डोल्करले कृष्णको लागि पनि पुग्ने गरी भातभान्सा तयार पारी । कान्छा छोरा पनि आइपुग्यो । खाना खाएर कृष्ण घरतिर ओर्लियो । डोल्कर जंगलतिर उक्लिई ।


०००
कृष्णको तारेभिर आउजाउ बढ्यो । ऊ डोल्करसँगै बारीमा जान्थ्यो । ढोड काट्न सघाउँथ्यो । थोरे भैँसी डोर्‍याएर वासिकुमा राँगा लाउन लगिदिन्थ्यो । मुढा चिरिदिन्थ्यो । सट्टामा डोल्कर काँसको डबकाभरि मकैकै हुर्रे दिन्थी । सिएफएल चिमजस्तै उज्यालो हाँसिदिन्थी । 


‘आमा अंशबन्डा गारिदेऊ । आ–आफ्नो गरेर खाने हो आबो ।’ भिन्दो बसेको वर्ष दिनपछि जेठाले अंश मागेको थियो । डोजरले भिरालो जमिन जोतेपछि कच्ची सडक बगेको थियो डोल्करको तल्लो बारीमा । त्यहाँको जग्गा बेच्न जेठालाई दलालले उक्साएको थियो । 


‘आहा ! आहिल्यै गर्दिन । कान्छा हुर्कोस् अनि भाग लाइदिन्छा ।’ कान्छाको घरजम भएपछि मात्रै अंशबन्डा गरिदिने सोचमा डोल्कर अडिग थिई । 


‘कुन दिन पोइला जान्छा । सप्पै सम्पत्ति बोकेर । घरमै लोग्नेमान्छे ल्याउँछा । गाउँ सप्पै गन्हाइसाक्यो । लाज नभाको मृङकोला (आइमाई) ।’ उसकी बुहारीले झम्टेकी थिई । 


‘के रे ? तेरो मानो खाको छा ? तो सासू कि मो ?’ डोल्करले पहिले त बुहारीको कपाल लुछिदिई । त्यसपछि घुँक्क–घुँक्क रोएकी थिई । 


त्यसयता सासूबुहारीको बोलचाल बन्द । देखाभेट हुँदा एकअर्कालाई आँखा तर्न थालेका थिए । 


०००
भदौ निकाल्दोको एउटा बिहान । डोल्कर पसलबाट चामलको बोरा बोकेर घरतिर उक्लिँदै थिई । बाटोमा भेटिए कान्छा ससुरा । 


‘चाङ तिम्रो इज्जत नभए पोनि हाम्रो छा । त्यसरी लोग्नेमान्छे घरमा ल्याउनुभन्दा त्यैसँग जाऊ ।’ बाटो छेक्दै कान्छा ससुरा कुर्लिए । 


साइनोले ससुरा परे पनि उमेरले एक दशकको मात्र फरक थियो डोल्कर र कान्छा ससुराबीच । डोल्करको बिहेमा यिनैले ताम्बा गाएका थिए । 

साराका सारा मिलेर उसलाई खेदाउन लागिपरेको उसलाई भान भयो । उसको शरीर अनौठोसँग काँप्यो, थरर... । अनुहारको दाहिनेपट्टिको गाला र आँखीभौँ एकोहोरो उफ्रिन थाल्यो । भिडले केही अनुमान गर्नुअघि ऊ घरभित्र पसी । तुरुन्तै निस्किई । निस्किँदा उसको हातमा खुर्पा थियो । 


‘के गार्नु चाङ । मोर्ने मरेर गोइहाल्यो । आबो यै केटाकेटीको अनुहार हेरेर बाँच्नुपोर्छ । केई परे मोलाई भन ला ।’ लोग्नेको घेवा सक्किएको रात कान्छा ससुराले डोल्करको ढाड थप्थपाउँदै ढाढस दिएका थिए । अनौठो आसक्तिको गन्धसहितको त्यो थप्थपाइले डोल्कर सिरिङ्ग भएकी थिई । 


लोग्ने मरेको वर्ष दिनपछि नारायणस्थानमा ठूलो एकादशीको मेला भरेर डोल्कर घर फर्केकी थिई । साँझको भातभान्सा सक्काएर चोटामा ओछ्यान लाएर पल्टिएकी थिई । छोराहरू निदाइसकेका थिए । सर्‍याकसुरुकको आवाजले ऊ झस्की । ऊ हलुकासँग उठी । झ्याल  अलिकति उघारी । कान्छा ससुरा पालिक चढ्न प्रयासरत देखेर ऊ क्षणभरलाई जड भई । 


‘गुहार ! गुहार ! चोर पास्यो । गुहार !’ 


ऊ चिच्याई । 


कान्छा ससुरा आत्तिएर आँगनमा हाम्फाल्यो । मान्छे भेला हुनुपूर्व सुइँकुच्चा ठोक्यो । 


त्यो घटनाको दुई वर्षसम्मै कान्छा ससुरा डोल्करको घरमा ढिम्किन सकेन । कान्छा छोराको छेवारमा भने लोकलाजले उभिन आए । छेवार सकिएको भोलिपल्ट सगुन खुवाएर सबै इष्टमित्र बिदा गरियो । राति सारा धन्दा सकेर डोल्करले मूल ढोका बन्द गरी । ऊ भर्‍याङ उक्लिन लागेकी थिई । कसैले ढोका ढकढक्यायो । उसले आग्लो खोली र एउटा मात्र खापा उघारी । कान्छा ससुरा ङिच्च दाँत देखाएर उभिएको थियो । 


‘के भयो आस्याङ ?’ डोल्कर सशंकित भई ।


जवाफ नदिई कान्छा ससुराले ढोकाको अर्को खापा ठेल्न खोज्यो । डोल्करले भित्रबाट घचेटी । ठेलाठेल भयो । डोल्करले देब्रे गोडा उचालेर कान्छा ससुराको अण्डकोषमा पर्ने गरी लात्ती बजाइदिई ।


‘आइया’ कान्छा ससुरा थुचुक्क बस्यो । डोल्करले आग्लो लगाई र सासै नफेरी चोटामा उक्लिई । त्यसयता कान्छा ससुराले डोल्करको घरमा ढिम्किने साहस गरेन । 
‘हाम्रो चाङ बिग्रियो । दिउँसै लोग्नेमान्छे घरमा ल्याउँछा । यो गाउँको लोग्नेमान्छेहारु मर्‍यो क्यार ! त्यसलाई त्यो कृष्णलाई दिलाएर पठाउन साकेन होई गाँठे । यत्ति ता आइमाईहारुले नि गार्न साक्छा बरु ।’


कृष्णको आउजाउले चिढिएका कान्छा ससुराले भट्टीमा वान्ता गर्न थालेको थियो । 


त्यस दिन बाटोमा भेटिएकी डोल्करलाई हाकाहाकी पोइल जान भन्यो । डोल्करले पुर्लुक्क कान्छा ससुराको अनुहारमा हेरी । त्यसपछि भुइँमा पिच्च थुकी । खुइँखुइँ घरतिर उक्लिई ।


०००
‘डोल्कर तेरो नि लोग्ने मरिगो । मैले नि स्वास्नी पोलेर खाएँ । हामी घरजम गरम् । मोसँग हिँड् ।’ कोदाली फालेर कृष्ण ठिङ्ग उभियो ।


मकैबारीभित्र कोदो रोप्ने मेलो थियो । कृष्ण माटो पल्टाउँदै थियो । कृष्णले अचानक राखेको प्रस्तावले डोल्कर झस्याङ्ग भई । 


‘के भान्छा यो स्योलोन ! मो यत्रो व्यहार छाडेर पोइला सोइला जाँदैना ।’ डोल्करले घुम फालेर ढाड सोझ्याई । 


‘अस्ति कान्छा ससुराले पोइला जाऊ भन्यो । अहिले कृष्णले पोइला हिँड भन्छ । के सोचेर यसो भनेका होलान् यी लोग्नेमान्छेहरूले ?’ सिमसिम पानीले डोल्करको तन रुझ्यो  । त्योभन्दा बढ्ता मन रुझ्यो । 


म्हेनिङ (दसैँ) नजिकिँदै थियो । आकाश सफा देखिएको थियो । बिहानको घाम आँगन हुँदै धुरी चढ्यो । डोल्कर घाँसको भारी बोकेर पाखाबाट ओर्लिई । गोठमा बिसाई । ऊ छिँडीमा पसी । आगो फुक्न ठिक्क परी ।


‘चाङ । ओ चाङ ।’


‘छैना कि क्या हो घरमा ?’


‘भर्खरै घाँसको भारी बोकेर पाखाबाट झारेको देख्या हो ।’


‘ए, ए । गोठतिर हेर ता । आजु फैसला  नागारी हुन्न ।’

‘घरभित्रै छा जास्तो छा ।’


कल्याङमल्याङ सुनेर डोल्कर हुत्तिएर निस्किई । सल्लाको बोक्राजस्तो छाला भएको ख्याउटे मान्छे आँगनमा उभिएको थियो । त्यो पोते तामाङ थियो । गुठीको नाइके । गाउँको गान्बा । गाउँमा आपत्विपत्देखि न्यायनिसाफ गर्न उसैको खोजी हुन्थ्यो । कसैको आँगनमा पोते उभिएको छ भने बुझे हुन्थ्यो, घटना घटेको छ । पोतेले वर्ष दिनदेखि नेपाल सरकारको वृद्धभत्ता खान थालेको थियो ।


‘लास्सो म्हेमे ।’ डोल्करले पोतेलाई अभिवादन गरी । पोतेको पछाडि गाउँका महिला समूहका सदस्य थिए । जुन समूहमा उसकी बुहारी उपाध्यक्ष थिई । सबैभन्दा पछाडि कान्छा ससुरा उभिएको देखी । 


‘आँ । क्याना हो ?’ डोल्कर अलमल्ल परी । उसको निधारमा मसिना धर्साहरू देखिए । उसले के भइराछ भन्ने ठम्याउनै सकिन ।


‘तो कृष्ण सद्दै याँ आउँछा । किन ?’


‘गाउँ नै गन्हायो हो ।’ 


‘यसरी घरमा अर्को लोग्नेमान्छे ल्याउना ता मिल्दैना हो ।’


‘आइमाई भएर ठेगानमा बस्न पार्छा होई आङी ।’


महिला समूहका सदस्यहरूले प्रश्नको आरी घोप्टाए । आक्षेपको


तीर छोडे । 


‘कोन्मे तिम्लाई लाज सरम छैना ? दुई छोराको आमा पो हो । हाम्रो सइत् इज्जत गायो ता गाँठे ।’ पोतेले डोल्करलाई हप्कायो । 


‘त्यै ता । आबो खुरुक्क तो कृष्णसँग नै पोइला जाऊ चाङ । याँ बसेर हाम्रो कुलको इज्जत फाल्ना दिन्ना मो ।’ पोतेको बोली भुइँमा खस्न नपाउँदै कान्छा ससुराले उर्दी जारी गर्‍यो । 


डोल्कर रन्थनिई । के बोल्ने भेउ पाइन । ऊ छट्पटिई । अनुहार निलो हुँदै गयो । हातगोडा बाँउडिएला जस्तो भयो । उसको केतुकेजस्तो शरीर थरर काँप्यो । 
‘यल्लाई ता आजै दिलाएर पठाउनुपार्छा ।’ कान्छा ससुरा बम्किए ।


‘लोग्ने चाइएको भए पोइला जान पार्छा । गाउँकै बेइज्जत गार्ना पाइँदैना । हामी पनि आइमाई हो । खोई हाम्ले ता त्यस्तो गार्न सक्दैना ।’ महिला समूहका सदस्यहरूको आवाज चर्को हुँदै गयो । 


चर्को आवाजबाट जोगिन डोल्कर गोठतिर हान्निई । भैँसीलाई घाँस हालिदिई । त्यसपछि भकारो तान्न थाली । 


‘जता गए पनि हामी छोड्दैना ।’ पाँच सातजना महिलाहरू गोठभित्रै पसे । डोल्करलाई तानेर आँगनमै ल्याइछाडे ।

‘चाङ तिम्ले गार्ना नहुने काम गर्‍यौ । आबो कृष्णेको घरमै पुर्‍याउन जाने हो ।’ सल्लेबोवक्रे पोतेले निर्णय सुनायो । 


‘इऽऽऽ जान्छा । मो पोइला जाँदैना । लोग्नेमान्छे र स्वास्नीमान्छे हाँस्दैमा, बोल्दैमा, सँगै हिँड्दैमा पोइला जान पार्छा भनेर काँ लेख्या छा ?’ लामो समयको मौन चिर्दै डोल्कर विस्फोट भई । उसले दुवै हातले आफ्नो नाभीस्थलमुनिकोे हिस्सामा संकेत गरी । सल्लेबोक्रेलगायत अरू हच्किए ।


‘नगएर हुन्छा ? चलन बिगार्न पाइन्ना । तिमी नगए हामी पठाउँछौँ ।’ फेरी कल्याङमल्याङ बढ्यो ।


‘इस... इस... तेरो चलन । थुक्क...’ डोल्करले हाक्कथुक्क गरी । भिडतिर फर्केर फरिया फरकफरक उचाली । 


‘कसरी नजाँदो रहेछ ? जसरी नि पठाउँछा ।’ भिड अगाडि बढ्दै आयो । डोल्करको पाखुरामा तान्न थाल्यो । डोल्करले देखी, त्यो भिडको छेउमा उसको जेठा छोराबुहारी पनि छन् । तर तिनीहरू आमाको बचाउका लागि कुनै प्रतिक्रिया जनाइरहेका छैनन् । 


‘जाँदै जान्न । लु ता !’ डोल्करले दाह्रा किटी । शरीर अररो पारी । भिडले उसलाई उचालेर आँगनको डिलबाट खसालिदियो । 


हलुका ज्यानकी डोल्कर खाल्डाबाट निस्किई । आँगनमा उक्लिई । एकखेप भिडलाई हेरी । अर्को खेप घरको धुरी हेरी । अनि आकाश हेरी । घाम दक्षिण आकाशमा अडिएको छ । भिडसँगै उभिएको जेठा छोराबुहारीलाई हेरी । साराका सारा मिलेर उसलाई खेदाउन लागिपरेको उसलाई भान भयो । उसको शरीर अनौठोसँग काँप्यो, थरर... । अनुहारको दाहिनेपट्टिको गाला र आँखीभौँ एकोहोरो उफ्रिन थाल्यो । भिडले केही अनुमान गर्नुअघि ऊ घरभित्र पसी । तुरुन्तै निस्किई । निस्किँदा उसको हातमा खुर्पा थियो । 


‘यो घरबारी मेरो हो । यस्तो बात लाउँदैमा डराउँदैना । मो कसैसँग पोइला नि जान्न । कृष्ण स्योलोनलाई मोइले सघाउने साथी मानेको हो । पोइ बनाउँछु भनेर हिँडेको होइना । तेरिमाहरू । लु आइजा ता । हेरुम् । को­–को आउँछा मोलाई दिलाएर पठाउन ? कसको आँट छा ? जो आउँछा, कि त्यो छैना कि मो छैना ।’ हातमा खुर्पा बोकेर डोल्कर आँगनमा एक खुट्टाले टेकेर फनफनी नाची । उसको खरेटोजस्तो केश फिँजारिएको थियो । उसको यो उग्र रूप देखेर भिड स्तब्ध भयो । 


‘यस्ता अलच्छिनीसँग केई लाग्दैना हाम्रो । फर्क सबै ।’ डोल्करको ज्याद्रो रूप देखेर पोते फलाक्दै हिँड्यो । उसको गोडा काँपेको स्पष्ट देखियो । 
‘कम्ता चोथाली र छा !’


‘यस्तो ज्याद्रो आइमाई त कोही छैन यो गाउँमा ।’
‘हैट । खुर्पाले छप्काउन बेर छैन । हिड् हिड् ।’


भिडले सल्लेबोक्रेलाई पछ्यायो । केही बेरमा डोल्करको आँगनको भकारो सिनित्त भयो । लामो सास तानेर डोल्कर गोठको भकारो सोहर्न थाली ।