• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजेशमान केसी
२०७९ जेठ २१ शनिबार ०७:०९:००
इतिहास

मेरी क्युरी जसले दुईपटक नोबेल पुरस्कार जितिन्

२०७९ जेठ २१ शनिबार ०७:०९:००
राजेशमान केसी

वैज्ञानिक मेरी क्युरीको जन्म सन् १८६७ को नोभेम्बर ७ तारिखका दिन पोल्यान्डको राजधानी बार्सामा भएको थियो । उनको वास्तविक नाम थियो, मेरिया स्क्लोडोआस्का । तर, फ्रान्समा गएपछि उनले आफ्नाे नाम परिवर्तन गरी फ्रेन्च भाषाबाट उच्चारण हुने मेरी राखेकी हुन् । तत्पश्चात फ्रेन्च नागरिक पेरी क्युरीसँग विवाह भएपछि उनको नाम मेरी क्युरी रहन गयो । 


मेरीका पिता बार्साको एक विद्यालयमा भौतिक विज्ञान विषय शिक्षक तथा आमा स्कुलकी शिक्षिका थिइन् । मेरीको प्राथमिक शिक्षा बार्साकै एक स्थानीय स्कुलमा भएको थियो । उनले पिताबाट नै भौतिक विज्ञानसम्बन्धी आधारभूत ज्ञान हासिल गरेकी थिइन् । मेरी ११ वर्षकी हुँदा उनकी आमाको मृत्यु भयो । पिताले पोल्यान्डमा तत्कालीन रुसी शासनको विरोध जनाएका कारण सरकारी नोकरीबाट बर्खास्त हुनुपरेको थियो । रुसी उपनिवेशवादकै दबदबाका कारण त्यतिखेर पोल्यान्डका महिलालाई कलेजमा गई अध्ययन गर्न छुट थिएन । त्यसैले विदेशमै गएर उच्च शिक्षा हासिल गरिछाड्ने दृढ अठोटका साथ केही वर्ष उनले स्वदेशमै रही कडा परिश्रमका साथ काम गरिन् । त्यतिखेर उनी विद्यालयस्तरका बालबालिकालाई ट्युसन पढाउने गर्थिन् । मेरीलाई आफ्नाे अध्ययनका क्रममा कैयाैँ पटक आर्थिक संकटका कारण भोकभोकै बस्नुपर्ने हुन्थ्यो । भोककै कारण उनी आफ्नाे कक्षाकोठामै बेहोससमेत हुन पुगेकी थिइन् । 


यसरी केही वर्ष आफ्नै मुलुकमा रही काम गरेपछि उच्च शिक्षा हासिल गर्ने आफ्नाे अभिलाषाअनुरूप सन् १८९१ म उनी फ्रान्सको राजधानी पेरिसतर्फ लागिन् । पेरिसको सर्वोन विश्वविद्यालयमा करिब तीन वर्ष अध्ययन गरेपछि उनले गणित र भौतिक विज्ञान विषयमा प्रमाणपत्र तहको शिक्षा पूरा गरिन् । त्यसपछि सन् १८९४ मा उनले भौतिक विज्ञानका प्राध्यापक पेरी क्युरीसँग प्रेम विवाह गरिन् । विवाहपछि पनि उनले आफ्नाे अध्ययनलाई निरन्तरता दिइन्, फलस्वरूप सन् १९०३ मा उनले भौतिक विज्ञानमा विद्यावारिधिसमेत हासिल गरिन् ।आफ्नाे अथक परिश्रम र मिहिनेतको फलस्वरूप उनले सोही वर्ष सर्वोन विश्वविद्यालयअन्तर्गत भौतिक विज्ञान प्रयोगशालामा प्रमुखको रूपमा सेवा गर्ने अवसर प्राप्त गरिन् भने उनका पति उनका सहायक थिए । मेरी दम्पतीको सार्वजनिक जीवन यसरी नै बितिरहेको थियो । 


पछि सन् १९०६ मा आएर मेरीको जीवनमा अत्यन्त ठूलो बज्रपात हुन पुग्यो । सो वर्ष उनका पतिको एक सवारी दुर्घटनामा परी आकस्मिक निधन हुन पुग्यो । त्यसपछि उनले आप्mना पति सेवारत सर्वोन विश्वविद्यालयको विज्ञान संकायअन्तर्गत भौतिकशास्त्रको प्राचार्य पदमा रही सेवा गर्न थालिन् । आफ्नो  पेसाप्रतिको इमानदारिता र लगनशीलताका कारण उनी सन् १९१४ मा आएर सर्वोन विश्वविद्यालयकै मातहतमा रहेको रेडियम इन्स्टिच्युटमा निर्देशक पदमा नियुक्त हुन पुगिन् । 

मेरी प्रथम विश्वयुद्धताका क्यान्सरपीडित धेरै रोगीलाई रेडियमको प्रयोगद्वारा उपचार गरी नयाँ जीवन प्रदान गर्नसमेत सफल भइन् । मेरीको यस अद्वितीय योगदानको उच्च मूल्यांकन गर्दै सन् १९०३ मा उनलाई पति पेरी क्युरीका साथ भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरियो ।


मेरीको जीवन अत्यन्त संघर्षमय थियो । मेरी र पेरी क्युरीले आफ्नो अध्ययन गर्ने थलोको रूपमा रहेको प्रयोगशालाको अवस्था पनि अत्यन्त दयनीय थियो र आफ्नो जीवन निर्वाहका लागि मेरी दम्पतीले निकै कठोर परिश्रम गर्नुपरेको थियो । सन् १८९६ मा विलियम कोनराड रोन्टजोनले एक्स किरण र त्यसको लगत्तै पछि हेनरी बेकेर नामक अर्का एक वैज्ञानिकले पनि त्यस्तै प्रकृतिको विकिरण उत्सर्जन गर्ने युरेनियम धातुका बारेमा पत्ता लगाएपछि मेरीलाई आफ्नाे अध्ययन अनुसन्धानसम्बन्धी कार्यमा ठूलो प्रेरणा मिल्यो । फलस्वरूप मेरीले रेडियोएक्टिव विकिरणबाट पोलोनियम जस्तो धातु छुट्याउने कार्यमा सफलता हासिल गरिन् । पोलोनियम उनी जन्मेकै मुलुक पोल्यान्डको नामबाट राखिएको थियो । 


त्यसपछि उनले रेडियोएक्टिव विकिरणबाटै रेडियम नामक धातुसमेत पर्याप्त मात्रामा छुट्याउन सकिने पद्धतिको विकास गरिन् । मेरीले गरेका विभिन्न प्रयोगका आधारमा रेडियमलाई मानिसको जीवनमा पोलिनियम र युरेनियमजस्ता रेडियोएक्टिव पदार्थभन्दा बढी उपयोग गर्न सकिने नतिजा निस्क्यो । उक्त नतिजाकै आधारमा मेरीले शरीरको कुनै भागमा ट्युमर वा क्यान्सरको घाउ स्वतः सुकेर जाने वा नष्ट हुने कुरा प्रमाणित गरेर देखाइदिइन् । सोही प्रमाणका आधारमा मेरीले प्रथम विश्वयुद्धताका क्यान्सरपीडित धेरै रोगीलाई रेडियमको प्रयोगद्वारा उपचार गरी रोगीलाई नयाँ जीवन प्रदान गर्नसमेत सफल भइन् । मेरीको यस अद्वितीय योगदानको उच्च मूल्यांकन गर्दै सन् १९०३ मा उनलाई पति पेरी क्युरीका साथ भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरियो । त्यसपछि फेरि सन् १९११ मा आएर उनले रेडियो विकिरणको पहिचान र उपयोगितामा पुर्‍याएको योगदानको उचित कदरगर्दै रसायनशास्त्रतर्फकोनोबेल पुरस्कार पनि प्रदान गरिएको थियो ।


यसबाहेक आफ्नाे अतुलनीय योगदानका कारण उनी थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय मान–पदक तथा विभूषणद्वारा पनि सम्मानित भएकी थिइन् । त्यस्तै विज्ञानसम्बन्धी थुप्रै अन्तर्राष्ट्रिय जर्नलमा उनका अनुसन्धानमूलक रचना प्रकाशित भएका छन् भने उनले ‘इन्भेस्टिगेसन अन रेडियो एक्टिभ सब्स्ट्यान्सेस’ (१९०४) जस्ता आफ्ना कृतिलाई पुस्तकका रूपमा प्रकाशित गरेकी छिन् । मेरी क्युरीको अर्को उल्लेखनीय पक्ष के हो भने उनको एउटै परिवारभित्र पाँचजना सदस्यहरू नोबेल पुरस्कार प्राप्त गर्न सफल भएका थिए । मेरीकी जेठी छोरी इरेनले सन् १९३५ मा आफ्ना पति फ्रेडरिक जोलियोटका साथ रसायनशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्राप्त गरेकी थिइन् भने उनकी कान्छी छोरी इभका पति एच.आर. लबुस्से संयुक्त राज्य अमेरिकाका एक उच्चपदस्थ कूटनीतिज्ञ थिए । उनी पनि सन् १९६५ मा संयुक्त राष्ट्र संघ बालकोष –युनिसेफ) को निर्देशकको रूपमा सन् १९६५ को शान्तितर्फ नोबेल पुरस्कार प्राप्त गर्न सफल भएका थिए । 


बहुप्रतिभाशाली वैज्ञानिक मेरी क्युरीले अध्ययन अनुसन्धानकै क्रममा रेडियो विकिरणबाट उत्पन्न घातक असरका कारण आफ्नो  हातको सबैजसो औंला गुमाउन पुगेकी थिइन् । अन्ततः रेडियो विकिरणको अत्यधिक प्रयोगबाट उत्पन्न घातक असरकै कारण ‘ल्युकेमिया’ नामक रक्त क्यान्सरसम्बन्धी रोगबाट सन् १९३४ जुलाई ४ तारिखका दिन ६७ वर्षको उमेरमा फ्रान्सको सेभोई सहरमा उनको निधन भयो । 

 

केसी नास्टका सेवानिवृत्त वरिष्ठ प्रर्वद्धन अधिकृत हुन् ।