• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
डा. तारालाल श्रेष्ठ
२०७९ जेठ २१ शनिबार ०७:२१:००
यात्रा

साइकल संस्कृतिको सौन्दर्य

२०७९ जेठ २१ शनिबार ०७:२१:००
डा. तारालाल श्रेष्ठ

साइकलप्रेमीका लागि संसारकै सबैभन्दा सुन्दर क्षण साइकल यात्रा हो । प्रकृतिसँग एकाकार हुँदै यात्रालाई रंगीन बनाउने कुरा छँदै छ । पर्यावरणीय महाविपत्को सबैभन्दा उत्तम बहुआयामिक विकल्प पनि हो, साइकल । नेपालमा साइकल अभियानलाई आन्दोलनकै रूपमा उल्र्याउनु अपरिहार्य भइसक्यो । तर, साइकल अभियन्ता स्वघोषित समूहमै सीमित देखिन्छन् । विश्वका धनी देशहरू ‘ग्लोबल नर्थ’ले मात्रै ९२ प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन गरेर विश्वका गरिब मुलुकका जनतालाई यातना दिइरहेको तथ्य छ । त्यसको प्रत्यक्ष असर महिला, आदिवासी तथा उत्पीडित समुदायमा परेको छ । अमेरिका एक्लै ४० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जनकर्ता हो । अनि युरोपियन युनियन, रसिया, जापान र क्यानडा अत्यधिक कार्बन उत्सर्जन गर्ने मुलुक हुन् । 


‘ग्लोबल साउथ’मा भने भारत र चीन चरम इन्धन दोहन गर्ने मुलुक हुन् । ‘ग्लोबल नर्थ‘मा अमेरिकाले अगुवाइ गरेझैँ ‘ग्लोबल साउथ’मा चीन चरम प्रकृति दोहनमा अघि बढिरहेको देखिन्छ । नेपाल सरकारले सन् २०५० सम्ममा इन्धन बाल्ने साधनरहित भविष्य नीतिमा सहमति जनाएको छ । साइकल अभियानका लागि अहिलेसम्म कुनै उल्लेखनीय पहल भने गरेको पाइन्न । यद्यपि, देशभर हरेक सहरमा साइकल अभियन्ता स्वतःस्फूर्त रूपमा बढ्दो छ । सौखको रूपमा मात्रै नभई गुजाराका लागि पनि दैनिक साइकलको पेडल पेलिरहेका लाखौँ नेपाली देशको कुनाकाप्चामा देख्न सकिन्छ । जसका कारण प्रतिकूल परिस्थितिमा पनि साइकल संस्कृति विस्थापित बनेन । साइकल संस्कृति स्थापित पनि बन्न सकेन, किन ? 


अमेरिकाले अत्यधिक कार्बन उत्सर्जन गर्दै छ । त्यही देशको समाजशास्त्रका प्राध्यापक लेस्जेक सिविलस्कीले हाँकेको प्राज्ञिक साइकल अभियानबाट प्रभावित भएर संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्व साइकल दिवसको घोषणा गरेको देखिन्छ । एकैपटक एक सय ९३ सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको साधारण भेलामा जुनको ३ तारिखमा विश्व साइकल दिवस मनाउन सहमत भए । उनीहरू आफैँ नियमित साइकल चढ्छन् कि चढ्दैनन्, थाहा भएन । हामी भने नियमित साइकल चढ्दै छौँ । अन्य अभियानसँगै विश्व साइकल दिवस पनि मनाउँदै आएका छौँ ।

 

अभियानकै लागि लाखौँले पुराना साइकल पुसपास पार्दै चढ्छन् । कतिले नयाँ साइकल किनेर चढ्छन् । भाडामा लिएर पनि साइकल चढ्नेहरू प्रशस्त देखिन्छन् । विश्वभर धेरै मानिस नियमित साइकल चढ्दै छन् । विश्वमा पुँजीवादको बिगबिगी छ । साइकल पुँजीवादविरुद्ध लड्ने शालीन बिम्ब बनेको छ । साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु अत्याचारविरुद्ध लड्नु हो । संसारलाई भुँइबाट हेर्नु र बुझ्नु हो । पसिनासँगै अहँकार र बिकार पखाल्नु हो । सन् १८१८ देखि साइकल अस्तित्वमा आयो । प्रतिकूल परिस्थितिमा पनि विश्व मानव विविध स्वरूपका साइकलको पेडल पेल्न छाडेका छैनन् । अझ ३५ जनासम्म बोक्न सक्ने साइकलसमेत प्रचलनमा देखिन्छन् । अनेकौँ अभियानले उनीहरूलाई एकै ठाउँमा जोड्ने कोसिस गरिरहेको छ । 

विश्वमा पुँजीवादको बिगबिगी छ । साइकल पुँजीवादविरुद्ध लड्ने शालीन बिम्ब बनेको छ । साइकल चढ्नु, केवल साइकल चढ्नु मात्रै होइन । साइकल संस्कृति स्थापित गर्नु अत्याचारविरुद्ध लड्नु हो । संसारलाई भुँइबाट हेर्नु र बुझ्नु हो ।


नेपालको सामाजिक राजनीतिक वृत्तमा साइकल समुदायले निकै ठूलो प्रभाव पार्दै छ । झट्ट हेर्दा साइकल अभियानमा संलग्न समूह छिन्नभिन्न भेटिन्छन् । जसका कारण नियमित साइकल यात्रीलाई हेप्नेहरू शक्तिशालीझैँ देखिन्छन् । यद्यपि, एकत्रित नभएर निरीहझैँ देखिएका साइकलप्रेमीका ससाना समूह नै शक्तिको बहुआयामिक स्रोत बन्दै छन् । अहिले नेपालको जुनसुकै कुनामा पुग्दा हामी साइकल समूहसँग सहजै जोडिन सक्छौँ । साइकल साथीहरू एकले अर्कालाई सघाइरहेको देख्छौँ । एउटै सहरमा धेरै साइकल समूह सक्रिय छन् । उनीहरू प्रतिस्पर्धामा उभिएका पनि छन् ।

 

स्वस्थ्य प्रतिस्पर्धाले साइकल अभियानलाई कमजोर होइन बलियो बनाउँदै लगेको देखिन्छ । एउटाले भन्दा अर्कोले अझ राम्रो काम गर्ने अठोटले अघि बढ्नु हरेक अभियानको सुन्दर पक्ष हो । अभियन्ताबाटै समग्र अभियानलाई घाटा पुर्‍याउने गतिविधि भइरहेको देखिएमा त्यही समूहबीच सार्वजनिक बहस उठ्दै छन् । यसले अभियानको शुद्धीकरणमा मद्दत गर्दछ । साइकल अभियान अन्ततः व्यक्तिदेखि विश्व जगत्सम्म जोडिने विषय हो । प्राज्ञिक क्षेत्रहरू यस्ता बहसमा सम्मिलित हुँदै छन् । एउटा अभियान परिपक्क प्राप्त गर्न प्राज्ञिक बहस अपरिहार्य हुन्छ । विश्वविद्यालय बहसको मूल थलो हो । विश्वविद्यालय अभियन्ता जन्माउने थलो पनि हो । नेपालका विश्वविद्यालयले प्रशस्तै राजनीतिक अभियन्ता जन्माइसकेको छ । सामाजिक सांस्कृतिक अभियन्ता स्थापित गर्ने मामलामा पनि विश्वविद्यालयले गहन भूमिका निर्वाह गर्न सक्छ । 


जब साइकल लिएर सिंहदरबार पस्छौँ तब महँगा कारहरूको लस्करमा हामी हराउँछौँ । एकजना मान्छे बोकेर विशाल कार दौडिरहेको देख्छौँ । अघिपछि दर्जनौँ कार एकजना चढेको कारलाई कार्टेलिङ गर्दै गरेको देखिन्छ । एकजनाले अति धेरै स्रोतसाधन दोहन गर्दै गरेको दृश्य देखेर हाम्रो मन खिन्न हुन्छ । त्यही सिंहदरबार इन्धन खपत घटाउन हप्ताको दुई दिन बिदा दिन्छ । सार्वजनिक सवारीका बारेमा सिंहदरबार बोल्दैन । साइकल संस्कृतिबारे सिंहदरबार सोच्दैन । पैदलमार्गलाई व्यवस्थित गर्दैन । निजी सवारीसाधनमैत्री बाटोलाई विकास भन्छ । सन् २०२०–२१ मा मात्रै ३३.१९ बिलियन डलर खर्चेर ३५५,९५९ मोटरसाइकल आयात भएको देखिन्छ । जुन अघिल्लो वर्षभन्दा ७७ प्रतिशत बढी हो । कार र अन्य मोटरमा कति खर्च भयो होला, लेखाजोखा अत्यासलाग्दो देखिन्छ । सिंहदरबार जनतालाई इन्धन कम प्रयोग गर्न अनुरोध गर्छ । समाजवादको बाटोमा देशलाई दौडाउने संविधानको कुरा गर्छ । साइकल चढेर अवलोकन गर्दा थप विरोधाभासको पुञ्ज देखिन्छ, सिंहदरबार ।


सिंहदरबारभित्र साइकलै–साइकल दौडिरहेको स्वैरकल्पनाका कुरामा साइकलप्रेमी वेलाबखत हराइरहेका हुन्छन् । हाम्रा प्रधानमन्त्री, मन्त्रीहरू, सचिव, उच्चपदस्थ, कर्मचारी सराबरी साइकलमा सिंहदरबार आवतजावत गर्दै गरेको दृश्य देख्न पाए देशमा समाजवाद व्यावहारिक रूपमै लागू हुनेछ । अनि कसैले जनतालाई साइकल वा सार्वजनिक सवारी चढ्नुस् भन्नै पर्दैन । नीति–नियम लाद्नु नै पर्दैन । प्रधानसेनापति, प्रधानन्यायाधीश, मेयरसाबहरू, विश्वविद्यालयका उपकुलपति सबैजसो कारभन्दा बढी स्वतः साइकल रोज्ने छन् । साइकल संस्कृतिले हाम्रा सहरहरू हराभरा हुनेछन् । सहरका कोर क्षेत्रमा मोटरकाररहित बन्दै जाँदा पर्यटन उद्योग फस्टाउनेछन् । प्रदूषण मात्रै होइन, व्यापार घाटा पनि घट्नेछ । नियमित साइकल चढ्दा ८० प्रतिशत रोग स्वतः निवारण हुनेछ । स्कुल कलेजको अतिरिक्त शुल्क घट्नेछ । कार संस्कृतिको सपनाबाट मुक्ति हुनेबित्तिकै भ्रष्टाचारको लेभल पनि घट्नेछ । यस्तो बौद्धिक चेतना भर्न विश्वविद्यालयको विशेष भूमिका रहन्छ । (विश्व) विद्यालयको पाठ्यक्रममा नै हामीले यस्ता चेतना भर्ने विषयवस्तु समावेश गर्न सक्छौँ । बुद्ध जन्मिएको भूगोलमा हामीले हाम्रा विद्यार्थीलाई कस्ता खुराक खुवाउने भन्नेबारेमा बहस गर्न सक्छौँ ।

जब साइकल लिएर सिंहदरबार पस्छौँ तब महँगा कारका लस्करमा हामी हराउँछौँ । एकजना मान्छे बोकेर विशाल कार दौडिरहेका देख्छौँ । अघिपछि दर्जनौँ कार एकजना चढेको कारलाई कार्टेलिङ गर्दै गरेको देखिन्छ । एकजनाले अति धेरै स्रोतसाधन दोहन गर्दै गरेको दृश्य देखेर हाम्रो मन खिन्न हुन्छ ।


विश्वविद्यालय विवादको केन्द्र पनि हो, अभियन्ता सधैँ आलोचना खेप्न तयार रहनुपर्दछ । ‘विश्वविद्यालयका प्राध्यापकहरू अलि स्थापित भएपछि कोही चराको ‘केजाति’ हेर्दै हिँडेका हुन्छन्, कोही साइकलको पछि दौडिरहेका छन्, कत्राकत्रा मुद्दाबाट मुन्टो बटारेर किन कताकता टाढा पुग्छन् हाम्रा प्राडाहरू ?’ समाजशास्त्र केन्द्रीय विभागमा एमफिल अध्ययनरत विद्यार्थीबाट आएको यस्तो अभिव्यक्ति नेपाली समाजको चरित्र अध्ययनकै विषय बन्न सक्छ । हामीले त्रिवि केन्द्रीय क्याम्पसमा कार्यशालामार्फत साइकल अभियानमा लागेको देखेर उनले व्यंग्य गर्दै थिए, जहाँबाट हामीले साइकल घोषणापत्र जारी गर्‍यौँ । पालिका प्रमुखहरूलाई साइकलमैत्री सहरी विकासका लागि प्रतिबद्धता व्यक्त गर्न बाध्य पार्‍यौँ । साइकल संस्कृतिको वकालत गर्दा विश्वका अन्य मुलुकहरूमा पनि अभियन्ताहरूले निकै कष्ट व्यहोरेको इतिहास साक्षी छन् । नेपालमा हामीलाई विभिन्न आरोप आइरहेका छन् । 


सामान्यतः साइकल चढ्नेहरूलाई धेरैले हेप्छन् । अलि राम्रो साइकल चढ्दा महँगो भन्छन् । साइकल नचढ्नका लागि मान्छेसँग अनगिन्ती बहाना छन् । अनेकौँ व्यवधानका बाबजुद पनि सधैँ साइकलको पेडल पेल्दै रमाइरहेकाहरू लाखौँ छन् । ज्येष्ठ नागरिक छन्, महिला छन् । एउटा हात नभएकाहरू साइकल चलाइरहेका छन् । एउटा खुट्टा नभएकाहरू पनि नियमित साइकल चलाइरहेका छन् । उनीहरू साहसिक साइकल प्रतियोगितामा पनि सामेल भइरहेका छन् । हाम्रा युवाहरू साइकल नचढ्न बहाना खोजिबसेका छन् । लब्धप्रतिष्ठित मित्रहरू पसिना आउँछ र गन्हाउँछ भन्छन् । पसिनाजस्तो अमूल्य चिजलाई अपमान गर्छन् । साइकल संस्कृति रेडिमेड किन्ने चिज होइन । यो क्रमशः स्थापित बन्दै जाने चिज हो ।


काठमाडौं उपत्यकामा कति लाख साइकल छन्, तथ्यांक छैन । अनेक स्वरूपमा अनगिन्ती साइकल यात्री बाटामा असिनपसिन पेडल पेलिरहेको भेटिन्छन् । गफिँदै साइकल साथीहरूसँग पेडल पेल्दाको आनन्द अझ अविस्मरणीय हुन्छ । दैनिक हजारौँ लाखौँ साइकल बाटोमा निस्किएमा साइकल संस्कृति स्वतः स्थापित बन्न सक्छ । नेपालमा अहिले ४० लाख इन्धनबाट चल्ने सवारीसाधन छन् । यसको आधा जनसंख्याले पेडल पेल्दै सडकमा निस्किएमा साइकल संस्कृति आजैबाट स्थापित हुन्छ । यसका लागि केवल सामूहिक अभियानको खाँचो छ । (विश्व)विद्यालयका कक्षाकोठा र सभाहलहरूमा बहसको खाँचो छ । प्राज्ञिक अनुसन्धान अभियानसँग जोडिन बाँकी छ । 


जनसंख्या केन्द्रीय विभाग त्रिवि कीर्तिपुरमा गत हप्ता सडक सुरक्षामा विश्वविद्यालयको भूमिकामाथि विद्यावारिधि शोधार्थी भगवती सेढाईंको प्रस्तुति थियो । उनले प्रस्तुत गरेको सडक दुर्घटनाको तथ्यांक सबैलाई तर्साउने खालको थियो । सन् २०११ देखि २०२० को एक दशकमा एक लाख ८० हजार नेपाली नागरिक सडक दुर्घटनाबाट प्रभावित देखिन्छन् । जसमध्ये २२ हजारको मुत्यु र एक लाख ५० हजारभन्दा बढी घाइते भएको देखिन्छ । युवा अवस्थामा मृत्युको प्रमुख कारण सवारी दुर्घटना नै हो । जसको दूरगामी प्रभाव परिवारमा मात्रै नभई देशमा नै पर्ने गर्छ । सडक दुर्घटनाबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघको अगुवाइमा सन् २०११ देखि २०२० को दशकलाई सडक सुरक्षा दशक घोषणा गर्दा नेपालले पनि प्रतिबद्धता जनाएको थियो । यातायात मन्त्रालयको संयोजनमा २०१३ मा राष्ट्रिय सडक सुरक्षा कार्यनीतिको मस्यौदा तयार पारेको थियो । सडक दुर्घटनाबाट हुने मृत्युलाई आधा घटाउने लक्ष्य पनि लिएको थियो ।

 

भइदियो उल्टो । सोही दशकमा ६० प्रतिशतभन्दा बढी सडक दुर्घटनाबाट युवाको मृत्यु भएको तथ्य छ । यो त अति भयो भन्दै पुनः २०७५।७६ मा विशेष सडक दुर्घटना अध्ययन समिति गठन भई अर्को दस्तावेज तयार भयो । विश्व बैंक, विश्व स्वास्थ्य संगठन, सडक सुरक्षा साझेदारीलगायत मार्गनिर्देशनमा टेकेर विभिन्न कार्यक्रमको सिफारिस पनि गरिएको देखिन्छ । २०६८ कात्तिक ११ देखि दोस्रो सडक सुरक्षा दशक सुरु भएको घोषणा पनि भएको छ । सडक दुर्घटनाबाट हुने मृत्युलाई विश्वव्यापी लक्ष्यअनुरूप नेपालले पुनः सडक दुर्घटनाबाट हुने मृत्यु आधा घटाउने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ ।

 

सन् २०२१ देखि २०३० को यस दशकमा नेपालले अर्को सडक सुरक्षा कार्यनीति मस्यौदा बनाएको थियो । संसद्बाट अनुमोदनको भने भएको देखिन्न । सडक सुरक्षाका महत्वपूर्ण साझेदारहरूले दोस्रो सडक सुरक्षा दशकको लक्ष्य हासिल गर्नका लागि के–कस्ता गतिविधि अघि बढाउनु पर्ला भन्ने विषयमा विविध संघसंस्था, समूह र निकाय सक्रिय देखिन्छन् ।


नेपाल सरकारले सडक सुरक्षाका लागि विशेष किसिमको स्थायी बोर्डको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । नेपालमा सयभन्दा बढी सडक सुरक्षाका लागि काम गर्दै आएका गैससहरू रहेछन् । उनीहरूको योगदानको पनि अब समीक्षा हुनु आवश्यक छ । यातायात व्यवसायी संघ तथा नागरिक समाज र सर्वसाधारण आफ्नो भूमिका निर्वाहमा कहाँ–कहाँ चुक्दै आए भन्ने विषयमा पनि गहन बहसको खाँचो देखिन्छ । विश्वले गरेको भुलहरूलाई अब हामीले अवलम्बन गर्नुहुन्न । संसारभर सिद्ध भइसकेको तथ्यले भन्छ, साइकल यात्राले आजसम्म एकजना मात्रै मान्छेलाई मारेको इतिहास छ, त्यो पनि इलेक्ट्रिक साइकलका कारण । दुर्घटनाबाट अति धेरै मृत्यु भइआएको सहरहरूलाई साइकलमैत्री सहरमा रूपान्तर गरेपछि सडक दुर्घटना र मृत्यु शून्यमा झरेको उदाहरण पनि हामीमाझ थुप्रै छन् । सडक सुरक्षालाई सफल बनाउने हो भने हामी तुरुन्त साइकल संस्कृतिमा जानुको विकल्प देखिन्न । विज्ञहरू यस विषयमा बोल्दैनन् । समस्याको चाङ उठाएर कहाँबाट कति विदेशी सहयोग जुटाउन सकिन्छ भन्ने लेखाजोखामा बुद्धिकर्मीहरू बढी बरालिरहेका देखिन्छन् ।  


हिँडाइभन्दा कम्तीमा चार गुना छिटो, अझ ‘पेडल एसेस’ विद्युतीय साइकल सात गुना छिटो देखिन्छ । प्राकृतिक महाविपत्देखि सवारी दुर्घटनाका विविध आर्थिक सामाजिक समस्याको समाधान हो, साइकल । सहज, सस्तो, छिटो र छरितो साइकललाई घरको चोटाकोठा जहाँतहीँ सजाइराख्न सकिन्छ । साइकल यात्रामा आदत बसेपछि कति आनन्द बोध हुन्छ, वर्णन गरिसाध्य छैन । साइकलको आनन्दबोध नगरीकन विश्वका धेरै मानिस बिती गए । साइकलको सौन्दर्यबोधलाई नजरअन्दाज गर्दै अझै कति बितिजाने हुन्, यकिन छैन । अहिलेलाई विश्व साइकल दिवसको शुभकामना । अस्तु । 

(त्रिवि अंग्रेजी केन्द्रीय विभागमा प्राध्यापनरत श्रेष्ठ ‘साइकल कल्चर मुभमेन्ट’का संयोजक हुन् ।)