• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रगति राई
२०७९ जेठ २८ शनिबार ०७:०८:००
यात्रा

हङकङको त्यो ‘ट्याम्के’ पहाड

त्यो पहाडलाई हेरेर मैले मनमनमा भनेँ, ‘तिम्रो मित ट्याम्के नेपालमा हाम्रो घरमाथि पर्छ ।’

२०७९ जेठ २८ शनिबार ०७:०८:००
प्रगति राई

 

धेरै वर्ष पहिले फेसबुकमा एकजना साथीले भनेथ्यो, ‘प्रगति राईले पनि आस्तिक हुने दिन आउँछ ।’ त्यो वेला म खुब हाँसेको थिएँ । करिब दश वर्षपछि, साँच्चै म आस्तिक भएको छु । अनि, ‘आस्तिक र नास्तिक’बारे मैले बुझेको परिभाषा पनि परिवर्तन भएको छ । कुनै वेला सोच्थेँ, यो प्रकृति भगवान्ले सिर्जना गरेका हुन्, उनलाई खुसी पारे सबथोक पाइन्छ । यस्तो मान्नु नै आस्तिक हुनु हो । तर, होइन रहेछ । कसैमाथि भरोसा हुनु, कसैलाई प्रेम गर्नु पनि आस्तिक हुनु रहेछ । यस मानेमा कोही मान्छे जीवनभर नास्तिक रहन सक्दैन । र, ती नामै बिर्सेको फेसबुक मित्रलाई पुनः एकपटक सम्झेको छु ।


अप्रिल २१, २०१९ मा नेपाली भाषा तथा साहित्य परिषद् हङकङ आयोजक र हङकङ नेपाली फाउन्डेसन संयोजक रहेको पारिजात स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि हुने अवसर पाएँ । यो संस्थाले हरेक साल ‘पारिजात पुरस्कार’ शीर्षकमा हङकङमै रही लेखिएका साहित्यिक सिर्जनालाई आकर्षक पुरस्कारसहित सम्मान गर्ने गरेको रहेछ । त्यो वर्षको पारिजात पुरस्कार ‘टाँकीका फूलहरू’का सर्जक दाजु गुरुङले प्राप्त गर्नुभएको थियो । ‘पारिजात’ नाम उच्चारण गर्न पाउँदैमा मलाई गर्व लाग्छ । झन् उहाँकै स्मृतिमा हुन लागेको कार्यक्रमको निम्तो दिनु हुने दाजु किशन राईप्रति अधिक आभार व्यक्त गर्दछु । ‘किशन राई ?!’ सम्झनासाथ मुटु चिसो हुन्छ अहिले । उहाँ हामीमाझ हुनुहुन्न । उहाँको रिक्ततामा दुखिरहेको टुहुरो मनलाई सान्त्वना दिनकै लागि म यति लेख्न बसेको छु ।


एउटा कार्यक्रम भनी हङकङ पुगे पनि त्यहाँ अरू कार्यक्रम पनि आयोजना भयो । एक हप्ताको बसाइमा करिब आधा दर्जन कार्यक्रममा सरिक हुने अवसर पाएँ । किरात राई यायोक्खा हङकङ, किरात राई चाम्लिङ खाम्बातिम, ङामेचिमे महिला विभाग, गैरआवासीय नेपाली संघ हङकङ, एन आए एन हङकङ, नेपाली महिला संघ हङकङद्वारा सम्मानित हुँदै बगैंचा संसार हङकङको आयोजनामा मेरो एकल कविता वाचन कार्यक्रम पनि भयो । सशुल्क हङकङ डलर २५० मा मेरा नयाँ कविता सुनाउने अवसर मिल्यो । 


कविता वाचन कार्यक्रमका लागि नरेश सुनुवार, किशन राई, सुवास राई, बज्रकुमार थुलुङको जो धपेडी थियो, उत्तिकै धपेडीका साथ कविता सुन्नभन्दा पनि मलाई माया गरेर धेरै आफन्तहरू आइदिनुभएको थियो । अहिले प्रायः गरेर प्रोग्रामहरू लाइभ गरिने चलन भएकाले अधिकांश मित्रले भने टिकटको पैसा मात्र पठाएर घरै बसी लाइभ हेर्ने चाहना राख्नुभएको रहेछ, तर मिलेन । उपस्थित हुनेहरूको कडा विरोध भयो, ‘कति टाढाबाट दुःख गरी आउनेले जस्तै घरै बसीबसी सिरानीको अडेस हालेर लाइभमा कविता सुन्न पाइन्न ।’ वाचनको लाइभ भिडियो रोकियो । मैले नयाँ कविताहरू सुनाएँ । 


नेपाल फर्किने केही दिनअघि जोर्डनस्थित हेल्लो किचनमा सिस्नु र थ्याप्लेभात खाने निम्तो पाइयो । मलाई मासुभात खाँदा आँत मात्र भरिन्छ, तर सिस्नुढिँडो खान पाउँदाचाहिँ मन पनि भरिन्छ । ‘मैले स्वस्थकर खाना खाएँ’ भनेर ढुक्क पनि लाग्छ । त्यही खाना खाने क्रममा कमल राई, मगेन्द्र राई, बज्रकुमार थुलुङ धीरज साम्पाङ जम्मा भएको वेला कताबाट चुलाघरको कुरा अलिकति निस्क्यो । नेपालमै हुँदा ‘हङकङ आएर चुला दर्शन गर्र्न जानुभएन भने तपाईं किराती भएको अर्थ छैन’ भनेर मित्र बज्रकुमारजीले पनि भन्नुभएको थियो । 


नभन्दै, किरात राई यायोक्खा अध्यक्ष हरिचन्द्र राई, सचिव गजेन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशिमदन राई, ङामैचिमैका अध्यक्ष कल्पना राई, राजनीतिज्ञ वसन्ती राई, व्यवसायी धिरज साम्पाङलगायत निकैजना कुलपतिज्यूकोे गाडीमा चुलाघर लाग्यौँ । जोर्डनबाट करिब एक घन्टाको दूरी पार गरेपछि सन थिनस्थित किलुन गाउँमा रहेको जमिन करिब पच्चीस सय वर्गफिटमध्ये एघार सय वर्गफिटमा चुलाघर निर्माण गरिएको रहेछ । बाँकी, जमिनमा आँगन, मिटिङहल रहेछ । हङकङवासी किरातीहरू र अन्य देशमा पनि रहेका किरातीहरूको आर्थिक सहयोगमा तीन करोड साठी लाख नेपाली रुपैयाँको लागतमा चुलाघर निर्माण भएको रहेछ । हाल त्यसको मूल्य बढेर ठीक दोब्बर सात करोडजति भएछ । किरातीहरूको आस्था चुला यसैमा मृत्युपर्यन्त बास बस्न पुगिन्छ भन्ने विश्वास छ । 


चुला त घरमा देखेकै हो, ठाउँचाहिँ हेर्ने हो, हङकङजस्तो महँगो ठाउँमा पनि नेपालीहरूको नाममा आँगन घुर्‍यानसहितको घर कस्तो जोड्नुभएको होला भनेर मैले खुब सोचेको थिएँ । पुग्नासाथ सबैतिर हेरिभ्याएँ । निकै वर्षदेखि पुग्न नसकेको आफ्नो घरको तिर्सना मेटियो । वारिपारि अग्ला–अग्ला जङ्गलसहितका डाँडाले घेरिएको थोरै समथर बस्ती । माथितिरको डाँडाको हङकङे नाम रहेनछ र नेपालीहरूले नै ‘ट्याम्के’ भनी नामकरण गरेका रहेछन् । साँच्चै नेपालको एक नम्बर प्रदेशमा पर्ने ट्याम्के, दुरुस्तै रहेछ त्यो पहाड । त्यो पहाडलाई हेरेर मैले मनमनमा भनेँ, ‘तिम्रो मित ट्याम्के नेपालमा हाम्रो घरमाथि पर्छ ।’ आफ्नो कुराले आफैँ मुस्कुराएँ र वरपरबाट कसैले देखे कि भनेर हेरेँ । साहित्यकारलाई बोल्न मान्छे नै चाहिँदैन । जेसँग पनि दोहोरो बोल्ने चलन हुन्छ । यसैले अरूको नजरमा पागल देखिनु स्वाभाविकै हो । हुन त पहाडले मान्छेको भाषा के बुझ्नु र ? न पहाडको भाषा नै हामी बुझ्छौँ । जब अर्काको भाव बुझिन्न, तब मान्छेले आफू अनुकूलको उस्तै वस्तुलाई भगवान् र प्रतिकूल वस्तुलाई राक्षस भनेर मान्छ सायद । 


चुला घरमा ठूलो बैठक कोठा, चर्पी कोठा, त्यसपछि भान्सा कोठा र अझै  भित्र जङ्क/ज्यँक (भँडार) रहेछ । अँ, चुलाचाहिँ जङ्कमा राखिएको रहेछ । अगेनाको वरिपरि बस्न मिल्ने अनि अलिक अग्लो गरी भार झुन्ड्याइएको रहेछ । छिदिप (भार अड्याउने काठको सानो खम्बा) चाहिँ रहेनछ । धामी बस्दाखेरि त मुन्दुममा चुला, अगेना, छिदिप हुँदै भार अनि धुरीको सम्बोधन हुन्छ । तर छिदिप थिएन । जङ्कमा एकापट्टि भित्तामा कोठे र्‍याक राखिएको रहेछ, जहाँ प्रत्येक थरीका राईहरूले आफ्नो सामइ (कुलको नाम) लेखिएको थियो । तर, एक–दुईवटा र्‍याकमा मात्र चिन्डो र केही लेखिएको खाता थियो । सायद सबै किरातीले आफ्नो सामइ टिपाइसक्न बाँकी नै थियो । 

मेरा लागि धुमधाम आशीर्वाद मागियो चुलासँग । मेरो ४० वर्षे जीवनमा कहिल्यै यस्तो भएको थिएन । म कहिल्यै भगवान् नढोगेको मान्छे । ज्योतिषलाई हातमा भाग्य नहेराएको मान्छे । त्यहाँ यस्तो हुँदा म त अक्क न वक्क भएँ ।


काठको भर्‍याङ चढेर माथिल्लो तला गएँ । त्यहाँ दुई बेडरुम र एक बाथरुम थियो । त्यो बाथरुमलाई पनि भत्काएर तीनवटै सुत्ने कोठा बनाउने योजना रहेछ । मैले त सबै चहारेर, फोटो खिचेर सकेँ, अनि भनेँ ‘लु फर्कौं सबै हेरिसकेँ ।’ ‘कार्जे सुरै भाको छैन । कहाँ फर्किने कुरा गर्छौ हो बुइनी ?’ वसन्ती नानाले भन्नुभो । अनि पो आँगनमा निस्किएँ, बाहिर सेकुवा पोलिँदै रहेछ । भित्र अगेनामा आगो बालिँदै रहेछ । बैठक कोठामा सरसल्लाह हुँदै रहेछ । 


‘आबो मैले के गर्नुपर्छ नाना ?’ 
उनै वसन्ती नानालाई सोधेँ । 
‘चुलामा भेटी चढाऊ, दछिना छ कि छैनाको ?’ नानाले भन्नुभो ।


झोलामा हेरेँ, पाँचरुपे रहेछ त्यही चुलामा चढाउन मैले आफ्नै दर्शन बक्दै भनेँ, ‘यो देवताथानमा भेटी चढाउनु राम्रो होइन, भगवान्ले घुस होइन, राम्रो कामको अपेक्षा गर्छ । बरु सकिन्छ भने हरेक दिन एउटा राम्रो काम गरेर चुला ढोग्नुपर्छ...।’ 


‘अँ इहाँ पैसा चढाउनू बैनी ।’ कल्पना नानाले अघि नै काँसेथालमा चामल, दियो, वाबु ठिक्क पार्नुभएको रहेछ । पैसा त्यहीँ राख्न लगाउनुभयो । त्यसपछि सचिवद्वारा मेरा सपना पूर्तिका लागि कापीमा लेखिएका पितृ खुसी हुने वचनहरू पढ्न थालियो । मेरा लागि धुमधाम आशीर्वाद मागियो चुलासँग । मेरो चालीस वर्षे जीवनमा कहिल्यै यस्तो भएको थिएन । म कहिल्यै भगवान् नढोगेको मान्छे । ज्योतिषलाई हातमा भाग्य नहेराएको मान्छे । त्यहाँ यस्तो हुँदा म त अक्क न वक्क भएँ । र, भनेँ, ‘मैले त कामै नगरी कहिल्यै कामको प्रतिफल माग्ने गरेकै छैनँ ।’ 


देउता मानी ढोगेर बसीबसी जीवन सफल हुन्छ भन्ने विश्वास त मलाई छैन । तर, त्यस्तो बिरानो ठाउँमा पनि नेपालीहरूले सर्लक्कै आफ्नो चुलाको निर्माण गर्न सक्ने क्षमताप्रति चाहिँ म श्रद्धाले झुकेँ । यो श्रमको लागि नतमस्तक भएँ । उहाँहरूको लगनशीलता, पसिना र सपनाको श्रद्धाका लागि चुलालाई ढोगेँ, खरानीको टीका लगाएँ । यसो भनौँ, जीवनमा पहिलोचोटि आस्तिक भएँ । मैले चुलाप्रति आस्था राख्नु उहाँहरूको श्रद्धा गर्नु हो, मान गर्नु हो । ‘चुला भनेको घर हो, जहाँ जीवनपर्यन्त राम्रा काम गर्नेहरूले बास पाइन्छ ।’ यसो भन्दा फेरि दीपक दिखलिछालाई सम्झिएँ । उनको एउटा तर्क छ, ‘पूरा जीवन बिताएर मर्नेले मात्र चुलामा बास पाउने, अनि भइपरी आएको मृत्युलाई चाहिँ नकारेर ढोकाबाहिरै रोक्ने ? मृत्यु मानिसको वशमा छ ?’ उनको यो तर्क मलाई पनि जायज लाग्छ । यस विषयमा बहस हुन जरुरी देखिन्छ । र, फेरि पनि किशन दाइलाई सम्झेको छु । कतै उहाँलाई चुलामा प्रवेश रोकिएको पो छ कि ? 


यसरी मृत्युपर्यन्त मात्र होइन, हङकङे किरातीहरूले जीवित हुँदै विदेशी भूमिमा पनि परदेशसँग दिक्दार लागे ‘मूलघर गएर बस्छु’ भन्ने ठाउँ बनाएका रहेछन् । चुलाले कामै नगरी फल त दिँदैन, तर बेसहारा महसुस भएको वेला अपनत्वको आभास भने अवश्य प्रदान गर्छ । 


चुलाको आशीर्वाद लिने काम सकिएपछि मनग्य दक्षिणा पनि पाइयो । नेपाली तीस हजारजति । कल्पना नानाले तुउदी (जाँडले मुख चोखाउनी) गर्नुभयो । छिप्पिएको रहेछ मनग्गे रिनिनी भएँ । भित्र साह्रै टुकटुक्ती धुवाँ भएपछि बाहिर बैठक कोठामा निस्कियौँ । त्यहाँ अघि नै खानेकुरा तयार भइसकेको रहेछ । सेकुवा, वियर, जाँड, जुस, कुखुराको मासु, के–के हो, सबैको त नामै पनि जानिनँ । 


यी चिजहरू खाँदै गर्दा राईहरूमा भएको भाषा विविधताका कारण भाषा एकीकरण हुन नसकेको भन्ने गुनासो आयोे । कसैले ‘वान्तवा धेरैले बोल्ने भएकाले त्यसलाई मूलभाषा बनाऔँ’ भने तर त्यहीँ उपस्थित कसैले यो कुरालाई सहमत जनाएनन् । मैले पनि सहमत जनाइनँ । बरु भनेँ, ‘भाषा एकीकरण अल्पभाषीहरूबाट सुरु हुनुपर्छ । न्यून भाषाको संख्यालाई शतप्रतिशत समावेश गरी बाँकी भाषाहरूलाई प्रतिशतमा तानेर एउटा मूल भाषा बनाउनुपर्छ ।’ तर मेरो कुरामा पनि सहमति आएन ।


पाहुनालाई चुला घरबारे लागेको कुरा लेखाउने एउटा डायरी रहेछ । त्यो डायरीमा लेखिएका भनाइ उत्कृष्ट भए किराया बुलेटिन अनलाइनमा पनि राखिने रहेछ । मलाई यो तरिका गज्जब लाग्यो । अनि मैले पनि त्यही भाषा विवादलाई दोहोर्‍याएर लेखेँ, ‘भाषा एकीकरण गर्दा सबैभन्दा थोरै जनसंख्या भएको जातिको शतप्रतिशत भाषा राख्नुपर्छ । त्यसपछि अरू भाषीहरूको जनसंख्याको आधारमा प्रतिशत निकालेर शब्दहरू राखेर साझा भाषा बनाऔँ । पाँच कक्षासम्म सबै जातिले आ–आफ्नै भाषा पढ्ने र निम्न माध्यमिक तहबाट सामूहिक भाषा पढौँ–पढाऔँ  । यसो गर्दा कसैलाई अन्याय नपर्ला । अल्पसंख्यक भाषालाई शतप्रतिशत राखेर लोप हुन लागेको भाषाको जगेर्ना गरौँ । कुनै पनि लोप हुन लागेको वस्तुलाई जगेर्ना गर्नु सबैको दायित्व हुन्छ ।’


अन्तमा, फेरि किसन दाइलाई सम्झन्छु । ‘दाजु ! म आस्तिक भएको छु । चुलामा अवश्य भेट हुनेछ ।