• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
 न्युयोर्क टाइम्स
२०७९ असार ४ शनिबार ०८:०८:००
समाज

फ्रान्सलाई फिरौती तिर्दातिर्दै कंगाल बनेको एउटा देश

हाइटीको दुरवस्थाको मूल कारण दासमालिकलाई तिर्नुपरेको क्षतिपूर्ति हो

२०७९ असार ४ शनिबार ०८:०८:००
 न्युयोर्क टाइम्स

 

हिंसा । त्रासदी । भोक । अल्पविकास । अपहरण । प्रकोप । भूकम्प । हाइटीको नाम लिँदा यी पहिचान स्वतः जोडिएर आउन थालेको पनि एक शताब्दीभन्दा बढी भइसक्यो । यसपटक देशका राष्ट्रपति उनकै सयनकक्षमा मारिए । एउटै टापुको पूर्वी भागमा रहेको मुलुक डोमिनिकन रिपब्लिकका नागरिकले भूमिगत रेल सञ्जाल, उचित स्वास्थ्य सेवा, गुणस्तरीय सार्वजनिक विद्यालय र लोभलाग्दो आर्थिक वृद्धि उपभोग गरिरहँदा छेउकै हाइटीका नागरिक भने बिलकुल फरक संसारमा भएझैँ लाग्छ । आखिर यस्तो कसरी सम्भव छ भनेर सोध्ने धेरै छन् ।

 

कैयौँ मानिस हाइटीको दुरवस्थाका लागि देशमा व्याप्त भ्रष्टाचारलाई जिम्मेवार ठहर्‍याउँछन्, जसलाई पूरै नकार्न सकिँदैन । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार हाइटी विश्वको सबैभन्दा भ्रष्ट मुलुकमध्ये एक हो । तर, हाइटीको दुरवस्थाका लागि जिम्मेवार अर्को यथार्थ भने विश्वले बिरलै स्विकारेको देखिन्छ । हाइटीको वर्तमान स्थितिका लागि आधुनिक विश्वमा दासत्वबाट मुक्त भएर आफ्नै राष्ट्र निर्माण गर्ने प्रयासमा लाग्दा स्वतन्त्रताको बदला तिर्न लगाइएको फिरौतीको पनि ठूलो भूमिका छ । 


हाइटीका क्रान्तिकारीले तिनको मुलुकलाई स्वतन्त्र घोषणा गरेको २१ वर्षपछि ५०० तोपद्वारा सुसज्जित फ्रेन्च युद्धपोतहरू हाइटीको तट आइपुगेका थिए । युद्धपोतसँगै आएका थिए, फ्रान्सका राजा चाल्र्स दसौँका दूतका रूपमा ‘म्याकोको ब्यारोन’ । उनले हाइटीसामु एक अल्टिमेटम दिए– हाइटीका विगतका दासमालिकलाई तिनले गुमाएको दासदासी र जमिनको क्षतिपूर्तिस्वरूप ठूलो रकम हस्तान्तरण गर्ने या अर्को युद्धको सामना गर्ने ? फ्रान्सलाई हाइटीको पक्षमा कुनै पनि देश आउनेछैन भन्ने थाहा थियो । त्यसवेलाका कुनै पनि विश्वशक्तिले हाइटीको स्वतन्त्रतालाई स्विकारेका थिएनन् । नजिकको नवनिर्मित श्वेत गणराज्य अमेरिका र त्यहाँका सांसदहरू तिनका देशका अश्वेत दासहरू हाइटीको मुक्ति अभियानबाट प्रेरित होलान् भनेर चिन्तित थिए । ती हाइटीको पक्षमा नउभिने पक्का थियो ।


यस्तो विश्व परिदृश्यमा अन्तर्राष्ट्रिय मान्यताले दिलाउने सुरक्षा र पछिको व्यापारका लागि हाइटीका राष्ट्रपति फ्रान्सको मागप्रति झुके । त्यस वेला भएको सम्झौताको परिणामस्वरूप हाइटी पूर्वदासका सन्तानले दासमालिकका सन्तानलाई पुस्तौँपुस्तासम्म क्षतिपूर्ति तिर्ने संसारको पहिलो र एक मात्र देश बन्यो । हाइटीले तिर्ने क्षतिपूर्तिलाई ‘स्वतन्त्रताका लागि तिरिएको ऋण अर्थात् स्वतन्त्रताको ऋण’ भनियो, जुन पदावली सरासर गलत थियो । खासमा त्यो फिरौती थियो, एक आपराधिक मानसिकता भएका पक्षले गम्भीर क्षति पुर्‍याइदिने डरधम्की दिएर तिराउने रकम । 


फ्रेन्च राजाले ब्यारोनलाई दोस्रो कार्यभार पनि सुम्पेका थिए– पूर्वउपनिवेशले भुक्तान गर्न भर्खर खुलेका फ्रेन्च बैंकहरूबाट ऋण लिनुपर्ने व्यवस्थाको सुनिश्चितता गर्ने । पहलो त फिरौती तिर्नुपर्ने र त्यो रकम फिरौती पाउनेले नै ब्याजमा दिएको ऋणले तिर्नुपर्ने यो व्यवस्थालाई हाइटीको ‘दोहोरो ऋण’ भनेर चिनिन्छ । यो अनौठो प्रावधानले पेरिसका अन्तर्राष्ट्रिय बैंकहरू मोटाए भने हाइटी दुब्लायो । हाइटीले फ्रान्सलाई तिरेको फिरौती रकम कालान्तरमा विश्व–इतिहासको चर्चामा ओझेलमा पर्‍यो । यसैकारण हाइटीका दासदासीका सन्तानले तिनको पुर्खाका दासमालिकका सन्तानलाई कति तिरे भन्ने कुराको समेत कुनै विस्तृत लेखाजोखा राखिएन, जुन इतिहासकार नै स्विकार्छन् । यही अभाव पूर्ति गर्ने उद्देश्यका साथ ‘न्युयोर्क टाइम्स’ले इतिहासकार र अर्थशास्त्रीको सहयोग लिएर विगत दुई सय वर्ष अवधिका हजारौँ सरकारी कागजात महिनौँ अध्ययन ग¥यो । कागजपत्रको अध्ययनका लागि हाइटी, फ्रान्स र संयुक्त राज्यमा पुस्तकालयहरू र अभिलेख केन्द्र चहारिएको थियो । 


न्युयोर्क टाइम्सको अध्ययनबाट हाइटीका नागरिकले आजको डलर भाउमा लगभग पाँच करोड ६० लाख डलर रकम तिरेको फेला पर्‍यो तर यो अंकले वास्तविक क्षतिलाई प्रतिबिम्बित गर्दैन । यदि उक्त रकम फ्रान्स पठाउनुको साटो हाइटीकै अर्थतन्त्रमा रहन पाएको भए र पछिल्ला दुई शताब्दीमा त्यो स्वाभाविक गतिमा बढ्न पाएको भए त्यसले हाइटीको अर्थतन्त्रमा २१ बिलियन डलर थप गर्ने थियो । यो रकममा हाइटीको कुख्यात भ्रष्टाचार तथा फजुल खर्चको समेत लेखाजोखा गरिएको छ । २१ अर्ब डलर सन् २०२० मा हाइटीको सम्पूर्ण अर्थतन्त्रभन्दा धेरै ठूलो रकम हो । न्युयोर्क टाइम्सको अध्ययन टोलीले यो निष्कर्ष र विश्लेषणलाई विकासशील अर्थतन्त्रहरूका अध्ययनमा संलग्न १५ ठूला अर्थशास्त्री र वित्तीय इतिहासकारलाई देखायो । एकजनाबाहेक सबैले २१ अर्ब डलरको क्षतिको प्रक्षेपणमा या सहमति जनाए वा त्यति नै वरिपरि हुने बताए ।


हाइटीको सरकारले तिनका पूर्वदासमालिकलाई तिनुपर्ने अन्तिम भुक्तानी सन् १८८८ मा तिरेर सक्यो । तर, त्यसवेलासम्म ऊ ठूलो वैदेशिक ऋणमा फसिसकेको थियो । फ्रान्सलाई क्षतिपूर्ति तिरिसकेको दशकौँपछि पनि हाइटीले विगतको ऋण तिरिरहेको यियो । सन् १९११ सम्म आइपुग्दा हाइटीले उसको राजस्वको सबैभन्दा महत्वपूर्ण स्रोत कफीमाथिको करको प्रत्येक तीन डलरमध्ये २.५३ डलर फ्रेन्च लगानीकर्ताको ऋण तिर्न प्रयोग गरिरहेको थियो । सन् १९१५ मा सुरु भएको संयुक्त राज्य अमेरिकाको अतिक्रमणका वर्षहरूमा, हाइटीको बजेटको धेरै हिस्सा देशमा तैनाथ अमेरिकी अधिकारीको तलबभत्तामा खर्च हुन थाल्यो । जबकि २० लाख जनतालाई स्वास्थ्य सेवा दिन सक्ने स्रोत थिएन । 


सन् २००३ मा दशकौँको तानाशाही व्यवस्थापछि प्रजातान्त्रिक रूपमा चुनिएका पूर्वपादरी जँ–बरट्रन्ड अरिस्टाइडले विगतमा फ्रान्सले दोहन गरेको पैसा फिर्ता गर्नुपर्ने माग गर्दै अभियान सुरु गरे । अभियानअन्तर्गत उनले टेलिभिजन विज्ञापन गर्ने, सडकहरूमा ब्यानर लगाउने र अन्तर्राष्ट्रिय मुद्दा लड्नका लागि अन्तर्राष्ट्रिय कानुनी समूहको निर्माण गर्ने काम सुरु गरेका थिए । अरिस्टाइडले अनुसन्धानदातालाई फ्रेन्च अभिलेख खोजबिन गर्न लगाए र फ्रान्सको कारण गुमाएको रकम निकाल्न लगाए । जुन २१ अर्ब अमेरिकी डलरभन्दा बढी थियो । जुन न्युयोर्क टाइम्सले इतिहासकार र अर्थशास्त्रीबाट रुजु गराएर निकालेको रकमबराबर नै छ । 


अरिस्टाइडको अभियानबीच फ्रेन्च सरकारले दुई देशबीचको सम्बन्ध अध्ययन गर्न भन्दै एक सार्वजनिक आयोग गठन गर्‍यो । आयोगलाई ‘हाइटीलाई तिर्नुपर्ने क्षतिपूर्तिबारे एक शब्द नबोल्न’ निर्देशन दिइएको हाइटीका लागि तत्कालीन फ्रान्सेली राजदूत थियरी बर्कार्डले न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा भने । अन्तिममा आयोगले राष्ट्रपति एरिस्टाइडको दाबीलाई भाषणबाजी भन्दै खारेज गर्‍यो र ‘स्वतन्त्रता ऋण’लाई हाइटी र फ्रान्सबीचको ‘सन्धि’को रूपमा चित्रण गर्‍यो । यसको एक महिनापछि, फ्रान्सेली सरकारले एरिस्टाइडलाई सत्ताच्यूत गराउने षड्यन्त्रमा सहयोगी भूमिका खेल्यो ।

हाइटीका राष्ट्रपति फ्रान्सको मागप्रति झुके । त्यसवेला भएको सम्झौताको परिणामस्वरूप हाइटी पूर्वदासका सन्तानले दासमालिकका सन्तानलाई पुस्तौँपुस्तासम्म क्षतिपूर्ति तिर्ने संसारको पहिलो र एक मात्र देश बन्यो । हाइटीले तिर्ने क्षतिपूर्तिलाई ‘स्वतन्त्रताका लागि तिरिएको ऋण अर्थात् स्वतन्त्रताको ऋण’ भनियो ।

 

फ्रान्सले हाइटीले दासमालिकलाई तिरेको क्षतिपूर्ति दास मालिकको खातामा गएको र राज्यले केही नपाएको तर्क पनि गर्ने गर्छ । यद्यपि न्युयोर्क टाइम्सको अध्ययन टोलीले २०औँ शताब्दीका यस्ता धेरै सरकारी कागजात फेला पार्‍यो, जसले हाइटीका दासका वंशजले तिरेको २० लाख फ्य्रांक अर्थात् आजको मुद्रामा ८५ करोड डलर फ्रान्सको राज्यकोषमा पुगेको देखाउँछ । क्षतिपूर्ति रकम हासिल गरेको परिवारका वर्तमान वंशमा राजुकमार चाल्र्सका भाइ पर्ने म्याक्सिमिलियन मार्ग्रेभ, फ्रेन्च व्यापारी अर्नेस्ट–एन्टोइन सेइलिरे डे लेबोर्डे र बेल्जियमका राजकुमार मिचेल डे लिग्नजस्ता धेरै छन् । न्युयोर्क टाइम्सले अध्ययनका क्रममा झन्डै ३० यस्ता व्यक्तिसँग कुराकानी गरेको थियो ।

 

संसारमा सबैभन्दा लाभदायक उपनिवेश
हिस्पानिओला टापुको पश्चिमी भागलाई फ्रान्सले अन्य क्यारिबियन भूमिलाई भन्दा पछि कब्जा गरेको थियो । तर, सय वर्षभित्रै यो क्षेत्र युरोपमा चिनीको प्रमुख आपूर्तिकर्ताको रूपमा विकसित भयो । सन् १७३० को दशकमा पहिलोपटक डोन्डनको पहाडी भेगमा पहिलो कफी बगैंचा रोपिएको थियो । सन् १७८० को दशकसम्म आइपुग्दा यी खेतीमा आन्द्र सागर क्षेत्रमा हुने दास व्यापारका झन्डै–झन्डै ४० प्रतिशत दासदासी प्रयोग हुन थालेका थिए । अफ्रिकाबाट अपहरण गरेर ल्याइएकामध्ये धेरै टापुमा आएका केही समयपछि नै मरे ।


बाँचेकाहरू पनि चरम यातनाबीच कफी खेतीमा जोतिए । उनीहरू भोक, थकान र चरम हिंसाको चपेटामा पर्थे । ससना गल्तीमा उनीहरूलाई ठूलो सजाय दिइन्थ्यो । त्यसवेला हाइटीमा एउटा यस्तो चोक थियो, जहाँ दासमालिकहरू भेला भएर गल्ती गर्ने दासहरूलाई जिउँदै जलाएको वा एक–एक हड्डी भाचेको हेर्ने गर्थे । दासमालिकहरूले दासहरूलाई बारुद भरेर तोपमा राखी उडाउनेजस्ता क्रूर काम गर्थे । फ्रेन्च इतिहासकार पियरे डे भाइसिएरले यस सजायबारे सन् १७३६ मा एक उपनिवेशवादीले लेखेको पत्रमा चर्चा भेटेका छन् । 


‘हे मेरो देश, यो ग्रहमा तिम्रो माटोजति रगतले भिजेको अन्य कुनै ठाउँ होला ?,’ देशको अवस्थाबाट प्रभावित हाइटीको उत्तरी भागका सरकारी अधिकारी रहेका ब्यारोन डे भास्टेलले सन् १८१४ मा उनको कृतिमा यस्तो लेखेका थिए । सन् १७९१ को वर्ष अगस्टको कुनै एक साँझ तत्कालीन सेन्ट–डोमिन्गेका दासहरूको विद्रोह सुरु भयो । केही इतिहासकारले यसलाई मानव इतिहासको सबैभन्दा ठूलो दासविद्रोह पनि भन्ने गरेका छन् । दुई वर्षको भीषण लडाइँपछि, फ्रान्सले सबै दासहरू बन्धनबाट मुक्त गर्दै तिनलाई फ्रेन्च नागरिक बन्ने बाटो खुलाउने घोषणा गर्‍यो । यो घोषणामा देशभित्र बदलिँदो घटनाक्रमले पनि प्रभाव पारेको थियो । फ्रान्समा भएको क्रान्तिपछि राजा लुइस सोह्रौँ र रानी मारी एन्टोइनेट गिलोटिनमा काटिएलगत्तै क्रान्तिकारी सरकारले सबै फ्रेन्च उपनिवेशहरूमा दासप्रथा उन्मूलन गर्‍यो । 


सन् १७९९ मा नेपोलियन फ्रेन्सले सत्ता कब्जा गरे र विगतका परिवर्तन उल्ट्याउन थाले । नेपोलियन फ्रेन्स उपनिवेशमा गरिएका दासदासी उन्मूलनको व्यवस्था पनि फिर्ता लिए । सन् १८०१ डिसेम्बरमा नेपोलियनले पूर्वदासहरूको नियन्त्रणमा बाँकी रहेको एक मात्र उपनिवेश हाइटीलाई नियन्त्रणमा लिन ५० जहाज पठाए । यो मिसनको नेतृत्व उनका ज्वाइँले गरेका थिए । नेपोलियनले फ्रान्सका अन्य उपनिवेशमा दास–व्यापारलाई सूचारु गरिसकेका थिए र हाइटीलाई नियन्त्रण गरिरहेका पूर्वदासमाथि तीन महिनामै जित हासिल गर्ने सोचेका थिए । तर, युरोपमा दिगविजयी ठहरिएका नेपोलियनले हाइटीमा ५० हजार फ्रेन्च सैनिक गुमाउँदै हार व्यहोरे । 

अल्टिमेटम
हाइटीलाई थाहा थियो, एक दिन फ्रेन्च सेना पुनः फर्किनेछन् । र, त्यो दिन हाइटी स्वतन्त्र भएको २१ वर्षपछि आयो । जुलाई ३, १८२५ मा फ्रान्सेली युद्धपोत, दुई अन्य जहाजसँगै हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको बन्दरगाहमा पुगे । फौजलाई फ्रान्सका नयाँ स्थापित राजा चाल्र्स दसौँको आदेश थियो– हाइटीले फ्रान्सलाई १५ करोड फ्य्रांक क्षतिपूर्ति तिरेमा र फ्रान्सेली सामानमाथि लागेको भन्सार करमा भारी छुट दिएमा मात्र स्वतन्त्रता पाउन सक्छ । यदि हाइटीले अध्यादेश अस्वीकार गरेमा हाइटीलाई ‘फ्रान्सको शत्रु’ घोषणा गर्ने र यसका बन्दरगाहहरू नाकाबन्दी गर्ने आदेश थियो । तटभन्दा केही पर ११ थप फ्रेन्च युद्धपोत पर्खिरहेका थिए । 


हाइटीका एक वरिष्ठ जनरलमध्ये एकले राष्ट्रपति जँ–पियरे बोयर र फ्रेन्च अधिकारीबीच वार्ताको बीचमा राष्ट्रपतिलाई उत्तरपश्चिम तटीय पहाडमा फ्रेन्च युद्धपोत देखेको जानकारी दिएका थिए । तीन दिन चलेको वार्तापछि अन्ततः हाइटीका राष्ट्रपति गले । अन्ततः एक विपन्न मुलुक हाइटीले सम्पन्न फ्रान्सलाई १५ करोड फ्य्रांक क्षतिपूर्ति तिर्ने भयो । यो रकम कति ठूलो थियो जान्नका लागि अलग प्रसंग उल्लेख गर्नु उपयुक्त हुन्छ ।

सन् १७८० को दशकसम्म आइपुग्दा यी खेतीमा आन्द्र सागर क्षेत्रमा हुने दास–व्यापारका झन्डै ४० प्रतिशत दासदासी प्रयोग हुन थालेका थिए । अफ्रिकाबाट अपहरण गरेर ल्याइएकामध्ये धेरैजना टापुमा आएको केही समयपछि नै मरे । बाँचेकाहरू पनि चरम यातनाबीच कफीखेतीमा जोतिए । उनीहरू भोक, थकान र चरम हिंसाको चपेटामा पर्थे ।

 

सन् १८०३ मा फ्रान्सले संयुक्त राज्य अमेरिकालाई लुजियाना आठ करोड फ्य्रांकमा बेचेको थियो, जुन हाइटीबाट उसले माग गरेकोभन्दा लगभग आधा हो । जबकि फ्रान्सले अमेरिकालाई बेचेको लुजियाना क्षेत्रमा आज अमेरिकाका झन्डै १५ राज्य छन् । हाइटीको आकार त्यसको भन्दा १/७७ मात्र छ । सम्झौतापछि फ्रान्सका राजाका दूतले तीनजना हाइटियन कूटनीतिज्ञलाई फ्रान्स लगेर बैंकरहरूसँग ऋण मिलाइदिएका थिए । यसवेला हाइटीलाई दिइएको ऋण फ्रेन्च बैंकरले दिएका धेरै ऋणमध्ये पहिलो थियो । यता हाइटीबाट क्षतिपूर्ति पाउने मानिसको नाम मिलाउन फ्रान्सका राजाले एक आयोग गठन गरे । आयोगमा झन्डै २७ हजार आवेदन परेका थिए । 

पुनः युद्धको तयारी 
हाइटीको सरकारले भने फ्रान्सलाई तिर्नुपर्ने पहिलो भुक्तानीका लागि आफ्नो राज्यकोष नै खाली गर्नुपरेको थियो । हाइटीले फ्रान्सलाई ऋण तिर्नकै लागि विभिन्न सामानमा कर बढाएको थियो । करबाट जम्मा भएको राज्यको आयको ठूलो हिस्सा ऋण तिर्न प्रयोग भएपछि राज्यसँग सार्वजनिक सेवामा खर्च गर्ने पैसा नै बाँकी रहेन । साथै उसले बाँकी किस्ता तिर्न असमर्थता देखायो । फेरि फ्रान्सले बाँकी रकम नदिए युद्धका लागि तयार रहन धम्की दियो । ‘हामीसँग लड्नका लागि ५० हजार सेना तयार छन् र थप २० लाख रिजर्व फोर्स हामीसँग छ,’ फ्रेन्च विदेशमन्त्रीले सन् १८३१ मा हाइटीस्थित कन्सुलरमार्फत पत्र पठाए । 


यस्तो धम्कीपत्र पाएपछि हाइटीका राष्ट्रपति जँ–पियरे बोयरले पनि हाइटीका प्रत्येक नागरिकलाई देशको रक्षाका लागि तयार गराउने योजना पारित गराए । दुई पक्षबीच तनाव बढिरहँदा सन् १८३७ को अन्तिमतिर दुई फ्रेन्च राजदूतहरू नयाँ सन्धिमा वार्ता गर्न र भुक्तानीहरू पुनः सुचारु गर्न पोर्ट–ओ–प्रिन्स पुगे । यसपटक हाइटीको समस्याका कारण भन्दै तथाकथित ‘स्वतन्त्रता ऋण’लाई १५ करोड फ्य्रांकबाट ९ करोड फ्य्रांकमा झारियो । यही सम्झौतापछि सन् १८३८ मा हाइटीले दोस्रो भुक्तानी फ्रान्स पठायो । यसपटक पनि ऋण तिर्नका लागि उसले आफ्नो अधिकांश राज्यकोष प्रयोग गरेको थियो ।


ऋण भुक्तानीले हाइटीलाई नकारात्मक असर गर्छ भन्ने कुरामा फ्रेन्च अधिकारी सुरुदेखि नै अवगत थिए । यो जान्दाजान्दै पनि तिनले एक विपन्न मुलुकलाई तिनको दासमालिकको सम्पत्ति भुक्तानी गर्न दबाब दिइरहे । न्युयोर्क टाइम्सले आफ्नो अध्ययनमा हाइटीले गरेका प्रत्येक भुक्तानीलाई पछ्यायो । अध्ययनका क्रममा हाइटीले फ्रान्सलाई गरेको भुक्तानी एक समय उसको कुल राजस्वको ४० प्रतिशतभन्दा बढी रहेको पाइयो ।

 

सन् १९१५ मा अमेरिका फ्रान्सलाई विस्थापित गरेर हाइटीभित्र सबैभन्दा प्रभावकारी बाह्य शक्ति बन्यो । उनीहरूले कठपुतली सरकारमार्फत देश चलाउन थाले । अमेरिकाले बन्दुकको नोकमा हाइटीको संसद् विघटन गर्‍यो । हाइटीका नागरिकलाई बेतलबी काममा खट्न बाध्य बनायो । प्रदर्शनकारीलाई मारेर देशको भइरहेको संविधान च्याती नयाँ लेख्न लगाए । अमेरिकी सेनाले १९ वर्षसम्म हाइटीमा कठपुतली सरकार चलायो । हाइटीभित्र अमेरिकी हित सुरक्षित गर्न र हाइटीभित्र बढेको अराजकता नियन्त्रण गर्न आफू आएको अमेरिकी सेनाको स्पष्टीकरण थियो । 


अमेरिकी सेनाको अतिक्रमणमा अमेरिकाको वित्त बजार वाल स्ट्रिटको समर्थन थियो । विशेषगरी नेसनल सिटी बैंक अफ न्युयोर्क (जुन पछि गएर सिटीग्रुपका रूपमा विकास भयो)को सबैभन्दा ठूलो स्वार्थ थियो । सन् १९२२ मा योसँग आबद्ध कम्पनीले हाइटीको राष्ट्रिय बैंकमा सबै सेयरहरू किनेका थिए । यसको पुनः भुक्तानी हुने कुराको जमानी अमेरिकी सरकार बसेको थियो । बैंकले हाइटीलाई थप ऋण दिँदै जाँदा एक समय हाइटीको सम्पूर्ण वैदेशिक ऋण उसको नियन्त्रणमा पुगेको थियो । 

 

न्युयोर्क टाइम्सले समीक्षा गरेको वार्षिक वित्तीय रिपोर्टअनुसार नेसनल सिटी बैंक अफ न्युयोर्कले आगामी एक दशकमा हाइटीको राजस्वको एकचौथाइ दोहन गर्‍यो । तर, यस अवधिमा उसले सो देशको विकासमा केही पनि योगदान गरेन । द न्युयोर्क टाइम्सको विश्लेषणमा सन् १८२५ देखि १९५७ बीचमा अन्तर्राष्ट्रिय ऋणले हाइटीको वार्षिक राजस्वमा औसतमा १९ प्रतिशत ह्रास गरायो र कुनै वर्ष त यो ह्रास दर झन्डै ४० प्रतिशत थियो । यसबाहेक, प्रायः देशहरूले उनीहरूको कल्याण र विकासमा लगानी गर्न ऋण लिने गर्छन् । हाइटीको अवस्था त्यस्तो थिएन । दोहोरो ऋण बाहिरी शक्तिले थोपरेको थियो, जसले बदलामा कुनै वस्तु वा सेवाहरू उपलब्ध गराएको थिएन । ‘यसको पहिलो आर्थिक प्रभाव शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्ने रकमको अभावका रूपमा देखा पर्‍यो । लामो अवधिमा यसले राज्य निर्माणको प्रक्रियालाई पूर्ण रूपमा अवरुद्ध गर्‍यो,’ दोहोरो ऋणको पनि अध्ययन गरेका फ्रेन्च अर्थशास्त्री थोमस पिकेट्टीले भने ।


तथापि यो तर्कमा सबै सहमत छैनन् । कुनै वर्ष हाइटीको सरकारी खर्चको ठूलो हिस्सा ऋण भुक्तानीभन्दा पनि बढी सैन्य खर्च रहेको छ । तथापि निरन्तरको फ्रान्सेली आक्रमणको डर र दशकौँपछि अमेरिकी कब्जाका कारण पनि देशले सेनामा उच्च खर्च गरेको हुन सक्छ । ‘सन् १८४३ देखि १९१५ बीचमा हाइटीमा २२ सरकार थिए । तीमध्ये १७ क्रान्ति वा कुबाट अपदस्थ भएका थिए । फ्रान्सले थोपरेको दोहोरो ऋणले प्रभाव थियो, तर हाइटीको अविकासको मुख्य दोषी त्यहाँका नेता हुन्,’ स्विडिस अर्थशास्त्री तथा हाइटीका जानकार म्याट्स लुन्डाहल भन्छन् । तथापि लगातारको जनआक्रोशका लागि राज्यले आमजनताको कल्याणमा न्यून खर्चले मुख्य जिम्मेवारी खेल्छ । लन्हाहलले चर्चा गरेको अवधिमा धेरै हाइटीले फ्रान्सलाई ठूलो रकम तिरेको अवधि पनि पर्छ । त्यस समय हाइटीसँग आम कल्याणको क्षेत्रमा खर्च गर्न थोरै मात्र रकम बाँकी रहन्थ्यो । 
 
(न्युयोर्क टाइम्सका लागि क्याथरिन पोर्टर, कन्स्टेन्ट मेहेउट, म्याट अपुजो र सेलम गेब्रेकिडेनद्वारा तयार खोज रिपोर्टको पहिलो खण्ड श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)