आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छेलाई
मान्छेको स्वरुपमा देख्दै–नदेख्ने
फुटेकै हुन् त तिम्रा दुवै लोभी आँखा ?
आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छेको
मानवीय चित्कार सुन्दै–नसुन्ने
फुटेकै हुन् त तिम्रा दुवै कानका बाक्ला जाली ?
आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छेको
मानवीय सुगन्ध थाहै नपाउने
काटिएकै हो त तिम्रो नाक ?
ह्रासोन्मुख भएकै हो त तिम्रो घ्राणशक्ति ?
आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छे
अन्यायमा परिरहेको परिस्थितिमा
चुइँक्क केही पनि बोल्दै–नबोल्ने
थुतिएकै हो त छुराजस्तै लाग्ने तिम्रो विषालु जिभ्रो ?
टालिएकै हो त बेला न कुबेला चिलाइरहने तिम्रो थुतुनो ?
आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छेको
कुनै मर्म बुझ्दै–नबुझ्ने
ज्यूँदै मरेको हो त तिम्रो पापी मन ?
‘ड्यामेज’ भइसकेकै हो त प्वाल परेको मुटु ?
बन्द भइसकेकै हो त तिम्रो हृदयको धड्कन ?
गोबर भरिएकै हो त तिम्रो खुस्किएको दिमाग ?
बन्धकीमा परेकै हो त तिम्रो बुद्धि–विवेक ?
भित्र खोक्रो, बाहिर बोक्रो मात्रै बाँकी रहेर
फेदैदेखि ढल्ने दिनको पर्खाइमा
दिन गनेरै बसिरहेको बुढो रुखको जराजस्तै
मक्किएकै हो त तिम्रो कमजोर मानसिकता ?
प्रिय दुश्मन !
आफू मान्छे भएर पनि
आफू जस्तै अर्को मान्छेलाई
मान्छेको स्वरुपमा सोच्दै–नसोच्ने
तिमी साँच्चै कस्तो मान्छे हौ कुन्नी ...?
तिम्रो नजरमा म त पशु नै सही ...!
करादीखोला, स्याङ्जा