• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बझाङको प्रसिद्ध ताल सुर्मा सरोवर
युगीन विवेक
२०७९ असार ११ शनिबार ०७:२५:००
पर्यावरण

सुर्माको अद्भुत सुन्दरता

सुर्मा सरोवर क्षेत्रले कसैलाई निराश बनाएर फर्काउने छैन

२०७९ असार ११ शनिबार ०७:२५:००
युगीन विवेक

 

बझाङका अधिक सुन्दर ठाउँमध्ये एक अद्भूत ठाउँ हो, सुर्मा सरोवर । करिब चार हजारदेखि ६ हजार ५०० मिटरको उचाइसम्म फैलिएको यो भूमिले हरेकलाई आफ्नो बाहुपासमा बाँधिरहन्छ । हिमालको सौम्यता, फूलहरूको वासना र रंगीन पाटनहरूको विशालताले जो–कसैको मनलाई हायलकायल पार्छ । बान्की मिलेका थुम्का, पहाड र पाटनहरू, हिमालको काखबाट बग्ने कञ्चन पानीको सुरसुराहटले कुतूहलता पैदा गर्छ । हरिया अग्ला पहाडबाट छङछङ गर्दै झर्ने झरनाहरूको संगीतले मनलाई उद्वेलित पार्छ । हिँड्दा भुइँ फूलको सुगन्धी बास्ना मगमगाउँछ । यहाँ के पाइँदैन ? जटिल रोगहरूको निर्मूल पार्न सक्ने क्षमता भएका यार्सागुम्बा, वन लसुन, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटी पाइन्छ । थरीथरीका रंगीविरंगी फूलहरूको त साम्राज्य नै हो सुर्मा । यहाँ हजारौँ प्रजातिका फूलहरू विभिन्न मौसमअनुसार फुलेका देख्न सकिन्छ । 

गाईसेरा क्षेत्रमा जडीबुटी संकलन गर्न बनाइएका अस्थायी टहरा 

पार्थीको डाँडो 
कम्तीमा चारदेखि ६ घन्टाको ठाडो उकालो चढ्दा बाउली गाडको झरनाको मनोरम दृश्यले थकान मेटाउँछ । उकालो सकिएपछि पार्थीमाथि पुगेर वरिपरि हिमशृङ्खलाहरू देख्दा खुसीले मुखबाट अनायासै आवाज फुत्किन्छ, वाउ ! ह्वाट अ भ्यू ! तल बाहुली गाडबाट उक्लिँदाको थकान निमेषभरमै चैट हुन्छ । त्यहाँ एउटा स–सानो होटेल पनि छ, दुई–चारजनालाई खानबस्न मिल्ने । आफैँले टेन्ट गाडेर बस्न पनि सकिन्छ । 

गाईसेरा हिमालको काखमा रमाउँदै स्थानीय 

धानसेरा 
यो ठाउँसँग एउटा किंवदन्ती जोडिएर आउँछ । एक समय यहाँको फाँटमा मान्छेहरू रोपाइँ गरिरहेको, हलगोरु जोतिरहेको दृश्य कुनै मान्छेले माथि डाँडाबाट देखेछ रे ! खेतमा काम गरिरहेका मान्छे आफूहरूलाई कसैले देख्यो भन्ने चाल पाउनेबित्तिकै अलप भएछन् रे ! धानसेरामा ठ्याक्कै धानजस्तै बोटहरू र रोपाइँ गरेर छोडेजस्ता फाँटहरू देखिन्छन् । पाटा–पाटा परेका हरिया गराहरू र पृष्ठभूमिमा देखिने ब्याँसीमारे हिमालको प्रतिबिम्ब कुनै चलचित्रको दृश्यजस्तो लाग्छ । यो धानलाई गौरीधान भनिन्छ । ठ्याक्कै धानको बालाजस्तो अलिक कालो हुन्छ, तर भित्र दाना भने हुँदैन । नजिकैको जंगलमा डाँफे, कस्तुरीलगायत पशुपक्षी भेटिने गर्छन् । 

यार्सागुम्बा टिप्न हिमालतिर जाँदै स्थानीय

गाईसेरा
एउटा ठूलो रंगशालाजत्रो चौर । बीचमा विचित्रका नागबेली अर्धभूमिगत भई बगेको कुलेसो । सामुन्नेमा उभिएको विशाल गाईसेरा हिमाल । वरिपरि फुलेका फूलहरूको मनोहर दृश्य । यार्चा तथा जडीबुटी संकलकहरूको पंक्ति । पश्चिमी दिशातिर हेर्दा सेतै फुलेका हिमाल । वेलावेला नाउर पनि हेर्न पाइन्छ । गाईसेराको खास विशेषता भनेको माथि डाँडाबाट हेर्दा कुलेसोले गाई र बाच्छाको जस्तो आकृति बनाएको छ । 


तपोवन
माथि हिउँले ढाकिएको हिमाल ठडिएको छ । तल फेदमा तातोपानीको मूल बगेको छ । बडो गज्जबको विरोधाभासपूर्ण लाग्ने प्रकृतिको चरित्र देखिन्छ । मूलनिर उमल्दो पानी छ, हात हाल्न हम्मे पर्छ । बाफ पनि त्यसैगरी उठेको देख्न सकिन्छ । मूलबाट पानी अलिकति तलतिर बग्दै जाँदा पानीको तातोपन पनि घट्दै जान्छ । बगेको त्यो पानीलाई खोलाको किनारमा थुनेर सानो तलाउ बनाएको छ, जसलाई तपोवनको कुण्ड पनि भनिन्छ । जनैपूर्णिमामा लाग्ने धार्मिक मेलामा मान्छेहरू स्नान गर्न जान्छन् । तातोपानीको कुण्डमा बसेर आनन्दले ‘वाटर थेरापी’ गर्न सकिन्छ । 

यार्सागुम्बा र सुर्मा सरोवर क्षेत्रबाट यार्सागुम्बा टिपेर फर्किंदै स्थानीय

कुण्ड (सुर्मा सरोवर)
सुर्मा क्षेत्रको महत्वपूर्ण र आकर्षकमध्ये प्रमुख ठाउँ हो, सुर्मा सरोवर । यो ठाउँसँग पनि चाखलाग्दो धार्मिक किंवदन्ती/मिथ जोडिएको छ । सुर्मा र दुर्गा दुई बहिनीआपसमा झगडा हुँदा सुर्माले आफ्नो भागको रूपमा दुर्गाथलीको थली जिउलाको आधा भाग र पाङरको आधा रुख चुँडेर हालको सुर्मा थकुन्नाडामा बसिछन् । र, केही समयपछि त्यहाँ पनि बस्न उपयुक्त नठानेर माथि उक्लिँदै हिमाली काखको कुण्डतिरै बस्न पुगेकी हुन् रे ! तिनै बसेको थलोलाई अहिले सुर्मा सरोवर भनिन्छ । यो तालको गहिराइ र क्षेत्रफलबारे आधिकारिक तथ्यांक छैन । हिमालको फेदमा रहेको यो ताल करिब चार हजार ३३३ मिटरको उचाइ आसपासमा अवस्थित छ । वरिपरि हिमशृंखलाहरूले झन् सुन्दरता थपेका छन् । यार्चा टिप्नेहरू यसको छेउछाउ भेटिन्छन् । जनै पूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्छ । तालको छेउमा सुर्मा देवीको मन्दिर छ । दार्चुला, बैतडी, डोटी, डडेल्धुरालगायत अन्य जिल्लाबाट पनि मान्छेहरूको घुइँचो लाग्ने गर्छ । 


चाँदे शिखर 
हिमालको त्यो कान्ति । उसको आलोकमा आफूलाई हराउँदा । हिउँको सामीप्य र सोझै बहने चियो जलवायुले हर्षको सीमापार गराउँछ । सूर्याेदयको वेला निलो आकाशमा देखिने आभा । चाँदे शिखरमा पोखिने त्यो लालीमा । त्यति वेलाको दृश्य अलौकिक लाग्छ । हिमालबाट परावर्तन हुने चहकले तलतिरका हरिया, फराकिला, रंगीन फाँटहरूको भूदृश्यले कसको मनमुटुलाई घायल नपार्ला र ? कसैले स्वर्गको परिकल्पना अन्त कतै गरेको छ भने त्यो उसको ठूलो भ्रम हुन सक्छ । स्वर्ग यसै धर्तीमा छ । सायद मान्छेहरूले कल्पना गरेको स्वर्ग यही हो । 

 

अन्तमा
यो मौसममा घुम्न जाने हो भने सयौँ रंगीन पाल टाँगिएका अस्थायी बस्ती देखिन्छन् । यहाँ जाने दुई–तीनवटा बाटा छन् । एउटा रुट बाहुली गाडको छेउबाट दोगडी–धनिधारा–भुरा–खर्क–बैंस हुँदै पार्थीे हो भने अर्काे बाटो दौलिचौर–सुर्मा–थकुन्नाडा गाउँबाट जान सकिन्छ । पार्थीको बाटो छोटो त छ, तर नौलो मान्छेका लागि जोखिम हुन सक्छ । बाटोको ठाउँठाउँमा स–साना मौसमी होटेल छन् । अर्काे सुर्मा गाउँबाट जानलाई सजिलो छ, तर बाटो भने लामो छ । बाटोमा बास बस्नका लागि ठाउँ–ठाउँमा धर्मशाला छन् । यहाँका मान्छे सारै मिजासिला र सहयोगी छन् । एक–दुई छाक खान र बस्नका लागि उहाँहरूबाट कञ्जुस्याइँ त हुँदैन, तर आफूले व्यवस्थापन गरेर गएकै राम्रो । कम्तीमा पाँचदेखि बढीमा दश हजार पकेट खर्च बोकेर जान सकिन्छ । जाँदा चैतदेखि असारसम्म उपयुक्त मौसम हो । सुर्मा देवीको मेला लाग्ने समयमा पनि जान सकिन्छ ।