• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन मैरता यादव
२०७९ असार ११ शनिबार ०७:५८:००
सम्झना

कतिन्जेल सहने अपमान ?

२०७९ असार ११ शनिबार ०७:५८:००
नवीन मैरता यादव

‘छोराछोरी बदमास भए । राम्रोसँग पढेनन्, भनेको पनि मानेनन्,’जस्ता चिन्ताहरू अभिभावकबाट निकै सुनिन्छ । तर, अहिले मधेसका प्रायः अभिभावकलाई एउटा अर्को पनि चिन्ता थपिएको छ, थर ।


वसन्त थापा र मोहन मैनालीले सम्पादन गरेको ‘मधेस समस्या र सम्भावना’ पुस्तकमा रामावतार यादवले एकजना शिक्षकलाई उद्धृत गर्दै लेखेको एउटा लेख केही वर्षअगाडि पढेको थिएँ । पुस्तकमा एकजना शिक्षकले मधेसी भएकै कारण आफ्नो छोराको थर परिवर्तन गरेको घटना उल्लेख छ । ती शिक्षकलाई कसैले सोध्यो, ‘यस्तो किन गर्नु भयो ?’ ती शिक्षकको जवाफ थियो, ‘छोरा मधेसी भएकै कारण साथीहरूबाट धेरै हेपिएँ । त्यसैले थर परिवर्तन गरेको हुँ ।’ 


यो कुरा सुन्दा निकै सरल लाग्न सक्छ । तर, यसभित्र निकै दुःखद भाष्य लुकेको छ । ती शिक्षकजस्तै मधेसका अरू अभिभावक पनि आफ्नो छोरा पहाडका बच्चाहरूबाट हेपिँदै होलान् भन्ने कुराले निकै चिन्तित हुन्छन् । म स्वयं मधेसी भएकै कारण धेरै हेपिएको छु । म चार कक्षासम्म सप्तरीमै पढेँ । त्यसपछि बुबाले मलाई धरान लग्नुभयो । बुबा त्यसवेला धरान वन कार्यालयमा सहायक वन अधिकृत हुनुहुन्थ्यो । म बुबासँगै क्वाटरमा बस्न थालेँ ।

 

कार्यालयको नजिकमै रहेको जुनियर पायोनियर स्कुलमा कक्षा पाँचमा भर्ना भई क्लास जान थालेँ । क्लासका साथीहरू मसँग अरूभन्दा फरक व्यवहार गरिरहेको कुरा मलाई महसुस हुन थाल्यो । साथीहरूले मलाई ‘भैया’ भनेर सम्बोधन गर्न थाले । ‘भैया’ किन भनेको होला भन्ने कुरा सुरुमा पत्ता लगाउन सकिनँ । ‘भैया’ भन्नुको कारण पछि थाहा पाएँ । कारण थाहा पाएपछि म झस्किएँ । निकै चिन्ता पनि लाग्यो । साथीहरू त मलाई ‘भारतीय नागरिक’ पो सोच्दा रहेछन् । 


धरानमा थुप्रै भारतीय नागरिकहरूको तरकारी पसल छ । मेरा साथीहरू ती तरकारी व्यवसायीहरूलाई ‘भैया’ भनेर सम्बोधन गर्दा रहेछन् । ती भारतीयहरू काला वर्णका थिए । नेपाली शुद्ध बोल्न सक्दैनथे । म पनि तराईबाट त्यहाँ गएको हुनाले मेरो पनि नेपाली खासै शुद्ध थिएन । त्यसैले मेरा साथीहरूले ती भारतीयहरू र मबीच फरक छुट्याउन सकेनन् । मैले भोगेको दुव्र्यव्यहार र ती शिक्षकका छोराले खेप्नुपरेको हेपाइको कारण एउटै रहेछ । भाषा र वर्णका कारण मलाई आफ्नै देशमा पनि पराया ठानियो । 

साथीहरूले मलाई ‘भैया’ भनेर सम्बोधन गर्न थाले । ‘भैया’ किन भनेको होला भन्ने कुरा सुरुमा पत्ता लगाउन सकिनँ । ‘भैया’ भन्नुको कारण पछि थाहा पाएँ । कारण थाहा पाएपछि म झस्किएँ । निकै चिन्ता पनि लाग्यो । साथीहरू त मलाई ‘भारतीय नागरिक’ पो सोच्दा रहेछन् ।


एउटा अर्को घटना सम्झिन्छु । २०७५ सालतिरको कुरा हो । बिहान करिब ६ बजेको समय थियो । काठमाडौंमा डेरानजिकैको चिया पलमा चिया पिउँदै थिएँ । त्यही समयमा दुईजना भारतीय बच्चा होटेल मालिकसँग केही खाने कुरा माग्न आइपुगे । ती होटेल मालिकको जवाफ थियो, ‘भाग् मदिसे भिखारीहरू । बिहान–बिहानै दिमाग खराब नगर् ।’ मधेसीहरू यस्ता अपमानित अमर्यादित घटना दिनहुँ भोग्न बाध्य छन् । काठमाडौंमा काका–काकी उमेरका पहाडेहरू छोरा उमेरका मधेसीहरूलाई ‘भैया’ भनेर सम्बोधन गर्छन् । हजुरबुबाजस्ता उमेरका मधेसीलाई २०–२२ वर्षका केटाकेटीले ‘तिमी’ भनेर बोलाउँछन् । पढेलेखेका बुद्धिजीवी भनिएकाहरूबाट समेत ‘भैया,’ ‘धोती’जस्ता शब्दहरू वेलावेला सुनिन्छ ।


पत्रकार, प्रहरी र उच्च तहका सरकारी कर्मचारीहरूबाट समेत मधेसीहरू अपमानित हुनुपरेको छ । मिडियाकर्मीहरू समय–समयमा ‘मदिसे’, ‘भैया’, ‘धोती’जस्ता शब्दहरू प्रयोग गरेर हास्यव्यंग्य कार्यक्रम चलाउँछन् । साइकलमा तरकारी बेच्ने र कपाल काट्ने नै मधेसको मुख्य पहिचान हो भन्ने कुरा बुझाइ आमपहाडका मानिसहरूमा छ । पहाडका मानिसहरू मधेसीलाई मुख्य रूपमा कालो छालावाला मानिसहरू बस्ने नेपालको दक्षिण भूभाग भनेर चिन्ने गर्छन् ।

 

यसबाहेक मधेसीहरू नेपाली भूभागमा बस्ने ‘भारतीय’ हुन् भन्ने धारणा पनि पहाडका मानिसहरूमा देखिन्छ । मधेसी भएकै कारण काठमाडौंमा पटक–पटक अपमानित, अपहेलित, शोषित हुनुपरेको कुरा मिडियाकर्मीहरू नदेखेजस्तो गर्छन् । इतिहास विषय पढेर शाखा अधिकृत भएकाहरूसमेत मधेसीहरू नेपाली ‘होइनन्’ भन्ने कुरामा विश्वास गर्छन् ।
२००७ सालदेखि अहिलेसम्म देशमा धेरै राजनीतिक परिवर्तन भए । नेपालमा संघीयता आयो, गणतन्त्र आयो । धेरै मधेसीले पनि देशका लागि बलिदान दिए । राजनीतिक क्रान्तिको अध्याय पूरा भयो भनियो । तर, आजसम्म मधेसीलाई हेर्न दृष्टिकोणमा चाहिँ परिवर्तन आएन । शीर्ष नेताहरूले समेत मधेस नेपालमा छ र भन्दै भाषण गरेको सुनिन्छ । अहिले मात्र होइन, राणाकालदेखि नै मधेसीहरू आफ्नै देशमा हेपिँदै आइरहेका छन् । राणाकालमा मधेसीलाई काठमाडौं आउन प्रशासनबाट अनुमति लिनुपथ्र्यो र शिवरात्रिका दिन मात्रै काठमाडौं प्रवेशको अनुमति पाइन्थ्यो ।


यसैगरी, सधँै मधेसीहरूले आफ्नै देशमा शरणार्थीको जस्तो व्यवहार भोगिरहने हो भने मधेसीमा आफ्नै देशप्रति नकारात्मक भावना उत्पन्न हुन सक्छ । सिके राउतजस्ता मधेसलाई अलग्गै पहिचान दिन खोज्नेहरू यस्तै व्यवहारबाट उत्पन्न भएका हुन् । तर, मधेस नेपालभित्रकै भूभाग हो, यसलाई अलग्गै पहिचान दिनु कदापि राम्रो होइन । त्यसैले मधेसमा सिके राउतजस्ता अरू मानिस जन्मन नदिन पहाडका मानिसले आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्छ । भाषा, वर्णका कारण मधेसीलाई हेप्न छाड्नुपर्छ । आफ्नै देशका नागरिकलाई शरणार्थीजस्तो व्यवहार गर्न छाड्नुपर्छ । मधेसीहरू पनि पहाडीजत्तिकै पुराना र शुद्ध नेपाली हुन् । लुगाफाटो, रीतिरिवाज, भाषा र वर्ण मधेसी र पहाडीमा फरक छ । यो हाम्रो विविधता हो । विविधता नै नेपालको सम्पत्ति हो । कालो छाला हुनु र शुद्ध नेपाली बोल्न नआउँदैमा मधेसीलाई भारतीयसँग तुलना गर्न छाड्नुपर्छ । 


दार्जिलिङ र सिक्किमबाट आउने नेपालीभाषी भारतीयहरूलाई कहिले पनि भारतीयको जस्तो व्यवहार गरेको देखिन्न । तर, तराईका नेपालीलाई भारतीय ठानी कालो रङ र भाषामा राष्ट्रियता खोजिन्छ । इतिहासलाई राम्रोसँग पल्टाइयो भने प्रस्ट हुन्छ कि शाह वंशभन्दा अघिदेखि नै तराई क्षेत्रमा मधेसीहरू बसोवास गर्थे । मधेसीहरू पनि नेपाल आमाकै सन्तान हुन् । यो सत्यलाई स्विकारौँ । विभेद गर्न आजैबाट छाडौँ ।