नाम : एकलव्य
बुबाको नाम : किसान
आमाको नाम : सोध्न बिर्सेछु
जन्ममिति : तेह्रौँ वसन्त पूर्वको झरी परेको एक साँझ
ठेगाना : सीमान्त अरण्यछेउको एक झुपडी
वर्ण : कालो
हुलिया : ख्याउटे शरीर तर कसिला मांसपेशी
पेसा : कृषि
नागरिकता : छैन
लक्ष्य : एक धनुर्धर योद्धा बन्ने
बोकेर गएका थियौ सायद
उपर्युक्त व्यहोराको
एक थान विद्यार्थी भर्ना फारम
र साथमा संलग्न गर्यौ होला
आफ्नै भाषामा अर्को एक थान निवेदन
‘महोदय,
म जंगलछेउ झुपडीमा बस्ने,
फलाना किसानको छोरो
सहरका सुकिला मान्छेहरूले
वाण चलाएको देखेर
धनुर्धर बन्ने इच्छा जागेको हुँदा
शिक्षा पाऊँ भनी हजुरको पाउमा
यो आवेदन चढाएँ ।
उप्रान्तः जो आज्ञा, प्रभु ।
भवदीय
एकलव्य’
बसे होलान् ठुल्ठूला आचार्यहरू
तिम्रो अन्तर्वार्ता लिने समितिमा
र केलाए होलान मिहिन ढंगले
तिमीभित्रको विलक्षणताको गंगा
हस्तिनापुरको नुन खाएका पण्डितहरूले
देखे होलान् तिमीभित्र
प्रतिभाको विराट स्वरूप
अनि, आभास भयो होला–
प्रतिकूल दरबारिया भविष्यको
जुन परोक्ष आफ्नै हुन्थ्यो !
फलतः तिम्रो भर्ना अर्जी अस्वीकृत गरियो
र, चलाइयो षड्यन्त्रको एक ब्रह्मास्त्र
एक असहाय किसान पिता/पुत्रको
शिशु सपनामाथि ।
एक थासो गोबरलाई श्रद्धा गर्नु
ठहर्याइयो तिम्रो अपराध
अनि बन्द गराइए तिम्रा सबै बाटा
हत्याएर दक्षिणा स्वस्वरूप–
तिम्रो बुढीऔँला !
प्रिय एकलव्य,
तिम्रो भर्ना फारम अस्वीकृत हुँदा
महाभारत त्यसरी घट्यो ।