• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन अर्याल
२०७९ असार १८ शनिबार ०६:३६:००
खेल

३८ सय मिटर उचाइबाट हाम फाल्दा...

२०७९ असार १८ शनिबार ०६:३६:००
नवीन अर्याल

स्काई डाइभिङ, आकाशबाट हाम फाल्ने साहसिक खेल । सुन्दै ज्यान सिरिङ्ङ हुने । आफैँले हाम्फाल्दा कस्तो महसुस होला ? यसको उत्तर पाउने एक मात्रै विकल्प हो–आकाशबाट आफैँले हाम्फाल्ने । जोसँग यो साहस हुँदैन, उसले जीवनभर यो प्रश्नको उत्तर पनि पाउँदैन ।

 

स्काई डाइभिङ गर्ने अघिल्लो रात मैले आफैँसँग प्रश्न गरेँ, आकाशबाट हाम्फालेर चरोजस्तै उड्दा कस्तो महसुस होला ? आकाशबाट हाम्फालेँ पनि, जवाफ  पनि पाएँ । भनिन्छ नि, नमरी स्वर्ग देखिँदैन ! हो, मैले स्वर्ग देख्ने दुस्साहस गरेँ । साढे १२ हजार फिटमाथि खुला आकाशमा फन्को लगाउँदै गर्दा यस्तो लाग्यो, स्वैरकाल्पनिक कथामा वर्णन गरिएको अलौकिक ठाउँ यही हो । स्वर्ग भन्ने अलौकिक ठाउँ आकाशमाथि होइन, आकाशमुनि नै हुने रहेछ ! स्वर्गको ठयाक्कै मुनि फेवाताल पर्दो रहेछ !

 

जमिनबाट नांगो आँखाले नदेखिने उचाइबाट जम्प हानेर हवामा चरोजस्तै उड्नु चानचुने कुरो हुँदै होइन । दुबईतिर स्काई डाइभिङ गरेको टेलिभिजन च्यानलमा देखिन्थ्यो । नेपालमै पनि बर्सेनि स्काई डाइभ भइरहेको समचार लेख्दै आएको हो । तर, जीवनमा कुनै दिन आफैँ स्काई डाइभ गरुँला भन्ने सोचेकै थिइनँ । रहर भने भित्रभित्रै बढ्दै थियो । नभन्दै पोखराको आकाशमा ‘स्काई डाइभिङ’को अद्भुत अनुभव बटुल्ने अवसर मिल्यो । नेपालमा एक्स्पोलोर हिमालयले फिस्टेल हेलिकोप्टरबाट सगरमाथा (खुम्बु) र पोखराको आकाशमा स्काई डाइभिङ गराउँदै आइरहेको छ ।

 

२२ नोभेम्बर २०२१ । बिहानैदेखि मौसम खुलेको छ । उत्तरतर्फ हिमाल छर्लंग देखिन्छन् । आकाशमा बादल छैन, केवल निलो आकाश । बिहान साढे सात बजेतिर बस चढेर लेकसाइडबाट पामेतर्फ लाग्यौँ । सहर छाडेर पामे जाँदै गर्दा सेता हिमालहरू त छेकिँदै छन्, तर सुन्दर फेवाताल र हरिया डाँडाले उत्साहित बनाइरहेको छ । आफैँ स्काई डाइभको प्रत्यक्ष महसुस गर्न पाउँदा मन पनि फुरुङ्ङ छ । 

 

फिस्टेल हेलिकोप्टर चढेर साढे १२ हजार फिट (३८१० मिटर) उचाइबाट जम्प गर्ने हो । आकाशमा चराजस्तै उडेर सुन्दर हिमाल हेर्दै फन्को मार्ने हो । त्यो वेला हिमालकै सामुन्नेमै पुगेझैँ लाग्छ । आँखाले नदेख्ने उचाइबाट जम्प हान्नु जो कसैका लागि चानचुने कुरो होइन । हिम्मत चाहिन्छ, आँट चाहिन्छ । मुटु पनि दह्रो नै हुनुपर्छ । त्यो हिम्मत मैले जुटाएको छु ।

 

जब मुटको धड्कन उफ्रिन थाल्छ...
स्काई डाइभको आज अन्तिम दिन । मेरो पालो सुरुमै परेको छ । अघिल्लो दिन मौसम बिग्रिएर मेरै पालोमा रोकिएको थियो । बादल लाग्दा र पानी पर्दा स्काई डाइभ हुँदैन । मेरा मित्रहरू डा. स्मृति पौडेल, डा. दीपिका शर्मा र सिर्जना केसीले भने उसै दिन ‘स्काइ डाइभ’ गर्न भ्याइहाले । उनीहरू पनि आकाशमा बादल मडारिँदा–मडारिँदै जम्प गरेका हुन् । पोखरामै चिनजान भएका पौडेल र शर्मा एडभेन्चर गतिविधिमा रमाउने पारखी नै रहेछन्, जो पेसाले ‘डेन्टिस्ट’ हुन् ।

 

बिहानैदेखि आकाश खुलेको हुँदा आज स्काई डाइभिङ हुनेमा ढुक्क छ । बस पामे पुग्नेबित्तिकै एक्स्पोलोर हिमालयका अनुज पाण्डेले भने, ‘नवीनजी, आज तपाईंको पालो पहिलो नम्बरमा छ, ल तयार भइहाल्नुहोस् ।’ सुन्नेबित्तिकै मुटुको धड्कन बढ्न थालिहाल्यो । उनले फेरि सोधे, ‘डर त लागेको छैन नि ।’ मैले डरमिश्रित हाँसो र जोस निकाल्दै भनेँ, ‘छैन’ । उनले हौस्याउँदै भने, ‘फेरि माथि पुगेपछि जम्प गर्दिनँ भन्दै फर्किनुहोला नि, डराउनुपर्दैन, जम्प गरेपछि तपाईंलाई डरभन्दा धेरै रमाइलो नै हुनेछ ।’

 

स्काइ डाइभ गर्ने नेपाली अत्यन्तै कम हुने रहेछन्, अधिकांश विदेशी । स्काई डाइभ गराउने इन्स्ट्रक्टर पाइलटहरू पनि सबै विदेशी । मलाई चिच्याएर खुसीको आह्वान गर्न मन छ । तर, चिच्याउन सकिरहेको छैन । एकछिन स्काई डाइभ इन्स्ट्रक्टरले आकाशमा जम्प गर्दा पालना गर्नुपर्ने तौरतरिका सिकाए । मलाई टेन्डम इन्स्ट्रक्चर पाइलटले सुरक्षा गियरहरू लगाइदिएर रेडी बनाए । अब सपना नजिकै छ । स्काई डाइभ गर्नुअघि इन्डियन ह्यारीले भिडियो अन्तर्वार्ता लिए, मेरो अनुहारमा डर, खुसी र उत्साह प्रस्ट देख्न सकिन्छ ।

 

म भाग्यमानी रहेछु, हिजोभन्दा आज आकाश धेरै खुलेको छ । हिमाल र सहर हेर्न उत्कृष्ट मौसम छ । यस्तो लाग्दै छ, डाँडोले छेकेका हिमालहरू मलाई स्वागत गर्न उचाइमा पर्खिरहेका छन् । मभन्दा पहिला चार जना इन्स्ट्रक्टर पाइलटहरूले ‘सोलो’ डाइभ गर्ने कुरो आयो । सुरुमै भन्दा अलि डर लागिरहेको थियो, अलि राहत मिल्यो । हामीले गर्ने भनेको टेन्डम डाइभ हो, इन्स्ट्रक्टर पाइलटले गाइड गरेर उडाउने ।

 

सोलो डाइभ गर्नेलाई आकाशमै झारेर फिस्टेल हेलिकोप्टर क्युमा बसेको मलाई लिन तल आइरहेको छ । हेलिकोप्टर जति नजिकै आउँदै छ, मेरो मुटुको धड्कन पनि त्यति त्यति बढ्न थालेको छ । इन्स्ट्रक्टर पाइलट क्रिस ह्वाइट्लीले ‘चियर्स’ भन्दै मलाई हेलिकोप्टरतर्फ जान संकेत गरे । हामीसँग फोटोग्राफर पाइलट पनि सँगै छन् । उनले मेरा मुभमेन्टहरू हावामै उडेर आफ्नो क्यामरामा कैद गर्नेछन् ।

 

हेलिकोप्टरका पखेटाले फालेको हावाले जमिनमै उडाउलाजस्तो छ । मेरो टेन्डम इन्स्ट्रक्टर, फोटोग्राफर र म हेलिकोप्टर चढ्यौं । हामी राम्ररी बस्न नपाउँदै हेलिकोप्टर उडिहाल्यो । किनभने, उसले मलाई जम्प गराएर अर्कोलाई लिन झरिहाल्नुपर्छ । हेलिकोप्टर चढेर उचाइ समात्दै जाँदा यस्तो लाग्यो, ‘कुनै एउटा सुन्दर सपनामा प्रवेश गर्दै छु ।’ इन्स्ट्रक्टर पाइलटले मलाई आफ्नो काखअगाडि राखेका छन् । मेरो अगाडि फोटोग्राफर । हेलिकोप्टरको ढोका खुलै छ, जहाँबाट बेगले हावा पनि छिरिरहेको छ । उचाइ लिनेबित्तिकै सेताम्मे हिमाल मुस्कुराइरहेको देखियो । वाह ! कति अलौकिक ठाउँ । कथामा सुनेजस्तै । स्वर्ग भनेकै त्यहीँ होला । हामीले जमिन धेरै तल छाडिसकेका छौँ । दक्षिणतर्फ भने कुहिरोले ढाकेको छ ।

 

हामी माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमालको सामुन्नेमै छौँ । जमिन धेरै तल देखिन्छ । सायद, तलबाट नांगा आँखाले नदेखिने ठाउँ पुगिसक्यौँ । उचाइमा पुगेपछि डरको कुरा नगरौँ । इन्स्ट्रक्टरले आफूतर्फ ध्यान तान्न अनेकौँ क्वेसन गरिरहेका छन्, ताकि मैले डर–त्रासबारे सोच्न नभ्याऊँ । उनी मलाई उत्साहित पनि बनाउँदै छन् । कहिले सेता हिमाल देखाउँछन्, कहिले जमिनतिर हेर्न भन्छन् । फोटो खिच्दा दिने पोजहरू पनि सम्झाइरहेका छन् ।

 

यत्तिकैमा जम्प मार्ने वेला भइसकेछ । हामी साढे १२ हजार फिट अर्थात् करिब तीन हजार आठ सय १० मिटर उचाइमा छौँ, लगभग मुक्तिनाथको मन्दिरको उचाइबराबर । इन्स्ट्रक्टर पाइलटले सोधे, ‘डर त लागेको छैन ?’ मैले माउन्टेट ड्युको विज्ञापन सम्झँदै भनेँ, ‘डर के आगे जित हे ।’ अंग्रेजी मान्छेले हिन्दी के बुझे होलान् र ! हेलिकोप्टरको चर्को आवाजले त्यति धेरै सुन्न पनि सकिँदैन । उनले हाम्रा सुरक्षा गियर ठीक ढंगले मिलाए । मैले हावाबाट आँखा जोगाउने चस्मा लगाएँ ।

 

केही सेकेन्डमा स्काई डाइभ हुँदै छ । मनमा कुतूहलता बढ्दै छ, के गर्ने होला ? कसो गर्ने होला ? कस्तो होला ? कस्तो–कस्तो पोज दिने ? राम्रो फोटो–भिडियो निकाल्न पोज पनि राम्रो दिनुपर्ने हुन्थ्यो । इन्स्ट्रक्टर पाइलटले ‘रेडी’ भनेर घिसार्दै ढोकासम्म पु¥याए । म हेलिकोप्टरको बाहिरपट्टि रहेको टेक्ने ठाउँमा उभिएँ । त्यहाँ मैले देखेँ, साइडबाट फोटोग्राफरले फोटो–भिडियो खिचिरहेका रहेछन् । अलि ढुक्क भयो । हेलिकोप्टरबाट बाहिर निस्किएर पाइलटले एक, दुई, तीन भनेर नभ्याउँदै हामी तीव्र गतिमा बाहिरको हावामा तैरिन थाल्यौँ ।

 

सीधै जम्प हान्दा सुरुमा मुटु फुत्त बाहिर फुस्केलाझैँ पो भयो । तर, अब सम्हालिनुको विकल्प छैन । फेरि जहाजमा फर्किन सकिँदैन । पाइलटले पोजिसन मिलाएपछि हावामा मज्जाले उड्यौँ । हावाकै गतिमा । मैले क्यामराम्यानलाई पोज दिन थालेँ । हावाको वेग यति तीव्र थियो कि, फोटो खिच्दा हातले पोज मिलाउनै सकिएन । हातले नमस्कार र स्यालुट गर्न खोजेको हावाले हातको पोजिसन नै बिगारिदियो । आँखैअगाडि सेता हिमाल र तलतिर पोखरा उपत्यका देखिएको छ । अब मनमा डर छैन, केवल रमाइलो मात्र ।

 

बन्जीको फ्री फल तीनदेखि पाँच सेकेन्डको हुन्छ । तर, स्काई डाइभमा १५ सेकेन्ड । त्यो १५ सेकेन्ड नै जीवनको सबैभन्दा बेस्ट समय बन्यो । अझ उडिरहेका फोटोग्राफरले हामीतर्फ आएर हाई फाइभ गर्दाको क्षण शब्दमा भन्न सक्दिनँ । जीवनकै बेस्ड एक्सपेरियन्स, कहिल्यै बिर्सन नसक्ने क्षण भन्छु । मनमा त थियो, अझै उडिरहन पाऊँ । चराजस्तै वेग मारेर टाढा टाढासम्म जाऊँ । तर, फोटोका लागि पोज दिँदादिँदै १५ सेकेन्डमा टेन्डम इन्स्ट्रक्टरले प्यारासुट खोले ।

 

प्यारासुट खोल्नेबित्तिकै प्याराग्लाइडिङमा उडेजस्तै भयो । हिमाल र डाँडाकाँडा हेर्दै पामे फाँटमा झर्‍यौं । मेरो उत्साह र खुसीको सीमा नै थिएन । साँच्चिकै युद्ध जितेर फर्किएजस्तै लाग्यो । जमिनमा झर्नेबित्तिकै अन्तर्वार्ता लिइयो, तर मैले के बोलेँ थाहा छैन । मेरा दुवै कान थुनिएर धम्म थिए । मैले बन्जी गर्दा फेरि दोहो¥याएर गर्छु भन्ने लाग्दै लागेन । तर, स्काई डाइभ फेरि पनि गर्ने प्रण गरेर फर्किएँ ।

 

सबैको अनुभव उस्तै
हामीभन्दा अघि मिडिया पर्सन एवं कार्यक्रम होस्ट सञ्जय सिलवाल गुप्ताले पनि पोखरामै स्काई डाइभ गरे । स्काई डाइभिङपछि उनले फेसबुकमा फोटो राखेर लेखेका थिए, ‘वाह ! आकाशमा अन्वेषण गर्ने अद्भुत अनुभव । यो रोमाञ्चक अनुभवका बारेका शब्दमा व्याख्या गर्न सक्दिनँ ।’ पछि भेटमा सुनाउँदै थिए, ‘ब्रदर, स्काई डाइभ एक अद्भुत अनुभव थियो, जुन मेरो जीवनकै अविस्मरणीय पार्ट हो ।’

 

अघिल्लो दिन स्काई डाइभ गरेका साथीहरू स्मृति, दीपिका र सिर्जनालाई पनि आकाशमा फन्को मारेको १५ सेकेन्डको क्षण जीवनकै ‘बेस्ट एक्सपेरियन्स’ भएको भयो । स्काई डाइभ गरेर जमिन झरेपछि उनीहरू उत्साहित भएर सुनाउँदै थिए, ‘वाह ! हामी त्यो क्षण शब्दमा बताउन सक्दैनौँ, तपाईं आफैँ अनुभव गर्नुहोस् ।’ 

 

तीन वर्षदेखि दाँतका बिरामीको उपचार गर्दै आइरहेकी ललितपुर लुभुकी डा. स्मृतिले भनिन्, ‘मलाई डर कम, उत्साह ज्यादा थियो । निकै खुसी थिएँ, मलाई हावामा उडिरहन पाए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो ।’ विदेशतिर स्काई डाइभ गरेको देखेर रहर जागेको बताउने उनले यसअघि उनले बन्जी जम्प गरिसकेकी थिइन् । उनले उत्साहित हुँदै थपिन्, ‘मलाई थ्रिलिङ एक्टिभिटिजले तान्छ, स्काई डाइभ सबैभन्दा मज्जेदार क्षण बन्यो ।’

 

दाँतकै डाक्टर विराटनगरकी दीपिकाले जन्म दिनलाई थप स्पेसल बनाइन् । उनले जन्मदिन २२ नोभेम्बरलाई स्काई डाइभ गरेर अहिलेसम्मकै अविस्मरणीय बनाएकी हुन् । उनले भनिन्, ‘स्काई डाइभ गर्नुको मज्जा बेग्लै थियो, बन्जीमा चार–पाँच सेकेन्ड मात्र फ्री–फल हुन्छ, स्काई डाइभमा १५ सेकेन्ड । उनले कुस्मा र भोटेकोसीमा बन्जी गरिसकेकी छिन् । अग्लो ठाउँबाट हिमाल र पोखरा सहर हेर्दै झर्न पाउनु अहोभाग्य भएको उनको अनुभव छ ।

 

सिर्जनाले पनि जन्मदिनमै स्काई डाइभ गर्ने अवसर पाइन् । उनी भन्दै थिइन्, ‘वाह ! जन्मदिन बहुत–बहुत स्पेसल बन्यो ।’ स्काई डाइभ गर्न पूरै रेडी भएको हुनाले डरभन्दा पनि कुतूहलता बढी भएको उनको भनाइ छ । उनले थपिन्, ‘हेलिकोप्टर चढेपछि एकछिन कहाँ जाँदै छु भन्ने लाग्यो, पोखरा छु भन्ने पनि बिर्सिएछु ।’

 

स्काई डाइभमा नेपाली, इन्डियन र विदेशी गरी एक सय ७८ जना सहभागी थिए । स्काई डाइभ गराउने पनि विदेशी नै थिए । नेपालमा अझै व्यावसायिक रूपमा स्काई डाइभ गराउने दक्ष इन्स्ट्रक्टर पाइलट तयार भइनसकेको बताइन्छ ।

 

सन् २००८ देखि नेपालमा स्काई डाइभ सुरुवात भएको थियो । पहिलोपटक स्विट्जरल्यान्डबाट पिलाटस पोर्टर जहाज ल्याएर स्याङ्बोचे विमानस्थलमा एभरेस्ट स्काई डाइभ गराएको एक्स्पोलोर हिमालयका अध्यक्ष सुमन पाण्डे बताउँछन् । सन् २००९ देखि २०११ सम्म सगरमाथा क्षेत्रमा तारा एयरको पिलाटसबाट स्काई डाइभ गराइयो । सन् २०१२ देखि फिस्टेल हेलिकोप्टरबाट स्याङ्बोचे, आमादब्लम बेसक्याम, गोखरसेपलगायत ठाउँबाट स्काई डाइभ हुँदै आइरहेको छ । 

 

सगरमाथमा २० हजारदेखि २९ हजार फिटको उचाइबाट स्काई डाइभ हुने गर्छ । विदेशी मिडियाको विशेष अध्ययनमा पनि एभरेस्ट स्काई डाइभ विश्वकै उत्कृष्ट साहसिक गतिविधिमध्ये अग्रणी स्थानमा पर्दै आइरहेको छ ।

 

एक्स्पोलोर हिमालयले सन् २०१४ देखि पोखराको आकाशमा हरेक वर्ष स्काई डाइभ गराउँदै आइरहेको छ । सुरुतिर स्काई डाइभमा नेपाली हुँदैनथे, पछिल्लो समय नेपालीको संख्या बढ्दै गइरहेको छ ।