• वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
तस्बिर : संजित परियार
पवन बराइली
२०७९ असार १८ शनिबार ०७:४४:००
फिल्म

मौलिक सिनेमा अझै बन्न बाँकी छ

२०७९ असार १८ शनिबार ०७:४४:००
पवन बराइली

नेपाली सिनेमा र रंगमञ्चमा स्थापित नाम हो, अनुप बराल । उनले रंगमञ्चमा नयाँ सीप र शैली भित्र्याएका छन् । उनका थुप्रै नाटक चर्चित छन् । उनले नेपालमा मात्र नभई विदेशमा पनि दर्जनौँ नाटक मञ्चन गरिसकेका छन् । अनुप ‘एक्टर्स स्टुडियो’मार्फत अभिनय पनि सिकाउँछन् । उनले प्रशिक्षित गरेका थुप्रै कलाकार सिनेमा र नाटकमा जमेका छन् । नाटक लेखन र अभिनयमा समेत सक्रिय उनले निर्देशन गरेको सिनेमा ‘दोख’ प्रदर्शनको संघारमा छ । बरालसँग नेपाली सिनेमा र रंगमञ्चको सेरोफेरोमा केन्द्रित रही पवन बराइलीले संवाद गरेका छन् :

।। फिल्म ।। 


नेपाली सिनेमाको अहिलेको ट्रेन्डसँग तपाईंं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

पछिल्लो समय आशावादी छु । नयाँ–नयाँ फिल्म स्कुलहरू खुल्न थालेका छन् । दीक्षित मान्छेहरू पनि उत्पादन भइरहेका छन् । अविनाश विक्रम शाहको सर्ट फिल्म ‘लोरी’ले ‘कान्स’मा अवार्ड जित्यो । नेपाली सिनेमा उद्योगका लागि यो ठूलो उपलब्धि हो । नेपाली कथा विश्वमाझ पुग्न थालेको छ । तर, यो भनिरहँदा हामी अझै संक्रमणकालीन स्थितिमा छौँ भन्ने भुल्न मिल्दैन । इरानमा फिल्महरू बनिरहेका छन् । तर, त्यहाँ राजनीतिक फिल्म बनाउन बन्देज छ । इरानी फिल्म मेकरहरूले कसरी राम्रा सिनेमा बनाइरहेका छन् ? उनीहरू किन बलिया भए ? यो हेर्नुपर्छ । उनीहरूले अभावमा पनि राम्रो सिर्जना गरे । हामीले अभाव त भोग्यौँ, तर फिल्मप्रति लगाव भएन । हामी हरेकलाई फिल्म बनाएर बजारमा एक्स्पोज हुनुपरेको छ । स्तरीय सिनेमा बनाउने भन्दा पनि हामीलाई एक नम्बर हुनु छ ।

 

इरान, दक्षिण कोरिया, भुटानजस्ता देशमा अहिले राम्रा सिनेमा बनिरहेका छन् । नेपाली चलचित्र क्षेत्रचाहिँ बलिउडको प्रभावबाट मुक्त हुन अझै सकेको देखिन्न । विश्व सिने क्षेत्रमा नेपालले बलियो उपस्थिति जनाउन अब कति समय कुर्नुपर्ला?

 

विश्व सिने क्षेत्रमा पुग्ने सुरुवात नेपालले अहिले गरिरहेको छ । अबको १० वर्षभित्रमा धेरै राम्रा फिल्म मेकर जमिन्छन् । फिल्म मेकिङमा नयाँ पुस्ता आउनेछन्, जसले मौलिक सिनेमा निर्माण गर्नेछन् । यो पुस्ताले अन्तर्राष्ट्रिय बजारको विस्तार पनि गर्नेछ ।

 

नेपाली सिनेकर्मीसँग समाज चेत र समय चेत एकदमै कम छ भनिन्छ नि ! यसबारे तपाईंको टिप्पणी ? 


यो विषय ‘स्कुलिङ’मा निर्भर छ । सिनेमाको मात्रै कुरा होइन, हाम्रोमा साहित्य, संगीत, थिएटर बुझ्ने कति नै छौँ र ? हाम्रोमा कलाको महत्व बुझाउने पाठ्यक्रम नै नभएर पनि हो । हामीले ती चिजलाई स्कुलदेखि सुरुवात नगरेसम्म अझै समय लाग्छ । किनभने त्यसको महत्व सानैदेखि बुझाउनुपर्छ । त्यो परिवर्तन हुन समय लाग्छ । हाम्रो शिक्षा कस्तो थियो ? त्यसले ठूलो महत्व राख्छ ।


तपाईंले युद्धबारे फिल्म ‘दोख’ बनाउनुभयो । पुरानो घाउ बिर्सिएकै राम्रो भन्नेहरू पनि छन् नि !


हाम्रोमा युद्धबारे ‘कालो पोथी’, ‘सेतो सूर्य’जस्ता सिनेमा पनि नबनेका होइनन् । तर, युद्धका बाछिटा अझै बाँकी छन् । मैले युद्धका बाछिटालाई सिनेमामार्फत देखाउन खोजेको हुँ । ‘दोख’ले सीधै युद्धको कुरा मात्रै गर्दैन । आमूल परिवर्तनका लागि जनयुद्ध सुरु भएको थियो । अधिकांशले युद्धबारे बुझेका थिएनन् । सबै मानिस विचार बुझेर लागेको भन्ने थिएन । प्रतिशोध र ईष्र्या पनि जोडिएको थियो । मलाई त्यो मनोविज्ञानसँग जोडेर काम गर्ने इच्छा थियो । युद्धले पारेको असरभन्दा पनि युद्धको पृष्ठभूमिमा मानिसहरू कसरी बाँचिरहेका छन् ? यो विषय सिनेमामा भनिएको छैन भन्ने लागेर नै ‘दोख’ बनाएको हुँ । 

पोखरालाई आर्टिस्टिक हब बनाउने मेरो सपना हो । मोफसल र केन्द्र जोड्ने चाहना हो । धेरैजसो समय पोखरामा बस्छु । कहिलेकाहीँ थिएटरका काम हुँदा काठमाडौं पनि बस्छु । काठमाडौंदेखि वाक्क–दिक्क वा निराश भएर गएको होइन ।

अहिले गम्भीर सिनेमाभन्दा मनोरञ्जन प्रधान सिनेमाहरू दर्शकले रुचाएको देखिन्छ । ‘दोख’ दर्शकले ग्रहण नगर्लान् कि भन्ने डर कत्तिको लागेको छ ? 


मलाई ठूलो भारी बिसाउन लागेकोजस्तो महसुस भइरहेको छ । महाभारतको युद्ध लडेर आएकोजस्तै भएको छ । अब ६–७ वर्षको भारी बिसाउन लागेको छु । सिनेमाहलमा गएर मानिस रमाइलो गर्न चाहन्छन् । मानिसले आफ्नो दुःखको मुक्ति खोजिरहेका हुन्छन् । सिनेमाहलमा हास्यप्रधान सिनेमा प्रदर्शन भइइरहेको छ भने दर्शकको रुचि पनि त्यतैतिर हुन सक्छ । तर, मनोरञ्जनको पनि स्तर हुन्छ । तपाईं केलाई मनोरञ्जनको रूपमा लिनुहुन्छ ? त्यसले पनि बजार निर्माण गर्छ । हामीले कलात्मक सिनेमाको कुरा गर्दा दर्शकलाई मनोरञ्जन दिन पो सकेनौँ कि ? यो प्रश्न हामीलाई पनि छ । ‘दोख’ले दर्शकलाई हसाउँदैन । यसले युद्धमा मानिसले भोगेको दुःख र हिंसाको महसुस गराउँछ । अहिले मलाई डरभन्दा पनि ‘रोमान्स’को अनुभव भइरहेको छ । 


नेपाली सिने क्षेत्रमा मौलिकताको बहस निकै हुने गर्छ । ‘दोख’सहित तपाईंले बनाउनुभएका र अभिनय गर्नुभएका फिल्महरू फर्केर हेर्दा मौलिक सिनेमामा काम गरियो जस्तो लाग्छ ?


निर्देशकले सिनेमालाई कसरी प्रस्तुत गर्छ भन्ने कुरा मुख्य हुन्छ । गाउँको कथा देखाएर मात्रै मौलिकता हुने होइन । सिनेमामा स्थानीयतालाई प्रदर्शन गर्दैमा मौलिक हुने होइन । सिनेमामा समाजको प्रतिबिम्ब र ‘क्वालिटी’ हुनुपर्छ । जुन स्थानको कथा भन्दै छौँ, त्यहाँका मानिसको आत्मा सिनेमामा हुनुपर्छ । अनि मात्रै त्यसैलाई मौलिक भन्न सकिन्छ । हामीले अग्र्यानिक भनेका सिनेमा कति अग्र्यानिक थिए ? यसबारे विमर्श गर्नुपर्ने प्रशस्तै ठाउँहरू छन् । मौलिक सिनेमा अझै बन्न बाँकी छ । अहिले सम्झिँदा मैले काम गरेका केही सिनेमामा कोसिस भएको देख्छु । 

 

स्तरीय सिनेमा बनाउन लगानी छैन भनिन्छ । नेपालमा राम्रा सिनेमा नबन्नुमा बजेट नै दोषी हो त ? 


तपाईं कत्रो ‘क्यानभास’मा काम गर्दै हुनुहुन्छ भन्ने कुरामा भर पर्छ । अर्काे तपाईंले कसरी काम गर्नुहुन्छ ? तपाईंको सिनेमा निर्माण प्रक्रिया कस्तो छ ? तपाईंको कल्पनाशक्ति कति राम्रो छ ? तपाईंको भिजन कति राम्रो छ ? त्यो भिजन पूरा गर्न आर्थिक पक्षको भूमिका हुन्छ नै । सीमित बजेटमा राम्रो फिल्म बन्दैन भन्न मिल्दैन । हामीले बनाइरहेको फिल्मको बजेटभन्दा पनि कम बजेटमा चाइनिज युवा निर्देशक बिगनले संसार हल्लाउने फिल्म ‘काइली ब्लुज’ बनाए । त्यो फिल्म नेपाली रुपैयाँ १० लाखभन्दा पनि कममा बन्यो । कम बजेटमा पनि फिल्म बन्दो रहेछ । पैसा मात्रै सबै थोक होइन रहेछ । चेतना र दक्षता ठूलो कुरा रहेछ नि ! 

रंगमञ्च मेरा लागि चेतनाको उज्यालो हो । रंगमञ्चमा आफूले बोकेको दुःखको भारी बिसाउन सकिन्छ । पात्रसँग आफूलाई एकाकार गराउन सकिन्छ । थिएटरले चेतना बढाइदिन्छ । बाँकी आफैँले गर्ने हो ।

नवीन सुब्बा, छिरिङ रितार शेर्पा र तपाईंजस्ता कलाकारको सिनेमा दर्शकले एकदमै ढिलो गरी हेर्न पाउँछन् । कथा नपाउनुभएको हो कि, लगानी डुब्छ भनेर डराउनुभएको हो ?


मेरो अधिकांश समय रंगमञ्चमा बित्छ । आक्कलझुक्कल साथीहरूले ‘स्क्रिप्ट’ ल्याउनुहुन्छ । काम गरौँ भन्नुहुन्छ । नाइँ भन्न सक्दिनँ । कहिलेकाहीँ धेरैअघिदेखि सिनेमा बनाउन थालेको भए धेरै राम्रा सिनेमा बनाउन सक्थेँ जस्तो लाग्छ । सिनेमा पनि अभ्यास गर्ने कुरा रहेछ । सिनेमा बनाउँदै गर्दा धेरै अनुभव सँगाल्दै विशिष्ट किसिमका सिनेमा बनाउन सकिने रहेछ । मैले त्यो अभ्यास गर्न पाइनँ । थिएटरको मान्छे भएर पनि बौद्धिक खालको सिनेमा बनाउँछन् भनेर पत्याएनन् । मैले पनि आफूलाई प्रमाणित गर्न नसकेर निर्माताहरू आएनन् । आइहाले पनि ‘स्क्रिप्ट’ मन परेन । एउटा काम गर्दा त्यसमा मात्रै ध्यान दिने बानी छ । मैले ‘दोख’ गर्दा अरू काम गरिनँ ।


।। रंगमञ्च ।। 


नेपाली रंगमञ्च सिनेमाका लागिकलाकार उत्पादन गर्ने थलो मात्रै बन्दै गएकोजस्तो देखिन्छ । हुनुपर्ने यस्तै हो र ?


थिएटरका कलाकार सिनेमामा गएर चर्चित भएका छन् । यसलाई नकार्न मिल्दैन । त्यही भएर पनि फिल्ममा जानुअघि रंगमञ्चमा सिकियो भने खतरा कलाकार बन्छु भन्नेको जमात बढेको हो । तर, रंगमञ्चमा काम गर्दैमा महान् कलाकार बनिन्छ भन्ने ग्यारेन्टी हुँदैन । तपाईं फिल्म स्कुल वा ड्रामा स्कुल पढ्नुभयो भने पनि राम्रो कलाकार वा निर्देशक बन्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यहाँ पढाउने शिक्षकसँग जादूको छडी हुँदैन । महान् कलाकार बन्ने आशीर्वाद दिएर पनि हुँदैन । 
रंगमञ्च मेरा लागि चेतनाको उज्यालो हो । रंगमञ्चमा आफूले बोकेको दुःखको भारी बिसाउन सकिन्छ । पात्रसँग आफूलाई एकाकार गराउन सकिन्छ । थिएटरले चेतना बढाइदिन्छ । बाँकी आफैँले गर्ने हो । स्कुल–कलेजमा पनि कोही पहिलो हुन्छ, कोही अन्तिम हुन्छ । सिनेमा पढ्नु र थिएटर जानु पनि त्यही नै हो । 


थिएटरका कलाकार सिनेमामा जमिरहेका छन् । तर थिएटरचाहिँ कष्टकर यात्रामै देखिन्छ । यस्तो किन भइरहेको होला ?

हामीले थिएटर घरहरू बनायौँ । तर, राम्रा काम कति गर्‍यौँ भनेर पुनर्मूल्यांकन गर्नु पर्नेछ । हामीले १० वर्षअघि गर्दै आइरहेका काम दोहोर्‍याइरहेका त छैनौँ ? रंगमञ्चमार्फत नयाँ–नयाँ कुरा भनिरहेका छौँ त ? रंगमञ्चको मौलिकताको दृष्टिबाट हामी कहाँनेर छौँ ? यसबारे पुनर्मूल्यांकन गर्ने वेला आएको छ । दर्शकलाई कमेडी मन परेको छ, त्यही बनाऔँ भन्दै गयौँ भने हामी ठीक दिशातिर पुग्नेछैनौँ ।

दयाहाङ राई, सौगात मल्ल, सिर्जना सुब्बा, बुद्धि तामाङलगायत कलाकार रंगमञ्च र सिनेमा दुवैतिर जमिरहेका छन् । आफैँले प्रशिक्षित गरेका कलाकार यसरी जमिरहेको देख्दा तपाईंलाई कस्तो महसुस हुन्छ ? 

 

आफ्ना विद्यार्थीले यसरी काम गरिरहेको देख्दा गर्व लाग्छ । आफ्नो ज्ञान जति बाँड्यो, उति समृद्ध भएर जाने हो । दया, सौगात, विपिन, दिया, सिर्जना, खगेन्द्रलगायत जोसुकैले काम गरेको देख्दा मनमा आनन्द महसुस हुन्छ । कहिलेकाहीँ राम्रो काम गरेनन् भने खबरदारी पनि गर्न मन लाग्छ । उनीहरूले गुरु भएको नाताले मेरो कुरा सुन्छन् पनि । खुसी लाग्छ । 

एकाधबाहेक प्रायः रंगमञ्चमा विदेशी लेखकका नाटक वा पुराना नाटक नै मञ्चन भइरहेको देखिन्छ । नाटक लेख्ने लेखक नभएर हो कि पुरानोप्रतिको मोह बढी भएर हो ?

 

यो आरोप मैले पनि खेप्नुपर्छ । मैले ४–५ वटा विदेशी नाटक गरेको छु । खासमा नाटक नभएर पनि हो । नयाँ नाटककारहरू हामीसँग छैनन् । एकाधले कोसिस गरिराख्नुभएको छ । त्यो पर्याप्त छैन । यति धेरै थिएटर घरहरू भइसके, थिएटरलाई निरन्तरता दिन नयाँ नाटक चाहिन्छ । तर, यो समस्या नेपाल मात्रै होइन, भारतमा पनि ४–५ जना नाम चलेका नाटककारका नाटक दोहोर्‍याएर मञ्चन भइरहेको हुन्छ । जर्मनमा सुविधा–सम्पन्न थिएटर छन्, तर उनीहरू पनि इंग्ल्यान्डको नाटक खेलिरहेका हुन्छन् । 

 

अर्काे निर्देशकले आफूले चाहेजस्तो नाटक गर्न रुचाउँछ । यो व्यक्तिगत रुचिमा पनि भर पर्ने कुरा भयो । जसले नाटक लेख्छन्, उनीहरू कुनै थिएटर गु्रपसँग आबद्ध छैनन् । नाटक लेखनमा साहित्यकार आइदिएहुन्थ्यो जस्तो लाग्छ । उनीहरूलाई ‘ड्रामाटिक स्टक्चर’ पहिल्यै थाहा हुन्छ । लेखक नभएर पनि कुनै कथा समातेर हामीले नाटक गरिरहेका हुन्छौँ । साँच्चै नाटक लेखनको खडेरी नै छ । 

 

।। पोखरा र सपना ।।  
काम गर्न काठमाडौंमा सजिलो कि पोखरामा ?


पहिलेदेखि बनिसकेको हुनाले काम गर्न काठमाडौंमा सजिलो हुन्छ । बस्न र क्रियसन गर्न पोखरामा सजिलो हुन्छ । पोखरामा खड्किने कुराचाहिँ मन लागेका साथीहरू भेट्न नपाउनु हो । मलाई मात्रै होइन, अरू साथीहरूलाई पनि हुने त्यही हो । क्रियटिभ गफ गर्ने साथीहरू नभेटिने रहेछ । काठमाडौंमा हरेक ठाउँबाट मान्छेहरू आइरहेका छन् । उनीहरूले यहाँ गर्न चाहेका काम गरिरहेका छन् । पोखरा दुई–चार दिन आनन्दका लागि बस्ने ठाउँ भयो । करियर बनाउनकै लागि पोखरा बस्न अझै पनि गाह्रो छ । 

गाउँको कथा देखाएर मात्रै मौलिकता हुने होइन । सिनेमामा स्थानीयतालाई प्रदर्शन गर्दैमा मौलिक हुने होइन । सिनेमामा समाजको प्रतिबिम्ब र ‘क्वालिटी’ हुनुपर्छ । जुन स्थानको कथा भन्दै छौँ, त्यहाँका मानिसको आत्मा सिनेमामा हुनुपर्छ ।

चार वर्षअघि ‘झन् नयाँ’सँग कै अन्तर्वार्तामा ‘म आफ्नै माटोमा उभिन आइपुगेँ’ भन्नुभएको थियो । अहिले त काठमाडौंमै थियएर स्टुडियो खोल्नुभएको छ । तपाईं उभिएको माटोमा मन बसेन कि काठमाडौंले बोलाउन छाडेन ?


पोखरालाई आर्टिस्टिक हब बनाउने मेरो सपना हो । मोफसल र केन्द्र जोड्ने चाहना हो । धेरैजसो समय पोखरामा बस्छु । कहिलेकाहीँ थिएटरका काम हुँदा काठमाडौं पनि बस्छु । काठमाडौंदेखि वाक्क–दिक्क वा निराश भएर गएको होइन । काठमाडौंको कामलाई पोखरामा देखाउने र पोखराको कामलाई काठमाडौं ल्याएर देखाउने भनेर गएको हो । राज्यले विकेन्द्रीकरण गर्न नसकेको कुरा हामीले गर्न सक्छौँ कि भनेर लागेको हो ।

 

 पोखरामा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ड्रामा स्कुल खोल्ने भन्नुभएको थियो । त्यो योजना कहाँ पुग्यो?

त्यो काम अहिले थाती राखेको छु । त्यसका लागि ठूलो संरचना आवश्यक पर्दाे रहेछ । दक्ष जनशक्ति पनि चाहिन्छ । हामीकहाँ दक्ष जनशक्ति पनि छैनन् । त्यसकारण पनि सुरु नगरेको हो । जनशक्ति उत्पादन गरेर त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त तीनवर्षे ड्रामा स्कुल सञ्चालन गर्ने दीर्घकालीन योजना छ ।