एउटा सानो प्लास्टिकको घोडागाडी
सानै ब्याट्रीले
केहीछिनको यात्रार्थ कतै दगुर्ने गर्छ
धन्न हो, मेरो जीवन–यात्रा
त्यस्तो हुन पाएन !
मानिसहरूको माझमा
कृत्रिम पाइलाको यात्राबाट बच्न पाएँ
धन्यवाद कविता !
हरेक चौबीस घण्टा
या वर्ष–शताब्दीमा उस्तै–उस्तै बाँच्न त्यति कठिन छैन
तसर्थ,
के खाने–लाउने ? के–के खेल्ने–हेर्ने ?
कहाँ–कस्तो घरमा सुत्ने ? रुने–हाँस्ने या नाच्ने ?
कुन–कुन देश जाने ? कति कमाउने ?
यसरी यी सहज क्रियाभन्दा बेग्लै संघर्ष गर्न
आम–जीवनमा ब्युँझाएको हो
लेख्नै सिकाएको पनि मलाई
कविताले नै हो
कविता मेरो लागि निरन्तर आन्दोलित संस्कृति,
एक सभ्यता र आन्दोलन हो
सुखप्रद अप्ठेरो श्रम हो
लेख्दालेख्दै साह्रै सन्चो लाग्छ
कि हनहनी ज्वरोले ओछ्यानमा पछारिएको वेला
झारहरूले कोतरिएको आमाको खस्रो तर शीतलु हत्केला
यो निधारमाथि सुस्तरी अवतरण भएजस्तो
सन्चो पनि लाग्छ, कविता !
उठेर सन्चोले हिँड्न सक्ने हुन्छु
दगुर्न सक्छु
संसारका प्रदूषित व्यवस्थासँग लड्न तयार हुन्छु
म एक स्वस्थ सम्झना सम्झँदै छु
एक दशकअघिको एक साँझ
कैयौँ पुस्तापश्चात् परिवारभित्र
एउटा किताबले सुटुक्क छापिने मौका पाउँदाको
अनुल्लेख्य इतिहास या अपरिचित घटनै भनौँ
त्यो पनि मैसँग बाँचेको छ
जीवनको क्षेत्रफल या गहिराइ अलि फराक बनाइदिएको छ
भुइँमा काम गरिरहेका मानिस
र, सत्तामा निदाइरहेका मानिसबीच फरक थाहा पाएको छु
कविताकै कारण !
अब कसको पक्षबाट संसार बचाउन लड्ने हो ?
यो ताजा ज्ञानसमेत पत्तो पाएको छु
लड्दालड्दै कहाँ के हुनेछु
यसबारे पनि सचेत भएको छु
मेरो रगतभित्रको मसिना आवाज सुन्दै छु
म गतिशील भएर बाँच्ने कविता हो
जीवनको अन्तिम मृत्यु हो यो मेरो
र, संसार बदल्ने, ढाँट–छल नगर्ने
केही पनि नलुट्ने सत्यप्रति प्रतिबद्ध
ती मानिसहरूको सामूहिक जीवन– मेरो कविता
धन्यवाद कविता !